नेपालले विगत लामो समयदेखि भोगिआएको मूल समस्या भनेको भ्रष्टाचार हो । नारामा भाषणमा दस्तावेजमा राजनीतिक दलका नेता र सत्तामा रहेका व्यक्तिहरूले जतिसुकै भ्रष्टाचार विरोधी कुरा ओकले पनि वास्तवमा उनीहरू नै भ्रष्टाचारका कारक भएका छन् । भ्रष्टाचार माथिबाट तल संक्रमण हुँदै आएको महारोग हो ।
भ्रष्टाचारकै कारण महँगी बढेको छ । भ्रष्टाचारले नै असमानताको खाडल बढ्दैगएको छ । विभेद र अन्याय थपिदै गएको छ । भ्रष्टाचारकै कारण प्राथमिकता प्राप्त ठूला योजनाहरू समयमा र गुणस्तरीयरूपमा सम्पन्न हुन सकेका छैनन् र तिनको लागत पनि बढ्ने गरेको छ ।
देशको हित भन्दा हातमा अधिकार भएका प्रधानमन्त्री, मन्त्री, नेता र प्रशासकहरूले आफूलाई हुने फाइदालाई पहिलो प्राथमिकतामा राख्ने गरिएको छ । यसले गर्दा नेपालीहरूको टाउकामा वैदेशिक ऋणको भार थपिएको थपियै छ । सत्ता, शासन र प्रशासनमा विचौलियाहरूको प्रभाव निर्णायक तहमा पुगेको देखिँदैछ । आफ्ना अयोग्य पात्रमार्फत पैसा कुम्ल्याउन योग्यता नै परिवर्तन गर्न कानून संशोधन गरिन थालिएको छ ।
आफ्ना कार्यकर्ता र मतदातालाई सुकुम्बासीको जामा पहिराएर सार्वजनिक जमिन व्यक्तिका नाममा दर्ता गराउने काममा सत्तामा पुगेका सबै दल सरिक भएका छन् । जनविश्वासमा भन्दा पनि भ्रष्टाचारबाट आएको पैसाको खोलो बगाएर चुनाव जित्ने र फेरि पैसा कमाउने दुष्चक्रमा मुलुक फसेको लामै भइसकेको छ ।
राज्यले दिने सार्वजनिक सेवा लिन अतिरिक्त पैसा खुवाउनैपर्ने अनिवार्यता भइसकेको छ । नीजि व्यवसायमा लागेर कडा परिश्रम र लगानी गर्नु भन्दा राज्यको कुनै पनि पद प्राप्त गरेर त्यसमार्फत गरिने अकुत आम्दानीमा आकर्षण बढ्दै गएको छ । कर्तव्यनिस्ठ र इमानदारहरू भ्रष्टाचारीका अगाडि कुनै क्षेत्रमा पनि टिक्न नसक्ने भएका छन् ।
भ्रष्टाचार गरेर ठूलो धनराशि खर्च गरी बनाइएका रहरलाग्दा नीजि निवास र सवारीसाधन तथा उपल्लो कोटीका विदेशी ब्राण्डका उपभोग्य वस्तुहरूको प्रयोगले आलिसान जीवन यापन गर्ने भ्रष्टाचारीहरूको वर्ग नै छुट्टिएको छ । यसले राज्य संयन्त्र भित्र यतिसारो जरा गाडिसकेको छ कि सामान्यरूपमा यसको विरोध गरेर यसमा सुधार ल्याउने काम पहरालाई टाउकाले ठोकेर फुटाउनुजत्तिकै कठिन छ ।
समग्रमा भन्दा राज्य संयन्त्रहरू आफै भ्रष्टाचारको जालोमा बेरिएका छन् । भुटानी शरणार्थी काण्ड , सुन तस्करी काण्ड, भिजिट भिसा काण्ड, गिरिबन्धु काण्ड, अन्तर्राष्ट्रिय एअरपोर्ट निर्माण काण्डलगायतका राज्य स्वयम्ले गरेका र राज्य संरक्षित भएका भ्रष्टाचारका पछिल्ला नमूनाहरू हुन् ।
