नेभिगेशन
दृष्टिकोण

पुरोहित कमरेडहरू र पुँजीवाद

गएको ६० वर्षयता नेपालमा विश्वविद्यालय खुले, राजनीतिक दल निर्माण भए, नागरिक संगठनहरू सक्रिय बने । अझ खासगरी यो दौरानमा वामपन्थी र साम्यवादी राजनीतिक दललगायत यस्तै विचार बोकेका समूहहरू मुलुकको राजनीतिमा हाबी रहे वा अरू राजनीतिक शक्तिको हाराहारीमा रहे । साम्यवादको उद्देश्य राख्दै छिटपुट सशस्त्र कारबाही छेडिए । विश्वमै र इतिहासमै विरलै छेडिने ‘जनयुद्ध’ नेपालमा एउटा पूरै दशक सञ्चालन भयो । हजारौं हजार हताहत भए, अंगभंग, घाइते र विक्षिप्त भए ।

राज्यसत्ता र समाजले केही कोल्टो फेर्‍यो । यस दौरान सामन्तवाद, पुँजीवाद, नौलो जनवाद, समाजवाद, साम्यवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवादजस्ता केही परिभाषित, केही अत्यन्त अपरिभाषित राजनीतिक कार्यक्रमका अवधारणा छताछुल्ल बने । तर यी कुनै पनि अवधारणा र राजनीतिक कार्यक्रमहरूको वस्तुपरक र आम चरित्र चित्रण गर्ने र वर्णन एवं व्याख्या गर्ने, सम्भाव्यता र असम्भाव्यता विश्लेषण गर्ने अठोट बोकेको पुस्तक नेपालमा देखा परेन । त्यस्ता लेखहरूसमेत बिरलै देखा परे । यो पक्कै पनि दुःख र चिन्ताको विषय रह्यो ।

किन यस क्षेत्रमा र यस अवधिमा एउटै पनि गतिलो पुस्तक प्रकाशन हुन सकेन ? प्रथमतः नौला अवधारणा र राजनीतिक कार्यक्रमबारे सिक्नुपर्छ । समालोचना र परिमार्जनमा लाग्नुपर्छ भन्ने बौद्धिकता र राजनीतिक चेत न्यून रह्यो । राजनीतिक दल र नेतृत्वलगायत बौद्धिक धर्म पालन गर्ने अन्य संस्था र व्यक्तिहरूमा पनि । श्री नयराज पन्तको त्रिखण्डी शिक्षा यहाँ पनि जबरजस्ती रुपमा लागू भयो ।

दोस्रो, नेपालका प्रगतिशील, वामपन्थी र खासगरी साम्यवादी राजनीति एवं राजनीतिक दलहरूका भनाइमा ‘ठोस स्थितिको ठोस विश्लेषण’को आग्रह गर्ने, बुझाइमा केही अन्यमनस्क रहने अनि प्रवचन र कार्यकर्ता अभिमुखीकरण तालिम आदिमा भने गम्भीर तहमा रुढीग्रस्त रहने बलियो परम्परा रह्यो ।

त्यसैगरी नालायक विद्यार्थीले झै पुराना एकाध ठेलीहरूबाट एकाध लाइन उदृत गर्ने तर आफ्नै जीवन र भोगाइको प्रकृति र बहावलगायत समाज एवं इतिहासक्रमको विशिष्टतालाई मनन, संश्लेषण र सैद्धान्तीकृत गर्न अत्यन्त गाह्रो मान्ने बनाइयो । हाल आएर ‘पुरेत मार्क्सवाद’ लगायत ‘पुरेत मालेमावाद’ मुलुकको इतिहासले केही कोल्टो फेर्दासमेत बलशाली छ । 

केही नेताहरू यस परम्पराबाट भने हच्किएका छन् । ‘मैले र मेरो दलले यस कारणले उद्देश्य र बाटो फेर्नुपर्‍यो, अनन्त इतिहासको यो नवीन शृंखलाका दौरान यो नयाँ उद्देश्य र बाटो फेर्नाले यो–यो फाइदा हुन्छ’ भनेर खुलेर भन्ने आँट भने बटुल्न सकेका छैनन् ।

तेस्रो, सामन्तवाद, पुँजीवाद, समाजवाद, साम्यवाद आदिको अवधारणात्मक, ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक आयामहरूको मिहीन र मूर्त चिरफार गर्ने लेठो उठाउँदै नउठाउने तर कुनैलाई निक्खर घृणा र कुनैलाई भक्तिभावपूर्ण प्रणाम गर्न पनि नचुक्ने र यसरी समालोचनात्मक चेत गुमाउन पुग्दाको परिणति हो । 

मार्क्स, एङ्गेल्सलगायत लेनिन, स्टालिन, माओ हुँदै गोन्जालोलाई समेत विश्व र नेपालकै विगत, वर्तमान, आगतसँग अवगत मान्दै उनीहरूको तस्बिर झुन्ड्याउने र माल्यार्पण गर्ने चलन यही अर्धचेतको परिणाम हो । सूचना, ज्ञान, बुद्धि, प्रेम, दया, घृणालगायत सिद्धान्त र राजनीतिक कार्यक्रमहरू विशिष्ट ऐतिहासिक बहावका उपज हुन् भन्ने तथ्य आत्मसात् नगर्नुका परिणति हुन् ।

उता वामपन्थीबाहेक अन्य दलहरूलाई भने सिद्धान्त र राजनीतिक कार्यक्रमबारेको सघन बहस विश्व र नेपालको इतिहासले अकाट्य रूपले छिनिसकेको छ । तसर्थ अनावश्यक, क्लिष्ट र पट्यारलाग्दो लाग्ने गरेको छ । हरेक वाद र राजनीतिक कार्यक्रमहरूलाई अमूर्त, आम र सोलोडोलो रुपमा नभएर वर्तमान विश्वव्यवस्थाको बहावको मिहिन, मूर्त र विशिष्ट विश्लेषणअन्तर्गत नेपाल र करिब नेपालजस्तै विश्वका बीसौ, तीसौ मुलुकहरूको आँखाबाट बुझ्न सकिन्छ भन्ने सचेतना र कर्मको सर्वथा अभाव छ ।

आफ्नो वा आफ्नो दल समूहको अवधारणा, खाका र सिद्धान्तको सत्यता र व्यावहारिकता कति छ ? जाँच्न तिनलाई विपरीत विचारसँग नै दाँजेर हेर्नुपर्छ । सत्यको खोजी गर्न आँट गर्ने भनेको विपरीत वा पृथक् धारणाहरूसँग सम्मुख भएर र भिडेर नै हो । यस्तो परिस्थितिमा इमन बटलरको ‘एन इन्ट्रोडक्सन टू क्यापिटलिजम’ एउटा सरल र तिखो किताब देखिन आएको छ । 

लेखक पुँजीवाद र व्यक्तिगत स्वतन्त्रताको तीखो पक्षपोषण गर्ने संस्था एडम स्मिथ इन्स्टिच्युटका निर्देशक हुन् र विभिन्न महत्वपूर्ण पुस्तकका लेखक पनि । यस अर्थमा यो किताब आम पाठकलगायत राजनीतिकर्मीका लागि उपयोगी ठहरिन्छ ।

आमरूपमा दोषारोपण गरिएझै पुँजीवादमा कसरी पुँजी केही व्यक्तिमा पूरै केन्द्रित छैन, बरू हरेकजसो व्यक्ति कसरी केही न केही पुँजीका स्वामी बनेका छन् भन्ने दृष्टिकोण किताबमा पेस गरिएको छ । पुँजीपति भन्नेबित्तिकै उसले अरूको श्रमको दोहन गरेर धनी र झन् धनी कसरी बन्छ भन्ने बहसको उल्टो कसरी साना उद्यमी, व्यापारी आदिले आफ्नै श्रम र सानो पुँजीको लगानीका आधारमा सम्पन्न बन्न सक्छन् भन्ने तथ्य पेस गरिएको छ । 

अझ पुँजीवादअन्तर्गत मात्र नभएर सबै आर्थिक प्रणालीहरूमा पुँजीको लगानी गरेर उत्पादन गरिन्छ भन्ने दलिल दिइएको छ । पुँजीवादअन्तर्गत कसरी मेसिन, रेल, बिजुली, बैङ्क आदि थप पुँजी निर्माण गर्ने अङ्गहरू अर्थात् ‘क्यापिटल गुड्स’हरूमार्फत उत्पादकत्वको विशाल बढोत्तरी भयो, त्यसको पनि चर्चा गरिएको छ ।

त्यसैगरी वित्तीय स्रोतलाई मात्र नभएर सीप, बजार व्यवस्था, कानुन नियम, संस्कृति आदिलाई पनि पुँजीका रुपमा हेर्नुपर्छ भन्ने आग्रह गरिएको छ । पुँजीको स्वामित्व पहिलेको भन्दा धेरै व्यापक भएको बताइएको छ । 

अर्थात् पुँजी ठूला नाम चलेका पुँजीपतिहरूमा मात्र केन्द्रित नभई सामान्यजनमा छरिएर रहेको छ भनिएको छ । साथै कुनै पनि पुँजीपतिको पुँजी स्थिर नभएको, पुँजीको सञ्चालनबाट घाटा हुनेसमेत यथेष्ट सम्भावना रहेको र यसैकारणले पुँजी सञ्चालन अत्यन्त जोखिमपूर्ण र मिहिनेत लाग्ने काम हो भन्नेमा जोड दिइएको छ ।

पुँजीवादी प्रक्रियाहरू विधिमा आधारित रहने हुँदा पुँजीवादले लडाइँझगडा पनि कम गर्न मद्दत गर्छ । पुँजीवाद निजी सम्पत्तिको कानुनी र सामाजिक व्यवस्थामै आधारित हुन्छ । तर सम्पत्ति र अन्य स्रोतसाधनहरू पुँजीमा रुपान्तरण गर्न आवश्यक अवयवहरूमा अपनत्व, लगन र दृढता नै हुन् । 

समय, अपनत्व र दृढताले थप र नवीन पुँजीको सिर्जना गर्न सकिन्छ, किताबमा भनिएको छ । यी र यस्तै नीतिहरूको अवलम्बनले मुलुक र सरकारहरू पुँजी निर्माण गर्न सफल बन्छन् । गलत नीतिले पुँजीको सिर्जनामा अवरोध गर्न मात्र होइन, निर्माण भइसकेको पुँजीको शीघ्रातिशीघ्र क्षय पनि गर्न सक्छ । इतिहासमा धेरै पटक यस्तो भएका दृष्टान्तहरू छन् ।

पुँजीवादको जग अरूको हानी नगरीकन आफूलाई अघि बढाउने दृढ स्वेच्छा हो, लेखक भन्छन् । यस्तो इच्छा स्वाभाविक र प्राकृतिक दुवै हो । अर्काे पुँजीवादको जग निजी सम्पत्तिको अधिकार हो । आफ्नो सम्पत्तिबारे हामी सबै गम्भीर ख्याल राख्छौ र हेरचाह गर्छाैं । तर उता धेरै ठाउँमा सार्वजनिक, सामूहिक सम्पत्तिको हेरचाह नगरेर छिटो क्षय हुँदै गरेको हामीले देखेकै छौ । 

उद्यमीले आर्जन गर्ने  नाफा पुँजीवादको तेस्रो आधार हो । उद्यमीहरू अत्यन्त रचनात्मक र धेरैजसो अत्यन्त मिहिनेती हुन्छन् । रचनात्मक र मिहिनेती हुन छाड्नेहरूको उद्यमशीलता फस्टाउने सम्भावना पनि रहँदैन ।

dr-Chaitanya-Mishra-1760674360.jpg
डा. चैतन्य मिश्र

पुँजीवादको अर्काे जग निरन्तरको प्रतियोगिता र अरूलाई अनि आफैंलाई निरन्तर उछिनिराख्ने संस्कृतिको अवलम्बन हो । त्यसैगरी अर्काे आधार उत्पादन, प्रक्रिया, सीप, सामान, सेवा आदिको विशिष्टीकरण हो । विशिष्टीकरणले हामीलाई मिहिनतातर्फ, उत्कृष्टतातर्फ र विस्तारीकरणतर्फ उन्मुख गराउँछ । 

अर्काे महत्वपूर्ण जग बजार व्यवस्था हो । बजारमार्फत नै उत्पादित सामान र सेवाहरू कम खर्चमा प्रभावकारी तरिकाले वितरण गर्न सकिन्छ । पुँजीवादअन्तर्गत उत्पादकत्व एकदमै उच्च बन्ने हुँदा उत्पादित वस्तु र सेवाको वितरण उत्तिकै प्रभावकारी र कम खर्चिलो हुनु आवश्यक बन्छ । 

बजारको व्यवस्थापन प्रभावकारी हुँदा क्रेता र विक्रेताहरू सामान र सेवाको भाउ, गुणस्तर आदिबारे सुसूचित बन्छन् र निर्धक्क किनबेच गर्न सक्ने बन्छन् । लेखक भन्छन्– पुँजीवादको महत्त्व र उपयोगिता सम्पत्ति र कुनै पनि उपयोगी वस्तु वा सामानको निर्माण र वितरण गर्नु हो ।

पुँजीवादले आम रुपमा ती काम फत्ते गर्न विभिन्न पारितोषकहरू प्रदान गर्छ र श्रमिक, पुँजीपति, उद्यमी र कर्मचारीहरूलाई उत्साह दिन्छ । यसै प्रक्रियाबाट आम जनताका विविध आवश्यकता परिपूर्ति हुन्छन् । साथै सम्पत्ति र आम्दानीको बढोत्तरी हुन्छ । 

१९८० पछि पूर्वी युरोप, चीन, भारतलगायत हङकङ, ताइवान, जापान, दक्षिण कोरिया आदिमागरिबी स्वाट्टै घट्नुको मुख्य कारण पनि यही नै हो । कार्ल माक्र्स र उनका अनुयायीहरूले जेसुकै भने पनि बेलायतमा १८२० देखि तन्नम गरिबलगायत सबै परिवारहरूको आम्दानी छिटोछिटो बढ्दै थियो । अन्यको तुलनामा कलकारखानाको काम दिगो पनि थियो ।

नत्र ग्रामीण भेगहरूबाट सहरतिरको श्रम र बसाइँसराइको औचित्य कसरी पुष्टि हुन्थ्यो ? लेखकको प्रश्न छ । किताबमा एडम स्मिथ, डेभिड रिकार्डाे, लुडविग भन मिसेस, फ्रेडरिक हाएक, मिल्टन फ्रिडम्यान, जेम्स ब्युकानन र गोर्डन टुलक, गेरी बेकर, इज्रायल कर्चनर, डेइड्रे म्याकक्लस्कीका पुँजीवादी विचार शृंखलाबारे चर्चा गरिएको छ । र, यी विचारकलाई सम्झिनुपर्ने योगदान आदि वर्णन गरिएको छ ।

किताबमा केही लेखकहरूलाई भने पुँजीवादको आलोचना गरेबापत नै धनी बनेको रोचक किसिमले बात लगाइएको छ । पुँजीवादी समाजका कारण मैले भाउ पाइनँ भन्ने लेखकलाई चाहिँ उनी भन्छन्– पुँजीवादले भाउ दिने, नदिने गर्दैन । बरू सामान्य पाठकले भने भाउ नदिएको पक्कै हुनुपर्छ ।

पुँजीवादले गर्दा असमानता धेरै बढ्यो भन्ने सोच र प्रमाणलाई किताबले इन्कार गर्छ र भन्छ–आय आदि कर तिरिसकेको आम्दानीमा आम रुपमा भनिने गरेझैं अथाह असमानता हुँदैन । किनकि धेरै आय हुनेले उच्च दरको कर तिर्छन् ।

उता पुँजीपति र अझ व्यापारीहरूलाई लोभी भन्ने चलन व्यापक छ । तर पुँजीपति र व्यापारीहरू मात्र होइन, हामी उपभोक्ताहरू पनि आफूलाई के गर्दा फाइदा हुन्छ, त्यसको त ख्याल राख्छौ नै । तेस्रो, पुँजीवादले उपभोक्तावाद बढाउँछ भन्ने आरोप छ । 

तर कसले केकति उपभोग गर्नुपर्छ र सोभन्दा बेग्लै वा धेरै उपभोग गर्नुहुँदैन भन्ने मापदण्ड बनाउनेलगायत रोक लगाउने प्राधिकार कसैमा रहन सक्छ ? अनि फेरि यो पनि बुझ्नुपर्छ कि पुँजीवादको उत्पादकत्व उच्च भएकाले नै आम परिवारहरूको आय सापेक्षिक रुपमा उच्च हुन सकेको र यसकारण उपभोग पनि सापेक्षिक हिसाबले उच्च हुन पुगेको हो ।

चौंथो, कसैकसैले पुँजीवाद लगानीकर्ता र अन्य थोरै व्यक्तिको हितका लागि मात्र सञ्चालन हुन्छ, यो पद्धतिले सिङ्गो समाजको हित हुँदैन भन्ने गर्छन् । यसर्थ पुँजीवाद बढीभन्दा बढी लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुनुपर्छ ।

तर लोकतन्त्र यथास्थितिवादी हुन्छ र यसले द्रुत परिवर्तन, नवप्रवर्तन आदिलाई सहँदैन । फेरि लोकतन्त्र सञ्चालन गर्नेहरूले आगामी चुनावको वा दुईचार वर्षको सीमाभित्र मात्र सोच्ने गर्छन् । यी नेताहरूमा दूरदृष्टि हुँदैन, जुन व्यापार, उद्योग आदि सञ्चालनका लागि अत्यावश्यक हुन्छ ।

समग्रमा किताब रोचक छ । किताबले विद्यार्थी, शिक्षकलगायत खासगरी यो युगमा भुइँमा खुट्टा नटेकेको सिद्धान्तमाथि निष्ठा राख्ने पुरोहित कमरेडहरूलाई बेलाबेलामा सोध्न बाध्य पर्छ । यो किताबलाई आद्योपान्त पृथक् र विपरीत पुरोहित्याइँले भरिपूर्ण छ । 

पक्कै पनि इतिहासको खास कालखण्डमा पुँजीवाद उत्कृष्ट प्रणाली रह्यो । र पुरोहित मालेमावादीहरूका लागि बाहेक जिउँदो पुँजीवाद अरू कुनै पनि जिउँदो प्रणालीभन्दा उत्कृष्ट प्रणाली नै हो । तर सर्वस्थानिकता र सर्वकालिकता अर्थात् गैरऐतिहासिकतालाई नपछ्याउने हो भने कुनै पनि संरचनामा उतारचढाव आउँछ । र कालान्तरमा त्यसको क्षय हुन्छ भन्ने पक्कापक्की छ । 

उता पुँजीवादी मानवता आफै कुनै चिरञ्जीवी संरचना, मूल्यमान्यता र आभास होइन । विशिष्ट ऐतिहासिक र संरचनात्मक प्रणालीमा विशिष्ट मानवताको जन्म हुन्छ । र सो प्रणाली फेरिँदा नवीन मानवताको जन्म हुन्छ । त्यस्तै कुनै पनि वाद कालजयी हुन सक्दैन । सामन्तवाद, पुँजीवाद, साम्यवाद आदि पनि विशिष्ट इतिहासका उपज हुन् । यसैले यी नाशवान् छन् । किताबका यी ठम्याइहरू वर्तमानवाद र गैरऐतिहासिकवादका असत्य उपज हुन् । 

दोस्रो, मालेमावादलगायत यो किताबमा अङ्गीकार गरिएको पुँजीवादी भक्तिवाद दुवैमा गम्भीर समस्या छ । पहिलोले जिउँदो समाजवादको नभएर कल्पनाको समाजवाद सर्वश्रेष्ठ छ भन्छ । दोस्रोले जिउँदो पुँजीवादमा कथंकदाचित् केही खोट नदेखिए पनि कल्पनाको पुँजीवादको अन्त्यहीन बचाउ गर्छ । जाहेर छ, दुवैलाई कल्पनामा रमाउने र कल्पनामै सत्य खोज्ने रोग लागेको छ ।

तेस्रो, किताबमा पुँजीवाद र समृद्धिको बीचमा कसिएको लगनगाँठोबारे निकै विश्वस्त हुन सकिन्छ । तर पनि पुँजीवादले असमानता थप्दैन भन्ने दाबा अधिकांशतः असत्य छ । पुँजीवादी विश्वव्यवस्थाले युरोप र अमेरिकामा चारपाँच सय वर्षयता समृद्धि थपेको पक्कै हो ।

तर त्यो समृद्धि भारत र चीनलगायत एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरूमाथिको औपनिवेशिक र राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रहरूमाथिको कब्जा र त्यहाँका बासिन्दामाथि थोपरिएको उत्पीडनको उपजसमेत थियो ।

सन् १६०० तिर युरोपमा बढ्न थालेको पुँजीवादी समृद्धि औपनिवेशिकताअन्तर्गत खासगरी एसियाको व्यापक औद्योगिक विकासको विनाश गरेर, स्रोतसम्पदामाथि कब्जा गरेर र कडा जातीयता अख्तियार गरेर सम्भव बनेको हो । 

यी प्रक्रियाहरूअन्तर्गतका युरोप र पछि अमेरिका एकातिर र अर्काेतिर बाँकी विश्वबीचको असमानताका केही आधार अझै बाँकी नै छन् । केही नयाँ आधार थपिएका पनि छन् । युरोप–अमेरिकाका मुलुकहरूभित्रै पनि असमानता झन्डै अपूर्व रुपमा सघन बनेको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय हुनु, बेलायत बाँकी युरोपबाट अलग बन्ने तरखरमा रहनु, युरोपका अन्य कतिपय मुलुकमा दक्षिणपन्थी र जातिवादी दलहरूले चुनाव जित्नु र सरकार बनाउनुमा मुख्यतया त्यहाँ बढ्दै गरेको क्षेत्रीय र पारिवारिक असमानता जिम्मेवार रहेकोबारे कुनै शङ्का बाँकी छैन ।

हाल युरोपका एकतिहाइदेखि आधा जस्तो मुलुकलगायत अमेरिकामा पातला राजनीतिक गृहयुद्ध चलिरहेका छन् । साथै पुँजीवादको विश्वकेन्द्र चीन र अन्य केही मुलुकलगायत सिङ्गो एसियामा स्थानान्तरण हुने क्रममा देखिन्छ । यो स्थानान्तरणको असर युरोप, अमेरिकालगायत चीन र अन्य मुलुकमा परिरहेको छ । यो असर अझ गम्भीर बन्दै जाने निश्चितप्रायः छ ।

मालेवाद, मालेमावादलगायत यो पुस्तकले अख्तियार गरेको पुँजीवादी भक्तिवादबीच अर्काे एउटा उल्लेख्य समानता छ । खासगरी सोभियत सङ्घको कम्युनिस्ट पार्टीले कतिपय हिसाबले माक्र्सको हुर्मत लियो । माक्र्सका कुनै पक्षलाई लुकायो, कुनैलाई माक्र्सले दिएभन्दा जोड दियो र लेनिनवाद र स्टालिनवादलाई ‘मार्क्सवाद’को जामा पहिर्‍यायो । 

त्यसैगरी यो किताबमार्फत एडम स्मिथ इन्स्टिच्युटले एडम स्मिथले पुँजीवादको प्रशंसा गरेकोबारे ठीकठिकै लेखेको छ । तर उनले आम श्रमिकहरूको सामाजिक कल्याणमा दिएको जोड भने चटक्कै बिर्सिएको छ । र उनको हुर्मत लिएको छ ।

- इमन बटलरको पुस्तक ‘पूँजीवाद एक परिचय’ बाट ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले