नेभिगेशन
अन्तर्वार्ता

‘सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा अघि बढाउनुपर्छ’ : दीपेन चापागाईं, अध्यक्ष, नासआईटी

नेपालमा सूचना प्रविधि उद्योगको विकासले पछिल्लो समय नयाँ गति लिएको छ । सफ्टवेयर उत्पादनदेखि अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यातसम्म नेपाली कम्पनीहरूको उपस्थिति विस्तार हुँदै गएको छ । डिजिटल भुक्तानी, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र स्वचालित सेवाको बढ्दो प्रयोगले यस क्षेत्रको सम्भावना थप फराकिलो बनाएको छ । यद्यपि नीतिगत जटिलता, दक्ष जनशक्ति, बजार विस्तार र साइबर सुरक्षाजस्ता चुनौती कायमै छन् । यही सम्भावना र चुनौतीबीच नेपाली प्रविधि उद्योगलाई संस्थागत गर्दै स्वदेशी उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले नास आइटी एक्स्पो आयोजना हुँदैछ । प्रस्तुत छ, यसै सन्दर्भमा नास आइटीका अध्यक्ष तथा कम्प्युटर इन्जिनियर दीपेन चापागाईंसँग न्युज २४ दैनिकका प्रधानसम्पादक नवराज चालिसेले गरेको कुराकानीको सम्पादित अंशः
नेपालमा पछिल्लो समय सूचना प्रविधि क्षेत्रप्रति आकर्षण र सम्भावनालाई संस्थागत गर्दै उद्योगका रूपमा विकास गर्न निजी क्षेत्र र सरकारले के–कस्ता प्रयास गरिरहेका छन्?
सूचना प्रविधि क्षेत्रलाई हामीले नेपालको तुलनात्मक रूपमा कान्छो उद्योगका रूपमा लिने गरेका छौँ । तर पछिल्ला केही वर्षमा यसको विकासको गति निकै उत्साहजनक छ । विगतमा भएका विभिन्न अध्ययन तथा सरकारी स्तरबाट सार्वजनिक तथ्याङ्कले समेत यस क्षेत्रमा ठूलो सम्भावना रहेको देखाएका छन् । त्यसले निजी क्षेत्रलाई थप उत्साहित बनाएको छ ।
नेपालमा सूचना प्रविधि उद्योगको सुरुवात सन् २००० को सुरुवाती समयदेखि भएको मान्न सकिन्छ । त्यसयता विस्तारै विकास हुँदै आएको यो उद्योग पछिल्लो पाँचदेखि सात वर्षमा उल्लेख्य गतिमा अघि बढेको छ । विशेषगरी सफ्टवेयर विकास र निर्यात गर्ने कम्पनीहरू आफ्नो क्षमताअनुसार अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छन् ।
तर व्यक्तिगत वा कम्पनीगत प्रयासबाट मात्र उद्योगको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सकिँदैन । यसका लागि नीतिगत समस्या समाधान गर्ने, उद्योगको साझा आवाज सरकारसमक्ष पु¥याउने र नयाँ अवसर पहिचान गर्ने संस्थागत संरचना आवश्यक थियो । यही उद्देश्यले सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदान गर्ने कम्पनीहरूको छाता संगठनका रूपमा नास आइटी स्थापना गरिएको हो ।
हामीले स्थापनादेखि नै उद्योगका नीतिगत चुनौती पहिचान गर्ने, सरकारसँग समन्वय गर्ने र नेपालमा रहेका सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने काम गरिरहेका छौँ ।
सरकारी तवरबाट पनि पछिल्ला वर्षमा सकारात्मक सहयोग प्राप्त भएको छ । केही वर्षअघिसम्म नेपालमा कम्पनी स्थापना गरेर अमेरिका वा युरोपमा सेवा तथा उत्पादन निर्यात गर्न चाहने कम्पनीलाई त्यहाँ बजार विस्तार गर्न, शाखा कार्यालय खोल्न वा स्थानीय रूपमा आवश्यक जनशक्ति परिचालन गर्न नीतिगत तथा कानुनी समस्या थिए । अहिले तीमध्ये धेरै विषयमा सहजीकरण भएको छ । निर्यात गर्ने कम्पनीलाई प्रोत्साहन गर्ने व्यवस्था पनि अघि बढेका छन् ।
अहिले सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने विषय सरकारी प्रतिबद्धतामा समेत समेटिएको छ । नेपाली उत्पादनलाई आन्तरिक बजारमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने विषयले पनि प्राथमिकता पाउन थालेको छ ।
यी सबै व्यवस्था पूर्ण रूपमा कार्यान्वयन भइसकेका छैनन् । तर सरकारले लिएको दिशा सकारात्मक छ । पहिले एकजना युवा आफ्नै कम्प्युटरमा बसेर विदेशमा सफ्टवेयर वा सेवा बिक्री गरिरहेको अवस्थाबाट अहिले नेपाली सूचना प्रविधि कम्पनीहरूको सामूहिक व्यावसायिक क्षमता र आकारसमेत देखिन थालेको छ । यसलाई थप संस्थागत गर्न सके उद्योगले अझ ठूलो योगदान दिन सक्छ ।
सूचना प्रविधि उद्योगलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । कृषि, ग्रामीण अर्थतन्त्र, वित्तीय सेवा, पर्यटन तथा सरकारी सेवामा यसको प्रयोग कसरी विस्तार भइरहेको छ?
सूचना प्रविधि आफैँमा एउटा छुट्टै क्षेत्र मात्र होइन । यो अन्य सबै क्षेत्रलाई सहज, प्रभावकारी र प्रतिस्पर्धी बनाउन प्रयोग हुने माध्यम हो । त्यसैले यसको प्रयोग अर्थतन्त्रका सबै क्षेत्रमा हुन सक्छ ।
नेपालमै हेर्ने हो भने वित्तीय प्रविधिको प्रयोग निकै राम्रोसँग विस्तार भएको छ । क्यूआर भुक्तानीलगायतका डिजिटल भुक्तानी प्रणालीमा नेपालको अभ्यास अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्दा पनि अगाडि देखिन्छ । वित्तीय क्षेत्रमा प्रविधिको स्वीकार्यता र प्रयोग उल्लेख्य छ ।
त्यसैगरी सरकारी सेवा प्रवाहमा पनि सूचना प्रविधिको प्रयोग बढेको छ । राहदानीलगायत नागरिकले प्राप्त गर्ने विभिन्न सेवाहरू क्रमशः डिजिटल माध्यममा गएका छन् । पाँच वर्षअघिको राहदानी प्राप्त गर्ने प्रक्रिया र अहिलेको प्रक्रियाबीच तुलना गर्दा धेरै परिवर्तन देखिन्छ । नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने र सामान्य सेवाका लागि पनि पटकपटक सरकारी कार्यालय धाउनुपर्ने अवस्था केही हदसम्म घटेको छ ।
इ–शासनको अभ्यास विस्तार हुँदै गएको छ । बैंकिङ, पर्यटन, जलविद्युत्, कृषि तथा अन्य व्यावसायिक क्षेत्रमा पनि सफ्टवेयर र डिजिटल प्रणालीको प्रयोग बढिरहेको छ ।
तर यसलाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्था पनि सँगसँगै विकास गर्नुपर्छ । निजी क्षेत्रले उत्पादन गरेका प्रविधि र सेवाबारे आम नागरिक तथा व्यवसायलाई जानकारी दिने वातावरण पनि बनाउनुपर्छ । नेपाली कम्पनीले बनाएका उत्पादन नेपालमै प्रयोग हुने अवस्था सिर्जना गर्न सके उद्योग र समग्र अर्थतन्त्र दुवैलाई फाइदा पुग्छ ।
यसमा सरकारी निकाय र निजी क्षेत्रबीच कस्तो समन्वय भइरहेको छ?
हामी सफ्टवेयर उत्पादन गर्ने, सेवा प्रदान गर्ने, निर्यात गर्ने र नेपाली बजारमा बिक्री गर्ने कम्पनीहरूको प्रतिनिधित्व गर्छौँ । त्यसैले हामीसँग सम्बन्धित नीतिगत विषयमा सरकारसँग नियमित छलफल र सहकार्य भइरहेको छ ।
हाम्रो एउटा प्राथमिकता नेपालमै उत्पादन भएका सफ्टवेयर तथा सेवाबारे आन्तरिक बजारमा जानकारी बढाउनु हो । नेपालमा के–कस्ता प्रविधि उत्पादन भइरहेका छन्, कुन समस्याको समाधान गर्ने सफ्टवेयर उपलब्ध छन् र ती सेवाबाट व्यवसायले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जानकारी पुग्न आवश्यक छ ।
यसका लागि उत्पादक, खरिदकर्ता र लगानीकर्तालाई एउटै ठाउँमा ल्याउने प्रयास गरेका छौँ । त्यसैको एउटा महत्वपूर्ण कार्यक्रम नास आइटी एक्स्पो हो । यसमा सरकारी निकायबाट पनि चासो र आवश्यक स्तरको सहयोग प्राप्त भइरहेको छ । नीतिगत विषयमा पनि सम्बन्धित निकायसँग संवाद गर्दै आएका छौँ ।
मङ्सिर ५ र ६ गते सानेपास्थित हेरिटेज गार्डेनमा नास आइटी एक्स्पो आयोजना हुँदैछ । यो एक्स्पोको मुख्य उद्देश्य के हो? यसमा कस्ता कम्पनी, व्यवसायी तथा सर्वसाधारण सहभागी हुँदा बढी उपयोगी हुन्छ?
पछिल्ला वर्षमा नेपालबाट सूचना प्रविधि सेवा तथा सफ्टवेयर निर्यात भइरहेको छ भन्ने विषय स्थापित भएको छ । विभिन्न अध्ययन र सरकारी तथ्याङ्कले पनि यसको पुष्टि गरेका छन् । तर नेपालको आन्तरिक बजारलाई लक्षित गरेर नेपालमै उत्पादन भइरहेका सफ्टवेयर तथा सेवाले अपेक्षित चर्चा र बजार पाउन सकेका छैनन् ।

हामीले यही अवस्थालाई ध्यानमा राखेर एक्स्पो आयोजना गर्न लागेका हौँ । नेपालमै उत्पादन भएका र नेपाली बजारलाई लक्षित गरेका सफ्टवेयर तथा प्रविधि सेवाहरूलाई एउटै साझा मञ्चमा प्रदर्शन गर्ने यसको मुख्य उद्देश्य हो ।
अहिलेसम्म त्यस्तो साझा मञ्चको अभाव थियो, जहाँ उत्पादक कम्पनी र ती उत्पादन तथा सेवा खरिद गर्न चाहने व्यवसायीहरू एकै ठाउँमा आएर प्रत्यक्ष छलफल गर्न सकून् । कुनै बैंकलाई निश्चित प्रकारको सफ्टवेयर आवश्यक परेको हुन सक्छ । कुनै व्यवसायलाई आफ्नो कारोबार व्यवस्थापन गर्न प्रणाली चाहिएको हुन सक्छ । कुनै संस्थाले साइबर सुरक्षा सेवा खोजिरहेको हुन सक्छ । तर नेपालमै त्यस्ता उत्पादन उपलब्ध छन् भन्ने जानकारी उनीहरूलाई नहुन सक्छ ।
एक्स्पोमा यस्ता सम्भावनाबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ । कम्पनीहरूले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । सम्भावित खरिदकर्ता, प्रयोगकर्ता र लगानीकर्ताले ती उत्पादनबारे जानकारी लिन तथा उत्पादक कम्पनीसँग प्रत्यक्ष छलफल गर्न पाउनेछन् ।
यसमा बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वित्तीय प्रविधि, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, शैक्षिक प्रविधि र मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित प्रविधिहरू प्रदर्शन गरिनेछन् ।
आज कुनै पनि कम्पनीले आफ्नो मानव संसाधन व्यवस्थापन, लेखा, सञ्चालन तथा अन्य व्यावसायिक गतिविधि व्यवस्थित गर्न प्रविधिको आवश्यकता महसुस गर्न थालेको छ । त्यसैले यो एक्स्पो सूचना प्रविधि कम्पनीका लागि मात्र होइन, विभिन्न क्षेत्रका व्यवसायी र संस्थाका लागि पनि उपयोगी हुनेछ ।

हामीले एक्स्पोलाई केवल उत्पादन प्रदर्शन गर्ने कार्यक्रमका रूपमा मात्र लिएका छैनौँ । यसबाट व्यावसायिक सम्बन्ध विकास होस्, नेपाली उत्पादनले बजार पाऊन् र सम्भावित लगानीकर्ताले नयाँ अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो अपेक्षा छ ।
यसमा सरकारको प्रत्यक्ष सहभागिता हुन्छ कि निजी क्षेत्रले नै आयोजना गरेको हो?
यो नास आइटीले निजी क्षेत्रबाट आयोजना गरेको कार्यक्रम हो । हामीलाई विभिन्न संस्थाले प्रायोजन तथा सहयोग गर्नुभएको छ । आकाशटेल यसको प्रायोजकका रूपमा जोडिएको छ । तर यो सरकारी कार्यक्रम होइन । यसको आयोजना र व्यवस्थापन निजी क्षेत्रबाटै भइरहेको छ ।
यो मूलतः एउटा प्रदर्शनी हो । सहभागी कम्पनीहरूले आफूले विकास गरेका उत्पादन र सेवा प्रदर्शन गर्नेछन् । हामीले मुख्य रूपमा त्यस्ता उत्पादन तथा सेवा खरिद गर्न वा प्रयोग गर्न सक्ने व्यवसायी, संस्था र व्यक्तिलाई लक्षित गरेका छौँ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली सूचना प्रविधि कम्पनीहरूको उपस्थिति कस्तो छ? विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता हामीले विकास गरेका छौँ?
नेपालका सूचना प्रविधि कम्पनीहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा सेवा तथा उत्पादन निर्यात गर्दै आएका छन् । तथ्याङ्कका आधारमा हेर्दा नेपाली सूचना प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकामा केन्द्रित छ ।
अमेरिकी बजारमा विशेषगरी स्वास्थ्य सेवा र साइबर सुरक्षासँग सम्बन्धित क्षेत्रमा नेपाली कम्पनीहरूले काम गरिरहेका छन् । युरोपेली बजारमा पनि नेपाली कम्पनीहरूको उपस्थिति छ । अस्ट्रेलियामा भने घरकर्जा व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयरलगायतका क्षेत्रमा नेपाली कम्पनीहरूले सेवा प्रदान गरिरहेका छन् ।
यसले नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरका ग्राहकलाई आवश्यक पर्ने प्रविधि उत्पादन र सेवा प्रदान गर्न सक्षम छन् भन्ने देखाउँछ ।
प्रतिस्पर्धाको विषयमा कुरा गर्दा हामी कुन बजार र कुन प्रकारको सेवामा प्रतिस्पर्धा गरिरहेका छौँ भन्ने बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय बजार निकै ठूलो र विविधतायुक्त छ । नेपाली कम्पनीहरूले पनि निश्चित क्षेत्र र ग्राहकको आवश्यकतामा केन्द्रित भएर आफ्नो क्षमता विकास गरेका छन् ।
स्वास्थ्य सेवा, साइबर सुरक्षा र घरकर्जा व्यवस्थापनजस्ता विशिष्ट क्षेत्रमा नेपाली कम्पनीहरूको अनुभव र विशेषज्ञता छ । उनीहरूले प्रदान गरेका सेवा अन्तर्राष्ट्रिय बजारमा स्वीकार भइरहेका छन् ।
हाम्रो चुनौती भनेको यही क्षमतालाई अझ विस्तार गर्नु, नयाँ बजार पहिचान गर्नु र अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच बढाउनु हो । यसका लागि राज्यबाट नीतिगत सहजीकरण र निजी क्षेत्रबाट व्यावसायिक क्षमता विस्तार आवश्यक छ ।
नेपालको भौगोलिक अवस्थाका कारण अन्य वस्तुको निर्यातमा अनेक समस्या छन् । तर सूचना प्रविधि सेवा निर्यातमा त्यस्तो समस्या हुँदैन भन्ने हो?
हो, सूचना प्रविधि उद्योगको सबैभन्दा ठूलो विशेषता नै यही हो । अन्य वस्तु निर्यात गर्दा हामीले भौगोलिक अवस्थालाई ध्यान दिनुपर्छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले तेस्रो मुलुकमा सामान पु¥याउन लामो दूरी पार गर्नुपर्छ । बन्दरगाहसम्म पुग्नै हजारौँ किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था हुन सक्छ ।

तर सफ्टवेयर तथा डिजिटल सेवा निर्यात गर्न त्यस्तो भौतिक दूरी पार गर्नुपर्दैन । नेपालमै बसेर अमेरिकाको ग्राहकलाई सेवा दिन सकिन्छ । युरोप वा अस्ट्रेलियामा उत्पादन बिक्री गर्न सकिन्छ । त्यसैले यो उद्योगमा हाम्रो भौगोलिक अवस्थाले तुलनात्मक रूपमा ठूलो बाधा पु¥याउँदैन ।
हामीले यही सम्भावनालाई उपयोग गर्नुपर्छ । विदेशमा गएर मात्र अवसर खोज्नुपर्ने होइन, नेपालमै बसेर विश्व बजारका लागि उत्पादन र सेवा विकास गर्न सकिन्छ । यसबाट रोजगारी सिर्जना हुन्छ र आम्दानी पनि देशभित्रै राख्न सकिन्छ ।
पछिल्लो समय साइबर सुरक्षाको चुनौती पनि बढिरहेको छ । सूचना प्रविधि क्षेत्रको छाता संगठनका रूपमा नास आइटीले यसलाई कसरी लिइरहेको छ?
साइबर सुरक्षालाई हामीले विभिन्न पक्षबाट हेरेका छौँ । नास आइटीका सदस्य कम्पनीमध्ये साइबर सुरक्षासँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने कम्पनीहरू पनि हुनुहुन्छ । उहाँहरूसँग भएको ज्ञान र अनुभवलाई व्यापक रूपमा विस्तार गर्ने विषयमा हामी काम गरिरहेका छौँ ।
हाम्रो पहिलो प्रयास आफ्नै सदस्य कम्पनीहरूमा साइबर सुरक्षा सचेतना बढाउनु हो । कुनै पनि कम्पनीले सूचना प्रविधि प्रयोग गर्दा त्यससँग सम्बन्धित जोखिमबारे जानकार हुनुपर्छ । आफ्नो तथ्याङ्क, ग्राहकको विवरण र व्यावसायिक प्रणाली सुरक्षित राख्न आवश्यक उपाय अपनाउनुपर्छ ।
दोस्रो पक्ष नीतिगत तथा कानुनी व्यवस्था हो । साइबर सुरक्षाका चुनौती समाधान गर्न स्पष्ट कानुनी आधार आवश्यक हुन्छ । तेस्रो पक्ष प्रविधिको उचित कार्यान्वयन र चौथो पक्ष जनचेतना हो ।

यी सबै विषयमा सम्बन्धित निकाय र विज्ञहरूसँग सहकार्य गरेर योगदान गर्ने प्रयास गरिरहेका छौँ । साइबर सुरक्षा कुनै एउटा कम्पनी वा संस्थाको मात्र विषय होइन । यसमा सरकार, निजी क्षेत्र र नागरिक सबैको भूमिका आवश्यक छ ।
कृत्रिम बुद्धिमत्ताको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ । यसले अवसरसँगै नयाँ जोखिम पनि ल्याएको छ । यसको प्रयोगलाई व्यवस्थित गर्न राज्यको नीति कस्तो हुनुपर्छ?
