काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अंकसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्स पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
समान १० अंक बटुलेको काठमान्डू गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ । इलिमिनेटरमा काठमान्डूले लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनी सात खेलबाट आठ अंक जोडेर प्लेअफमा सुरक्षित भएको हो । यी सबै टोली नयाँ च्याम्पियन बन्ने दौडमा छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत पुग्न सकेन । सुदूरपश्चिमलाई फाइनलमा पाँच विकेटले हराएको जनकपुरले पहिलो संस्करणको उपाधि हात पारेको थियो ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साबिक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम ६ खेल जित्ने एकमात्र टोली बनेको छ ।
सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँ–नयाँ खेलाडी ‘म्याच वीनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमान्डूलाई २९ रनले हराएको खेलमा अलराउण्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए । पोखरा एभेञ्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ द म्याच चुनिएका थिए ।
तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउण्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ द म्याचको अवार्ड जिते ।
लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल गर्यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याचआउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए । सुदूरपश्चिमले पाँचौं खेलमा जनकपुरलाई ६ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच वीनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ द म्याचको पुरस्कारसमेत दिइयो ।
छैटौं खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पार्यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ द म्याच भए । लिग चरणको सातौं तथा अन्तिम खेलमा भने विराटनगरसँग ६ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ ।
सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि यसपटक उपाधि जित्नेमा ढुक्क देखिएका छन् । उनले भने, ‘गत वर्षको पनि उपविजेता टोली हौं । यसपटक हामी जसरी पनि उपाधि जित्ने लक्ष्यमा छौं । सबै खेलाडी सक्रियताका साथ खेलमा लागेका छन् । कुनै एक खेलाडीको भरमा हामी छैनौं । जुन कुरा देखिइसकेको पनि छ । लिग चरणमा जितेका खेलहरूमा पनि हाम्रो टिमका फरकफरक खेलाडी म्याच वीनर बनेका छन् ।’
विराटनगर किङ्स
सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको टिमले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ । लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौं खेलमा पराजित भएको थियो । पाँचौं र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ ।
पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमान्डूमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महŒवपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।
तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौं खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो ।
पाँचौंमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ द म्याच चुनिए । सातौं खेलमा सुदूरपश्चिममाथि ६ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ द म्याच घोषित भएका हुन् । कप्तान लामिछानेका अनुसार विराटनगर पनि कुनै एक खेलाडीका भरमा नरहेकाले उपाधि जित्नेमा आशावादी छ । उनले भने, ‘हामी कुनै एक खेलाडीको भरमा छैनौं । सबै खेलाडीले आ–आफ्नो मेहनतसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । म्याच वीनर पनि फरक–फरक खेलाडी देखिएकाले एकअर्काप्रतिको विश्वास बढेको छ ।’
काठमान्डू गोर्खाज
पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दै प्लेअफको स्वाद चाख्न नपाएका करण केसीको कप्तानीमा रहेको काठमान्डू यसपटक भने सक्रियताका साथ प्रदर्शन गरिरहेको छ । लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको यो टिम च्याम्पियन बन्ने अडानमा छ ।
काठमान्डूले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदा दोस्रोमा सुदूरपश्चिमसँग २९ रन र तेस्रोमा विराटनगरसँग पाँच विकेटले पराजित भयो । त्यसपछि पुनरागमन गर्दै सबै खेलमा विजयी भयो ।
काठमान्डूले चौथो खेलमा लुम्बिनीलाई २२ रन, पाँचौंमा चितवनलाई ५३ रन, छैटौंमा कर्णाली याक्सलाई ६ विकेट र सातौंमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । प्लेअफमा पुगेपछि टिमको जोडबल च्याम्पियन जित्नेमा रहेको कप्तान केसीले बताएका छन् । उनले भने, ‘प्लेअफमा पुगिसकेपछि अबका खेल राम्रो गर्दै च्याम्पियन कसरी बन्ने भन्नेमा ध्यान केन्द्रित छ । लिग चरणमा भएका कमीकमजोरीलाई सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्य राखेका छौं ।’
लुम्बिनी लायन्स
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चार खेल जितेर प्लेअफमा पुगेको छ । सुरुको खेलमा चितवनलाई ६ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हार्यो । दोस्रोमा कर्णालीसँग नौ विकेटले, तेस्रोमा काठमान्डूसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भयो । लुम्बिनीले पाँचौं खेलपछि लगातार जीत निकालेर प्लेअफमा स्थान बनायो । पाँचौंमा पोखरालाई तीन विकेट, छैटौंमा विराटनगरलाई पाँच विकेटले र सातौंमा जनकपुरमाथि चार विकेटको विजय हात पार्यो ।
प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘प्लेअफमा पुगेका चारवटै टोलीमध्ये लुम्बिनी बलियो देख्छु, त्यसैले हामीले उपाधि जित्नेमा विश्वस्त छौँ । हामी कसैसँग पनि डराएर खेल्दैनौँ ।’
प्रतियोगिताको पहिलो क्वालिफायर यही मंसिर २३ गते दिउँसो ४ बजे सुदूरपश्चिम र विराटनगरबीच हुनेछ । जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले काठमान्डू र लुम्बिनीबीच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नेछ । इलिमिनेटर खेल मंसिर २४ गते हुनेछ । २५ गते हुने दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछ । प्रतियोगिताको उपाधि भिडन्त भने २७ गते दिउँसो ३ः३० बजे हुनेछ । नेपाल क्रिकेट संघ( क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंसिर १ देखि जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमान्डू गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स सहभागी छन् ।