राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा दुई कप्तानको अलौकिक प्रदर्शनले दर्शकको वाहवाही लुट् यो । सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी र विराटनगर किङ्सका सन्दीप लामिछाने दुवैले ब्याट–बल दुवैमा प्रभाव जमाउँदै टिमलाई महत्वपूर्ण जित दिलाए ।
ऐरीको उम्दा अलराउन्डका कारण सुदूरपश्चिमलाई लगातार तेस्रो पटक जित दर्ज गर्न सहज भएको छ । सोमबार कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सले लिगमा तेस्रो जित हात पारेको छ । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ् याउँदै कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटिन पुग्यो । कप्तान दीपेन्द्र सिंह ऐरी खेलको नायक बन्न पुगे । उनले ३९ रनको पारी खेले भने बलिङमा झनै धाक जमाउँदै चार विकेट लिए ।
कर्णालीका पवन सराफले २७ रन बनाए पनि टिमका अन्य ब्याटर दोहोरो अंकमा टिक्न सकेनन् । मार्क वाट (१७), सोमपाल कामी (१४) र गुलशन झा (१३) ले केही प्रयत्न गरे पनि लक्ष्य टाढै रह्यो । बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंह र अभिनास बोहराले दुई–दुई विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा १३९/९ रन बनाएको थियो । ऐरीको ३९ रनसँगै आरिफ शेखले २७ रन जोडेका थिए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे तर कमजोर ब्याटिङले कर्णालीलाई दोस्रो जितबाट वञ्चित गरायो । अर्को खेलमा कप्तान सन्दीप लामिछानेको घातक स्पिन बलिङको मद्दतमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो । १३६ रनको लक्ष्य पछ्याउँदै मैदान ओर्लिएको जनकपुरले निर्धारित ओभरभरि संघर्ष गरे पनि १२६/९ रनमै रोकियो ।
जनकपुरका निकोल लेफ्टी इटनले ४१ रन बनाए, तर सन्दीपले नेतृत्व गरेको विराटनगरका बलरहरूको कडा नियन्त्रणले लक्ष्य नजिक पुर्याए । कप्तान सन्दीपले ४ विकेट लिए र केवल ११ रन मात्र खर्चिए । यसरी खेलको निर्णायक प्रदर्शन बन्न पुग्यो ।
विराटनगरका सूर्य तामाङले २ विकेट लिए भने मर्चेन्ट डे लाङ र शुभम रन्जनेले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १३५/७ रन बनाएको थियो । शुभम रन्जनेले ३७ रनका साथ टिमलाई सम्मानजनक स्कोरमा पुर्याए भने बसिर अहमदले ३६ रन जोडे । लोकेश बमले २८ रन बनाए । बलिङतर्फ जनकपुरका रूपेश सिंह र सङ्गीथ कुरेले दुई–दुई विकेट लिए ।
जितपछि बोल्दै कप्तान सन्दीपले टिमको सन्तुलित संयोजन र स्पिनरको प्रदर्शनका कारण जित सुनिश्चित भएको बताए । ‘हाम्रो स्पिन बलिङ उत्कृष्ट रह्यो । नरेन भट्टले पावरप्लेमा गरेको बलिङ निकै प्रभावशाली थियो,’ उनले भने। जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले भने आगामी खेलमा ब्याटिङ सुधारमा ध्यान दिनुपर्ने बताए ।
लगातार तीन खेल जितेसँगै विराटनगर ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिम पनि लगातार प्रभावशाली प्रदर्शन गर्दै शीर्ष प्रतिस्पर्धामा उभिएको छ ।
कप्तानले दिए स्पिनरलाई जितको जश
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हिजो भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो । जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए । उनले भने, ‘हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिए पनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।’ लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे । उनले भने, ‘नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।’
विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए । जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताए ।