काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ।
४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।
सूदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १३७ रन मात्रै जोड्न सक्यो। कर्णाली याक्सका लागि आज पहिलो खेल खेलेका डेविड मिलरको एक्लो ब्याटिङ प्रयास कर्णालीको जितको लागि पर्याप्त भएन। डेविड मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे।लक्ष्य पछ्याउने क्रममा कर्णाली पावरप्लेमा नै पछि परिसकेको थियो। कर्णालीका लागि चौथो क्रममा ब्याटिङमा आएका डेविड मिलर बाहेक कसैले पनि टिकेर रन बनाउन सकेनन्। पावरप्लेमा दुवै ओपनरलाई सस्तैमा गुमाएको कर्णालीका लागि दिपक प्रसाद डुम्रेले १८ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट केग्गुलिनले सर्वाधिक २ विकेट लिँदा हेमन्त धामी, अनिल खरेल, दीपेन्द्र सिंह ऐरी, थारिन्दु रत्नायके र अभिनाश बोहोराले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको लागि सैफ जैब र विनोद भण्डारीसँग ६८ रनको साझेदारी बनाएका थिए।
सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रूपमा ओपनर ब्याटर विनोद भण्डारी रन आउट भए। विनोदले २२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटमा सैफको विकेट पतन भयो। तेस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरी १० रन बनाएर स्टिम्पिङ भए। चौथो विकेटका रुपमा ब्रान्डन म्याकमुलेन २४ रनमा क्याच भए। पाँचौं विकेटको रुपमा इशान पाण्डे १३ बलमा ३ छक्कासहित २३ रन बनाएर क्याच भए। आरिफ शेखले ७ रनमा जीवनदान पाएका थिए। उनी ११ रनमा हुसैन तलातको बलमा आरिफूल इस्लामको हातमा क्याच भए।
थारिन्दु रत्नायके २२ र स्कट केग्गुलिन १३ रनमा अविजित रहेका थिए। कर्णाली याक्सको लागि मार्क वाटले २ विकेट लिँदा नन्दन यादव, हुसैन तलात, पवन सर्राफ र सूर्य तामाङले १-१ विकेट लिए।
यसअघि, कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने कर्णाली काठमाडौं गोर्खाजसाग ४ विकेटको हार बेहोरेको थियो।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा भने सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससाग ३५ रनको हार बेहोरेको हो। चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटको जित दर्ता गरेको हो।
आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजले खेल्नेछन्।