नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

अपराजित सुदूरपश्चिम शीर्षस्थानमा, पोखराको पहिलो जित; जनकपुर दबाबमा

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बिहीबार भएका दुई खेलले अङ्क तालिकाको अवस्थालाई थप रोचक बनाएका छन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्स १९ दशमलव चार ओभरमा १४३ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहरा र हर्मित सिंहले समान तीन– तीन तथा हेमन्त धामीले दुई विकेट लिए ।

१४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । ओपनर विनोद भण्डारीले अविजित ६९ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेखले ३७ रन बनाए । प्रारम्भिक दबाबपछि यी दुईबीच भएको ९९ रनको साझेदारी नै जितको आधार बन्यो । भण्डारी यस खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

जितपछि सुदूरपश्चिम लगातार चौथो खेल जित्दै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । खेलपछि विनोद भण्डारीले अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्य रहेको बताए । ‘अहिले हाम्रो ध्यान प्लेअफ सुनिश्चित गर्नेमा छ, त्यसपछि मात्र फाइनल र उपाधिबारे सोच्छौँ,’ उनले भने । यसै खेलमा लगातार तेस्रो हार व्यहोरेको लुम्बिनी दुई अङ्कसहित छैटौँ स्थानमा छ र प्लेअफमा पुग्न बाँकी तीनै खेल जित्नुपर्ने दबाबमा परेको छ ।

यसै दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्समाथि २५ रनको जित निकाल्यो । टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा छ विकेट गुमाउँदै १५५ रन बनायो । पोखराका लागि सुमित बर्माले २९ बलमा चार छक्का र दुई चौकाको सहयोगमा अविजित ५० रनको अर्धशतकीय पारी खेले । दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्टनले २४ रनको योगदान दिए ।

जवाफमा १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले नौ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । जनकपुरका लागि वायने पर्नेलले अर्धशतक बनाए भने सञ्जय कृष्णमूर्तिले २५ र माज सदाकतले २० रन जोडे । बलिङतर्फ पोखराका विपिन खत्रीले चार विकेट लिए भने सुमित बर्माले दुई तथा कुशल भुर्तेल र जिम्मी निसमले एक–एक विकेट हात पारे । यससँगै पोखराले तीन खेलपछि पहिलो जित दर्ता गरेको छ भने साविक विजेता जनकपुर लगातार तेस्रो खेलमा पराजित हुँदै दबाबमा परेको छ । यसअघि जनकपुर काठमाण्डू गोर्खाज र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

खेल मात्र होइन, एनपिएलले बिहीबार सामाजिक सन्देश पनि प्रवाह गर्‍यो । जनकपुर बोल्ट्स गुलाबी जर्सीमा उत्रिँदा खेलाडीहरूको जर्सीमा आफ्ना आमाको नाम लेखिएको थियो । ‘आमाको सम्मान’ अभियानअन्तर्गत जर्सी लिलामीबाट उठेको रकम सामाजिक कार्य र सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्ने जनाइएको छ । उता पोखरा एभेन्जर्स हरियो जर्सीमा देखिँदा प्रकृति संरक्षण र जलवायु परिवर्तनबारे चेतना जगाउने सन्देश दिइयो ।

बिहीबारका खेलपछि सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ भने पोखराको जितले अङ्क तालिकालाई थप खुला बनाएको छ । प्रतियोगिता अघि बढ्दै जाँदा आगामी खेलहरूले प्लेअफको तस्वीर अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

आमाको सम्मान र प्रकृति संरक्षण सन्देश

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।

आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो । जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताए ।

उनले भने, ‘नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छाैँ ।’ यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ । पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताए । उनले भने, ‘पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।’

विनोद भण्डारी अर्धशतकका नवौँ खेलाडी

सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक हिर्काएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो । योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडीसमेत बनेका छन् । यसअघि चितवन राईनोजका रवी बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

बोपरा र भुर्तेलसँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमका हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक हिर्काउनेको सूचीमा छन् । कर्णालीका मार्कवाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडीको सूचीमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद