नेभिगेशन
अन्तर्वार्ता

मेरो मुख्य एजेन्डा शिक्षामा एकरूपता कायम गर्नु होः पंकज जलन, समानुपातिक उम्मेदवार, जसपा

तपाईंको उम्मेदवारी केका लागि ?
मेरो उम्मेदवारीको मूल उद्देश्य शिक्षा क्षेत्रमै नीतिगत तहमा प्रत्यक्ष रूपमा काम गर्ने हो । अहिले नेपालको शिक्षा प्रणाली विद्यालय तहदेखि उच्च शिक्षासम्म व्यवस्थित र प्रभावकारी बन्न सकेको छैन । ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने क्रम बढ्दो छ । यसअघि हामीले आफ्नो तर्फबाट नीतिगत तहमा दबाब र पैरवी (लविङ) गर्दै आएका थियौँ तर नीति निर्माण गर्ने तहमा स्वयं पुग्न सके अझ प्रभावकारी ढंगले सुधार गर्न सकिन्छ भन्ने विश्वासका साथ मैले उम्मेदवारी दिएको हुँ ।
जनता समाजवादी पार्टीले विशेषगरी मधेस प्रदेशको शिक्षास्तर उकास्ने विषयलाई प्राथमिकतामा राखेको छ । मधेसका कुनै पनि जिल्ला पूर्ण साक्षर घोषित हुन नसक्नु गम्भीर विषय हो । कहाँ कमजोरी भइरहेको छ, कसरी सुधार गर्न सकिन्छ र कसरी दीर्घकालीन समाधान निकाल्न सकिन्छ भन्ने दृष्टिकोणसहित अघि बढ्ने हाम्रो लक्ष्य छ । यसै सन्दर्भमा हाम्रो घोषणापत्रमा देशभरको उच्च शिक्षाको अनुगमन तथा समन्वय गर्न सक्ने नयाँ संयन्त्र गठन गर्ने प्रस्तावसमेत समेटिएको छ ।

सांसद बन्नुभयो भने प्रतिनिधिसभामा कस्ता एजेण्डा लिएर जानुहुन्छ ?
मेरो मुख्य एजेन्डा शिक्षामा एकरूपता कायम गर्नु हो । निजी, सामुदायिक र सरकारी विद्यालयबीचको गुणस्तरीय खाडललाई कम गरी सबैलाई समान स्तरको शिक्षा उपलब्ध गराउने नीति आवश्यक छ । अर्को महत्वपूर्ण पक्ष उच्च शिक्षामा सीपयुक्त (स्किल–बेस्ड) शिक्षा प्रवद्र्धन गर्नु हो । अहिले व्यावहारिक र रोजगारमुखी शिक्षाको अभावले गर्दा धेरै विद्यार्थी बिदेसिन बाध्य छन् । उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गरी नेपालमै अध्ययन र रोजगारीको वातावरण बनाउन जरुरी छ ।
त्यसैगरी, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ । बौद्ध अध्ययन, पर्वतारोहण शिक्षा, पर्यटन अध्ययन लगायतका क्षेत्रमा हामीसँग विशिष्ट अवसरहरू छन् । भारत, बंगलादेश, म्यानमार, भुटान तथा भारतका उत्तर–पूर्वी राज्यबाट समेत विद्यार्थी आकर्षित गर्न सकिन्छ । त्यस्तै, दक्षिण अफ्रिका जस्ता देशबाट पनि विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन्, उपयुक्त नीति र पूर्वाधार विकास गर्न सके नेपाल पनि शिक्षाको आकर्षक केन्द्र बन्न सक्छ ।
नेपाल अपेक्षाकृत शान्त वातावरण, अनुकूल मौसम तथा तुलनात्मक रूपमा सुलभ शैक्षिक खर्चका कारण पनि विदेशी विद्यार्थीका लागि उपयुक्त गन्तव्य हुन सक्छ । देश विकासको आधार सक्षम जनशक्ति हो । हाम्रो जनशक्तिलाई गुणस्तरीय र सीपयुक्त शिक्षा प्रदान गर्न सके, उनीहरू देशमै बसेर योगदान दिन सक्छन्, जसले समग्र राष्ट्रिय विकासलाई गति दिन्छ ।
मतदातालाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण मतदातालाई विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गर्छु । यथार्थपरक र कार्यान्वयनयोग्य प्रतिबद्धता समेटिएको घोषणापत्र प्रस्तुत गर्ने दल तथा जनतासँग निरन्तर सम्पर्क र संवादमा रहने प्रतिनिधि चयन गर्नु आजको आवश्यकता हो । यही सोचका साथ मतदान गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्