नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन आज शनिबार भक्तपुरको सल्लाघारीमा हुँदैछ । महाधिवेशनमा तेस्रोपटक नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीले दाबी प्रस्तुत गरिसकेका छन् । कतिपयले पार्टीभित्र अब ओलीको विकल्प खोज्ने भनिरहँदा ओली देशको पछिल्लो राजनीतिक अवस्थामा नेतृत्वमा आफ्नो सान्दर्भिकता बढेको दाबा गरिरहेका छन् । ओली अहिले निर्विकल्प भएको ठान्ने पंक्ति पनि एमालेभित्र ठुलो छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली अहिले बालकोटबाट गुण्डुमा सरेका छन् । शुक्रबार गुण्डुस्थित उनको निवासमा पुग्दा उनलाई भेट्न पुग्ने एमाले नेता–कार्यकर्ताको बाक्लै भिडभाड थियो । एमाले अध्यक्षमा आफ्नो निरन्तरता दाबी गरिरहेका उनै ओलीसँग एमालेको आसन्न महाधिवेशन, जेनजी आन्दोलन र देशको पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेर न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र वरिष्ठ संवाददाता जगन्नाथ दुलालले गरेको संवाद :
अहिलेको अप्ठ्यारो अवस्थालाई तपाईंले कसरी लिनुभएको छ ? तपाईं आफैँ पार्टीको नेतृत्वका लागि होमिनुभएको छ नि ?
संविधान मिचिएको छ । देशलाई लोकतन्त्रको बाटोमा लिएर हिँड्न सक्नु पर्छ । पार्टीलाई पनि लोकतान्त्रिक बाटोमा लिएर जानुपर्ने अवस्था छ । गुण्डुमा आएर पनि लोकतन्त्रको पक्षमा विद्रोह गरिरहेको छु। जनताको साथ पाउन सक्छु। म अध्यक्ष भएपछि पनि जनताकै साथमा हुनेछु। जनतालाई लोकतन्त्र चाहिएको हो, मलाई चाहिएको होइन नि ! जनताले साथ दिनेछन् । देशको लागि लड्ने पार्टीले लोकतन्त्रको बाटोलाई अवलम्वन गर्नुपर्छ । मिचिएको संविधानलाई पहिलैकै अवस्थामा फर्काउनुपर्छ ।
जेनजी आन्दोलनपछिको विशिष्ट परिस्थितिमा महाधिवेशन हुँदैछ । यो महाधिवेशनले के सन्देश दिन्छ ?
अहिले देशमा संविधानभन्दा बाहिरबाट बनेको सरकार छ । लोकतान्त्रिक प्रणाली घाइते भएको छ । तोडफोड, आगजनी र लुटपाटका घटनाहरूबाट उत्पन्न परिस्थितिको अनुचित लाभ उठाएर अत्यन्तै कृत्रिम ढंगबाट अहिलेको सरकार बनाइएको छ । संविधान मिचिएको छ । वर्तमान सरकार भनेको नागपञ्चमीमा नाग टाँसेजस्तो हो । नाग कसले र किन टाँसे ? यो सरकारको संवैधानिक आधार के हो ? यो सरकार किन र कसले बनाए ? कुन प्रयोजनको लागि बनेको थियो ? जेनजी आन्दोलनका नाममा त्यति धेरै तोडफोड र विध्वंस किन भयो ? यसको गम्भीर समीक्षा गर्नुपर्छ । अहिले सरकार प्रतिशोध, पूर्वाग्रह र आवेश, उत्तेजनामा काम गरिरहेको छ । यस्तो अवस्थाबाट देशलाई मुक्त गरेर लोकतान्त्रिक प्रणालीतर्फ, दलीय प्रणालीतर्फ फर्काउनुपर्नेछ । जनता भित्रभित्रै आतंकित छन् । त्यो आतंक, भय, त्रासबाट जनतालाई मुक्त गर्नुपर्ने दायित्व हामीसँग छ । उद्यमी– व्यवसायीहरू निराश मनस्थितिमा छन् । उद्योगहरूमा भएको आगजनीबाट बेरोजगारीको स्थिति सिर्जना भएको छ । यस्तो अवस्थालाई फेर्नुपर्नेछ र त्यसका लागि अग्रसर हुनुपर्नेछ ।
देशको सार्वभौम सत्ता नै अहिले खतरामा छ । देशको भविष्य के हुने हो भन्ने सर्वत्र चिन्ता छ । सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतामा कुनै प्रकारको प्रश्न उठ्न सक्ने अवस्था छैन भन्ने राष्ट्रिय आत्मविश्वासको अवस्थामा फर्काउनु पर्नेछ । राष्ट्रिय आत्मविश्वास फर्काउने, लोकतन्त्र सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरामा एमाले सचेत छ । पार्टीको ११औँ महाधिवेशन यी सबै कुराहरूलाई ध्यानमा राखेर अगाडि बढ्छ । राष्ट्रियताको रक्षा, शान्तिको पुनर्स्थापना, भयपूर्ण वातावरणलाई निर्भय वातावरणमा बदल्ने र देशमा भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्ने कुरा, विकासको बाटोमा देशलाई तीव्रतर ढंगले अगाडि बढाउन एमालेले नेतृत्वदायी भूमिका खेल्छ ।
यहाँले जेनजी आन्दोलनमा प्रश्न उठाइरहँदा कतिपयले जेनजी आन्दोलनले महत्वपूर्ण उपलब्धि ल्यायो। तपाईँहरू भाग्नुपर्ने अवस्था आयो नि ?
