नेभिगेशन
खेलकुद

पूर्वाधार छ, संरक्षण छैन

नेपालगञ्जको रंगशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । 
खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन नसकेको हो । 
पौडी खेलका एसिएन अफिसियल दामोदर अर्यालले नेपालगन्जमा रहेको खेलकुद पूर्वाधारले गिज्जाइरहेको उल्लेख गर्दै अपनत्वका कारण आर्थिक अभावले पूर्वाधारको संरक्षण हुन नसकेको बताए ।
उनले नेपालगन्जको रंगशालामा खेलकुद पूर्वाधारको विकास आठौं राष्ट्रिय खेलकुदमा भएको जानकारी दिँदै पूर्वाधारले खेलाडी खोजिरहेको उल्लेख गरे । 
अर्यालले भने, ‘आर्थिक अभावका कारण त्यहाँ रहेको पौडी पोखरी तीन वर्षअघिदेखि स्विमिङ क्लबको पहलले इज्जत जोगारहेको छ ।’ 
सो रंगशालामा रहेको एक मात्र पौडी पोखरीको सरसफाइमा मात्रै करिव दुई लाखदेखि तीन लाखसम्म अतिरिक्त खर्च भएको छ ।   नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले नियमित खेल हुने पौडी पोखरीमा नियमित सरसफाइ नभएकाले पोखरी सफा गर्न सो रकम खर्च भएको जानकारी दिए । 
नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगञ्ज रंगशालामा हुने तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपका लागि पोखरी सफाइ तथा आन्तरिक व्यवस्थापनको काम पूरा भएको उनले बताए । 
मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रंगशालाको आन्तरिक स्रोत परिचालनबाट सक्दो काम भइरहेको उल्लेख गर्दै संघीयता लागु भएपछि बजेट आउन कठिनाइ भएको बताए । 
स्वीमिङ क्लबका महासचिव कृष्ण अधिकारीले पौडी प्रतियोगिताका लागि सबै तयारी पूरा भएको उल्लेख गर्दै भारत, नेपालका गरी २०० खेलाडीले नाम दर्ता गरेको जानकारी दिए । 
प्रतियोगितामा यसपटक स्वदेशी खेलाडीसँगै भारतीय खेलाडीको सहभागिताले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यसले नयाँ प्रतिभादेखि अनुभवी खेलाडीसम्मलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने आयोजकको जनाएका छन् । 
क्लबका अनुसार अण्डर आठदेखि अण्डर १७ तथा ओपन अर्थात १७ वर्षभन्दा बढी उमेरका खेलाडीले फ्रि स्टाइल, बेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । 
क्लबले पहिलो र दोस्रो संस्करण सम्पन्न गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय