नेभिगेशन
दृष्टिकोण

जेनजी चाहना - आश्वासन होइन व्यवहारमा परिवर्तन

जेनजी विद्रोहले ल्याएको सुनामीले नेपालमा राजनीतिको परिभाषा बदलिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादीबीच सत्ता सहकार्यका लागि पालैपालो सरकार सञ्चालन गर्ने इज्जतहीन र तिरस्कृत प्रपञ्चयुक्त इतिहास हाललाई लगभग अन्त्य भएको छ । 

बितेका १९ वर्षमा राजनीतिक प्रमुख दलहरूले जे जस्ता कार्यहरू गर्दै आएका थिए, त्यसको परिणति अनुमानविहीन चाहिँ थिएन । संसद्को रोष्ट्रममा उभिएर सांसद अमरेशकुमार सिंहले पहिल्यै भनेका थिए, ‘नेताहरू नांगै भाग्ने दिन आउँछ ।’ अमरेशलाई कसैले पत्याएनन्, किनभने उनी कुनै दलमा थिएनन् ।

जेनजी आन्दोलनको मर्म पार्टीभित्रको पुस्तान्तरण र लोकतान्त्रिक आवरणमा राज्य लुटको पहिलो पुस्ता बिदा गरी दोस्रो पुस्तालाई भण्डार बुझाउनु होइन । प्रभावकारी लोकतन्त्र, सामाजिक न्याय, अवसरहरूमा स्वच्छ प्रतिस्पर्धा राज्यप्रति राजनीतिक दायित्व उद्बोधन गरिनु जेनजी अभिलाषा हो ।

सरकार, शासन र राजनीतिको चरित्र परिवर्तनको माग जेनजी आन्दोलन पूर्व पनि गरिएकै थियो । कांग्रेस, एमाले र माओवादीभित्र मर्दै गएको मानवीयता, नागरिक आवाजमाथि गरिने उपेक्षा असह्य भइसकेको थियो । नागरिकहरूमाथि गरिने उपेक्षाहरूमा दोस्रो पुस्ताका लाठसाबहरू पनि कहिल्यै बोलेका थिएनन् । जेनजीको आन्दोलनलाई दोस्रो पुस्ताको राजनीतिक अवतरण मात्र मानियो भने त्योभन्दा ठूलो राजनीतिक मूर्खता अन्य केही हुने छैन । 

कांग्रेस, एमालेका नेताहरू भन्छन्, ‘संविधान बचाउनुपर्छ ।’ दुर्बोध्य भविष्य आकलन गर्दा बाँकी जीवनका अँध्यारा पाटाहरूको व्यवस्थापनका लागि ‘संविधान’, ‘संविधान’ भनेर चिच्याउनुपर्ने उनीहरूका बाध्यता हुन् । तर कसैले पनि लोकतान्त्रिक चरित्र, मान्यता, अधिकार, कानूनको शासन, नैतिक राजनीति र व्यवस्थाको कुरा उठाएका छैनन् ।

लोकतन्त्र संविधान मात्र होइन, नागरिक चेतना, नागरिक चाहना र नागरिक अपेक्षा पनि लोकतन्त्र हो । यिनै दलहरूले संविधानलाई ‘खिरपाक ताउली’ बनाएका थिए । कहिले ओली–प्रचण्ड, कहिले देउवा–प्रचण्ड, कहिले देउवा–ओली सरकार बन्थ्यो । त्यसमा न सार थियो, न सिद्धान्त । 

सरकार यिनै तीनजनाको दर्तावाल कम्पनी थियो, सांसद संख्याका आधारमा शेयर हिसाब गरिन्थ्यो । गोलीले घुँडाको पांग्रो खुस्किएका माओवादी लडाकुहरू वैशाखी टेकेर माओवादी ख्वामितको दरबारमा गाँसको भिख मागिरहेका थिए । गएका बीसवर्षमा संविधानले तिनलाई के दियो ?

संविधान नै लोकतन्त्रको एक मात्र इण्डिकेटर हुँदै होइन । लोकतन्त्र भकांग्रेसे राज्यको विश्वास, नागरिक चाहना र राज्यसंस्थाहरूको न्यायिक कार्यशैली हो । जुन संविधानको प्रयोग गर्दागर्दै राजनीति संगठित अपराध हुन पुग्यो, नेताहरू विश्व धनाढ्यको सूचीमा आउन सक्ने भए । 

उनीहरूलाई यही ‘खिरपाक ताउली’को मोह हुनु स्वभाविक हो । तर, नागरिकहरूले के पाए ? धन, ज्यान, अवसर, शिक्षा, स्वास्थ्य सबै गुमाएर प्राप्त गरेको लोकतन्त्र नेताहरूको सिण्डिकेटले गरेको अपहरणका दृश्य हेर्दै बच्चाबच्चीहरू झोला भिरेर विदेशिए ।

जेनजीले खण्डहर वैचारिकीमा अभ्यस्त निकम्मा दोस्रो पुस्ता खोजेको होइन । राजनीति राज्य, अर्थतन्त्र प्रशासनमा पन्पिँदै गएको भाष्य परिवर्तन गर्न खोजेको हो । राज्य सञ्चालनको चित्र र चरित्रमा परिवर्तन खोजेको हो । न्याय गर्न नसके पनि अन्याय नगर। जेनजीले खोजेको यथार्थ लोकतन्त्र यही हो । सत्य अन्वेषण गर्न खोजेको हो । जेनजीको लासको काँधमा दोस्रो पुस्ता चढ्ने कल्पनातीत वैभवको रिहर्सल खोजेको होइन ।

जेनजीले संविधान होइन, न्याय र लोकतन्त्र खोजेको हो । न्याय र लोकतन्त्र कार्यान्वयन गर्न सक्ने व्यवस्था, सरकार र इज्जतदार व्यक्ति खोजेको हो । दलका दरबारका लाठसावहरू आफ्नै अगुवाहरूको नीति र नियति पछ्याउँदै सिंहासनारूढ हुन खोजून् । तर यसलाई जेनजी आन्दोलनको सम्बोधन नभनून् ।

नेपालले राजनीतिको भाष्य र भंगीमामा परिवर्तन खोजेको हो । ज–जसले हामी दोस्रो पुस्ता भनेर दाबी गरेका छन् ती १० वर्षपछिका देउवा, ओली र प्रचण्ड हुन् । दस वर्षपछि अर्को रक्तक्रान्ति खोजिएको होइन । अबको नेपालले त्यो धान्न सक्दैन ।

कुनै पनि नेताले राजनीतिक व्यवस्थाको कुरा गरेका छैनन् । लोकतान्त्रिक मान्यता र विश्वासका कुरा उठाएका छैनन् । लोकतान्त्रिक व्यवस्था कानूनको शासन, मानवअधिकार, वस्तु तथा सेवा खरिद र निर्माण लगानीमा पारदर्शिता, निजी सम्पत्ति लगानी र प्रतिफलको अधिकार, जनताको सम्मतिमा शासन र सरकार सञ्चालन, नागरिक स्वत्व र स्वतन्त्रता, अल्पसंख्यकका अधिकारजस्ता आधारभूत दृष्टिकोण लोकतन्त्र हुन् । 

जेनजी मात्र होइन तिनका बाबुआमा र हजुरबा–हजुरआमाहरूले खोजेका पनि यिनै हक अधिकार हुन् । जेनजी यस्तो उमेरसमूह थियो, जो स्कूल कलेज र विश्वविद्यालयमा पढ्दैछ । पढिसकेपछि के गर्ने कहाँ जाने ? के काम गर्ने आफ्ना निजी आकांक्षाहरू राज्यले मार्दै गएको बोध गरिरहेको थियो । 

प्रत्येक घरमा भएका जेनजी खोज्ने स्वाधीनता, स्वतन्त्रता र भविष्यप्रतिको आशा मरिरहेको देख्यो । आशा उजागर गर्न बाबुआमालाई घरमा छाडेर सडकमा निस्किएको हो, जेनजी । अहिले देशमा न्याय माग्न आएका, असल शासन चलाउ भन्न आएका युवाहरू मारिएका छन् । देशका अमूल्य ऐतिहासिक धरोहरहरू जलाईएका छन् । यसले देश संकटमा छ । 

Shrawan-Sharma-1756963611.jpg
श्रवण शर्मा

संकटहरू वैयक्तिक, सामाजिक र राष्ट्रिय जीवनका अनोन्याश्रित आयाम हुन् । देश जटिल मोडमा छ, सत्य हो । जटिलताको डिग्री मापन गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । भलै सबैका आ–आफ्ना आशा, आकांक्षा वा हित होलान् । सबैमा फरक–फरक स्थिति सजगता पोजिसन कन्ससनेस, चाहना र आवश्यकता छन् । सबैमा फरक दृष्टिकोण र फरक मान्यता छन् ।

राजनीतिका फरक आवश्यकता, कार्यक्रम र योजनाहरू छन् । सिद्धान्त, वाद र विचारधारा फरक छन् । यसो हुनु स्वभाविक छ । राज्यका लागि यी समस्या होइनन्, बरु शक्ति हुन् । सामथ्र्य उत्पादन गर्ने तत्त्व हुन् । सम्मति, असम्मति, बहस विवाद, गुस्सा र मिलापबाट नै देश अघि बढ्ने हो ।

दुःखद घडीमा आम मानिसले खण्डहरमा उभिएर क्षितिज नियाल्न थालिसकेका छन् । पक्कै पूर्वाधारहरू बन्छन्, संरचनाहरू फेरि पनि ठडिन्छन् । मानिसका घाउहरू पुरिँदै जान्छन् । हत्या र आगजनीका डरलाग्दा घटनाहरूले आम मानिसका मगजमा चैतन्यका तन्तुहरू क्रियाशील गराउनेछ ।

