जेनजी विद्रोहले पुराना पार्टीमाथि प्रश्न उठायो । परिवर्तन र पुरस्तान्तरणसँगै एजेण्डा नयाँ लिएर जनमत परीक्षणका लागि दलहरुलाई बाध्य बनायो । यही परिस्थितिमा नेपाली कांग्रेस विशेष महाधिवेशनमा गयो । पुरानो नेतृत्वलाई विश्रम दिँदै नयाँ कार्यसमिति निर्वाचित भयो । मुलुक अहिले आम निर्वाचनको संघारमा छ । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट बनेको गगन थापाको नयाँ नेतृत्वमा काग्रेस चुनावमा होमिएको छ । बिगतका निर्वाचनहरु भन्दा यस पटकको निर्वाचनमा कांग्रेसले अधिकांश नयाँ अनुहार र युवालाई टिकट दिएर नयाँ शैलीमा चुनावमा गएको छ । देवराज चालिसे अहिले कांग्रेसका केन्द्रीय प्रवक्ता हुन् । उनी पार्टीले युवा र नवपुस्ताका माग र गुनासोलाई सम्बोधन गर्ने गरी चुनावी एजेण्डा बनाएर मतदाताहरु समक्ष पुगेको बताउँछन् । विद्यार्थी राजनीतिबाट काग्रेसको केन्द्रीय राजनीतिको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका चालिसेसँग न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र संवाददाता सुजाता थापाले गरेको कुराकानीको सम्पादित अंशः
देश निर्वाचनमय छ । विगतजस्तो चुनावी ठु्ला सभा भएका देखिँदैनन् । कांग्रेसको चुनावी तयारी के कस्तो छ ?
चुनावको तयारी अब लगभग पुृरा भइसकेको छ । हामीले लोकतन्त्रलाई सकेसम्म नागरिकसँगको संवादको तहसम्म लैजानुपर्छ भन्ने हाम्रो विश्वास हो । जनतासँग एकतर्फी रूपमा कुरा सुनाउनेभन्दा बढी उनीहरूको कुरा सुन्ने प्रक्रिया छौं । जति धेरै जनताको कुरा सुनिन्छ, त्यति नै लोकतन्त्र सुदृढ हुन्छ र जवाफदेहिता बढ्छ । यसै कारणले गर्दा कांग्रेसले सबैभन्दा पहिले नागरिकसँगको प्रत्यक्ष संवादलाई उच्च प्राथमिकता दिएका छौं ।
दोस्रो कुरा, आफ्ना एजेन्डाहरू नागरिक समक्ष छोटो समयमा पु¥याउनका लागि वैकल्पिक विधिहरू पनि अपनाएका छौं । डिजिटल माध्यम, विभिन्न मिडिया तथा आधुनिक प्रविधिहरूको प्रयोग गरेर आफ्ना धारणा, योजना र कार्यक्रमहरू सम्प्रेषण गरेका छौं । त्यसका अतिरिक्त, सानो र ठूलो दुवै स्तरमा आमसभा गर्ने, मतदाताहरुसँग विभिन्न तहमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सरोकारवाला र विभिन्न समूहहरूसँग छलफल गर्ने, उनीहरूको कुरा सुन्ने र ती सुझावहरूलाई राष्ट्रिय नीतिमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौं । किनकि यो नीति निर्माणको तहको चुनाव हो, र नीति निर्माणमा जनताको आवाजको प्रतिनिधित्व र सहभागिता अनिवार्य हुनुपर्छ ।
यसका लागि आवश्यक व्यवस्थापनका विधिहरू पनि हामीले अपनाएका छौं । अब हामी निकट भविष्यमै चुनावमा प्रवेश गर्दैछौं । हाल देखिएको उत्साह, साथीहरूको उच्च मनोबल, प्राप्त जनसमर्थन तथा अन्य पार्टीका साथीहरू कांग्रेसमा प्रवेश गर्ने लहरले हामीलाई थप उत्साहित बनाएको छ ।
गगन थापाको नेतृत्वमा पार्टीले युवा र नयाँ पुस्तालाई समेटेर ‘बदलिएको कांग्रेस’को अवधारणा अघि बढाइएको दाबी गरेको छ । तर मुलुकलाई आकस्मिक आइलागेको हो । यो निर्वाचन पुराना पार्टीका लागि सहज देखिएको छैन भनिन्छ । यस परिप्रेक्ष्यमा कांग्रेसको रणनीति कस्तो छ ?
