नेभिगेशन
खेलकुद

विराटनगरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिम ३५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले विस्फोटक ब्याटिङ गर्दै सुदूरपश्चिमसामु १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । यस जितसँगै विराटनगरले महत्त्वपूर्ण दुई अंक प्राप्त गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको सुदूरपश्चिमको निर्णयलाई विराटनगरका ब्याटरले सुरुदेखि नै चुनौती दिए । ओपनर शेहान जयसूर्या र लोकेश बमले आक्रामक सुरुवात गर्दै सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गरे । विराटनगरले केवल आठ बलमै ५० रनको आँकडा पार गरेको थियो ।
जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ३९ रन बनाए । उनको स्ट्राइक रेट ३५४.५४ रह्यो । अर्का ओपनर लोकेशले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ डो¥याएका थिए ।
जयसूर्या तेस्रो ओभरको चौथो बलमा अविनाश बोहराको बलमा एलबीडब्लू आउट भए । त्यसपछि क्रिजमा आएका आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिए । उनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए ।
विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनायो । उसको इनिङ्समा कुल ११ छक्का र पाँच चौका प्रहार भए । अतिरिक्तबाट १२ रन प्राप्त भयो ।
सुदूरपश्चिमका लागि अविनाश बोहरा एक्लैले दुवै विकेट लिए । उनले दुई ओभरमा २८ रन खर्चिए । थारिन्दु रत्नायकेले एक ओभरमा ३१ रन खर्चिँदा हेमन्त धामीले २५ रन दिए । स्कट कुगेलाइनले एक ओभरमा १७ रन खर्चिए ।
१०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो । विराटनगरका आन्द्रे रसेलले पहिलो बलमै शेरफेन रदरफोर्डलाई शून्य रनमा बोल्ड गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी पनि चल्न सकेनन् । पाँच बल सामना गरेका उनी एक रन बनाएर एन्जेलो म्याथ्युजको बलमा रूपेश सिंहबाट क्याच आउट भए । सुदूरपश्चिमले दोस्रो विकेट गुमाउँदा खातामा सात रन मात्र थियो ।
सुरुवाती दुई विकेट गुमेपछि सैफ जाइबले आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले १० बलमा दुई छक्कासहित १७ रन बनाए । तर, चौथो ओभरको चौथो बलमा रूपेश सिंहले उनलाई रसेलबाट क्याच गराएपछि सुदूरपश्चिमको जितको सम्भावना लगभग समाप्त भयो ।
त्यसपछि आरिफ शेख र स्कट कुगेलाइनले अन्तिम समयमा आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् ।
विशेषगरी कुगेलाइनले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गरे । उनले प्रतिस जिसीले बलिङ गरेको पाँचौँ ओभरमा तीन छक्का प्रहार गरे । सोही ओभरमा आरिफले पनि एक छक्का प्रहार गरेपछि सुदूरपश्चिमले अन्तिम ओभरबाट २५ रन जोड्यो ।
कुगेलाइनले केवल ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन बनाए । उनको स्ट्राइक रेट ४६६.६६ रह्यो । आरिफले आठ बलमा दुई छक्कासहित अविजित १७ रनको योगदान दिए । तर, सुरुवाती विकेट पतन र विशाल लक्ष्यका कारण सुदूरपश्चिम ७० रनमै सीमित भयो ।
विराटनगरको जितमा ब्याटिङसँगै आन्द्रे रसेलको बलिङ पनि निर्णायक बन्यो । उनले दुई ओभरमा केवल आठ रन खर्चिएर एक विकेट लिए । पाँच ओभरको खेलमा प्रतिओभर २१ रनको लक्ष्य पछ्याइरहेको विपक्षी टोलीविरुद्ध रसेलले प्रतिओभर चार रन मात्र खर्चिनु विराटनगरका लागि महŒवपूर्ण साबित भयो ।
त्यस्तै, एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन खर्चिएर एक विकेट लिँदा रूपेश सिंहले १८ रन खर्चिएर एक विकेट हात पारे । प्रतिस जिसी भने एक ओभरमा २५ रन खर्चिएर विकेटविहीन रहे ।
यस खेलमा विराटनगरले प्रतिओभर औसत २१ रन बनाएको थियो भने सुदूरपश्चिमको रनरेट १४ रह्यो । पाँच ओभरको छोटो खेलमा दुवै टोलीका ब्याटरले गरी १९ छक्का प्रहार गरे ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिममाथि जित निकालेको हो ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबारको खेल स्थगित भयो । बिहीबार रातिदेखि परेको लगातारको झरीका कारण लुम्बिनी लायन्स र चितवन राइनोज बिचको खेल स्थगित भएको हो । त्यसो त, शनिबार दिउँसोदेखि झरी रोकिएको भए पनि क्रिकेट खेल्न योग्य हुने गरी मैदान तयार नभएपछि स्थगन गरिएको हो । वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडे । क्यानले पहिलो खेल रद्द भएको जानकारी दिए पनि दोस्रो खेल भने समयमै सुरु हुने बताएको थियो । जसअनुरूप विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका प्रशंसकहरू खेल हेर्नका लागि मैदानमा भेला भइसकेका थिए । खेल नहोला कि भनेर प्रशंसकहरूले होहल्ला गरिरहेका बेला खेल शुरु भएको थियो । खेललाई छोट्याएर ५‑५ ओभरमा झारिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय