सुदूरपश्चिम रोयल्स फेरि एनपीएलको फाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि ७७ रनको एकतर्फी जित निकाल्दै सुदूरपश्चिमले पुनः उपाधि नजिक पुगेको हो ।
एनपीएलको अघिल्लो संस्करणमा पनि फाइनलमा पुगेको सुदूरपश्चिम जनकपुरसँग पराजित भएको थियो । यसपटक पनि उपाधि भिडन्तमा दाबेदारी पक्का गरेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । टोलीका ओपनर विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा ६३ रनको मूल्यवान् पारी खेले । उनले आफ्नो पारीमा ३ चौका र २ छक्का हानेका थिए । जारी लिगमा यो उनको दोस्रो अर्धशतक हो, जसका आधारमा उनी रन–तालिकामा दोस्रो स्थानमा उक्लिएका छन् । विनोदसँगै भारतका शेल्डन ज्याक्सनले २० रन जोडे भने इशान पाण्डे र आरिफ शेखले समान रूपमा इनिङ्स सम्हाल्न मद्दत गरे । मुख्तार अहमद १० रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ३ रनमै रनआउट हुँदा मध्यक्रम केही दबाबमा परेको थियो । तर, अन्तिमतिर आरिफ र विनोदको साझेदारीले सुदूरपश्चिमलाई सम्मानजनक योगफलसम्म पुर्यायो ।

विराटनगरका बलरमध्ये मर्चेन्ट डे लाङ र प्रतिश जीसीले समान २–२ विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने जारी संस्करणमा पहिलोपटक विकेटविहीन रहे ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको इनिङ्स भने सुरुआतदेखि नै धरासायी रह्यो । १५६ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमै स्कट कुगेलेइनले साम हेजलेटलाई आउट गरे । ओभरकै अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगर २ विकेट गुमाइसकेको थियो । दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई गोल्डन डकमा पेभिलियन फर्काएपछि विराटनगर ३–३ को अवस्था बनेको थियो । यस्तो दबाबबीच पनि ओपनर फाफ डु प्लेसीले एक छेउ सम्हाल्दै ३६ रनको संघर्षपूर्ण पारी खेले । उनले बसिर अहमदसँग चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । तर बसिर १२ रनमा आउट भएपछि विराटनगर फेरि दबाबमा पर्यो ।
लगातार अन्तरालमा विकेट खसिरहेपछि विराटनगरको ब्याटिङ लाइनअप पूर्णरूपमा धराशायी भयो । लोकेश बम ५, नारायण जोशी १, प्रतिश जीसी ३ रनमा आउट भए । मर्चेन्ट डे लाङले केही आक्रामक प्रयास गरे पनि १५ रनमै समेटिए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटका रूपमा आउट हुँदा विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो ।
सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट सामूहिक प्रदर्शन गरे । स्कट कुगेलेइन, हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए भने हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे । मैदानमा सुदूरपश्चिमको आक्रामक बलिङ, कसिलो फिल्डिङ र संयमित कप्तानीले विराटनगरलाई कुनै पनि क्षण खेलमा फर्किन दिएन । सुदूरपश्चिमले यसअघि लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भोगेको हारको मीठो बदला पनि लिन सफल भयो । यो जितसँगै टोली फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ र अब शनिबार उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यस हारसँगै विराटनगरको यात्रा भने सकिएको छैन । उसले बिहीबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न पाउनेछ, जसका लागि उसलाई बुधबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीचको एलिमिनेटर खेलको विजेतासँग भिड्नुपर्नेछ । क्वालिफायरमा अपेक्षाकृत कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि खेल एकतर्फी बन्यो । सुदूरपश्चिमले उत्कृष्ट समन्वय, ठोस रणनीति र आत्मविश्वासी प्रदर्शनका आधारमा फाइनलको यात्रा पुनः दोहोर्याएको छ । अब उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम शनिबारको फाइनलमा उत्साहपूर्वक उत्रिने तयारीमा छ । बुधबार लुम्बिनी लायन्स र काठमान्डू गोर्खाजबीच खेल हुनेछ ।