रणनीतिभन्दा पनि यस पार्टीको समर्थनको आधार र समग्र प्रणालीलाई स्पष्ट पार्न आवश्यक छ । नेपाली कांग्रेस जनताको अधिकारका लागि बलिदान र उत्सर्गबाट स्थापना भएको पार्टी हो । यो आफ्नो लागि होइन, सम्पूर्ण नेपाली जनताको हक–अधिकारका लागि त्यागबाट सुरु भएको राजनीतिक शक्ति हो । यसको प्रारम्भिक आधार नै त्यही हो । २००७ सालको क्रान्तिदेखि २०४५÷४६ सालको जनआन्दोलन सम्मका संघर्षहरूमा जति शहीद जन्मिए, ती आफ्ना व्यक्तिगत स्वार्थका लागि शहीद भएका होइनन्, ती आम नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि सहादत दिएका हुन् । यही गौरवपूर्ण इतिहासले यो पार्टीलाई लोकतन्त्रप्रति प्रतिबद्ध र जनतालाई मालिक मान्ने प्रणालीप्रति दृढ बनाएको छ ।
जनता नै शासनको वैधताको स्रोत हुन् भन्ने विश्वास कांग्रेसको सबैभन्दा ठूलो आधार हो । हिजोको संघर्ष र त्यो गौरवपूर्ण इतिहास पार्टीको पहिलो आधार हो, र जनताले पनि त्यसलाई आफ्नै इतिहासका रूपमा स्वीकार गरेका छन् ।
दोस्रो पक्ष भनेको भविष्यको दृष्टि हो । अब आउने दिनमा कस्तो नेपाल बनाउने ? इतिहासको जगमा उभिएर भोलिको नेपाल कस्तो बनाउने भन्ने प्रश्न महŒवपूर्ण हुन्छ । आजको नेपाल मात्र होइन, २०८२ सालको नेपाल हैन कि , २०९२ सालको नेपाल कस्तो बनाउने भन्ने सोच आजैदेखि सुरु गर्नुपर्छ । त्यो भविष्य प्राप्त गर्ने नेतृत्व, त्यो लक्ष्य हासिल गर्ने नीति—यी सबै कुरा कांग्रेसको नीतिसँग जोडिएका छन् ।
गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य—यी दुईलाई जोड्ने नयाँ यात्रालाई नै हामी मुख्य रणनीति मान्छौँ । रणनीति भन्नाले जनताको विश्वास आर्जन गर्नु हो । इतिहासप्रति विश्वस्तता कायम राख्दै भविष्यप्रति भरोसा जगाउनु हो । हामी समकालीन प्रतिस्पर्धी दलसँग तुलना पनि गर्छौं ।
जनताले कसलाई विश्वास गर्ने ? कसको इतिहासमा भरोसा गर्ने ? कुन नेतृत्वप्रति विश्वास गर्ने ? समाजको बीचबाट उठेका प्रतिनिधिलाई मत दिने कि फेसबुकमा जन्मिएका, फेसबुकमा देखिएका सेलिब्रिटीलाई भोट हाल्नुहुन्छ ? लोकतन्त्र कुनै लहडको विषय होइन । जनतासँग विवेक छ, चेतना छ, र निर्णय गर्ने क्षमता छ । सूचना मात्र पर्याप्त हुँदैन, सूचनासँगै विवेक जोडिनुपर्छ । जब ज्ञानमा प्रज्ञा थपिन्छ, तब निर्णय सही दिशामा पुग्छ । त्यसैले हामी सधैं भन्छौं भरोसा त्यहीमाथि गरिन्छ, जसप्रति गुनासो गर्ने ठाउँ पनि रहन्छ । गुनासो गर्ने अधिकार र भरोसा गर्ने आधार यी दुवै मिलेर नै साँचो लोकतान्त्रिक सम्बन्ध स्थापित हुन्छ ।
मुलुक निर्वाचनको संघारमा छ । अझैसम्म विभिन्न अन्योल, दुविधा, भ्रमहरू देखिएका छन् । सुरक्षाका प्रश्न, निष्पक्षता र पारदर्शितासँग सम्बन्धित चिन्ताहरू पनि छन् । तपाईं के भन्नुहुन्छ ?
जनतालाई ढुक्क भए मतदान गर्न सक्ने वातावरण र शान्ति सुरक्षा सुनिश्चित गर्ने काम सरकारको हो । सरकारका सबै अंगहरू जनताको सुरक्षा सुनिश्चित गर्न निर्माण गरिएका संस्थाहरू हुन् । ती संस्थाहरूको पहिलो कर्तव्य जनतालाई भयरहित वातावरण र मतदान गर्ने सुरक्षित वातावरण प्रदान गर्नु हो । जनताको मत नै शासनको वैधताको स्रोत हो। मैले बारम्बार यो कुरा दोहो-याइरहेको छु जनताको मतको सुरक्षा गर्नु सरकारको पहिलो जिम्मेवारी हो । निर्वाचनको वातावरण तयार पार्न र त्यसलाई चुनौती दिने सबै परिस्थितिहरूलाई सरकारले क्रमिक रूपमा नियन्त्रण गर्नु आवश्यक छ । सरकारले यस विषयमा प्रत्याभूति दिनुपर्छ, यो नम्बर एक प्राथमिकता हो ।
हाम्रो काम भनेको जनताको मत लिने प्रणाली र त्यसमा आधारित सरकार निर्माण प्रक्रियामा हाम्रो सहभागिता सुनिश्चित गर्नु हो । यहाँ दुई पक्ष छन् सरकार निर्माणमा भाग लिनु र अन्य विकल्पहरू अवरोध नगर्नु । किनभने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अन्य कुनै माध्यमबाट सरकारमा जाने प्रयास उपयुक्त छैन । निर्वाचनमा भाग लिनु राजनीतिक दलहरूको कर्तव्य हो । सुरक्षित र निष्पक्ष वातावरण निर्माण गर्नु सरकारको कर्तव्य हो । यही दुई कर्तव्यको सही कार्यान्वयनबाट मात्र शान्ति सुरक्षा सुनिश्चित हुन्छ । यसै सन्दर्भमा उठेका प्रश्नहरू गम्भीर छन् र सरकारले त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।
अझै पनि निर्वाचन हुन्छ ? भन्ने द्विविधापूर्ण मानसिकताका प्रशन विभिन्न क्षेत्रबाट उठ्न छाडेको छैन । नभएको खण्डमा के होला भन्ने लाग्छ ?
अब निर्वाचन हुँदैन, हुँदैन भने धेरै अगाडिदेखि आको हो । निर्वाचन आउन लागीसक्यो । त्यसैले ‘निर्वाचन हुँदैन’ भन्ने मानसिकतामा समय बर्बाद गर्नुको साटो, निर्वाचन हुन्छ, निर्वाचन गर्नुपर्छ र गराउनुपर्छ भन्ने मात्र सोचमा केन्द्रित हुनु आवश्यक छ ।
कांग्रेस अहिलेको निर्वाचनका लागि पूर्ण तयारीमा छ त ?
हामीले सम्पूर्ण रूपमा तयारी पूरा गरेका छौं र निर्वाचनका लागि मात्र होइन, निर्वाचनपछिको सरकारका लागि पनि तयार छौं । दुवै अवस्थामा हामी पूर्ण रूपमा तयारी छौं ।
यसपटक आचारसंहिता केही कडा प्रतीत भएको छ । विभिन्न स्थानमा आचारसंहिता उल्लंघनका घटनाका खबर पनि सञ्चारमाध्यममा देखिएका छन् । निर्वाचन आचारसंहिताका सवालमा के भन्नुहुन्छ ?
