नेभिगेशन
खेलकुद
१८औं राष्ट्रिय निर्माण दिवस

एफक्यान रोड रेसमा आर्मीको दबदबा

काठमाडौं (संवाददाता)– नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘एफक्यान रोड रेस–२०८२’ मा त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् । पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका राजन रोकाया पहिलो भएसँगै क्लबले आफ्नो वर्चस्व जमाएको छ । आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो रहँदा सशस्त्र प्रहरीले तयाहाङ राई तेस्रो स्थान हासिल गरेका छन् । उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिला खुला १० किलोमिटरमा पनि आर्मीले नै जित हात पारेको छ । पूर्णलक्ष्मी न्यौपाने पहिलो, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो स्थानमा रहे । उनीहरूले पनि क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

कर्पोरेट समूहतर्फ पुरुष ५ किलोमिटर दौडमा रामचन्द्र श्रेष्ठ पहिलो, राकेश महर्जन दोस्रो र सुशील कुमार श्रेष्ठ तेस्रो भए । महिला कर्पोरेटतर्फ सोनु घतानी, नगीना महर्जन र रजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । विजेता खेलाडीहरूले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

भेट्रान्स समूहमा पुरुष ५ किलोमिटरमा धर्म महर्जनले पहिलो स्थान हात पार्दा अभिनारायण अधिकारी दोस्रो र जापानका मिजुकी मात्सुजाकी तेस्रो भए । महिलातर्फ कल्पना महर्जन पहिलो, शर्मिला बस्नेत दोस्रो र चारु अर्याल तेस्रो भए । दुबै समूहका विजेताले १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विद्यार्थी (छात्र) ५ किलोमिटरमा हस्तबहादुर सुनार पहिलो, अजय विके दोस्रो र रञ्जित राउत तेस्रो भए। छात्रातर्फ भगवती खड्का पहिलो, शर्मिला विके दोस्रो र आयुष्मा आचार्य तेस्रो स्थानमा रहँदा उनीहरूले पनि १० हजार, ६ हजार र ४ हजार रुपैयाँ जिते ।

१० किलोमिटर र ५ किलोमिटर दुबै दौड महासंघको केन्द्रिय कार्यालयबाट सुरु भई बिजुलीबजार, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघमै आएर टुंगिएको थियो। प्रतियोगितामा जापान, चीन र इटलीका खेलाडीसहित कुल ४७१ जनाको सहभागिता रहेको संयोजक तथा महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केवशकुमार शर्मा, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न प्रतियोगितामा सचिव शर्माले स्वयं दौडमार्फत सहभागिता जनाए। पहिलो पटक आयोजना गरिएको एफक्यान रोड रेस सफल रहेको महासंघ अध्यक्ष सिंहले बताउँदै यसलाई आगामी वर्षहरूमा निरन्तरता दिइने जानकारी दिए ।

महासंघले निर्माण दिवसको अवसरमा मंसिर २२ गते प्रभातफेरि, रक्तदान तथा अन्य सामाजिक कार्यक्रमहरूको समेत आयोजना गर्ने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्