पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज सशक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनले जेनजी युवाहरुको भावना र मुद्दाहरुसँगै सुशासन, विकास, भ्रष्टाचारमुक्त समाज र पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दलहरुमा रहेको पुरातन सोच र कार्यशैली परिवर्तन गर्न आफूले पार्टीभित्र संघर्ष गरेको बताउँदै उनले नेपाली कांग्रेसलाई सोही ढंगमा रुपान्तरण गरेको र मुलुक पनि रुपान्तरण गर्न आफू मतदाताबीच गएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको समग्र विकास, सुशासन र परिवर्तन हामी सबैको साझा अभियान रहेको भन्दै उनले क्षेत्र नं २ को भविष्य उज्ज्वल बनाउन र यहाँका हरेक नागरिकको आवाज संसद्मा बुलन्द पार्न सधैं प्रतिबद्ध रहने बताए । आधुनिक कृषि प्रणाली र सडक सञ्जालको विस्तार, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा सबैको पहुँच, स्थानीय स्रोत र साधनको उपयोग गरी युवाहरूका लागि रोजगारीका अवसर सिर्जनाका साथै पारदर्शी र उत्तरदायी राजनीतिको सुरुवात आफ्नो प्रमुख संकल्प रहेको उनको भनाइ छ । यसपटक मधु आचार्यसँग न्यूज २४ दैनिकका काभ्रे प्रतिनिधि ज्ञानमणि नेपाल कालोटोपीले गरेको कुराकानीको सम्पादित अंशः
काभ्रे क्षेत्र नम्बर–२ का मतदाताले तपाईंलाई किन मत दिने ?
नेपाली कांग्रेस अहिले बदलिएको छ । जनताले चाहे अनुसारको रुपान्तरित कांग्रेस मेरो लागि मात्र होइन, सबै नागरिकले रुचाउनु भएको छ । त्यसैगरी देश र जनताको अबस्था बदलने हाम्रो लक्ष्य र उद्देश्य हो । त्यसैले नेपाली काँग्रेसलाई रुख चिन्हमा मत दिएर विजयी गराउन हाम्रो आग्रह र अनुरोध हो ।
विगतमा पुराना पार्टीहरुले राम्रो काम गरेनन् भन्दै नयाँ पार्टीतिर मतदाताको आकर्षण बढेको देखिन्छ नि ?
निश्चय नै पुराना दलहरुले सोचेअनुरुप काम गर्न नसकेकै हुन् । तर त्यसो भनेर केही नै भएन भनेर बाहिर प्रचार गर्नु गलत हो । काम भनेको एकैपटक वा एकै दिनमा हुने होइन । तर जुन गतिमा हुनुपथ्र्यो त्यो भने हुन नसकेको अवश्य हो । अब कांग्रेसले बहुमत ल्याउने गरी मत दिनोस्, यो गुनासो नआउने गरी काम गर्नेमा हामी प्रतिबद्ध छौं । नेपाली कांग्रेसलाई जिताउनुस्, हामी मतदातालाई पछुताउने दिन आउन दिंदैनौं ।
यस क्षेत्रमा २४ जना उम्मेदवार छन् । आफूलाई कतिको सुरक्षित मान्नु भएको छ ?
सबै उम्मेदवार जित्नकै लागि चुनावी मैदानमा छन् । सबैको आशा र भरोसा भनेको जनता नै हुन् तर म ढुक्क छु कि यो पटक काभ्रे–२ का मतदाताले कांग्रेसलाई विश्वासको मत जाहेर गर्नुहुनेछ ।
तपाईं नागरिकका घर दैलोमा पुगिसक्नुभयो । नागरिकका अपेक्षा के पाउनुभयो ?
विकास, सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी तथा कृषि र पशुपालनका विभिन्न समस्याहरु नागरिकले बताइरहनु भएको छ । उहाँहरुले यी समस्याहरु वर्षौंदेखि झेलिरहनु भएको छ । हामीले चाहेर पनि कतिपय कुराहरु पूरा गर्न सकेका छैनौं किनकि काभ्रे क्षेत्र नम्बर–२ मा ०५६ सालदेखि यता नेपाली कांग्रेसले जितेको छैन । अब यो पटक पक्कै जित्ने छौं । अनि हाम्रो ध्यान नागरिकका समस्या समाधानतिर जानेछ ।
तपाईंले कांग्रेसलाई रुपान्तरण भइसकेको भन्नुभयो तर पात्रहरु त पुरानै छन् नि, कसरी रुपान्तरण भन्न मिल्ला र ?
पात्रहरु कहाँ पुराना छन् र ? यसपटक १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसका तर्फबाट उम्मेदवार बनेका साथीहरु १ सय १० जना नयाँ हुनुहुन्छ । यो संख्यालाई पनि कम आंकलन गर्न भएन । तपाईँले अग्रज पुस्ताका नेताहरुको कुरा गर्नुभएको होला, उहाँहरु त हाम्रा अभिभावकहरु हुनुहुन्छ । हामी हिजो पनि एउटै थियौं, आज पनि एउटै छौं, भोलि पनि हातेमालो गर्दै अघि बढ्नेछौं । परिवारमा कोही सदस्यको फरक मत आउन सक्छ, यसो भनेर ऊ परिवारको सदस्य नै होइन भन्न मिल्दैन । अग्रज नेताहरुले पछिल्लो पुस्ताहरुलाई सल्लाह र सुझाव दिनुहुन्छ । हामी त्यही अनुसार अघि बढ्छौं ।
यस पटक तपाईंले चुनावी एजेण्डाहरु के के अघि सार्नुभएको छ ?
गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनमा उठेका भावना र मुद्दाहरु साथमा पार्टीभित्र र बाहिर उठ्ने गरेका सुधारका आवाजहरुलाई सम्बोधन हुने गरी काम गर्न प्रयत्नरत रहनेछु । युवाहरुले चाहेको सुशासन, विकास, भ्रष्टाचारमुक्त समाज, पारदर्शिता कायम गर्न र जनतालाई प्रतिफल दिन नयाँ ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । देशका हरेक क्षेत्र यतिबेला लथालिङ्ग जस्तै भएका छन् । तिनीहरुमा परिवर्तनको अनुभूति दिलाउनु छ । दलहरुमा रहेको पुरातनवादी सोच र कार्यशैली परिवर्तन गर्न हामीले पार्टीभित्र संघर्ष गरेका थियौं । सोही अनुसार अहिले कांग्रेस बदलिएको छ । अब देश बदल्नका लागि पनि कांग्रेसलाई जिताउनुको विकल्प छैन ।
ती एजेण्डा पूरा गर्ने आधार के के छन् ?
कांग्रेसले बहुमत ल्याएर स्थायी सरकार बनाउन सक्ने हो भने यो भन्दा ठूलो आधार अरु केही छ जस्तो मलाई लाग्दैन ।
असी वर्षको कांग्रेसले गर्न नसकेको काम नयाँ भनिएको यो कांग्रेसले चाहिँ कसरी पूरा गर्ला र ?
मैले पहिले नै भनेको छु, फेरि पनि के भन्छु भने ८० वर्षसम्म कांग्रेसले केही गरेन भन्नु सरासर गलत हो । हरेक राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको थियो । ०६४ सालमा माओवादी सबैभन्दा ठूलो दल बन्यो तर संविधान दिन सकेन । २०७० सालमा कांग्रेस ठूलो दल बन्यो हामीले दुई वर्षमै संविधान दियौं । यति मात्र होइन, देशका हरेक क्षेत्रमा भइरहेका विकास आयोजनाहरु पनि त कांग्रेसले नै शुरु गरेको छ । तर गर्नुपर्ने जति र जनताको चाहानाअनुरुप भने काम गर्न अझै बाँकी छ । यो कमजोरीलाई सुधार गर्दै अब हामी अघि बढ्नेछौं । कांग्रेस अब युवाहरुको हातमा आइसकेको छ । धेरै फेरिएको छ, अझै फेरिनेछ । यसमा म सबैलाई विश्वास दिलाउन चाहान्छु ।
पार्टीभित्रको आन्तरिक विवाद पनि छ नि, यसले तपाईंलाई असर गरेको छैन र ? असन्तुष्ट पक्षलाई कसरी सन्तुष्ट पार्दै हुनुहुन्छ ?
पार्टीभित्र अब विवाद छैन । पहिले जे थिए ती सबै मिलिसके । मिल्न बाँकी केही छ भने ती हामी आपसी छलफलमा टुंगो लगाउँछौं । यतिबेला कांग्रेस एकढिक्का छ र सधैं एक ढिक्का रहनेछ । पार्टीभित्रका गुटउपगुटहरु अब सबै हटिसकेका छन् । अहिले कांग्रेस एउटै छ । यसमा कसैले पनि निराशा हुनुपर्ने अवस्था छैन ।
अन्त्यमा मतदातालाई के भन्नु हुन्छ ?
मतदाताहरुमा मेरो एउटै भनाइ यो छ कि कांग्रेसलाई यो पटक विश्वास गर्नुस्, नयाँ कांग्रेसका कामहरु देख्नका लागि पनि यो चुनावमा कांग्रेसको जित आवश्यक छ । यति भनिरहँदा मलाई यो पनि विश्वास छ कि सबैले जग र छानो बलियो भएको घर नै रोज्नुहुन्छ र त्यो भनेको नेपाली कांग्रेस मात्रै हो ।