नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

काठमाडौंको याक्सविरुद्ध पाँच विकेटको महत्वपूर्ण जित, प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको प्लेअफ यात्रालाई झन् मजबुत बनाएको छ । १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

लक्ष्य पछ्याउने क्रममा सुरुमा केही सावधानी देखिए पनि मध्य ओभरमा काठमाडौंले खेल नियन्त्रणमा लिएको देखियो । गेरहार्ड इरास्मसले दबाबपूर्ण अवस्थामा अविजित ४३ रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याए । उनलाई जोन सिम्पसनले ४१ रनको उपयोगी योगदान दिए भने वेन चाल्सवर्थले ३४ रन बनाएर लक्ष्य पछ्याउने आधार तयार पारे । कर्णालीका बलर नन्दन यादवले तीन विकेट लिँदै केही आशा जगाए पनि काठमाडौंको ब्याटिङ लाइनले खेल गुम्न दिएन । पवन सराफले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन जोडेको थियो । कर्णालीका लागि गुल्शन झाले ४९ रनको उत्कृष्ट पारी खेले । उनलाई पवन सराफले ३५ र मार्क वाटले ३० रनको साथ दिए पनि टोली ठूलो स्कोरतर्फ पुग्न सकेन । काठमाडौंका बलरहरूले बीच–बीचमा विकेट झार्दै रनगति नियन्त्रणमा राखे । राशिद खानले दुई विकेट लिँदै कर्णालीलाई मध्यम स्कोरमै समेट्न महत्वपूर्ण भूमिका खेले ।

यो जितसँगै काठमाडौं गोर्खाजले आठ अङ्क जोड्दै तालिकामा तेस्रो स्थान मजबुत बनाएको छ र प्लेअफ प्रवेशको सम्भावना बलियो भएको छ । पाँच खेलबाट तीन जित निकालेको काठमाडौं अब बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्न चाहन्छ । उता कर्णाली याक्सले भने प्रतियोगितामा चौथो हार भोग्दै दुई अंकमै सीमित रहनुपर्‍यो । छैटौं स्थानमा रहेको कर्णालीका लागि अबका खेलहरू प्लेअफ सम्भावना जीवित राख्न निर्णायक हुनेछन् ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोली सहभागी छन् । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स भने लगातार पाँच जित निकाल्दै यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

यसैगरी पोखरा एभेन्जर्सविरुद्धको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएपछि लुम्बिनी लायन्सका खेलाडी निरोशन डिकवेल्ला कारबाहीमा परेका छन् । खेलका क्रममा दिएको एलबीडब्ल्यू निर्णयप्रति असन्तुष्टि जनाउँदै अम्पायरप्रति अनुचित संकेत गरेपछि उनलाई लेभल–१ आचारसंहिता उल्लंघनमा दोषी ठहर गरिएको हो ।

आरोप स्वीकार गरेका डिकवेल्लालाई पाँच प्रतिशत म्याच शुल्क कटौतीसहित एक डिमेरिट प्वाइन्ट दिइएको छ । प्रतियोगिता व्यवस्थापन समितिले खेलाडीहरूलाई अनुशासन पालना गर्न सचेत गराउँदै दोहोरिँदो व्यवहारमा थप कडा कारबाही हुन सक्ने संकेत गरेको छ । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि यस्तै अनुशासनात्मक कारबाहीमा परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद