नव जीवनमा शान्ति, सन्तुलन र सन्तुष्टि नै वास्तविक समृद्धि हो । धन, शक्ति वा कीर्तिले मात्रै समृद्धि सुनिश्चित हुँदैन । मनको शान्ति र मानसिक स्थिरताबिना जीवन अस्वस्थ, चिन्तित र अधुरो रहन्छ । व्यक्तिले जब आफ्नो सोच, भावना र व्यवहारमा सन्तुलन ल्याउन सक्छ, तब मात्र ऊ रचनात्मक, उत्पादक र सामूहिक रूपमा समाजमा योगदान गर्न सक्षम हुन्छ ।
नेपाल जस्तो विविधता र परिवर्तनशील समाजमा, मानसिक स्वास्थ्यको सुदृढता नै सामाजिक शान्ति, सहिष्णुता र आर्थिक प्रगतिसँग प्रत्यक्ष सम्बन्धित छ । त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै प्राथमिकता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो । विशेषतः जेनजी अभियान र देशमा आएको अकल्पनीय स्थिति र अब के हुने होला भन्ने अस्थिर चिन्ताले सबैमा नै मानसिक अशान्ति, बेखुसी र तनाव दिनानुदिन बढ्दै गएको अनुभव गर्न सकिन्छ ।
नागरिकमा नै मानसिक चिन्ता बढ्नु र मानसिक अशान्ति छाउनु भनेको राष्ट्रको समग्र समृद्धिमा अवरोध र ढिला सुस्तिको लक्षण हो । मानसिक स्वास्थ्य भन्नाले केवल मानसिक रोग नहुनु मात्र होइन, व्यक्तिको सोच, भावना, व्यवहार र सामाजिक सम्बन्धमा सन्तुलन रहनु हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार–मानसिक स्वास्थ्य भनेको यस्तो अवस्था हो जसले व्यक्तिलाई आफ्नो क्षमता बुझ्न, तनावलाई व्यवस्थापन गर्न, उत्पादनशील रूपमा काम गर्न र समाजमा योगदान पुर्याउन सक्षम बनाउँछ ।
नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको महत्त्व झन् प्राथमिकतामा राखिनु जरूरी छ किनभने अहिलेको अस्थिर राजनीतिक वातावरण, सुशासन र अन्यौलको अवस्थाले धेरै युवाहरू र नागरिक आर्थिक असमानता, बेरोजगारी, सामाजिक दबाब र सांस्कृतिक अपेक्षाबिच संघर्षरत छन् ।
नेपालको समाजमा अहिले विगतका सम्बन्धहरू क्रमशः कमजोर हुँदै गएका छन् । मानिसहरू आफ्ना भावना, डर र असुरक्षाबारे बोल्न सक्दैनन् । के भन्लान् भन्ने सोच र मानसिक स्वास्थ्यबारेको कलंकले समस्या झन् गहिरिँदै गएको छ ।
भ्रष्टाचारजस्ता कारणले नागरिकमा असुरक्षा, आक्रोश र निराशा बढेको छ । मानिसहरूलाई आफ्नो भविष्य र स्थायित्वप्रति विश्वास घटेको छ । यस्तो अवस्थाले समाजमा सामूहिक मानसिक अस्थिरता ल्याएको छ, जसले व्यक्तिगत तनाव, आत्मविश्वासको कमी र सामाजिक अविश्वासमा रूप लिएको छ ।
सामाजिक सञ्जालले तुलना र प्रतिष्पर्धाको संस्कृति जन्माएको छ । हरेक क्षेत्रमा प्रतिष्पर्धाको सोचले आत्ममूल्य र आत्मविश्वासमा आघात पुर्याइरहेको छ । युवा पुस्ता निरन्तर डिजिटल मान्यताको खोजीमा छ, जसले उनीहरूको मानसिक शान्ति हरण गरिरहेको छ ।
अनलाइन माध्यममा घण्टौँ बिताउँदा एक्लोपन, निद्राको समस्या, र वास्तविक सम्बन्धमा दूरी बढ्दै गएको छ । आफ्नो करियर, भविष्य, रोजगारी र समाजको तुलनासंस्कृतिले युवाहरूलाई मानसिक रूपमा अस्थिर बनाएको छ । असफलता स्वीकार्न नसक्ने संस्कृतिले तनाव, आत्मग्लानि र कहिलेकाहीँ आत्महत्यासम्म पुर्याउँछ । मानसिक स्वास्थ्यकै कारण सांस्कृतिक र आत्मपहिचानको खोजी हुने गर्दछ ।
समाजको सांस्कृतिक मूल्य, पारिवारिक संरचना र आधुनिक जीवनबिचको द्वन्द्वले सबैलाई म को हुँ ? भन्ने प्रश्नमा चिन्तित र सोचमग्न गराईरहेको हुन्छ । युवा पुस्ता स्वतन्त्रता र अभिव्यक्तिको चाहनामा छ, तर समाज अझै परम्परागत र नियन्त्रणमुखी छ ।
डा नम्रता पाण्डे
यो द्वन्द्वले उनीहरूलाई आन्तरिक रूपमा विभाजित बनाएको छ, जसको परिणाम मानसिक असन्तुलन, असुरक्षा र सामाजिक विचलनमा देखिन्छ । जेनजी आन्दोलनमा धेरै परिवारका युवा सदस्यको मृत्युले मानिसहरूमा गहिरो भावनात्मक चोट छोडेको छ ।
पहिलेका पुस्तामा समुदाय र परिवार एक अर्काका भावनात्मक सहारा थिए । आफ्नो मनको कुरा गर्न सक्ने ठाउँ नपाउँदा मानिसहरू भित्रभित्रै मानसिक चिन्तामा रहन्छन् । विशेषगरी युवाहरूले ‘सुन्ने’ अभिभावक नपाउँदा उनीहरू सामाजिक सञ्जालतिर वा नकारात्मक व्यवहारतिर आकर्षित भएका छन् । यसको परिणाम मौन महामारीको स्वरूपमा देखिन्छ । मानसिक स्वास्थ्य समस्या अझै पनि धेरैले खुलेर स्वीकार गर्न सक्दैनन् ।
धेरैजसो मानिसले ‘म त ठीक छु’ भन्दै आफ्नो पीडा लुकाउँछन् । समाजले मानसिक समस्या भएको मान्छेलाई ‘कमजोर’ ठान्छ । वास्तविकता के हो भने मानसिक अशान्ति अब केवल व्यक्तिगत समस्या होइन, सामाजिक महामारी हो । यसको असर उत्पादकता, सम्बन्ध, शिक्षा, र समुदायको स्थायित्व सबै क्षेत्रमा पर्छ ।
मानसिक स्वास्थ्य बहुआयामिक हुन्छ । जस्तै– भावनात्मक आयामसआफ्ना भावनाहरू बुझ्ने, नियन्त्रण गर्ने, र स्वस्थ रूपमा व्यक्त गर्ने क्षमता । रिस, दुःख, भय वा तनावलाई सम्हाल्न सक्ने अभ्यास यस अन्तर्गत पर्दछन् । सामाजिक आयाम अन्तर्गत अन्य व्यक्तिसँग स्वस्थ सम्बन्ध बनाउने, सहयोग र सहानुभूति जनाउने, र समाजमा आत्मसात हुने क्षमता पर्दछ ।
आत्मिक वा आध्यात्मिक आयाम अन्तर्गत जीवनको अर्थ, मूल्य र उद्देश्य बुझ्ने चेतना पर्दछ । ध्यान, प्रार्थना वा आत्मचिन्तनबाट यसलाई सुदृढ गर्न सकिन्छ । बौद्धिक आयाम भित्र सोच्ने, सिक्ने, नयाँ विचार स्वीकार गर्ने र समस्याको समाधान खोज्ने क्षमता आउँछ । नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा मानसिक स्वास्थ्यको आधार हुन् । व्यावसायिक वा आर्थिक आयाम जसको माध्यमबाट काममा सन्तुष्टि, उद्देश्य र आत्ममूल्यबोध हुनु । बेरोजगारी वा रोजगारीप्रति असन्तुष्टि मानसिक तनावको प्रमुख कारण हो ।
सुधारका उपायहरू
लगातार दुस्ख, निराशा, डर वा असुरक्षाको महसुस हुनु मानसिक तनावका कारण हुन् । आत्ममूल्यको कमी वा आत्मग्लानि र एक्लोपनको अनुभव पनि मानसिक स्वास्थ्य सही नहुनुको लक्षण हुन् । पढाइ वा काममा रुचि घट्नु, निद्राको समस्या वा अत्यधिक निद्रा, आत्महत्या वा आत्महानिको सोच, शारीरिक रूपमा थकान, पेट दुखाइ, टाउको दुखाइ, हृदयगति बढ्नु आदि मानसिक स्वास्थ्य र तनावका लक्षण हुन् ।
तर यिनलाई सन्तुलनमा राख्ने उपायहरू पनि छन्, ध्यान र योग अभ्यास । ध्यानले मनलाई स्थिर बनाउँछ, एकाग्रता बढाउँछ र तनाव घटाउँछ । सामाजिक सम्बन्ध सुदृढ बनाउने, परिवार, साथी वा समुदायसँग नियमित संवाद गर्नु । दुःख वा तनावबारे खुलेर कुरा गर्नु मानसिक तनाव कम गर्ने पहिलो चरण हो ।
त्यसैगरी, स्वस्थ जीवनशैली अपनाउनु,पर्याप्त निद्रा ८ घण्टा सुत्नु, ताजा तरकारी, फलफूल खानु, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मदिरा, धूम्रपान वा नशाको दुरुपयोगबाट टाढा रहने कोशिस गर्नु, डिजिटल डिटोक्सको अभ्यास गर्ने,दिनको केही समय मोबाइल र इन्टरनेटबाट टाढा रहनु। प्रकृतिसँग समय बिताउनु, आदि अभ्यास मनलाई शान्त पार्ने उत्तम उपाय हुन् ।
त्यसैगरी, कला, संगीत र सिर्जनात्मकतामा ध्यान दिनु, गीत, नृत्य, चित्रकला वा लेखनले दबिएका भावनाहरूलाई स्वस्थ रूपमा व्यक्त गर्न मद्दत गर्छ । साथै, यदि तनाव दीर्घकालीन छ भने मनोचिकित्सक वा मनोवैज्ञानिकसँग सल्लाह लिनु आवश्यक हुन्छ । त्यसैले सर्वप्रथम, आफ्नो भावना आफैं बुझौं, दुःख, डर वा असुरक्षालाई दबाउने होइन स्वीकार गर्न सिकौं ।
आफ्नो विश्वासिलो साथी, परिवारका सदस्य वा नजिकका आफन्तसंग खुला संवाद गरौँ । सामाजिक संजालको सीमित प्रयोग गरौं । प्रत्येक साँझ सुत्नु अगाडि आत्मपरीक्षण गरौँ । साना उपलब्धिहरूमा खुसि व्यक्त गरौं । असफलता जीवनको हिस्सा हो त्यसबाट सिक्ने बानी गरौं । आफ्ना सन्तानको व्यवहार परिवर्तनमा ध्यान दिउँ । दबाब होइन संवाद बढाउँ ।