काठमाडौं । नेपाल बेरोजगारी उच्च भएका शीर्ष १० मुलुकको सूचीभित्र पर्दै आएको मुलुक हो । कहिले दीर्घकालीन विकास रणनीति त कहिले अन्य योजना राख्दै विकासका काम गर्ने साथै रोजगारीको अवस्था सुधारलाई समेत प्राथमिकता राख्ने गरेका छौं भनि सरकारले सधैं भन्दै आएको कुरा हो । तर, सरकारको बजेट र बेरोजगारी समस्या समाधानको खास तालमेल देखिएको छैन ।
नेपालमा बेरोजगारी कम गर्ने नीति अनुसार काम गरिरहेको भनि सरकारले दाबी गर्ने गरेको भएपनि न त बेरोजगारीको समस्या समाधान भएको छ, न त सुधारको कुनै प्रभावकारी रणनीति कार्यान्वयनको अवस्था देखिन्छ । आगामी आर्थिक वर्षको बजेट विश्लेषण गर्दा पनि बेरोजगारी समस्या समाधानका लागि पर्याप्त बजेट देखिदैन ।
बेरोजगारी समस्या दिगो रुपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गर्ने सरकारले योजना बनाएको त छ तर कार्यान्वयन चरणका लागि पर्याप्त बजेट छैन ।
रोजगारी सृजनामा सरकारका योजना के ?
- काम खोज्ने होइन, काम दिने युवाको संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवद्र्धन गर्ने
- जेन–जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेशन सेन्टर सञ्चालन गर्ने
- स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृङ्खलामा आवद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्ने सरकारी योजना छ ।
- यसका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरिएको छ ।
- दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आय आर्जनका अवसर सिर्जना गर्न ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्ने सरकारको योजना छ ।
- आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामग्री उत्पादन र बजारीकरण गर्नका लागि पूँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सीप विकास तालिम उपलब्ध गराउन ५० करोड विनियोजन सरकारले गरेको छ ।
- आगामी वर्ष राष्ट्रिय जनसंख्या नीति कार्यान्वयन गरि विकास र समृद्धिमा जनसांख्यिक लाभको उपयोग गरिने,
- विकास उकालो चढ्ने, मान्छे ओरालो झर्ने अवस्थालाई बदल्न ग्रामीण अर्थतन्त्रमा उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्ने सरकारले योजना बनाएको छ ।
योजना आकर्षक तर छैन बजेट !
सरकारले रोजगारी समस्या समाधानका लागि योजना त बनाएको छ तर, समाधानका लागि बजेट यथेष्ठ रुपमा छुट्याएको छैन ।
- आगामी आर्थिक वर्षका लागि सरकारले साविकको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम बदलेर राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमका लागि रु। १ अर्ब ९९ करोड छुट्याइएको छ ।