नेभिगेशन
मनोरञ्जन

चारमध्ये एक कलाकारमा डिप्रेसन

बेलायती फिल्मी कलाकारहरूमाझ एक्लोपनको महामारी फैलिएको छ । एक अध्ययनअनुसार, त्यहाँका चारमध्ये एक कलाकारले गत मार्चसम्मको एक वर्षको अवधिमा आत्महत्या गर्ने वा आफैंलाई हानि पु¥याउने सोच बनाएका थिए ।
कलाकारहरूले प्रत्यक्ष उपस्थित भएर अभिनय परीक्षण (अडिसन) दिनुको सट्टा आफैंले अभिनय गरेको दृश्य खिचेर पठाउने चलन बढ्दै गएको छ । यसले कलाकारमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढाउन भूमिका खेलेको विश्वास गरिएको छ । आर्थिक दबाबले यस्तो समस्या झनै बढाएको छ ।
‘एक्टर्स ट्रस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, गत मार्चसम्मको तीन वर्षको अवधिमा सर्वेक्षणमा सहभागी तीन चौथाइभन्दा बढी कलाकारले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगेका थिए । त्यस्तै, गत मार्चसम्मको एक वर्षमा चारमध्ये एक कलाकारले आत्महत्या गर्ने वा आफैंलाई हानि पु¥याउने सोच आएको बताएका छन् । करिअरको सुरुवाती चरणमा रहेका कलाकारमध्ये यस्तो सोच राख्नेको संख्या १० जनामध्ये चार रहेको छ ।
३ हजार ५९५ कलाकार र ९४ जना मञ्च व्यवस्थापनसम्बन्धी पेसाकर्मीको प्रतिक्रियाका आधारमा तयार पारिएको प्रतिवेदनलाई उक्त परोपकारी संस्थाले ‘तत्काल कदम चाल्न आह्वान’ गरेको छ ।
संस्थाका अध्यक्ष एलेक्स म्याक्विनले कलाकारहरूको वास्तविक अवस्था आर्थिक असुरक्षा, कमजोर मानसिक स्वास्थ्य र एक्लोपनको महामारीबाट ग्रस्त रहेको बताए । उनले भने, ‘हामीले दर्शकलाई दिने मनोरञ्जनको खुसीको मूल्य कलाकारले व्यक्तिगत रूपमा चुकाइरहेका हुन्छन्, तर त्यो पीडा प्रायः कसैले देख्दैन ।’
प्रतिवेदनका निष्कर्षप्रति समर्थन जनाउँदै ‘गेम अफ थ्रोन्स’मा अभिनय गरेर चर्चित बनेकी इन्दिरा वर्माले कलाकारिता क्षेत्रमा रोजगारीको अनिश्चितता र अत्यधिक भावनात्मक दबाब रहने बताइन् । ५३ वर्षीया ओलिभियर पुरस्कार विजेता वर्माले भनिन्, ‘कलाकारको जीवनशैली निकै आकर्षक हुन्छ भन्ने धारणा भ्रम मात्रै हो । आधा समय त उचित पारिश्रमिकसमेत पाइँदैन । यो काम निकै थकाइलाग्दो हुन्छ । स्वतन्त्र रूपमा काम गर्ने कलाकारका रूपमा हाम्रा धेरैजसो सम्झौता निकै छोटो अवधिका हुन्छन् । हाम्रो काम नै मानवीय भावना र सम्बन्धसँग जोडिएको हुने भएकाले हामी छोटो समयमै एकअर्कासँग निकै नजिक हुन्छौं ।’
उनले थपिन्, ‘तर काम सकिएपछि भने आफूले केही गुमाएजस्तो महसुस हुन्छ । मैले गरेका प्रायः हरेक कामपछि शोकमा परेजस्तो अवस्था भोगेकी छु । अहिले पनि केही सातापछि के गर्दै हुन्छु भन्ने मलाई थाहा छैन । यो निकै चुनौतीपूर्ण छ ।’
‘दिस कन्ट्री’ र ‘द डेथ अफ स्टालिन’मा अभिनय गरेका पल चहिदीले कलाकारहरूले दैनिकजसो अस्वीकृतिको सामना गर्नुपर्ने बताए । आफूले पनि पटकपटक आत्मविश्वासमा कमी आउने र निराशा छाउने अवस्था भोगेको उल्लेख गर्दै उनले भने, ‘अब फेरि कहिल्यै काम पाउँदिनँ कि भन्ने निराशा मलाई धेरैपटक भएको छ ।’
५७ वर्षीय चहिदीले कलाकारले आफैंले अभिनय खिचेर पठाउने वा भर्चुअल माध्यमबाट अडिसन दिने चलनले कलाकारबीचको एक्लोपन अझ बढाएको बताए । अहिले हुने कुल अडिसनमध्ये ९० प्रतिशतसम्म यस्तै माध्यमबाट हुने अनुमान छ । उनले यसलाई निराशाजनक र एक्लोपनको भावना बढाउने माध्यमका रूपमा व्याख्या गरे ।
उनले भने, ‘पहिले अडिसन दिन प्रत्यक्ष जानुपथ्र्यो । त्यहाँ अरू कलाकारसँग भेट हुन्थ्यो र अडिसन लिने व्यक्तिहरूसँग पनि केही कुराकानी तथा अन्तरक्रिया हुन्थ्यो । अहिले भने आफूले भूमिका पायौं कि पाएनौं भन्ने जवाफसमेत धेरैपटक आउँदैन ।’
उनले थपे, ‘यस्तो अनुभव मैले अहिले पनि भोगिरहेको छु । आफ्नो करिअरको जुनसुकै चरणमा रहेको कलाकारलाई भेटेर सोध्नुस्, आफू सफलताको शिखरमा पुगिसकेको छु भन्ने एक जना पनि भेट्नुहुन्न ।’
सर्वेक्षणमा सहभागीमध्ये १० जनामा आठ जनाभन्दा केही कमले गत एक वर्षमा अभिनयको भूमिका पाउन कठिन भएको बताएका छन् । उनीहरूले काम खोज्ने प्रक्रियालाई निराशाजनक र अपारदर्शी भनेका छन् ।
काम पाएको अवस्थामा पनि कलाकारिता क्षेत्रका समस्या कम छैनन् । सर्वेक्षणअनुसार, काम पाएका चारमध्ये एक कलाकार र मञ्च व्यवस्थापनमा संलग्न आधा पेसाकर्मीले आफूभन्दा शक्तिशाली पदमा रहेका व्यक्तिबाट दुव्र्यवहार भोग्नुपरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्