तपाईंको उम्मेदवारी केका लागि ?
कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई एकीकृत ढंगले अघि बढाउने मेरो प्रतिबद्धता छ । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र बजारमुखी बनाउँदै जिल्लालाई कृषि–औद्योगिक केन्द्रका रूपमा विकास गर्ने मेरो योजना छ । कृषि क्षेत्रको विकास लागि उत्पादनसँगै भण्डारण, प्रशोधन र बजारीकरणलाई जोडेर मूल्य शृंखला विकास गर्नुपर्छ भन्नेमा म दृढ छु । मेरो उम्मेदवारी कृषि क्षेत्रको विकास र विस्तारका लागि हो ।
निर्वाचित हुनुभयो भने प्रतिनिधिसभामा कस्ता एजेण्डा लिएर जानुहुन्छ ?
स्याङ्जाको समृद्धिको आधार कृषि हो । ‘एक वडा, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय सम्भावनामा आधारित उत्पादन प्रणाली विकास गर्न म लागिपर्नेछु । उच्च मूल्यका तरकारी, खाद्यान्न, सुन्तला, कफी लगायत फलफूलको व्यावसायिक खेती विस्तार गर्दै बजार सुनिश्चित गर्न सकिन्छ ।
कृषि बीमा तथा वैकल्पिक बीमा कार्यक्रम विस्तार गरी बाली तथा पशुपन्छी उत्पादनमा हुने जोखिम न्यूनीकरण गर्नुपर्छ । सीमित किसानले उत्पादन गरेका वस्तुको बिक्रीका लागि प्रभावकारी वितरण प्रणाली विकास गर्ने, आधुनिक थोक बजार स्थापना गर्ने तथा जिल्लाको खाद्य सुरक्षाका लागि सुविधायुक्त अन्न भण्डारण गृह निर्माणमा पहल गर्नेछु । वन्यजन्तुबाट खेतीमा हुने क्षति रोक्न दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न पहल गर्नेछु । बाली नोक्सानी न्यूनीकरणका लागि आवश्यक स्थानमा संरचना निर्माण, जंगली जनावर व्यवस्थापन र मौसमी फलफूल वृक्षरोपण कार्यक्रम सञ्चालन गर्न भूमिका खेल्नेछु ।
सिँचाइ सुविधाको विस्तार, खेतीयोग्य जमिनको संरक्षण र बाँझो जमिनको उपयोग गर्नुपर्छ । त्यस्तै करार खेती ऐन, भूमि बैंक स्थापना र एकीकृत कृषि ऐन निर्माणका लागि संघीय तहमा पहल गर्नेछु । निजी क्षेत्र र सहकारीमार्फत कृषि क्षेत्रमा लगानी आकर्षित गर्न नीतिगत सुधारका लागि योजनाबद्ध ढंगले लाग्नेछु । कृषि, उद्योग र पर्यटनलाई जोडेर ‘कृषि पर्यटन’ अवधारणा कार्यान्वयन गर्नेछु । सुन्तला र कफी खेतीलाई पर्यटनसँग जोड्दै ग्रामीण अर्थतन्त्र चलायमान बनाउन जरुरी छ । जडिबुटी तथा वनजन्य उत्पादनको दिगो संकलन, प्रशोधन र निर्यातमार्फत स्थानीय नागरिकको आयस्तर वृद्धि गर्ने मेरो लक्ष्य छ ।
कृषि क्षेत्रमा आधारित साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्दै युवालाई उद्यमशीलतामा आकर्षित गर्ने तथा प्राविधिक तालिम, व्यवसाय पूर्वतयारी कार्यक्रम र सहुलियत वित्तीय पहुँचमार्फत कृषिमा आधारित स्टार्टअपलाई प्रोत्साहन गर्ने मेरो योजना छ ।
मतदातालाई के भन्न चाहनुहुन्छ ?
चुनाव प्रचारप्रसारको अवधि करिब सकिएको छ । उम्मेदवार र राजनीतिक दलहरुले एजेन्डासहित घरदैलो गरिसकेका छन् । बदलिँदो परिस्थितिमा लहडका भरमा भन्दा पनि संयमित भएर परिपक्व नेतृत्व चयनका लागि निर्णय गर्न म मतदातालाई आग्रह गर्छु ।