चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन् । त्यसो त उनको नियुक्ति जम्माजम्मी दुई वर्षका लागि भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफूसँग चलचित्र सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै उनले बोर्डमा धेरै चुनौती रहेकाले प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तनको आवश्यक औँल्याए ।
“कुनै पनि संस्थाको आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले चलचित्र विकास बोर्डलाई कसरी नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ,” उनले भने ।
अध्यक्ष पण्डितले आफूले छनोटका क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना पेस गरिसकेको जानकारी दिँदै बोर्डको आम्दानी बढाउने र सरकारी लक्ष्यअनुरूप परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताए ।
चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गरी योजनाअनुसार काम गर्ने विश्वास दिलाएका छन् ।
यसअघि बोर्डको अध्यक्षका लागि १२ आवेदकले आफू अध्यक्षका लागि इच्छुक रहेको भन्दै निवेदन दिएका थिए । तीमध्येबाट विभिन्न चरण हुँदै प्रस्तुतीकरण र अन्तर्वार्तापछि उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो । तीन जनामा फिल्म निर्देशक नरेश पौडेल, अभिनेत्री नीशा अधिकारी र मनिष पण्डितको नाम सिफारिश गरिएको थियो । गएको असोज ३० गते नेपाल सरकार, मन्त्रिपरिषद्ले पण्डितलाई अध्यक्षमा मनोनयन गरेको थियो ।
बोर्डका नवनियुक्त अध्यक्ष पण्डित यसअघि बोर्डमा बक्स अफिस कन्सल्टेन्टको रूपमा काम गरेका थिए । उनलाई पूर्व बोर्ड अध्यक्ष निकिता पौडेलले नियुक्त गरेकी थिइन् । अहिले उनी १९औं अध्यक्ष बन्न पुगेका हुन् । उनको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता निकट रहेका कारण उनको नियुक्ति भएको बुझाइ आम चलचित्रकर्मीमाझ छ । निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले असोज १ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो ।
अध्यक्ष पण्डित फिल्म निर्माता तथा लेखकसमेत हुन् । उनले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’बाट निर्माणमा हात हालेका थिए । उक्त फिल्ममा उनी कार्यकारी निर्माता थिए ।
साढे तीन करोडसम्मको अनुदान घोषणा
सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३÷८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो ।
मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण तथा कागजातसहित आवेदन पेस गर्नुपर्नेछ । सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग सम्बन्धित विषयवस्तुलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्ने तथा मौलिक र यथार्थपरक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यस कार्यक्रमले चलचित्रको कथा तथा पटकथा विकासदेखि निर्माण र निर्माणपछिका कामसम्मका विभिन्न चरणमा सहयोग उपलब्ध गराउने लक्ष्य लिएको छ ।
मन्त्रालयले स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन गरी तीन विधामा अनुदान उपलब्ध गराउने जनाएको छ । यसअनुसार चलचित्रको कथा तथा पटकथा विकास, चलचित्र निर्माण र निर्माण सम्पन्न भएपछि गरिने कामका लागि सम्बन्धित विधाअन्तर्गत आवेदन दिन सकिनेछ ।
अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले चलचित्रको स्क्रिप्टको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको नाम तथा ठेगाना खुलाउनुपर्नेछ ।
त्यसैगरी निर्माता, निर्देशक र छायाँकारको नाम तथा ठेगाना, चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको नाम र ठेगाना तथा निर्माणमा साझेदार संस्था भए त्यसको विवरणसमेत पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
आवेदनमा चलचित्रमा रहने कलाकारको नाम र संख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार तथा मुख्य कलाकारको व्यक्तिगत विवरणअर्थात् बायोडाटा पनि समावेश गर्नुपर्नेछ । चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पनि आवेदनका साथ पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सरकारले अनुदानमार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयलाई चलचित्रमा अभिलेखीकरण र प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ तथा राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयलाई चलचित्रमा समेट्न प्रोत्साहन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।
चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदा सिर्जनात्मक कामलाई अघि बढाउन, मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहित गर्न र जनचेतनामूलक सामग्रीको उत्पादनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ । अनुदान वितरणको विस्तृत प्रक्रिया, मापदण्ड र अन्य सर्त ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाइएको छ ।