२७ घण्टामा सरकार परिवर्तन मात्रै हैन राज्यका धरोहर सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत सहित राष्ट्रपति निवाससमेत ध्वस्त पारेर तहल्का मच्चाएको छ । यो अवधिमा नियमित सुरक्षा संयन्त्रको समर्पण, सेना परिचालन नहुनु, जेलबाट झण्डै १३ हजार कैदी बन्दी निस्केर आगजनी तोडफोड लगायतका अपराधजन्य हर्कत नेपाली समाजले भोग्न बाध्य भयो ।
२२ गतेको जेन्जी प्रदर्शन ठीक तर २४ गतेको अपराधजन्य हर्कत बेठिक भन्ने जनमत बनेको छ । जेहोस् नेपालमा सत्ता पलट भयो, यो सत्य हो । अब के ? मूल प्रश्न हो । अझै अनौठो त के भयो भने नेपालका जेनजीका कारण विश्वका अरु आन्दोलनहरूमा पनि नेपाली झण्डाको प्रयोग हुन थालेको छ ।
नेपाली अर्थतन्त्र, राजनीति र कुटनीति त ध्वस्त नै भयो तथापि यसैको प्रभावस्वरुप विश्व अहिले सामाजिक, प्राविधिक र राजनीतिक रूपमा एउटा ऐतिहासिक कायापलटकै बिन्दुमा छ भन्न सकिन्छ । मिलेनियलहरू पछिको पुस्ता, जसलाई पोस्ट जेनजी वा जेन अल्फा भनिन्छ, उनीहरूको विशिष्ट पहिचान, मूल्य र दृष्टिकोणले गर्दा विश्वभर नयाँ सामाजिक आन्दोलनहरूको सृजना गरिरहेको छ ।
यो पुस्ता डिजिटल मूलनिवासी हुनुको साथै जलवायु परिवर्तन, आर्थिक असमानता र वैश्विक अशान्तिकाबीच हुर्किएको छ । तर के यी परिवर्तनहरूले अन्तर्राष्ट्रिय सम्बन्धहरूको केन्द्रका रूपमा रहेको भूराजनीतिक परिदृश्यलाई पुनर्परिभाषित गर्दैछन् ? यसको असर नेपालजस्तो सानो तर सामरिक रूपमा महत्वपूर्ण मुलुकमा कस्तो पर्दैछ ?
पोस्ट–जेनजी : एउटा नयाँ राजनीतिक चेतना
पोस्ट–जेनजी आन्दोलन भन्नाले केवल सोशल मिडियामा भाइरल हुने ट्रेन्ड होइन । यो एउटा सामूहिक चेतनाको उदय हो, जुन पारम्परिक राजनीतिक संरचनाहरूप्रतिको अविश्वास, पारदर्शिता र जवाफदेहिताको माग, र वैश्विक नागरिकत्वको भावनाबाट सञ्चालित छ ।
उनीहरूका लागि राष्ट्रिय सीमाहरू भन्दा पनि मानवता, पर्यावरण र सामाजिक न्यायका मुद्दा ठूला छन् । यसले गर्दा द्वन्द्वको केन्द्रमा रहेका ‘राज्य’ र ‘क्षेत्र’ को पुरानो अवधारणामा चुनौती आइरहेको छ । तर के यसको अर्थ भू–राजनीतिक महत्वाकांक्षा अन्त्य भएको हो ? गम्भीर प्रश्न खडा भएको छ ।
के स्पष्ट छ भने भू–राजनीति पनि यस प्रभावबाट अलग छैन । डिस्कर्ड नामक एपमार्फत झण्डै दुईलाख जेनजी सहभागी हुने र त्यसैमार्फत भोटिङ गरेर प्रधानमन्त्री छान्ने काम गर्ने त्यो एप होस्ट कसले गरेको थियो भनेर पत्ता लगाउन आजको राज्यलाई हम्मे हम्मे परेको यो घडीमा भन्नै पर्छ कि यो नयाँ पुस्ता आफ्नो डिजिटल सीप र वैश्विक नेटवर्कको बलमा परम्परागत शक्ति केन्द्रहरूलाई चुनौती दिँदैछ ।
उदाहरणका लागि, क्रिप्टोकरेन्सी र डिजिटल अर्थतन्त्रले राष्ट्रको आर्थिक सम्प्रभुत्वमा प्रश्न उठाएका छन् भने जलवायु न्यायको लागि युवाहरूको आवाजले अन्तर्राष्ट्रिय नीति निर्माणमा दबाब सिर्जना गरिरहेको छ । यसका बाबजुद राष्ट्रहरू अझै पनि अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य एकाइ बनेको छ र यसले नै भूराजनीतिक प्रतिस्पर्धाको स्वरूप निर्धारण गर्दैछ ।
नयाँ नेपालमा पुरानो खेल
नेपालको भूराजनीतिक अवस्थिति सधैं नै यसको शक्ति र चुनौती दुवैको स्रोत रहेको छ । दुई ठूला शक्तिशाली छिमेकी–भारत र चीन–बीचको सन्तुलन कायम गर्नु नेपाली विदेश नीतिको मूल आधार रहिआएको छ । स्थापित राजनीतिले उत्तर वा दक्षिणको कार्ड आफ्नालागि खेले तर आफ्नै कार्ड आफना लागि कहिल्यै खेलेनन् भनेर आरोपित गर्ने यो पुस्ताको केही यताका गतिविधिले झन् यस सन्तुलनमा नयाँ जटिलता थपेको छ ।
डिजिटल कूटनीति र सफ्ट पावर
नयाँ पुस्ता सूचनाको मुक्त प्रवाहमा विश्वास गर्छ । सोसल मिडिया, आनलाइन प्लेटफर्म र डिजिटल सामग्री अब देशहरूले आफ्नो सफ्टपावर प्रक्षेपण गर्ने प्रमुख हतियार हुन् । चीनको ‘डिजिटल सिल्क रोड’ वा भारतको ‘डिजिटल इण्डिया’ जस्ता पहलहरू केवल आर्थिक सहयोग मात्र होइनन्, संस्कृति, मूल्य र प्रभाव फैलाउने माध्यम पनि हुन् ।
नेपाली युवाहरू यी डिजिटल प्रवाहको लक्ष्य हुन् । उनीहरूमा कुन देशको संस्कृति, शैक्षिक अवसर र डिजिटल प्लेटफर्म प्रभावकारी छ, त्यसले नेपालमा तिनको देशको छवि निर्धारण गर्ने मात्रै हैन शासनमा हैकम जमाउने खतरा समेत छ । यसले गर्दा नेपालले आफ्नो डिजिटल कूटनीति र साइबर सुरक्षा नीतिमा अत्यन्त सचेत र सक्रिय भूमिका खेल्नु जरुरी छ ।
जलवायु परिवर्तनः नयाँ भूराजनीतिक मोर्चा
पोस्ट–जेनजीको लागि जलवायु परिवर्तन एउटा अमूर्त खतरा होइन, तिनीहरूको भविष्यको लागि अस्तित्वमा खतरा हो । नेपालजस्तो हिमाली मुलुकमा हिमनदी पग्लने खतरा, अनियमित मौसम र यसको कृषिमा पर्ने प्रभावले यो मुद्दालाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्न अनिवार्य छ ।
खिमलाल देवकोटा
वरिष्ठ अधिवक्ता
यसले भूराजनीतिक समीकरणमा एउटा नयाँ आयाम थपेको छ । हिमालय क्षेत्रको जलवायु स्थिरता सम्पूर्ण दक्षिण एसियाको लागि र समग्र विश्वकै लागि पनि त्यतिकै महत्वपूर्ण छ । यसैले, जलवायु वित्त, सफ्ट प्रविधि हस्तान्तरण र अनुकूलनमा अन्तर्राष्ट्रिय सहयोग नेपालको लागि केवल विकासको मुद्दा मात्र होइन, यो अब एउटा सामरिक र कूटनीतिक औजार बन्दैछ भन्ने कुरा स्थापित गर्न जरुरी छ ।
नेपालले आफूलाई ‘जलवायु न्याय’ को अग्रणी आवाजको रूपमा स्थापित गर्न सक्छ, जसले गर्दा यसले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो भूराजनीतिक महत्व बढाउन सक्छ ।
आर्थिक अन्तरनिर्भरता र युवाको आकांक्षा
नेपालको युवा पुस्ता रोजगारी, उद्यमिता र गुणस्तरीय शिक्षाको लागि विदेशतिर लाग्न बाध्य छ । यसले गर्दा विदेशी रोजगार र प्रवासी नेपालीहरूको अर्थतन्त्रमा योगदान नेपालको लागि महत्वपूर्ण बन्दै आएको छ । तर यसको निरन्तरता यो आन्दोलनको अपेक्षा हैन ।
पोस्ट–जेनजी युगमा, आर्थिक सम्बन्धहरू पनि भू–राजनीतिक प्रतिस्पर्धाको हिस्सा बन्नु पर्नेछ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआइ वा भारतको ‘नेबरहुड फस्र्ट’ नीतिले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राखिरहने प्रयास गरिरहेका छन् ।
नयाँ पुस्ता यी परियोजनाहरूलाई आँखा मिचेर स्वीकार गर्न तयार छैनन् भन्ने सन्देश दिन जरुरी छ । उनीहरूलाई पारदर्शिता, पारस्पारिक लाभ र वातावरणमैत्री हुनुपर्छ । नेपाली राजनीतिको लागि चुनौती भनेको दुई छिमेकी बीच सन्तुलन कायम गर्दै बस्नु मात्रै होइन, नेपालको आर्थिक स्वार्थ र युवाको आकांक्षालाई केन्द्रमा राखेर, नेपाल राष्ट्रको हितमा दुवैसँग व्यवहारिक रूपमा सहकार्य गर्ने सामर्थ्य विकास गर्नु हो ।
परिवर्तनको आह्वान