यस घडीमा कसैलाई संविधान, कसैलाई राजतन्त्र, कसैलाई गणतन्त्र, कसैलाई हिन्दुराज्य र अन्य कतिपयलाई धर्मनिरपेक्षता चाहिएको छ । यी सबै आ–आफ्ना दृष्टिकोण हुन् । आ–आफ्ना दृष्टिकोणलाई जीवित राख्दै अहिलेलाई देश र राज्यको आवश्यकता र चाहनाका विषयमा साझा अवधारणा बनाउनुपर्छ । समान वा साझा देश हो । राज्य आम मान्छेका लागि काम गर्ने संस्था हो । आममानिसका हितलाई साझा चाहना बनाउनुपर्छ ।

देश वा राज्यको अस्तित्व जोगाउन सक्ने मूलतत्त्व नागरिक हो । हतप्रभ नागरिकहरू खण्डहरका खरानीमा जीवनको बिरुवा उमार्न कला पोख्त छन् । किसानहरू भत्किएको वा आगलागी भएको घरको खण्डहरमा कोदो उमार्छन्, फलाउँछन र खान्छन् । नागरिकको सक्रियता, चेत र सिप नै पुनर्निर्माण, पुनर्जागरणको सञ्चालक हो । त्यसलाई आजको दिनमा प्रश्रय दिन सक्ने राजनीतिक संस्था अन्तरिम सरकार र राष्ट्रपति संस्था हो ।

जेनजी आन्दोलनले दोस्रो पुस्ता खोज्यो भन्नु झिँगाका लागि दूधभातमा पर्मेथ्रिन विषादी मिलाउनु जस्तै हो । पुस्ता होइन राज्य गर्न योग्य चरित्र खोजिएको हो । जुनसुकै पुस्ताले दल चलाउ, त्यो दलको कुरा हो नागरिक कुरा के हो भने, भ्रष्टाचार नगर, अवसरहरूमा अन्याय नगर, देशको सम्पत्ति समाज र राज्य निर्माणमा प्रयोग गर, बिटा बाँधेर घरमा नथन्क्याऊ । जेनजीको मात्र होइन जेनजीका बाबुआमा र बाजेबजु पुस्ताको कुरा यही हो ।

हाल राज्यका संस्थाहरू भताभुंग भइसकेका छन् । ती संस्थामा आबद्ध हुने क्रम टुटेको छ । मान्छेको मनोविज्ञान आतंकित छ । बच्चाहरू त्रस्त छन् । राज्यको आर्थिक जीवन ठप्प छ । सबभन्दा पहिला नागरिक मनोविज्ञान पुनर्स्थापना हुनुपर्छ । राज्यले देखाउने विश्वासले मात्र नागरिक मनोविज्ञान पुनर्स्थापना गर्न सक्छ । नागरिक संस्थाहरूले आफ्ना नेताहरूको पापकर्महरूको दण्ड भोग गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस भएर धेरै काम गर्नुभयो । उहाँले एकपटक आफैंलाई पुनरावलोकन गर्नुपर्छ । यसपूर्व उहाँले गरेको कामले समाजलाई के दियो ? अब उहाँ देशको अभिभावक बन्ने समय आएको हो । उहाँको जोड लोकतन्त्रप्रति हुनुपर्छ । सर्वदलिय नागरिक समाजको प्रयत्नमा राष्ट्रपति र प्रधानमन्त्री बीचमा विवाद आउनु देश हितका हिसाबले डरलाग्दो हुने छ । एउटै कार्डमा एकापट्टि दलको सदस्यता र अर्कापट्टि नागरिक समाजको पहिचान अहिलेको नेपालको फेसन हो ।

सबै नागरिक समाजका सदस्य हुन् । नागरिकहरूका साना ठूला सबै समूह नागरिक समाज हुन् भन्ने कुरा राष्ट्रपतिले वास्तविकता वोध गर्न सक्नुपर्छ । नागरिक समाज कसैले ठेक्कामा लिएको छैन । घोषित मितिमा चुनाव गराउने दायित्व सरकारको मात्र होइन नागरिकहरूको पनि हो ।

नागरिक समाजले नागरिक चाहनाहरूलाई वस्तुगत परिस्थितिसँग तुलना गर्न सक्ने वातावरण बनाउन लाग्नु उचित हुन्छ । नागरिकहरूलाई नागरिक चाहनाहरू समाजको अवस्था, राज्यले भोगेका पीडा र देशले सामना गरेको अस्थिरताको तुलना गर्न आग्रह गरौं, स्वयम् नागरिकले समस्याका समाधान खोज्नेछन् । मूल कुरा राष्ट्रपतिले दलीय नुन खाएको हीनताबोध गर्न हुँदैन, लोकतन्त्रको पहरेदार बन्न सक्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्