सम्पत्तिको श्रोत देखाउनु नपर्ने । जति कमाए पनि जसरी कमाए पनि हुने । अदुअआ र सतर्कता केन्द्रले पनि त्यस्तो सम्पत्ति नदेख्ने । समाजमा सान र मान भ्रष्टाचारीकै हुने । भ्रष्टाचारीका अगाडि अरूले शिर निहुराउनुपर्ने जस्तो निरीह अवस्थामा जनता पुगेका छन् । हिजोका दुई छाक खाने आर्थिक हैसियत नहुने नेताहरू आज नव धनाढ्य वर्गमा परिणत भएका छन् ।
यी सबै कारणले गर्दा नै ‘लुट्न सके लुट कान्छा , लुट्न सके लुट अरू देशमा पाइँदैन नेपालमै छ छुट भन्ने गीत गाउन पनि पशुपति शर्मा बाध्य भए । त्यसले भ्रष्टाचारीको बेइज्जत हुने भएपछि भ्रष्टाचारी सरकारले भ्रष्टाचारमा नियन्त्रण गर्नुको सट्टा त्यो गीतमा चाहिँ प्रतिबन्ध लगाउने कोसिस पनि भयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल र यस्तै सुशासन र भ्रष्टाचारको निगरानी राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले प्रकाशन गरेका प्रतिवेदनहरूले पनि भ्रष्टाचारको सूचकांक दिन प्रतिदिन चुलिदै गएको देखाउँदै आएका छन् । महालेखा परीक्षकको प्रतिवेदनले संकेत गर्ने बेरुजुको तथ्यांकले पनि त्यही कुराको पुष्टि गर्दै आएको छ ।
यसैसँग जोडिएको अर्को पाटो भनेको भनेको दण्डहीनता हो । माथिल्लो तहका राजनीतिक र प्रशासनिक व्यक्तिहरूबाट हुने भ्रष्टाचारहरू अपवादमा बाहेक कहिल्यै पनि कारबाहीको दायरामा नआउने भए । केवल तल्लो तहका व्यक्तिहरू मात्र अख्तियारको फन्दामा पर्ने गरेका छन् । साना माछा समातिने ठूला माछा उम्किने खेल भन्ने त आम मानिसहरूको उखान टुक्का नै बनिसक्यो ।
ठूलालाई जोगाउन र सानालाई फसाउनकै लागि अदुअआमा नियुक्त गरिने मानिस कि त भ्रष्ट शासकले अह्राएको मान्ने कि त पैसाको बिटो बुझाउने भ्रष्ट शासक भन्दा माथिल्लो दर्जाको भ्रष्टलाई त्यहाँ पठाउन थालियो । उसलाई महाअभियोगको त्रासमा राखी आफू उन्मुक्ति खोज्ने प्रवृत्ति बढेको प्रस्टै देखिएको छ ।
हरिप्रसाद उप्रेती
वरिष्ठ अधिवक्ता
कार्यपालिकाको लाचार छाया बनेको संसद्का सांसदहरू पनि भ्रष्टाचार विरोधी देखिन कहिलेकाहीँ मौसमी खालका अभिव्यक्ति दिनेबाहेक यो महारोगको नियन्त्रणमा राज्यका कुनै संयन्त्र पनि गम्भीर र दृढ संकल्पित हुन सकेका छैनन् । भ्रष्टाचारको यो चक्रव्यूह तोड्न सजिलो छैन ।
लामो समयदेखि यो चक्रव्यूह तोड्ने प्रसंगहरू उठे पनि ती सबै कमजोर साबित भएर सेलाएका छन् । भ्रष्टाचार गर्नेसँग राज्यको शक्ति हुने र भ्रष्टाचार विरोधीसँग आवाजमात्र हुने भएकाले यो दुष्चक्र चलिरहेको हो । माथिल्लो तहमा बसेर भ्रष्टाचार गर्ने व्यक्तिहरूले अपवादमा बाहेक कहिल्यै दण्डको भागिदार बन्नुपरेको छैन ।
