काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विरटानगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको लक्ष्य पूरा गरेको हो । कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ६२ रनसहित अविजित रहे। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
छैटौं विकेटको लागि पवन सरार्फ र सोमपाल कामीले ६६ रनको साझेदारी बनाउँदै टिमको स्कोर माथि उकासेका हुन् । पवन सरार्फले ३६ रन बनाए। सोमपाल र पवनको जोडी क्रिजमा रहँदा कर्णालीको जित सहज बनाए । सोमपाललाई गुल्सनले पनि राम्रो साथ दिए। गुल्सन २८ रनमा अविजित रहे। सातौं विकेटको लागि ६४ रनको अविजित साझेदारी सहित आजको खेलमा कर्णालीले जित दर्ता गरेको हो ।
कर्णालीले पहिलो विकेटको रुपमा मार्क वाटको विकेट गुमायो । उनी १ रनमै बोल्ड भए। दोस्रो विकेटको रुपमा आरिफूल इस्लामको विकेट गयो । वसिर अहमदले बाउन्ड्री लाइनमा छोड्दा उनले १ रनमा जीवनदान पाएका थिए ।
उनले १२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाएर क्याच भए। तेस्रो विकेटको रुपमा हुसैन तलात डकआउट भए । दिपक डुम्रे ११ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए। अकबर अलि १ रनमा सन्दीप लामीछानेको बलमा बोल्ड भए ।
आजको खेलमा विराटनगरको बलिङ र फिल्डिङमा चुक्यो । आधा दर्जनभन्दा बढी क्याच ड्रप गर्दा विराटनगरले लक्ष्य बचाउन सकेन । पहिलो ओभरबाट नै विराटनगरले फिल्डिङमा गल्ती गर्यो । क्रिकेटमा भनिन्छ, ‘ड्रप द क्याच लुज द म्याच’ अर्थात क्याच छुट्दा म्याच पनि छुट्छ । विराटनगरको लागि आजको खेलमा यस्तै भयो। पटक पटक क्याच छुट्दा उनीहरुले खेल पनि गुमाएस। फिल्डिङमा पनि निकै कमजोर रह्यो । विराटनगरका लागिएन्जेलो म्याथ्यूसले सर्वाधिक ३ विकेट लिए । चारिथ आसलंका, प्रतिश जिसी र सन्दीप लामीछानेले १-१ विकेट लिए ।
त्यसअघि, पहिलो इनिङ्समा विराटनगरको लागि ओपनर ब्याटर लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरेका हुन्। चौथो विकेटको लागि लोकेशले एन्जेलो म्याथ्यूससँग ७१ रनको साझेदारी बनाएका थिए ।
लोकेशले ३२ बलमा १ चौका र ६ छक्का सहित लोकेशले अर्धशतक पूरा गरेका थिए। १ रन बनाउँदा क्याच मिसको रुपमा जीवनदान पाएका लोकेशले एकतर्फबाट इनिङ्स सम्हाल्दै विराटनगरको इनिङ्स उकासेका हुन् ।
अर्का ओपनर इम्रान शेख भने ५ रनमा क्याच हुँदै पेभेलियन फर्किएका थिए । चारिथ आसलंका ३ रनमा फर्किदा तेस्रो विकेटको रुपमा शेहान जयसुरिया ११ रनमा रनआउट भए । चौथो विकेटको रुपमा लोकेश पेभेलियन फर्किए ।
पाँचौं विकेट एन्जेलो म्याथ्यूसको विकेट गयो । उनले २३ बलमा ४ चौकासहित ३१ रन बनाएर सोमपालको बलमा बोल्ड भए । आन्द्रे रसेलले १५ बलमन ३ चौका र २ छक्कासहति २७ रन बनाए । अन्तिम विकेटको रुपमा वसिर अहमद इनिङ्सको अन्तिम बलमा नन्दन यादवको बलमा १३ रन बनाउँदै बोल्ड भए ।
कर्णाली याक्सको लागि कप्तान सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए । शुक्रबार कुनै पनि खेल छैन ।