निर्वाचन आयोगले निर्वाचन उल्लंघनका घटनाहरू धेरै देखिए पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन । आफैंले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न सकेको अवस्था देखिएको छैन । जे–जे निर्णय आयोगले गर्छ, त्यसको पालन र प्रभावकारिताबारे निरन्तर गुनासोहरू आइरहेका छन् । विशेषगरी बालबालिकालाई राजनीतिक उद्देश्य वा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन, तर त्यस्तो प्रयोग भइरहेको देखिएको छ । कसले ग¥यो, किन ग¥यो भन्ने अनुगमन आवश्यक छ ।
हामीले भनेको कुरा एउटै हो निर्वाचन आयोगले गरेको निर्णयको पालन हुनुपर्छ । कुनै पनि भौतिक चिज नलिएर हिँड्न भन्नुभयो तर लगातार जे–जे गर्न हुँदैन भनिएको छ, त्यो भइरहेको छ, र त्यसतर्फ आयोगले ध्यान दिनु जरुरी छ । हाम्रो पार्टीको आजको पत्रकार सम्मेलनमा उठाइएको पहिलो विषय आचारसंहिता पूर्ण रूपमा पालन गर्नु हो ।
दोस्रो कुरा, राजनीतिक दलका नेताहरूले आफ्नो दृष्टिकोण र पार्टीका कार्यक्रम जनतासम्म पु-याउनु हो । समाजमा घृणा र द्वेष फैलाउने व्यक्ति स्वीकार्य छैन । लोकतन्त्र जति संस्कारित र मर्यादित हुन्छ, त्यति नै सुन्दर र प्रभावकारी हुन्छ । साना भिन्नता त हुन सक्छन्, तर ठूला भिन्नता छैनन् । यसरी प्रक्रिया अलिकति व्यवस्थित हुनुपर्छ । दोस्रो मुख्य विषय भनेको देशभरि चलेको पार्टी प्रवेश लहर हो । केन्द्रीय तहका नेताहरू, जिल्ला कमिटीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, एमाले लगायत अन्य पार्टीका स्वतन्त्र अभियानमा लागेका व्यक्तिहरू धेरै संख्यामा कांग्रेसमा प्रवेश गरिरहेका छन् । यो बदलिएको कांग्रेस र भविष्यप्रतिको अटुट विश्वासको संकेत हो । यो लहर लगातार मिडियामा सुनिन्छ । आज पनि उत्साहप्रद वातावरण थियो । भोलि पोखरामा पनि यही कुरा हुनेछ । हरेक स्थान, हरेक आमसभामा उच्च तहका नेताहरू र जिल्ला स्तरका नेताहरूका साथ नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर जारी छ । त्यसको सन्देश पनि हामीले जनाउनु आवश्यक छ ।
पत्रकार सम्मेलनमा यी विषयहरूमा सम्बोधन गरिएको थियो निर्वाचन आचारसंहिता पालन, जनतासम्म पार्टी कार्यक्रम पु-याउने जिम्मेवारी, र पार्टी प्रवेश लहरको जानकारी साथै प्रश्न–उत्तरमार्फत यिनै विषयहरूमा स्पष्टता दिइएको थियो ।
कांग्रेस नयाँ होइन, नेतृत्व नयाँ हो । के भनेर जाँदा जनताको विश्वास बढ्दै गएको भन्ने दाबी गर्नुहुन्छ ?
अब हामी आशावादी मात्र होइन, पूर्ण आशावादी हुनु पर्छ । यही भरोसाको आधारमा आशाको जागरण हुन्छ र आशाको जीवन यसैमा जोडिन्छ । अब जनताको जुन अभूतपूर्व समर्थन छ, त्यो समर्थन छ । हाम्रो नेतृत्व बदलिएको अवस्था छ, एउटा स्पष्ट भिजन र खाका लिएर अघि बढिरहेका छौं । अनुभव छ, ज्ञान छ, दृष्टिकोण छ यी सबैले नै आधार दिन्छ ।
अब हामीसँग तुलना गर्ने मान्छे हेर्नु आवश्यक छ । जनता पनि देख्छ कसमा विवाद छ कि छैन, क्षमता छ कि छैन, व्यवस्थापन सीप छ कि छैन । यदि विवादस्पद छवि लिएर भोलि कानूनी वा प्रशासनिक ठाउँमा पुग्छ भने, आफूलाई सुधार गर्ने संस्थाको रूपमा प्रयोग गर्ने ग्यारेन्टी कहाँ छ ?
त्यसैले राजनीतिमा स्वच्छता र परिवर्तनको खोजी गर्ने मान्छे पहिले आफ्नै क्यारेक्टर क्लिन हुनुपर्छ । नम्बर एक, आफ्नो व्यक्तित्व, चरित्र, पर्सनालिटी सबै क्लिन हुनुपर्छ । त्यसपछि मात्र काम गर्ने स्पष्ट भिजन हुनुपर्छ । भिजन मात्र पर्याप्त छैन त्यसलाई कार्यान्वयनमा बदल्ने व्यवस्थापकीय सीप पनि हुनु पर्छ । यी सबैको संयोजनले सुशासन सम्भव हुन्छ । यही संयोजनले रूपान्तरण र परिवर्तनलाई सम्भव बनाउँछ । यदि लिडरमा नै लिडर देखिँदैन भने परिवर्तन कसरी सम्भव हुन्छ ? नेता धेरै आवश्यक छैन, एउटा मात्र राम्रो नेता भए पनि देशको परिवर्तन सम्भव छ । नीति र नेता नै त्यसको कारण हुन् ।
कांग्रेसका सभापति नयाँ भिजन नयाँ भनिएको छ । सभापतिको भिजनअनुसार तपाईंहरू भोलिको दिनमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हाम्रा सभापति गगनकुमार थापा तथा समग्र कांग्रेसले भिजन टु पोइन्ट ओ भन्नुपर्दा, स्पष्ट देखिन्छ देशलाई डिजिटलाइजेसन गर्ने मात्रै होइन, प्रशासनलाई डिजिटलाइज गर्नु मात्र होइन । हरेक क्षेत्रमा सुधार रिफर्म गर्नु हो ।
लीक्वानले एकचोटी भनेझैँ, तेस्रो विश्वबाट पहिलो विश्वमा ट्रान्सफर गर्ने भन्नुको अर्थ हो डेभलपमेन्ट, सामाजिक सुरक्षा, जनताका अधिकार, समृद्धि, सामाजिक न्याय जस्ता कुराहरू समेटेर देशलाई बदल्नु । यसरी, देशमै भरोसा गरेर, आफ्नै साधन र जनशक्तिमा भरोसा गरेर, तेस्रो विश्वबाट पहिलो विश्वमा जाने प्रक्रिया सुनिश्चित गर्नु हो ।
अहिले नेपाली काँग्रेसमा देखिएको भिजन, ओपिनियन, कार्यक्रम र दृष्टिकोणले यही लक्ष्यको प्रतिनिधित्व गर्छ । समकालीन नेताहरू, विशेष गरी नेपाली कांग्रेसका अध्यक्ष र सभापतिले प्रस्तुत गरेको दृष्टिकोण अनुभव, योग्यताको आधार र क्षमता सबै दृष्टिले सशक्त छ । मलाई लाग्छ, यो दृष्टिकोणले साँच्चिकै सक्षम र योग्य नेतृत्वको परिचय दिन्छ ।
देशव्यापी रूपमा तपाईंहरूले युवाहरूलाई टिकट दिएर पार्टीलाई चुनावी मैदानमा उतारेको देखिन्छ । नयाँ र पुराना बीच पनि अहिले निकै खाडल देखिएको छ । मतदाताहरू अन्योलमा पनि देखिन्छन् । यसबारे तपाईं के भन्नुहुन्छ ?
अब म देशबासीलाई के भन्छु भने नयाँ पुरानो हुँदैन, देशबासीले खोज्नु भनेकै ब्रान्ड हो । अहिले म तपाईंलाई उदाहरण दिन्छु, यो मोबाइल एप्पलको ब्रान्ड हो । ब्रान्ड भनेको एप्पल हो । यसको भर्जन अहिले १७ आएको छ । तपाईंले फिफ्थ, सिक्स, सेभेन, एट वा नाइन भर्जन किन्नु पर्दैन । भर्जन त परिवर्तन हुन्छ, तर एप्पल उही हो । कांग्रेसको ब्रान्ड पनि उही हो नयाँ भर्जनमा आएको छ, लेटेस्ट भर्जनमा आएको छ, आधुनिक कांग्रेस हो ।
के कांग्रेसको ब्रान्डले अब नेपाली जनताको विश्वासको जित्न सक्छ ?
ब्रान्ड त कांग्रेसको ट्रस्ट हो, ट्रस्ट भनेको अर्थ इतिहास हो । बलिदान हो । लाखौं, हजारौं मान्छेले दिएको बलिदानलाई बिर्सन सकिन्छ ? उनीहरूले दिएको लोकतन्त्रलाई बिर्सन सकिन्छ ? उनीहरूको रगतले निर्माण गरेको स्वतन्त्रतालाई बिर्सन सकिन्छ ? उनीहरूको रगतले निर्माण गरेकोे अधिकारलाई बिर्सन सकिन्छ ? यही त ब्रान्ड हो । यो ब्रान्डमा समृद्धि (प्रस्पेरिटी) खोज्नु भनेको लेटेस्ट भर्जन खोज्नु हो ।
जेनजी आन्दोलनपछि देश नयाँ मोडमा छ । अब युवाहरूको विश्वास कसरी हासिल गर्ने ?
जेनजीको लागि नव युवाहरूको लागि सबैभन्दा नयाँ पार्टी, सबैभन्दा बदलिएको अवस्था, सबैभन्दा आधुनिक पार्टी, आधुनिक दृष्टिकोण, लेटेस्ट लिडर, रिफर्मिस्ट हरेक दृष्टिकोणले नयाँ ब्रान्ड, नयाँ लेटेस्ट भर्जन भनेको नेपाली कांग्रेस हो । युवाहरूले यही भर्जनसँगै नयाँ यात्रामा रूपान्तरण गर्नुपर्छ । शब्दमा होइन, एक्सनमा ‘एक्सन इज लाउडर देन वड्र्स ।’ हजार शब्दको जवाफ एक मात्र एक्सनले दिन्छ, र त्यो एक्सन नेपाली कांग्रेसको प्रतिबद्धता हो ।
अबको दिनमा कांग्रेस आफ्नो एक्सनमा अगाडि बढिसकेको छ भन्ने भन्न खोजिएको हो ? अहिले तपाईंहरू पुरानामात्रै नभइ नयाँ दलहरूसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नयाँले सिर्जना गरेको चुनौतीबारे के भन्नुहुन्छ ?
हैन, यस्तो छ हाम्रो प्रतिस्पर्धाका आधारहरू जनताको मतलाई मान्ने हो कि फेसबुकमा भएको उपस्थितिलाई मान्ने हो । फेसबुकमा रहेका डिजिटल उपस्थितिलाई आधार मानियो भने हाम्रा प्रतिस्पर्धी धेरै देखिन्छन् । तर, पब्लिकको आधारमा हेर्ने हो भने चुनाव नै भाको छैन ।
गएको निर्वाचनलाई आधार मान्ने कि अब हुँदै गरेको निर्वाचनलाई आधार मान्ने ? यदि पिपुल्सको उपस्थितिलाई आधार मानियो भने तपाईंका प्रतिस्पर्धीहरू बदलिएका छन् । कहीँ कोही, काहिँ को छ । फेसबुक र सामाजिक सञ्जालमा देखिएका प्रतिस्पर्धीहरू भने एउटा किसिमको आँकडा मात्र हुन् । त्यसरी आँकडालाई धेरै दिन पर्खनु पर्दैन ।
जेनजी आन्दोलनपछिको वर्तमान अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ?
जेनजी पछिको अहिलेको अवस्था भनेको जनताले खोजेको रिफर्म हो, परिवर्तन हो, सुशासन हो, र भ्रष्टाचारमुक्त नेपाल हो । यो सरकारले निर्माण गर्नुपर्ने कर्तव्य हो । त्यो आन्दोलनले व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तनको लागि आन्दोलन गरेको हो । अवस्था परिवर्तनका लागि आउने सरकारहरूले संकल्पित र समर्पित हुनुपर्छ । यो आन्दोलनले चाहेको के भनेको भने नागरिकप्रति जवाफदेही बनाउने सरकार हो त्यही हो आन्दोलनको मूल सन्देश र त्यो जवाफदेहीपन पार्टी, नेता, सरकार, संरचना र प्रशासन सबैमा हुनुपर्छ । नागरिक सेवाका लागि निर्माण गरिएका संस्थाहरू नागरिकप्रति समर्पित हुनुपर्छ भन्ने सन्देश अत्यन्तै स्वागतयोग्य छ, र हाम्रो पार्टी त्यसको लागि मानसिक रूपमा तयार छ ।
अब निर्वाचन हुन गइरहेको हुनाले, निर्वाचन आयोगसमक्ष तपाईंको अपेक्षा, अनुरोध वा आग्रह के छ त अहिले ?
निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्छ, कुनै पक्षपाती देखिनु हुँदैन । अलिकति पनि दायाँबायाँ लाग्ने काम गर्नु हुँदैन । जनताको मत व्यक्त गर्ने सबैभन्दा भरपर्दो माध्यम निर्वाचन हो, र त्यसको निर्माण यथावत् कायम रहनुपर्छ । मलाई लाग्छ, चाँडोभन्दा चाँडो निर्वाचन आयोग हाम्रो पार्टीलाई सहयोग गर्न तयार छ । आयोगको भूमिका केवल निष्पक्ष हुनु हो, त्यति मात्रै ।
जनताले सुशासन र परिणाम खोजिरहेका छन्, शासन प्रणालीमा सुधार खोजिरहेका छन्, र भ्रष्टाचारमुक्त समाज तथा शासन प्रणालीको अपेक्षा राखिरहेका छन् । के भन्न चाहनुहुन्छ ?
यो धेरै ठूलो कुरा होइन । त्यसमा धेरै पैसा लाग्दैन, नेतृत्वको प्रतिबद्धता (कमिटमेन्ट) यै हो । भ्रष्टाचारमुक्त समाज कुनै पनि समाजको सुधार त्यहीँबाट सुरु हुन्छ । सुरुवातको बिन्दु नै भ्रष्टाचारको अन्त्यबाट हुन्छ । भ्रष्टाचार अन्त्य गर्ने विधि के–के हुन सक्छन ? जस्तो—प्रशासनिक संरचनालाई डिजिटलाइज गर्नु, त्यसले न्यूनीकरण गरेको कि छैन ? तपाईंको नेतृत्वमा, राजनीतिक वा उच्च तहमा हुने कमिसन र दलालीलाई अन्त्य गर्नुहोस त्यसले न्यूनीकरण गरेको कि छैन ? हरेक कुरा इमान्दार बनाउँदै जानुहोस्, त्यो नै सही हुन्छ । न्यूनीकरण गरेपछि कडा कानुन बनाउनुहोस् । नो कम्प्रमाइज, जो सुकै होस्, जो नातागोता, नो पार्टी—केही पनि बिना सर्त कारबाही गर्नुहोस् ।अहिले जस्तो बेरोजगार भएर बाहिरिएका युवाहरूलाई के भन्नुहुन्छ? हामी रेमिट्यान्सबाट चलेको देश हौँ ।
बाहिर र भित्री भनेको कुरा संसारमा जहाँसुकै चलिरहेको छ । तर हाम्रो काम के भने, हाम्रो स्थानीय स्रोत, साधन र श्रमलाई बढीभन्दा बढी प्रयोग गर्ने, अर्थतन्त्रमा नागरिकलाई जोड्ने हो । स्रोत र नागरिकको श्रम र समयलाई पुँजीकृत गर्दै जाने, त्यसलाई पुँजीमा बदल्ने । हामीसँग भएका सबै साधन चलायमान राखेर मात्रै देशको विकास सम्भव छ । तपाईंंसँग प्राकृतिक सम्पदा, जलस्रोत र अन्य सबै साधनहरू छन् । नागरिक, विशेषगरी यौवन जनशक्ति, एकदम सक्रिय छ । यी सबै मिलेर, राष्ट्रको नीति अनुकूल भएमा देशलाई बदल्न धेरै समय लाग्दैन ।
मतदातालाई भन्न चाहन्छु आफ्नो मत दिनुहोस् आफ्नो आत्मा, विवेक र संयमतासाथ आक्रोशमा होइन, भावनामा होइन, विवेकमा मतदान गर्नुपर्छ । तपाईंले दिने मत भविष्यको विरोधी मत हुनु हुँदैन । एउटा मतले देशको नवनिर्माण गर्न सक्छ, तर त्यही मतले देशलाई निरन्तर द्वन्द्वतर्फ पनि लैजान सक्छ । द्वन्द्वतर्फ जानु भनेको फेरि सिहंदरबार जल्नु, अरू सिहंदरबार जलाउने, देशलाई अशान्तितर्फ मोड्ने, र रगत बग्ने प्रक्रिया हो । कुशासन वा अराजकतामा पनि जानु हुँदैन । बीचको बाटो रोज्नुपर्छ । विश्वासिलो पार्टी, भरपर्दो पार्टी, भरपर्दो नेता तपाईंको मतले यही सुनिश्चित गर्न सक्छ । तपाईंले गाली गर्न, गुनासो गर्न सक्नुहुन्छ, तर विश्वास पनि राख्नुहोस् र नेपाली कांग्रेसलाई मतदान गर्नुहोस् ।