कृत्रिम बुद्धिमत्ता अहिले संसारभरका सबै क्षेत्रमा जोडिइसकेको छ । यसको प्रयोग नगर्ने क्षेत्र क्रमशः कम हुँदै गएको छ । यसले काम गर्ने तरिका, उत्पादन क्षमता र सेवा प्रवाहमा परिवर्तन ल्याइरहेको छ ।
तर यसको प्रयोगसँगै विभिन्न प्रकारका चुनौती पनि आएका छन् । त्यसैले कृत्रिम बुद्धिमत्ताको जिम्मेवार र नैतिक प्रयोगलाई प्राथमिकता दिनुपर्छ । प्रविधि विकास हुँदैमा त्यसको प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिमलाई बेवास्ता गर्न मिल्दैन ।
विशेषगरी नागरिकका अधिकारको संरक्षण महत्वपूर्ण विषय हो । कृत्रिम बुद्धिमत्ताको दुरुपयोगबाट व्यक्तिको अधिकार उल्लङ्घन हुन सक्छ । त्यसबाट हुने हानि र नोक्सानीको जिम्मेवारी कसले लिने, कसरी नियन्त्रण गर्ने र पीडितको अधिकार कसरी संरक्षण गर्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक छ ।
साइबर सुरक्षा र सूचना प्रविधिका अन्य पक्षलाई समेट्ने गरी ऐन तथा नियम ल्याउनुपर्छ । यस विषयमा विगतमा पनि विधेयकको काम भएको थियो । अघिल्ला दुई संसद्मा समेत यो विषय अघि बढेको थियो । तर विभिन्न कारणले त्यसले पूर्णता पाउन सकेन । अहिले फेरि यससम्बन्धी काम अघि बढेको भन्ने जानकारी छ ।

हाम्रो आग्रह के हो भने साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ताको दुरुपयोग, नागरिकको अधिकारको संरक्षण र सूचना प्रविधि उद्योगका नीतिगत आवश्यकतालाई समेटेर कानुनी व्यवस्था छिटो ल्याउनुपर्छ ।
सरकारको प्रमुख दायित्व नागरिकको अधिकार संरक्षण गर्नु हो । कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट नागरिकका कुन–कुन अधिकार प्रभावित हुन सक्छन्, त्यस्ता अधिकार उल्लङ्घन भएमा कसरी न्याय दिने र दुरुपयोग गर्नेलाई कसरी जिम्मेवार बनाउने भन्ने विषय कानुनमा स्पष्ट हुनुपर्छ ।
अहिलेको नयाँ पुस्ता रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेश गइरहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि जनशक्ति बाहिरिने क्रम छ । नेपालमै बसेर करियर बनाउन चाहने युवालाई के भन्न चाहनुहुन्छ?
अहिलेको नयाँ पुस्तालाई हामी डिजिटल नेटिभ भन्छौँ । हामीले पछि आएर सिकेका धेरै प्रविधि उनीहरू जन्मँदैदेखि प्रयोग गर्दै हुर्किएका छन् । त्यसैले उनीहरूको सिक्ने क्षमता, प्रविधि बुझ्ने क्षमता र कार्यकुशलता निकै राम्रो छ ।
हामी लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेका छौँ । अहिले उद्योगमा प्रवेश गरिरहेका नयाँ जनशक्तिको क्षमता र सिक्ने उत्साह देख्दा निकै सकारात्मक महसुस हुन्छ । यही पुस्ताको योगदानबाट नेपाली सूचना प्रविधि उद्योग अझ अगाडि बढ्न सक्छ ।
नेपालमा सूचना प्रविधिको सम्भावना पर्याप्त छ । अहिलेको विकासक्रम हेर्दा यहाँ बसेर पनि अन्तर्राष्ट्रिय बजारका लागि काम गर्न सकिने अवस्था छ । त्यसैले विदेश गएर मात्र करियर बनाउन सकिन्छ भन्ने सोच परिवर्तन गर्न आवश्यक छ ।

हामीले युवालाई नेपालमै बसेर सफ्टवेयर तथा प्रविधि सेवा विकास गर्न, नयाँ व्यवसाय सुरु गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्छ । यहीँ रोजगारी सिर्जना गर्ने र यहीँ आम्दानी राख्ने अवसर सूचना प्रविधि उद्योगले प्रदान गर्न सक्छ ।
यसका लागि नास आइटीले विभिन्न तहमा काम गरिरहेको छ । हामी नेपाल ओपन युनिभर्सिटीसँग सहकार्य गरेर ‘इन्डस्ट्री इन्टिग्रेटेड डिग्री’ कार्यक्रमको अवधारणामा काम गरिरहेका छौँ । यसमा विद्यार्थीले अध्ययनको सुरुवाती चरणदेखि नै कुनै कम्पनीसँग आबद्ध भएर काम गर्दै सिक्ने अवसर पाउनेछन् । यसले शैक्षिक ज्ञान र उद्योगको वास्तविक आवश्यकताबीचको दूरी कम गर्न सहयोग गर्छ ।
त्यसैगरी स्टार्टअपहरूलाई प्रवद्र्धन गर्न र नयाँ उद्यमीलाई सहयोग पु¥याउन मेन्टरसिपको व्यवस्था गर्ने विषयमा पनि काम भइरहेको छ । यस क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूले नयाँ उद्यमीलाई मार्गदर्शन गर्न सक्ने वातावरण बनाउन खोजिरहेका छौँ ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्टार्टअपको पहुँच विस्तार गर्न पनि प्रयास भइरहेको छ । यसैक्रममा एसिया प्रशान्त क्षेत्रको सूचना प्रविधि प्रतिस्पर्धा एपिक्टा (एपेक्टा) मा नेपाली स्टार्टअपलाई सहभागी गराउने काम भइरहेको छ । नेपाली उत्पादन र नवीन विचारलाई क्षेत्रीय बजारमा चिनाउने यो एउटा अवसर हो ।
 यसपटकको एक्स्पोमा युरोपेली सङ्घको सहयोगमा छुट्टै स्टार्टअप पेभिलियन पनि राखिँदै छ । यसको उद्देश्य के हो? त्यहाँ विदेशी कम्पनी पनि सहभागी हुन्छन्?
अघिल्लो वर्ष हामीले मुख्य रूपमा नेपाली बजारमा बिक्री भइरहेका सफ्टवेयर तथा प्रविधि उत्पादनलाई प्रदर्शन गरेका थियौँ । तर त्यस क्रममा नयाँ विचार र सम्भावना बोकेर आएका स्टार्टअपलाई पनि आफ्नो उत्पादन देखाउने साझा मञ्च आवश्यक रहेको महसुस भयो ।
स्टार्टअपसँग नयाँ विचार र सम्भावना हुन्छ । तर उनीहरूसँग आफ्नो उत्पादन प्रदर्शन गर्ने, सम्भावित ग्राहक भेट्ने र लगानीकर्तासँग सम्बन्ध स्थापित गर्ने पर्याप्त अवसर नहुन सक्छ । त्यसैले यसपटक स्टार्टअपका लागि छुट्टै पेभिलियन राख्ने निर्णय गरेका हौँ ।
यसका लागि सहयोगको खोजी गर्ने क्रममा युरोपेली सङ्घले सहकार्य गर्न सक्ने बताउनुभयो । त्यसपछि यो कार्यक्रम अघि बढाइएको हो ।
यो पेभिलियन मुख्य रूपमा नेपाली स्टार्टअपका लागि हो । विदेशी कम्पनीहरूलाई सहभागी गराउने उद्देश्य होइन । नेपाली स्टार्टअपले विकास गरेका र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार हुन सक्ने सम्भावना भएका उत्पादन तथा सेवालाई प्रदर्शन गर्ने अवसर दिन खोजिएको हो ।
हाम्रो उद्देश्य नेपाली युवाले विदेशमा गएर मात्र अवसर खोज्नुपर्ने अवस्था अन्त्य गर्नु हो । उनीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन र सेवा विकास गर्न सकून् । रोजगारी यहीँ सिर्जना होस् र आम्दानी पनि देशभित्रै रहोस् । तर उत्पादन तथा सेवा विश्व बजारमा पु¥याउन सकियोस् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले सूचना प्रविधि उद्योगलाई कत्तिको प्राथमिकता दिएका छन्? उनीहरूसँग नास आइटीको सहकार्य कस्तो छ?
ती संस्थाहरूसँग हाम्रो राम्रो समन्वय र सहकार्य छ । उहाँहरूले समग्र उद्योग तथा व्यवसाय क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ भने हामी विशेषगरी सूचना प्रविधि उद्योगको प्रतिनिधित्व गर्छौँ ।

सूचना प्रविधि उद्योगका नीतिगत विषय केही फरक छन् । हामीले उत्पादन गर्ने वस्तु भौतिक प्रकृतिको हुँदैन । हामी सफ्टवेयर र डिजिटल सेवा उत्पादन गर्छौँ । त्यसैले लगानी, उत्पादन, निर्यात र बजार विस्तारका विषयमा यस उद्योगका आवश्यकताहरू पनि फरक हुन्छन् ।
हामीले आफ्नो तर्फबाट सूचना प्रविधिसँग सम्बन्धित विषयमा काम गरिरहेका छौँ । तर सबै निजी क्षेत्रका साझा मुद्दामा अन्य प्रतिनिधिमूलक संस्थासँग सहकार्य गरेर अघि बढ्छौँ । उहाँहरूबाट पनि सकारात्मक सद्भाव र सहयोग प्राप्त भइरहेको छ ।
अहिले सरकारले पनि सूचना प्रविधि उद्योग र स्टार्टअपलाई प्राथमिकता दिएको देखिन्छ । नयाँ सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?
अहिले सूचना प्रविधि उद्योग उच्च सम्भावना बोकेको क्षेत्र हो भन्ने पहिचान सबै तहमा स्थापित हुँदै गएको छ । सरकारले पनि यसको महत्त्व बुझ्न थालेको छ ।
सरकारले प्रस्तुत गरेको सय बुँदे कार्यक्रम, राष्ट्रिय प्रतिबद्धतापत्र, नीति तथा कार्यक्रम र बजेटलाई हेर्दा सूचना प्रविधि उद्योगलाई अघि बढाउनुपर्ने विषय स्पष्ट रूपमा आएको छ ।
बजेटमा केही विषय समेटिएका छन् । सबै आवश्यक विषय एकैपटक समेटिन सकेका छैनन् । तर छोटो समयमै सबै कुरा कार्यान्वयन हुन्छ भन्ने अपेक्षा पनि व्यावहारिक हुँदैन ।
हामीले हेर्दा सरकारको दिशा सकारात्मक छ । सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र सरकारी सेवाहरूलाई डिजिटल माध्यममा लैजाने विषय महत्त्वपूर्ण छन् ।
अब यी नीतिगत प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ । त्यसका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य हुनुपर्छ ।
 डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा नास आइटी कसरी संलग्न भइरहेको छ?
डिजिटल नेपाल फ्रेमवर्कको पुरानो अवधारणादेखि यसको संशोधन तथा परिमार्जनका विषयसम्म हामीले आफ्नो तर्फबाट सहभागिता जनाउँदै आएका छौँ । त्यसमा के–कस्ता विषय समेटिनुपर्छ भन्ने विषयमा पनि सहकार्य गरेका छौँ ।
तर डिजिटल रूपान्तरण सरकारको मात्र जिम्मेवारी होइन । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक सबैको साझा प्रयास आवश्यक हुन्छ । कार्यान्वयनका क्रममा पनि हामीले आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छौँ ।
अन्त्यमा, सूचना प्रविधि क्षेत्रको नेतृत्व गरिरहनुभएको व्यक्तिका रूपमा सरकार, निजी क्षेत्र र नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ?
नेपालको सूचना प्रविधि उद्योगमा ठूलो सम्भावना छ । विगत पाँचदेखि दस वर्षको विकासक्रम र तथ्याङ्क हेर्दा पनि यो सम्भावना स्पष्ट देखिन्छ । हामीले यो अवसरलाई सही ढङ्गले उपयोग गर्न सक्यौँ भने यसले देशको समग्र अर्थतन्त्रमा नै उल्लेखनीय प्रभाव पार्न सक्छ ।
यसका लागि सरकार, निजी क्षेत्र र शैक्षिक क्षेत्रबीच सहकार्य हुनुपर्छ । राज्यले उद्योगलाई आवश्यक नीति, कानुन र पूर्वाधार तयार गर्नुपर्छ । निजी क्षेत्रले आफ्नो क्षमता र लगानी विस्तार गर्नुपर्छ । शैक्षिक क्षेत्रले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।

हामी भौगोलिक रूपमा भूपरिवेष्ठित भए पनि सूचना प्रविधि सेवा तथा सफ्टवेयर निर्यातमा त्यसले ठूलो बाधा पु¥याउँदैन । नेपालमै बसेर विश्व बजारका लागि उत्पादन र सेवा विकास गर्न सकिन्छ । यसले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन्छ र देशको आम्दानी बढाउन सहयोग गर्छ ।
त्यसैले सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा अघि बढाउनुपर्छ । यसलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत व्यवस्था र समन्वय गर्न सके देशमै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । यो अवसरलाई उपयोग गर्न सरकार, निजी क्षेत्र र शैक्षिक क्षेत्र सबै मिलेर अघि बढ्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्