मैले बालुवाटार नछाड्न सक्थेँ । आत्मरक्षाका लागि प्रहार गर्दा हताहत हुने भयो । हताहतभन्दा ओल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ? भदौ २६ गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्री हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागे ? भागेको ठाउँबाट मैले पठाएँ ? राष्ट्रपति र प्रधानसेनापतिले मलाई भेट्नुभयो । हाम्रो कुराकानी भयो र मैले राष्ट्रपति ज्यूलाई सिफारिस गरेँ । त्यो भागेको भयो ?
यो जुन तथाकथित परिवर्तन भनिएको छ, यो कुनै अग्रगमन होइन । पश्चगमन हो, प्रतिगमन हो । देश अगाडि बढेको छैन । झन् पछाडि धकेलिएको छ । यसलाई फेरि अगाडि बढाउनुछ भनेर मैले अघि नै भनिसकेँ । यो कुरामा नेकपा एमाले सक्षम छ ।
सरकार र जेनजीबीच भएको सहमतिलाई कसरी लिनुभएको छ ?
यो एउटा कलाविहीन नाटक थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ? त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो । यो सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ । नागपञ्चमीमा गोबर लगाएर टाँसे जसरी कसले ल्याएर टाँसेको सरकार हो यो ? यो नागको फोटो कसले टाँस्यो मैले थाहा पाएको छैन । खोज्दैछु।
सुशीला कार्कीजीहरूले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो, त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन, असंवैधानिक पनि हो । उहाँलाई निर्वाचन गर्न पो नियुक्त गरिएको हो, कुन प्रतिष्ठान मास्ने के गर्ने भनेर होइन । उहाँहरूलाई यत्ति भन्न चाहन्छु कि– फागुन २१ गतेपछि २२ आउँछ । सुशीलाजीमा गएर टक्क समय रोकिने होइन । त्यही भएर होश गरेर चल्न म आग्रह गर्न चाहन्छु। उहाँहरूको क्रियाकलाप गैरकानुनी र प्रतिशोधपूर्ण छ ।
भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठित जाँचबुझ आयोगमा तत्कालीन प्रधानमन्त्रीका रुपमा तपाईंलाई पनि बोलाउनुपर्छ भन्ने आवाज पार्टीकै वरिष्ठ उपाध्यक्षले उठाउनुभयो नि ?
बयान दिन जाने/नजाने मेरो कुरा हो । के कानूनी व्यवस्था छ, त्यस सम्बन्धमा मैले पनि हेरेको छु। त्यसबापतको सजाय व्यहोर्ने मैले होला नि । उहाँ (इश्वर पोखरेल) के चाहनुहुन्छ भनेर मिडियामा बोलेको कुरा आइरहेको छ । सुशीला कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षजी लगायत मेरा मित्रको चाहना त एउटै छ नि । मलाई जनताले माया गरेका छन्, विरोधीले लखेटेका छन् । विरोधीले माया नगरेकाले न यो ठाउँमा रहेको हुँ, न सिद्धिएको छु। विरोधीहरू हावा भरेको भकुन्डोजस्तो हुन्, जति पछार्यो त्यति उफ्रिने । उहाँको गुट त्यो जिद्दीमा किन लागेको, मलाई थाहा छैन । वैरभाव नभई स्वच्छ ढंगले राजनीति गर्न सुझाव दिन्छु।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना सकिएको हो?
हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । सर्वसम्मतको प्रयास गर्नु लोकतान्त्रिक अभ्यास विपरीत होइन । सहमति भनेको करकाप होइन । कसैले लड्छु भन्छ भने रोक्ने कुरा भएन । स्वस्थ प्रतिस्पर्धालाई स्वागत गर्छु। पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । म थपिनेवालामा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ ।
प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ । लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन । म दबाबमा काम गर्ने मान्छे होइन । उहाँले (ईश्वर पोखरेल) बाहिर– बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ । महाधिवेशन प्रतिनिधिले अरु कुराको निर्धारण गर्छन् । बाहिर उम्मेदवारी घोषणा गरेर मात्र हुँदैन, हलमा मन जित्नुपर्छ ।
अहिले नेतृत्व हस्तान्तरण र नवपुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । यसमा के भन्नुहुन्छ ?
यो सधैँ भइरहेकै कुरा हो, कुनै नयाँ कुरा होइन । पार्टीमा र अन्यत्र पनि गठन पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणका कुरा उठेका छन् । पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टी थियो । त्यसपछि धेरै जना त्यसका प्रमुख नेताहरू भइसके । के नेतृत्व हस्तान्तरण भएको छैन त ? अनि २००६ सालदेखि एउटै नेतृत्व अहिलेसम्म निरन्तर नेतृत्वमा छ र ? छैन । नेपाली कांग्रेसमा पनि कति नेताहरू भए, कति परिवर्तन भए, हुँदै आएको छ । अहिलेको अवस्थामा आइपुग्या छ । परिवर्तन भएको छैन र ? परिवर्तन कोकोहोलोमा गएर हुने होइन ।
र, जेनजीलाई नेतृत्व सुम्पने जुन कुरा छ, एमाले यस्ता हावा कुराका पछाडि लाग्दैन । कुनै चीजका लागि आफ्नो प्रक्रिया हुन्छ, मापदण्ड हुन्छन् । ती चरण पार गरेको हुनुपर्छ । नागरिकता प्राप्त गर्न, मतदान अधिकार प्राप्त गर्न कति वर्ष पुग्या हुनुपर्छ ? सांसद हुन कति वर्ष पुगेको हुनुपर्छ ? त्यही जस्तै हो । राष्ट्रिय सभा सदस्यमा जेन्जी हुन संविधानले मान्दैन । राष्ट्रिय सभालाई ३५ वर्ष पुगेको मान्छे हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति हुन, प्रतिनिधि सभामा मन्त्री हुनलाई कति वर्ष पूरा हुनुपर्ने छ ? यस्ता कुराहरू हुन्छन् । कामको प्रकृति हेरेर अवकाश कहिले हुने ? कहिले प्रवेश हुने भन्ने व्यवस्था छ, हुन्छ । त्यस्तैले एमाले कुनै बहकाउमा छैनौँ ।
यसपटक नेतृत्वका लागि पार्टीभित्र धेरै आकांक्षी ै देखिएका छन्। कतिपयले अब एमालेमा ओलीको विकल्प खोज्नुपर्छ भनिरहेका छन्। यसमा यहाँको भनाइ के छ ?
जो प्रतिनिधि छ, प्रतिनिधि भएपछि विधानले व्यवस्था गरेअनुसार जुनसुकै तहको पनि उम्मेद् वारी दिन पाइन्छ । त्यो त प्रजातान्त्रिक अभ्यास हो तर यतिबेला देशको अवस्था असहज छ । यस्तो बेलामा अप्ठेराहरू पार लगाएर आएको सक्रिय नेतृत्व भइराखेको, जटिल अवस्थामा अस्वभाविक ढंगले नेतृत्वको विवाद उठाउनु, यो उम्मेदवारी दिने मात्र कुरा होइन नि ! पहिलेदेखि विरोधीहरूले ओलीबिनाको एमाले नारा लगाइराख्या थिए । त्यो नारा बोकेर एमालेभित्र त्यो नाराको झन्डा बाहिरबाट फुत्त एमालेको रिङभित्र छिराउनु र त्यो उठाएर कुद्नु भनेको चाहिँ अलि अस्वभाविक हो । त्यति मात्र हो । अधिकार छ, त्यो उठाउन पाइन्छ । तर यो स्वाभाविक होइन । यो महाधिवेशन आफैँमा एउटा सानोतिनो पुनर्गठनको महाधिवेशन हुनेछ ।
जो अहिले उम्मेदवार हुन खोज्दै हुनुहुन्छ उहाँलाई जित्ने सम्भावना छैन भन्ने थाहा छ । फेरि पनि उम्मेदवारै हुनका लागि किन यत्रो कसिनु भएको छ त ? उहाँहरूको सम्बन्धमा धेरै टिप्पणी गर्न चाहन्नँ अहिले । उहाँहरू उम्मेदवार उठ्छु भन्दै हुनुहुन्छ भने उम्मेदवार उठ्न दिनु वाञ्छनीय हुन्छ । मेरो आग्रह हुन्छ फेरि पनि, जुन यथार्थ हाम्रो अगाडि छन्, तिनीहरूमा उम्मेदवार भइरहनु वाञ्छनीय छैन । त्यो मैले भन्ने कुरा हो । अब उम्मेद्वार मात्रै हुने हो भन्ने उहाँहरूलाई थाहा छ ।
म पार्टीको शिर निहुरिन कहिले पनि दिन्नँ । सक्रियताको हिसाबले दिन्नँ । इमानले दिन्नँ । विचारले दिन्नँ । कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसूस हुन दिन्नँ । जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोडिदिन्छु।
तपाईंले एमालेको आगामी नेतृत्व आफ्नै पक्षमा रहेको दाबी गर्दै सम्पादकहरूसँगको भेटमा आफूलाई चर्चित फुटबल खेलाडी मेस्सीसँग तुलना गर्नु भयो नि ?
म अझै राजनीतिमा सक्रिय र सक्षम रहन सक्छु। मेसीले कति पटक विश्वकप खेले । नखेल्ने भन्छन् तर पछि मेसीले खेलेर प्रतियोगिता जित्ने गर्छन् नि ! म पनि प्रतियोगितामा भाग नलिने भन्दाभन्दै पनि लिनुपर्ने हुन्छ । राजनीतिमा म अझै सक्रिय रहन सक्छु र रहन्छु। मेसीको खेल जीवनजस्तै आफूले अझै खेल्न सक्ने हुँदा कसैले आलोचना गर्नु बेकार हो । यस पटक पनि पार्टी नेता कार्यकर्ताहरूले साथ दिने विश्वास लिएको छु। मलाई नेता कार्यकर्ता र पार्टीका शुभेच्छुकहरूको साथ रहने छ । मेरो आवश्यकता अहिलेको समय र परिस्थिति अनुसारको माग हो । मेरो निरन्तरता लोकतन्त्र र संविधानको रक्षाका लागि हो । लोकतन्त्रलाई जोगाउन पनि मेरो निरन्तरता हो । लोकतन्त्रको रक्षा गर्नुपर्ने भएको हुँदा हाम्रो पार्टीको पद्धतिमा पनि आन्तरिक लोकतन्त्रको आवश्यक छ ।
सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ । चुनावको धेरै तयारी अघि बढिसकेको छ । निर्वाचनबारे एमालेको धारणा के हो?
त्यो त भनाइ हो । यस्तो सरकारहरूले दुनियाँमा चुनाव कहाँ गराएको छ र यहाँ गराउँछ ? म्यानमारमा कति पल्ट सरिसक्यो ? गर्छुगर्छु भन्छ अनि अर्काको टाउकोमा दोष हाल्छ । यसो गर्दिए, उसो गर्दिए भन्छ र गर्दैन । यो गर्ने छाँटै छैन । जेलबाट फरार अभियुक्तहरू अथवा कैद फैसला गरेर अपराधी भनेर फैसला गरेर थुनेका मान्छेहरू जो छुटाइयो, छोडियो, भगाइयो । ती मान्छेहरू पकड्नेतिर उसको कहाँ ध्यान छ ? अहिले पनि उनीहरू त नेता फसाउने कसरी भन्नेमा लाग्या छन् त ! निर्दोष मान्छेलाई दोषी करार गर्ने कसरी भन्नेमा लाग्या छन् । दोषी त उनीहरूले भगाएका छन् ! अनि जेल फोर्ने यिनीहरू नै होइनन् ? कसले फोडे त जेल ? क्रान्ति, यो जेल फोडेका कुरालाई क्रान्ति भन्ने यिनीहरू नै होइनन् ? तोड्फोड आगजनीलाई क्रान्ति भन्ने यिनीहरू होइनन् ? अनि ती मान्छे त पकड्नेतिर ध्यान दिएको छैन । त्यत्रो हतियार लुटाउने, खोसाउने यिनीहरू होइन ? अनि त्यो हतियार संकलन गर्नतिर लाग्नु पर्दैन ?
तपाईंले संसद् पुनर्स्थापना भन्नुभएको छ, के आधारमा संसद् पुनर्स्थापना हुन सक्छ ?
अनधिकृत तरिकाबाट असंवैधानिक नियुक्ति पाएका व्यक्तिले संविधान मिचेको अवस्था छ । यो लोकतन्त्र प्रतिको वैरभाव हो । संसद् पुनर्स्थापना नै अहिलेको लागि उपयुक्त बाटो हो । संसद् पुनर्स्थापना हुन्छ । अनधिकृत तरिकाबाट हटाइएको संसद् पुनर्स्थापना हुनुपर्छ । अहिलेको अनधिकृत तरिकाबाट विघटन भएको संसद्को पुनर्स्थापना राष्ट्रपतिले या सर्वोच्च अदालतले पुनर्स्थापना गर्नुपर्छ ।
संसद् पुनर्स्थापना हुने आधार के देख्नुहुन्छ ? तपाईंको अडानलाई सहयात्री दल नेपाली कांग्रेसले साथ देला भन्ने विश्वास गर्नुहुन्छ ?
संसद् पुनर्स्थापनामा कांग्रेस सँगै छ । हामीले लोकतान्त्रिक मुद्दामा सँगै हुन्छौँ । संसद् पुनर्स्थापनामा सबैको सहयोग हुन्छ । जनताबाट निर्वाचित सरकार हटाउनु लोकतन्त्र प्रतिको वैरभाव हो । यस्तो अनधिकृत तरिकाबाट भएको अहिलेको घटनालाई राष्ट्रपति र सम्मानित सर्वोच्चले रोक्न सक्नुपर्छ ।
तपाईं र कांग्रेस सभपाति शेरबहादुर देउवाबीचको भेटमा के कुरा भयो?
दुईवटा प्रमख पार्टीका प्रमुखहरू भेटमा देशको कुरा गरेनन् होला ? देशको बारेमा चिन्ता गरेनन् होला ? पक्कै गरे । देशको अवस्थाबारे चिन्ता गरिए । अहिलेका चुनौती के छन् ? समस्या के छ ? कसरी समाधान गर्ने भन्नेबारे कुराकानी गर्यौं । हाम्रो भेटमा केही पनि भएन भनेर म झूट बोल्दिनँ । बकाइदा छलफल भयो । अर्थपूर्ण छलफल भयो । त्यसको अर्थ छ । भोलि देखिन्छ ।
पक्कै पनि हाम्रो भेट आफैँमा अर्थपूर्ण छ । लामो इतिहास भएको जनाधार भएको र लोकतन्त्रका लागि सँगै लडेको पार्टीका प्रमुखहरूको भेट पक्कै पनि अर्थपूर्ण हुन्छ नि ! हामीले अहिलेको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेका छौँ । त्यसको रिजल्ट केही समयपछि देखिने छ ।
उहाँ घाइते हुनुहुन्थ्यो, स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएको थियो । मैले स्वास्थ्यको बारेमा सोधखोज गरेँ । उहाँलाई आतंककारीहरूले, आपराधिक तत्वहरूले हमला गरेका थिए । उहाँलाई र उहाँको म्याडमलाई पनि कुटपिट गरेका थिए । यस सम्बन्धमा सोधपुछ गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेँ । दुईवटा राजनीतिक नेताहरूका बीचमा भेटघाट हुँदा राजनीतिक बारेमा कुराकानी हुनु स्वाभाविक हो । विभिन्न विषयमा छलफल भए । यो सारा सन्दर्भको बारेमा छलफल भयो । जहिलेदेखि हाम्रो भेटघाट भएको थिएन । चीनबाट म फर्किएपछि हाम्रो भेट भएको थियो । भदौ १८–१९ तिर । त्यसपछि भेट भएको हो । शेरबहादुरजीसँगको भेटमा हामीले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमलाई गम्भीर रुपमा समीक्षा गरेका छौ । अहिलेको अवस्थालाई फर्काउन सकिन्छ । हामीले जेनजीको बास्तविक अवस्था र उनीहरू पछाडिको विभिन्न डिजाइनहरूलाई बुझेका छौँ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थालाई विश्लेषण गर्दा मुलुकका ठुला दल नेपाली कांग्रेस र एमालेको गठबन्धनको सरकारले भूराजनीतिक अवस्थालाई बेवास्ता गरेको र सन्तुलनमा राख्न सक्नु भएको देखिएन नि ? किन ?
हामीले भूराजनीतिक अवस्थालाई राम्रोसँग बुझेका थियौँ । म केही समयअघि चीनको भ्रमण गरेर फर्किएको थिएँ । भारत जाने कार्यक्रम पनि थियो । चीन भ्रमणलगत्तै आफू भारत र संयुक्त राष्ट्रसंघ तथा विश्वका विभिन्न महत्वपूर्ण फोरममा भाग लिएर नेपालको बलियो उपस्थिति विश्व मञ्चमा प्रस्तुत गर्ने तयारीमा थिएँ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो भूमिका र अवस्थालाई राम्रोसँग प्रस्तुत गर्ने सोचमा थिएँ । विदेशी शक्ति केन्द्र र छिमेकी मुलुकहरूको भूमिकालाई पनि नजिकबाट हेरिरहेका छौँ ।
नेपाल पछिल्लोपटक भूराजनीतिक चेपुवामा परेकाे र छिमेकी मुलुक तथा विश्वका शक्तिशाली मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न नसकेको अवस्था छ भन्ने चर्चा पनि छ नि ?
भूराजनीतिक सम्बन्ध र ग्लोबल अर्डर चेन्ज भइरहेको अवस्थाप्रति आफू गम्भीर छु। हामीले नयाँ विश्व व्यवस्थालाई राम्रोसँग बुझिरहेको छौँ र त्यसलाई कायम राख्नुपर्छ । नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ । चीन र भारत दुवै हाम्रालागि महत्वपूर्ण छिमेकी हुन् । अहिलेको विश्व भूराजनीतिक अवस्थाको गम्भीरतालाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ । त्यस कुरामा हामी सचेत छौँ ।
पछिल्लोपटक सेनाको भूमिका र सुरक्षा मामिलाको पनि विभिन्न टीका–टिप्पणीहरू भइरहेका छन् नि ?
नेपाली सेनालाई अनावश्यक रुपमा उचाल्ने र उक्साउने काम कसैले पनि गर्नुहुँदैन । सेनाको विषयमा अनावश्यक टीकाटिप्पणी गर्नु उचित होइन । सेनालाई लोकतान्त्रीकरण गर्नु भनेको बेक्कार अनावश्यक कुरा हो । सेना सधैँ जनता, राष्ट्र र लोकतन्त्रको रक्षामा जिम्मेवार हुन्छ र हुनु पनि पर्छ । सेनाको निश्चित सीमा र मान्यताहरू छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजनीतिमा सक्रिय रुपमा आउन खोज्नुभएको छ ? उहाँ पनि तपाईंको विरोधमा देखिनुभएको छ नि ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषय उचित र व्यावहारिक छैन । पूर्वराष्ट्रपति मर्यादित र सम्मानित भएर बस्नु नै उपयुक्त हुन्छ ।
तपाईंहरू पुराना दलहरूलाई चुनौती दिदै नयाँ दलहरू चुनावी मैदानमा छन् नि ?
नयाँ दल र नयाँ शक्ति भनिएको राजनीतिक समूह भ्रष्टाचार, कालोधन र अपराध लुकाउन दल खोलेर आएका छन् । नयाँ दल र समूहको कुनै दर्शन, सिद्धान्त र व्यवहार देखिँदैन । राजनीतिक दल हुनका लागि पाँच जना जम्मा भएर मात्र हुन्छ ? जनस्तरमा काम गरेको हुनुपर्छ । जनताले पुरानै दललाई सुधार गरेर अघि बढ्ने मौका दिनेछन् । १४३ वटा पार्टी कसका लागि खोलिएका छन् ?