व्यक्तिले गरेको दोष व्यवस्था माथि थोपरेर राज्यको उपरी संरचनामा जतिसुकै राजनीतिक परिवर्तन गरिए पनि त्यस्ता परिवर्तनहरू जनताको जीवनस्तर उकास्न भन्दा नेता र प्रशासकहरूको जीवनस्तर उकास्नमा सीमित बनेको अवस्था छ ।
यो भ्रष्टाचारको जालो तोड्ने संकल्प गरेर त्यसैअनुसारको आचरण र व्यवहार देखाउने गरी नयाँ राजनीतिक शक्तिको निर्माण गर्नु आजको आवश्यकता हो । यस प्रकारको राजनीतिक शक्तिको प्रभाव तत्कालै देखिन पनि सक्छ नदेखिन पनि सक्छ । तत्कालै त्यसले कुनै परिणाम निकाल्न सकेन भने पनि भविष्यमा त्यसको प्रभाव विस्तार हुँदै जाँदा यसले परिवर्तनको आकार देखाउँदै जानेछ ।
यसका लागि त्यस दलका सदस्यहरू पारदर्शी हुनुपर्छ । उनीहरूले आफ्नो र आफ्नो परिवारको श्रोतसहितको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने स्पष्ट खाका चुनावी घोषणापत्रमा उल्लेख गर्नुपर्छ ।
जसमा सानोतिनो रकमबाहेक ठूला कारोबारहरू बैंकिङ सेवाबाट मात्र कारोबार गर्ने व्यवस्था गरिनुपर्छ । घरजग्गा सवारीसाधन आदि ठूलो रकम लगानी गरेर खरिद गरिने वस्तुहरू खरिद गर्दा सम्पत्तिको श्रोत देखाउन अनिवार्य गरिनुपर्छ । राज्यले दिने सार्वजनिक सेवाहरू अनलाइन मार्फत दिनुपर्छ ।
यसरी सेवा दिंदा सेवा प्रदान गरिने समय तोक्नुपर्ने, दण्डको व्यवस्थालाई कडाइका साथ लागू गर्ने, राज्यले सेवा दिइएका कामहरू सार्वजनिक गरिनुपर्ने, देशको गार्हस्थ्य उत्पादनको अनुपातमा मात्र राज्यका पदाधिकारीहरूको सेवा सुविधा तोक्ने, आरक्षित वर्गलाई आरक्षण प्रदान गर्दा आर्थिक क्षमता समेत हेरेर लक्षित वर्गले मात्र त्यस्तो आरक्षण पाउने व्यवस्था गर्ने, साथै अन्य राजनीतिक दलभन्दा भिन्न दल हो भन्ने कुरा देखाउन यसका कार्यनीति र रणनीतिले मात्र होइन दलका सदस्यहरूको आचरणबाटै देखाउन सक्नुपर्छ ।
अहिलेको राजनीतिक संस्कृति भन्दा भिन्न संस्कृति देखाउन सक्नुपर्छ । पार्टीले निर्णय लिनु पर्दा विधानले स्पष्ट रूपमा तोकेर दिएको अधिकारबाहेक अरू सबै निर्णयहरू सामूहिक नेतृत्वका आधारमा गर्ने । पार्टीको मुख्य पदाधिकारी बन्न सक्ने पटक र उमेर तोक्ने । पार्टीभित्र पूर्ण आन्तरिक स्वतन्त्रता प्रदान गर्ने । पारित भएको विधानको अक्षरशः पालना गर्ने, यी र अन्य यस्तै कुरा समटिनुपर्दछ । यी मोटामोटी कुरा मात्र हुन् यस्ता सबै बुँदाहरू यस लेखमा अटाउन सम्भव छैन ।
अहिलेसम्मको दलीय व्यवस्थाको अभ्यासले दलका नाम जेसुकै राखे पनि उनीहरूको आचरण र व्यवहार एउटै प्रकारको देखिएको छ । मैले नेपालका अहिलेसम्म देखा परेका राजनीतिक दललाई केही वर्ष अगाडिदेखि एउटै सामान बेच्ने बेग्लाबेग्लै पसलजस्ता भन्दै आएको छु ।
पसलका नाम बेग्लाबेग्लै भए जस्तै राजनीतिक दलका नाम पनि बेग्लाबेग्लै छन्, तर तिनबाट सम्पादन हुने कामको प्रकृति एउटै छन् । राजनीतिक दलका सरकार परिवर्तन हुँदा राज्यका विभिन्न निकायमा रहने व्यक्तिहरू फेरिन्छन् । उनीहरूको प्रवृत्ति भने एउटै हुन्छ । बहुदल भए पनि देश लुट्ने मामिलामा एउटै दल जस्ता छन् ।
अहिले यिनीहरूले एउटा बेग्लै वर्ग खडा गरेका छन् । सामान्य जनताका भन्दा यी दलका नेताहरूका आचरण र व्यवहारहरू भिन्न देखिन्छन् । यिनी धेरै जना जनताको मतले विजयी भएर आफ्नो वा आफ्ना मानिसको स्वार्थ पूर्ति गर्न त्यो मतलाई प्रयोग गर्ने गर्दछन् । जनप्रतिनिधिमा हुनुपर्ने कर्तव्यबाट यी सबै धेरथोर चुकेका छन् ।
नेपालको अहिलेको राजनीतिक संस्कृतिमा देखिएको सबै भन्दा ठूलो समस्या नै सार्वजनिक पदीय हैसियतलाई व्यक्तिगत हैसियतमा प्रयोग गर्ने कुरा रहेको छ । जति ठूलो पदमा पुग्यो त्यति नै पदीय हैसियतलाई नीजि स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिले जरा गाडेको छ । मैले आवश्यकता देखेको नयाँ दलले यी माथि वर्णित प्रवृत्ति त्यागेर सच्चा जनप्रतिनिधि बन्ने प्रण गर्न सक्नुपर्छ । मुलुककै नमूना बन्न सक्ने राजनीतिक संस्कृति देखाउन सक्नुपर्छ ।
कोरा राजनीतिका शास्त्रहरू फलाकेर र विकास निर्माणका हावादारी गफ दिएर मुलुक चल्नेवाला छैन । राजनीतिलाई आर्थिक विकाससँग जोड्न सकेमा मात्र चिनमा देङ, मलेसियामा महाथिर, सिंगापुरमा ली क्वान यू र दक्षिण कोरियामा पार्कचुंगले गरेको जस्तो तीव्र गतिको परिवर्तन र विकास ल्याउन सकिन्छ । यसका लागि परिवर्तन अरूमा खोज्ने होइन आफैमा सुरु गर्न सक्नुपर्दछ ।
अहिले विचारका आधारमा भन्दा पनि शुद्ध आचारणका न्यूनतम कुराहरू मिल्नेहरूका बीच राजनीतिक ध्रुवीकरण गरी भिन्न–भिन्न राजनीतिक वा दलीय पृष्ठभूमि भए पनि आचरणमा शुद्ध देखिएका देशभक्त व्यक्तिहरूका बीचबाट शक्तिशाली दल निर्माण गर्ने पहलकदमी कुनै ऊर्जाशील व्यक्तिबाट चाँडै सुरु होस् भन्ने अपेक्षा गरेको छु । अहिले राजनीतिक शास्त्र बुझ्नेका कुरा सुनेर मानिस अघाइसकेका छन् । त्यसैले अहिले सुधार र विकास बुझ्नेको टड्कारो खाँचो रहेको छ ।