संकट आकस्मिकरूपमा आउने एउटा अवस्था हो, जो कहिल्यै सूचना दिएर आउँदैन् । संकट प्रकृति, मानव र प्रविधिसिर्जित हुन्छन् । आजको प्रतिस्पर्धी वातावरणमा घरपरिवार, समुदाय, संगठन वा राज्यस्तरमा संकट बारम्बार आइरहेका हुन्छन् । अकस्मात् वा छोटो समयको अन्तरालमा संकट आउने भएकाले त्यसबाट पर्ने नकारात्मक असर डरलाग्दो, अनियन्त्रित र व्यापक हुन सक्छ ।
संकटले शासन प्रणालीलाई अस्तव्यस्त बनाउने, संगठनको कार्यसम्पादन प्रक्रियामा अवरोध पु¥याउने, वित्तीय अवस्थालाई अस्तव्यस्त बनाउने, संगठनका कर्मचारी तथा सरोकारवालाहरूलाई अप्ठेरोमा पार्ने गर्दछ । कुनै संकट सजिलै हल गर्न सकिन्छ भने कुनै संकटले ठूलो राजनीतिक परिवर्तन, धनजनको क्षति र सामाजिक विग्रह ल्याउने गर्दछ ।
जेनजीको आन्दोलनले गराएको तीव्र राजनीतिक परिवर्तनमा जेनजी पुस्ता भने राजनीतिमा सहभागी गराएको छैन । तिनले राजनीतिक दलहरूमा संरचनागत र संस्कारगत परिवर्तनको माग गरेका छन् ।
आन्दोलनको क्रममा सरकारी भवन, पुरातात्त्विक ऐतिहासिक संरचना, कर्पो रेट हाउस, सवारीसाधन, निजी घर, व्यवसाय, व्यापारिक केन्द्र, उद्योगका क्षेत्रमा भएका तोडफोठ, आगजनी र लुटपाटले समाजमा अनिश्चितता ल्याएको छ ।
जेल तोडेर कैदी भाग्दा समाजमा त्रास फैलिएको छ र ती आपराधिक क्रियाकलापमा संलग्न कैदीबन्दीहरू फरार भएका कारण वैदेशिक रोजगारी दिने देशहरूले वर्कभिसा बन्द गर्न थालेका छन् । राजनीतिक अस्थीरता र व्यवसायको भौतिक सुरक्षाको अभावले आर्थिक लगानी दोधारमा परेको छ ।
आधिकारिक सूचनाहरूसँगै अनेकौ भ्रामक, एआई जेनेरेटेड सूचनाहरू सामाजिक सञ्जालमा भरिएका छन् । सूचनाको दबाबले हरेक नागरिक संकटमा परेको जस्तो लाग्छ । यस किसिमको अप्रत्याशित र अनौठो संकटले समग्रमा देशको आर्थिक, सामाजिक एवं राजनीतिक वातावरणलाई हल्लाएको छ ।
विघटनकारी, विध्वंसक र परिवर्तनमुखी संकटले संगठन तथा राजनीतिकर्मी, लगानीकर्ता र सर्वसाधारण जनतालाई गम्भीररूपमा प्रभावित गर्दछ । व्यक्तिगत र पारिवारिक जीवन, संगठनको इज्जत र अस्तित्व तथा राज्यको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा अनिश्चितता ल्याउँछ ।
संकटले देशको राजनीतिक प्रणाली, सार्वजनिक नीति, सार्वजनिक निजी संगठनको लक्ष्य, क्षमता र अस्तित्वलाई चुनौती दिन्छ । राज्य वा संगठनले संकटको व्यवस्थापन राम्रोसँग गर्न सकेन भने जनताको जीवन संकटपूर्ण बन्न जान्छ, र समाजलाई आतंकित र तनावग्रस्त बनाउँछ ।
आजको अन्तरसम्बन्धको जालो भएको एक छेउको घटना वा संकट वा आन्दोलनको सूचना अर्को छेउमा बसोबास गर्ने मान्छेलाई सहजै प्रभावित गरिरहेको हुन्छ । संसारमा उब्जेको नेपोबेबी आन्दोलनको प्रभावबाट प्रेरित भई नेपालमा जेनजी आन्दोलन भयो ।
आन्दोलन र उत्पन्न संकटको व्यवस्थापनमा चुक्न जाँदा आन्दोलनले मानव जीवनको सुरक्षा ऐतिहासिक भवनहरूको संरक्षण, सार्वजनिक भौतिक सम्पति र निजी व्यावसायिक कारोवार र कर्पो रेट हाउस ध्वस्त भए ।
राज्य, संगठन वा व्यक्तिको जीवनका लागि संकट विभिन्नरूपमा आइरहेका हुन्छन् । संकटको प्रभाव आकलन गर्न सहज हुँदैन । आर्थिक सामाजिक राजनीतिक वातावरण अनिश्चित हुन्छ । विघटनकारी, विध्वंसक र परिवर्तनमुखी संकटको व्यवस्थापन गर्ने निर्णय गर्न कठिन हुन्छ ।
संकटका बेला छोटो समयमा, सीमित सूचनाका आधारमा ठूला–ठूला निर्णयहरू लिनुपर्ने बाध्यता सिर्जना हुन्छ । अनिश्चित वातावरणमा सीमित र आपसमा बाझिने सूचना र प्रभावित जनताको जागरूकताको अवस्थामा संकट व्यवस्थापन सरल हुँदैन ।
संकट व्यवस्थापन चरणबद्धरूपमा हुने व्यवस्थापकीय कार्य हो । स्वभाव र चरित्रका आधारमा एकथरी संकटको जोखिम र कारण दुवै थाहा हुँदैन । अर्को संकटको जोखिम जानकारी हुने तर त्यसको समय र परिणाम आकलन गर्न नसकिने हुन्छ ।
सामान्यतया राज्य वा संगठन वा व्यक्तिले संकटको अपेक्षा गरेको हुँदैन । यद्यपि, हरेक संगठनको व्यवस्थापनले सानातिना समस्याहरू समाधान गर्न भइपरि आउने योजना, जोखिम व्यवस्थापन योजना बनाएर बसेका हुन्छन् ।
सार्वजनिक प्रशासनमा संकट व्यवस्थापन गर्ने दुई प्रवृति पाइन्छन् । पहिलो, संकट नपरेसम्म अर्थात् संकटले घाँटी अँठ्याउन नआएसम्म नतात्ने प्रवृति हो भने दोस्रो संकट आउनुपूर्व संकटको व्यवस्थापन गर्न सक्नेगरी आकस्मिक योजना बनाई तयार रहने प्रवृति हो ।
लक्ष्मीविलास कोइराला
संकटले ढोका नढक्ढक्याएसम्म सुतेर बस्ने अल्छी कर्मचारीतन्त्र हो भने संकटको सम्भावनालाई पहिले नै स्वीकार गरी तयारी अवस्थामा रहने कर्मचारीतन्त्र कर्मशील, उत्तरदायी र जिम्मेवार हो ।
नेपालको सार्वजनिक प्रशासनमा संकट नआएसम्म नतात्ने समस्या छ । समस्या सानो हुँदै समाधान नगर्ने , पन्छाउँदै बस्ने बानी छ । संगठनका कमजोरीहरू बेलैमा नसच्याउने प्रवृति र संस्कृति देखिन्छ । सूचनाको गरिबी टिठ लाग्दो छ ।
कर्मचारीतन्त्रमा जोखिम आएपछि मात्रै काम गरेर पद र प्रतिष्ठा जोगाउने प्रवृति छ । संकटका बेलामा हुने अनियन्त्रित सूचना प्रवाह, उपलब्ध राहत सामग्री व्यवस्थित भण्डारण र वितरण, राहतमा जुट्ने गैरसरकारी संघसंस्थाहरूको समन्वय र परिचालनको व्यवस्थापन गर्ने सक्षमता देखिँदैन ।
संकटका समयमा मिथ्या, कल्पित र अनियन्त्रित सूचना प्रवाहले समाजमा भय र असुरक्षा बढाइरहँदा पनि सार्वजनिक प्रशासन मूकदर्शक बनिरहेको हुन्छ । संकट व्यवस्थापन सरकार, निजामती सेवा, नेपाली सेना र नेपाल प्रहरीको गुरूत्तर दायित्व भएकाले सरकार, राजनीतिक दल, कर्पो रेट हाउस, तथा समुदाय, नागरिक सबै जिम्मेवार बन्नुपर्दछ ।
जोखिमले चलाख बनाउँछ भन्ने सिद्धान्त छ । त्यस्तै, संकटले नेतत्व विकास गर्छ, संकट नै परिवर्तनको कारक मानिन्छ । यसकारण संकट व्यवस्थापनका लागि राजनीतिक र प्रशासनिकरूपमा बृहत् र सिर्जनात्मक दृष्टिकोण राख्नुपर्ने हुन्छ ।
संकट व्यवस्थापनमा राजनीतिक पक्ष भनेको नीतिगत निर्णयहरू हुन् भने राजनीतिक तहबाट भएका निर्णयहरू कार्यान्वयन गर्नु प्रशासनिक पक्ष हो । सार्वजनिक प्रशासनलाई संकट व्यवस्थापन गर्न सक्षम, तत्पर, पारदर्शी र उत्तरदायी बनाइराख्नुपर्दछ ।
संकट व्यवस्थापनका लागि सरकारले जनताको अभिभावकीय भूमिका खेल्नुपर्दछ भने व्यक्ति, समाज, संगठन सधै जिम्मेवार र तयार रहनुपर्दछ । संकट व्यवस्थापनमा राज्य कहीँ कतै चुक्न नहुने हुँदा सरकार सक्षम र जवाफदेही हुनुपर्दछ ।
सरकार चुक्यो भने धनजनको नोक्सानी र जनताको मानसिक होस ठेगानमा हुँदैन । राज्यले जनतालाई जीवन र सम्पत्ति सुरक्षाको ग्यारेन्टी दिनुपर्दछ । निजी व्यवसायको सुरक्षा गर्नुपर्दछ । र, जनतालाई मानसिकरूपमा राहत र भरोसा दिन पनि सरकार सक्षम हुनुपर्दछ ।
संकट व्यवस्थापनमा सामाजिक सञ्जालको प्रयोग र दुरूपयोगले संकटलाई जटिल बनाउने भएकाले आधिकारिक सूचना प्रवाहलाई पूर्ण, छिटो र विश्वासिलो बनाउनुपर्दछ । जनतालाई आश्वस्त र विश्वस्त तुल्याउने एउटा प्रबल र शसक्त माध्यम नै सूचनाप्रवाह हो । अनर्गल वा गलत सूचनाको साम्राज्य फैलनुपूर्व नै राज्य वा संगठनका तर्फबाट आधिकारिक सूचना प्रवाह हुनुपर्दछ ।
जेनजीको आन्दोलनमा सिंहदरबारलगायतका भवन जलिरहँदा, प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकारको निर्माण नहुँदासम्म देश अन्योलमा रह्यो । सामाजिक सञ्जालमा आएका सत्य वा अफवाहका सूचना पढ्दा–पढ्दा नागरिक अन्योल र तनावमा रहे । राजनीतिक परिवर्तन अनिश्चित थियो । त्यसबेला आधिकारिक निकायबाट सूचनाप्रवाहको अभाव स्पष्ट देखिन्थ्यो ।
संकटका घटना र परिस्थिति फरक–फरक हुन्छन् । सरकारले जति तयारी गरे पनि अपूर्ण हुने गर्दछ । संकटको कुशल व्यवस्थापन गर्न सकिएन भने यसले विकराल रूप लिने हुँदा संकट व्यवस्थापन गर्न ठूलो आँट, प्रयास र धैर्यताको खाँचो पर्दछ ।
जेनजी आन्दोलनले ल्याएको परिवर्तनले प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको मिति तोकिसकेको छ । जेनजीहरू एकताबद्ध भएर निर्वाचनमा कसरी जाने र परिवर्तनको नेतृत्व गर्ने ?, भन्ने संकटमा छन् । पुराना राजनीतिक दलहरू कसरी नेतृत्व परिवर्तन गर्ने र जनतासामु जाने भन्ने संकटमा छन् ।
व्यापारी कर्पोरेट हाउस लगानीको असुरक्षा देखेर संकटमा रहेका छन् । भ्रष्टाचार गर्ने हरू धनको राष्ट्रियकरण र जेलयात्राको सम्भावना देखेर संकटमा छन् । घरपरिवार जेलबाट भागेका कैदीहरूका कारण असुरक्षाको संकट अनुभव गरिरहेका छन् । देश राजनीतिक, आर्थिक एवं सामाजिक संकटको भुमरीमा परेको छ ।
संकट हटाएर नहट्ने एउटा अनिवार्य परिस्थिति हो । संकटको कारण र परिणामको अनुमान तथा समुदायको सोच र सहयोगको वातावरण, राजनीतिक दलको मनोवृत्ति र सहभागिता तथा जेनजीको खबरदारी र नागरिकको अनुशासित व्यवहार वर्तमान संकट समाधान गर्न जिम्मेवार हुन्छन् ।
संकटको अवस्था लामो समयसम्म रह्यो भने त्यसको नकारात्मक असर राजनीतिक, आर्थिक, सामाजिकलगायत सबै क्षेत्रमा पर्न जान्छ । यसकारण, जेनजी आन्दोलनबाट सिर्जित अवसरबाट लाभ लिन र संकट निवारण गर्न सरकार, प्रशासन संयन्त्र, राजनीतिक दल, जेनजी पुस्ता, व्यवसायी, लगानीकर्ता, समुदाय तथा आमनागरिक बढी संवेदनशील, बढी जिम्मेवार र बढी क्रियाशील हुनुपर्दछ ।