नेपालको आन्तरिक राजनीति यस बद्लिँदो भूराजनीतिक परिदृश्यलाई आफ्नो मुलुकको हितविरुद्ध अपनाउन तयार छैन भन्ने स्पष्ट सन्देश दिन जरुरी छ । दलहरूको सेवामुखी हैन सुविधामुखी राजनीति आपारदर्शी जीवनशैली, भ्रष्टाचार र बेथिति आजको परिस्थितिको मुल कारक तत्व हो ।
दलहरूबीचको अन्तर्कलह, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको एक दशकसम्म पनि आधारभूत संवैधानिक व्यवस्था कार्यान्वयनमा भएको ढिलाई र युवाहरूलाई नीति निर्माण प्रक्रियाबाट बाहिरै राख्ने प्रवृत्तिले नेपाललाई यहाँसम्म पुर्याएको हो । यस बद्लिँदो विश्वमा जेनजी पुस्तालाई बाहेक गरेर गरिने राजनीतिले संकट र खतरा मात्रै पैदा गर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।
युवा सहभागिता
अस्तिको आन्दोलनलाई छाडेर, नेपाली राजनीतिमा पोस्ट–जेनजीको आवाज नगण्य छ । नीति निर्माण, विदेश नीति र आर्थिक योजनाहरूमा युवाहरूको दृष्टिकोण समावेश गर्न नसक्नु नेपालको लागि ठूलो कमजोरी हो । उनीहरूको वैश्विक दृष्टिकोण, प्रविधिमा दक्षता र नयाँ विचारहरूलाई नजरअन्दाज गर्दा देशले ठूलो मौका गुमाउँदैथियो अब नगुमाओस् भन्ने हेक्का राख्न जरुरी छ ।
सूचनाको युद्ध
सामरिक स्थानको कारण नेपाल सूचना युद्धको मैदान बन्न सक्छ । विभिन्न बाह्य शक्तिहरूले सोशल मिडिया र डिजिटल मिडियाको प्रयोग गरेर नेपाली नागरिकहरूको मत र धारणालाई प्रभावित गर्ने प्रयास गर्न सक्छन् । यसबाट बच्न नेपालले मिडिया साक्षरता र आलोचनात्मक सोचलाई प्रवर्धन गर्नुपर्छ भन्ने शिक्षा जेन्जी आन्दोलनवाट लिन चुक्न हुँदैन ।
स्पष्ट र दीर्घकालीन विदेश नीति
नेपाललाई आफ्नो राष्ट्रिय हितमा आधारित, पारदर्शी र दीर्घकालीन विदेश नीतिको आवश्यकता हिजै थियो आज झन् जरुरी भएको छ । दुई छिमेकी बीचको सन्तुलनभन्दा पनि, ‘सबैभन्दा राम्रो मित्र’ को नीति अवलम्बन गर्नुपर्छ । नेपालले आफ्नो जलवायु, जलश्रोत र सांस्कृतिक सम्पदालाई आफ्नो भू–राजनीतिक पुँजीको रूपमा प्रयोग गर्न सिक्नुपर्छ ।
अवसर र चुनौतीको दोसाँध
भू–राजनीति परिवर्तनको संघारमा छ, तर यो परिवर्तन राज्यकेन्द्रित शक्ति प्रतिस्पर्धाको अन्त्य होइन, यो त त्यसको रूपान्तरणको हो । पोस्ट–जेनजी आन्दोलनले राज्यहरूलाई बलियो रूपमा चेताउँदै छ कि अब उनीहरूको नीति र कार्यहरूको मापन केवल सैन्य वा आर्थिक शक्तिले होइन, मानव अधिकार, पर्यावरणीय स्थिरता र सुशासनको कसीले पनि हुनेछ ।
नेपालको लागि, यो एउटा ऐतिहासिक अवसर हो । दुई ठूला अर्थतन्त्र र शक्तिको बीचमा रहेको यो देश आफ्नो सामरिक अवस्थितिलाई अभिशाप बनाउन दिन सक्दैन, बरु प्रकृतिले दिएको उपहार बनाउनुपर्छ । यसको लागि नेपालले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति–युवा शक्तिलाई राजनीतिक रूपमा सशक्त बनाउनुपर्छ । पुरानो सोच, पुरानो राजनीति र पुरानो कूटनीतिले अब काम दिँदैन ।
नयाँ विश्वले नेपालबाट के अपेक्षा गर्छ, र नेपाली युवाले आफ्नो देशबाट के अपेक्षा गर्छ, त्यसलाई नै केन्द्रमा राखेर नयाँ भूराजनीतिक रणनीति तयार पार्न जरुरी छ । यदि हामीले यसो गर्न सक्यौं भने, नेपाल विश्वमा एउटा स्थिर, समृद्ध र गर्व गर्न लायक राष्ट्रको रूपमा उभिन सक्छ । परिवर्तनको दोसाधमा रहेको विश्व राजनीतिलाई परिवर्तन गर्न योगदान पनि गर्न सक्छ । यदि यसो गर्न सकेनौं भने, भूराजनीतिक खेलको गोटी बनिबस्ने खतरा अझै झन् टड्कारो रूपमा रहनेछ ।