नेभिगेशन
मनोरञ्जन

इथिकल कन्टेन्ट क्रियसनका लागि ५० जना कन्टेन्ट क्रियटर एकै ठाउँ

काठमाडौं । युनेस्कोसँगको सहकार्यमा टेकपानाले देशभरका ५० जना कन्टेन्ट क्रियटर भेला गरेको छ । कन्टेन्ट क्रिएसन केबल भ्युज र लाइक पाउनुमा मात्र सीमित नराखि जिम्मेवार बनाउनका लागि गरिएको सो कार्यशालामा मिडिया तथा सूचना साक्षरता छलफलको केन्द्रमा रहेको थियो । जसअन्तर्गत भ्रामक सूचना कसरी पहिचान गर्ने, तथ्य जाँच कसरी गर्ने र के प्रकाशन गर्ने भन्नेबारे निर्णय कसरी लिने भन्ने बारेमा छलफल भएको थियो । सो कार्यशालाले सामाजिक सञ्जालमा राखिएका भ्रामक र अनैतिक सुचनाहरूको बिचमा तथ्य र नैतिकतामा आधारित रहेको कन्टेन्ट क्रियसन कसरी गर्ने भन्ने सम्बन्धि सीप र क्षमता विकास गर्नमा केन्द्रित रहेको थियो ।
५० जना सहभागीले यी प्रश्नमा आ–आफ्ना किसिमका दृष्टिकोण प्रस्तुत गरेका थिए । टेकपाना र युनेस्कोले नेपालभरका कन्टेन्ट क्रियटरबाट प्राप्त सयौँ आवेदनबाट उनीहरूको सामग्री, कार्यक्षेत्र र सामाजिक विविधतालाई ध्यानमा राखेर सहभागीहरू छनोट गरेका थिए ।
टेकपानाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय तिमल्सिनाका अनुसार क्रियटरको जिम्मेवारी सामाजिक सञ्जालमा आउने भ्युजभन्दा भन्दा ठूलो छ । उनले क्रियटरले सामग्री तयार पार्दै गर्दा आफ्नो कामको समाजमा पार्ने प्रभाव, यसले मानिसहरूमा पार्ने असर, कानुनी आवश्यकता र नैतिक जिम्मेवारीलाई पनि ध्यानमा राख्नुपर्ने आवश्यकतालाई जोड दिए ।
नेपालमा कन्टेन्ट क्रिएसनको विकास र क्रियटरको बढ्दो भूमिकालाई उल्लेख गर्दै नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले भने, ‘कन्टेन्ट क्रियटरका रूपमा तपाईंहरू सांस्कृतिक परम्पराको अभिलेखीकरण गर्नुहुन्छ । समुदायका चासोलाई उजागर गर्नुहुन्छ र दैनिक जीवनमा असर पार्ने मुद्दालाई स्पष्ट पार्नुहुन्छ । तपाईंहरूले के सेयर गर्नुहुन्छ, कसका कथा सुनाउनुहुन्छ र दर्शकलाई आफूसँग कसरी जोड्नुहुन्छ भन्ने कुराले थप सुसूचित,समावेशी र भरपर्दो डिजिटल वातावरण निर्माण गर्न मद्दत पु¥याउँछ ।’
तथ्य र भ्रामक सूचनाबीचको भिन्नता छुट्याउनु कार्यशालाको मुख्य विषय थियो । जसलाई ’फ्याक्ट अर फेक?’ मार्फत अन्तक्र्रिया गर्दै तथ्यजाँचको व्यावहारिक रूपमा अभ्यास गरिएको थियो ।
सूचना साक्षरतालाई व्यवहारमा उतार्न तथ्यजाँचकर्ता तथा अनुसन्धानकर्ताहरू हिक्मत आचार्य र रञ्जिता उप्रेतीले सहभागीसँग मिलेर ’द ट्रुथ ल्याब’ मार्फत अनलाइनमा भ्रामक सूचना पहिचान गर्ने र यसको तथ्यजाँच गर्ने प्रक्रियामा काम गरे ।
कार्यशालामा कन्टेन्ट क्रियटरको कानुनी जिम्मेवारी पनि छलफलको एक हिस्सा बनेको थियो । प्यारामाउन्ट लिगल एड्भाइजरी सर्भिसेसका अधिवक्ता प्रबिन सुवेदीले साइबर कानुन, प्रतिलिपि अधिकार र कन्टेन्ट क्रियटले कानुनी जोखिमबाट कसरी बच्ने भन्ने विषयमा प्रकाश पारे । तथ्यपरक सामग्री र जिम्मेवारीका प्रश्नको जवाफ खोज्नुका साथै सहभागीले प्रभावकारी रूपमा आफ्ना दर्शक स्रोतासँग कसरी सञ्चार गर्ने भन्नेबारे पनि खोजी गरे ।
कन्टेन्ट क्रियटर तथा प्रशिक्षक निश्चल शर्माले भिडिओको गुणस्तर र क्यामेराको प्रयोगबारे प्रस्तुति दिए भने क्रियटरहरू दीपेश त्रिपाठी र विनायक कुइँकेलले आइडिया विकास गर्ने, स्क्रिप्ट लेख्ने र दर्शकलाई सामग्रीमा टिकाइ राख्न ’ हुक’ कसरी तयार पार्ने भन्ने विधिहरू सेयर गरे ।
आर्टिफिसियल इन्टेलिजेन्सको जिम्मेवारपूर्ण प्रयोग, क्रियटरको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षा पनि चासोका विषय थिए । आयुष श्रेष्ठ र योजना मगरले कन्टेन्ट क्रिएसनमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोगको खोजी गरे भने गङ्गा पाठकले भ्युज र इन्गेजमेन्टसँग जोडिएको तनावका साथै अनलाइन सुरक्षाका विषयमा चर्चा गरिन् ।
छलफलको अन्त्यमा सबै ५० जना सहभागीले सकारात्मक, सत्यमा आधारित र नैतिक सामग्री निर्माण तथा सेयर गर्ने प्रतिज्ञा गर्दै इथिकल कन्टेन्ट क्रियटरसम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । यस प्रतिबद्धताले क्रियटरले के प्रकाशन गर्ने र आफ्ना दर्शकसँग कसरी जोडिने भन्ने विषयमा गर्ने निर्णयलाई पुनः केन्द्रमा ल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन