नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

बोपरा बने चमत्कारी ब्याट्सम्यान

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)ले बुधबारदेखि अझै रोमाञ्चक मोड लिएको छ । अहिलेसम्म अपराजित रहँदै लगातार तीन जित निकालेर बलियो दाबेदारी प्रस्तुत गरिरहेको विराटनगर किंग्सको यात्रा चितवन राइनोजले रोकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गर्दै प्रतियोगिताको समीकरण परिवर्तन गरिदिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनायो । सुरुदेखि नै आक्रमक देखिएको चितवनको इनिङ्सको आधार अनुभवी ब्याटर रवि बोपराको उत्कृष्ट प्रदर्शन बन्यो । उनले सुरुवाती ओभरहरूमा संयमित खेल देखाउँदै पावरप्लेपछि गियर परिवर्तन गरेका थिए । ३८ बल खेलेका बोपराले चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडे । यो इनिङ्सले टिमलाई बलियो योगफलतर्फ मात्र लगेन, दर्शकलाई पनि भरपूर मनोरञ्जन दियो ।

बोपरालाई मध्यक्रममा सैफ अली जैव र देव खनालले राम्रो साथ दिए । जैवले ३२ रन जोड्दा देव खनालले २८ रन बनाए । अन्तिमतिर कप्तान कुशल मल्लले अविजित २० रन बनाएर चितवनको स्कोर १७० पार गराए । विराटनगरका बलरमध्ये कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङले दुई–दुई विकेट लिँदै केही हदसम्म नियन्त्रणमा ल्याउने प्रयास गरे पनि ठूलो स्कोर रोक्न सकेनन् ।

१७५ रनको चुनौती पछ्याउन मैदानमा उत्रिएको विराटनगरको सुरुआत अपेक्षाकृत कमजोर रह्यो । चितवनका बलरहरूले नयाँ बलमै दबाब सिर्जना गरेपछि विराटनगरका मुख्य ब्याट्सम्यानहरू लामो समय टिक्न सकेनन् । मर्चेन्ट डे लाङले ३९ रन र प्रतिश जिसीले ३० रन जोडेर संघर्षको संकेत गरे पनि अरू ब्याट्सम्यानको असफलताले विराटनगरलाई खेलमा फर्कन दिएन । टोली १६.५ ओभरमै १२६ रनमा सीमित भयो ।

चितवनको बलिङ आक्रमणमा रञ्जित कुमार निस्सन्देह खेल परिवर्तनकर्ता बने । उनले पाँच विकेट लिँदै विराटनगरको ब्याटिङ लाइनअप तहसनहस पारे । उनलाई कमलसिंह ऐरीले दुई विकेट लिएर राम्रो साथ दिए । यस हारसँगै विराटनगरले जारी सिजनको पहिलो हार बेहोरेको छ, जसले अंकतालिकाको शीर्ष प्रतिस्पर्धालाई अझ खुला बनाएको छ ।

यो खेल चितवनका लागि केवल जित मात्र होइन, आत्मविश्वास पुनः प्राप्त गर्ने अवसर पनि बन्यो । सिजनका सुरुआती खेलमा उतारचढाव देखिएको चितवनले यो जितसँगै प्लेअफ दौडमा आफूलाई फेरि स्थापित गरेको छ । उता, विराटनगरका लागि यो हार समयमै आएको चेतावनीका रूपमा लिइएको छ, किनकि आगामी खेलहरू प्लेअफका हिसाबले निर्णायक बन्नेछन् ।

यसै खेलमा अर्को ऐतिहासिक उपलब्धि पनि दर्ज भयो । रवि बोपराले विराटनगरविरुद्ध अर्धशतक प्रहार गर्दै जारी एनपिएलमा लगातार तीन खेलमा अर्धशतक हान्ने पहिलो खेलाडी बने । यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि पचास रन पार गरेका थिए । जारी प्रतियोगितामा स्थिर र आक्रामक ब्याटिङ दुवै प्रदर्शन गरिरहेका बोपरा चितवनका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उभिएका छन् । हालसम्म प्रतियोगितामा कर्णाली याक्सका मार्क वाट मात्र शतक हान्ने खेलाडी हुन् ।

एनपिएलमा प्रतिस्पर्धा बढिरहेका बेला मैदानबाहिरका गतिविधिले पनि चर्चा पाएका छन् । साविक विजेता जनकपुर बोल्ट्सले बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर मैदानमा उत्रने घोषणा गरेको छ । सबै खेलाडीले आफ्नै आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सी अक्सनमार्फत बिक्री गरिने बताइएको छ । अक्सनबाट संकलित रकम आमा समूहलाई सहयोगस्वरूप प्रदान गरिनेछ ।

सुरुआती दुई खेलमा पराजित जनकपुरका लागि यो खेल भावनात्मक र प्रतिस्पर्धात्मक दुवै हिसाबले महत्वपूर्ण हुनेछ । उता, चितवनको पुनरागमन, विराटनगरको पहिलो हार र जनकपुरको सामाजिक पहलले एनपिएललाई क्रिकेट मात्र होइन, भावना, प्रतिस्पर्धा र सामाजिक सन्देशको साझा मञ्चका रूपमा प्रस्तुत गरिरहेको छ । प्रतियोगिता अघि बढ्दै जाँदा प्रत्येक खेलले अंकतालिकाको रूपरेखा मात्र होइन, दर्शकको उत्साह पनि थप उचाइमा पुर्‍याइरहेको छ ।

जनकपुर बोल्ट्सले ‘आमा जर्सी’मा खेल्ने

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ । जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, ‘आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्ण भएको हो ।’ बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए । सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद