नेभिगेशन
मनोरञ्जन

‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहको निर्देशन

फिल्मको सेन्सर भई प्रदर्शनको संघारमा रहेको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएपछि सिनेवृत्तमा हलचल मच्चिएको छ । गृह सचिवले सञ्चार सचिवलाई ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको बताइएको छ ।
बुधबार बिहान सेन्सर गरी युनिभर्सल सर्टिफिकेट दिइएको फिल्मलाई साँझ प्रदर्शन रोक्न आदेश आएको बताइएको छ ।
फिल्मका निर्देशक वसन्त निरौलाले बताएअनुसार गृहसचिवले सञ्चार सचिवलाई फोन गरेर ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको हो । निर्देशक निरौलाले बाह्रखरी डटकमसँग भनेका छन्, ‘सञ्चार मन्त्रालयले हामीलाई फोन गरेर प्रदर्शन रोक्न निर्देशन जारी गरिएको पत्र बन्दै छ, लिन आउनु भनेको छ । हामी पत्र लिन जाने तयारीमा छौं ।’
हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले यो सिनेमाले पाँच पाण्डव र द्रोपदीलाई गतल हिसाबले चित्रण गरेको भन्दै सञ्चार मन्त्रालयलमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए । केही समययता फिल्मका कलाकार हरिवंश आचार्य पहिलेदेखि नै हिन्दु संस्कृतिमाथि प्रहार गरिआएको आरोप लगाउँदै यस पटक पुनः यो फिल्ममार्फत प्रहार गरेको आरोप लगाइँदै सामाजिक सञ्जालमा टिप्पणी गरिएको थियो ।
‘पाँच पाण्डव’ यही २० गतेबाट प्रदर्शन हुने तयारीमा थियो । फिल्ममा हरिवंश  आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिक्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको पात्रमा देखिएका छन् ।  
फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्