नेभिगेशन
अन्तर्वार्ता

तीन दशक प्रश्न गरेँ, अब उत्तर खोज्ने संकल्प लिएको छुः गजेन्द्र बुढाथोकी, समानुपातिक उम्मेदवार, राप्रपा

तपाईंको उम्मेदवारी केका लागि ?
म विगत ३१ वर्षदेखि म आर्थिक पत्रकारितामा सक्रिय छु । सन् १९९५ देखि सुरु भएको मेरो पत्रकारिता यात्रामा नेपाल समाचारपत्रदेखि कारोबार दैनिकको सम्पादक हुँदै हाल टक्सार आर्थिक म्यागजिनको प्रधान–सम्पादकका रूपमा काम गर्ने अवसर पाएँ । तीन दशकभन्दा बढी समय मैले नेपालको अर्थतन्त्रलाई नजिकबाट नियालेँ, सूक्ष्म विश्लेषण गरेँ र नीतिगत बहसहरू निरन्तर उठाउँदै आएँ । म ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’ प्राप्त गर्ने नेपालको पहिलो आर्थिक पत्रकार हुँ । साथै, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट प्रदान गरिएको राष्ट्रिय पत्रकारिता पुरस्कारसहित खोजी तथा आर्थिक पत्रकारिताका एक दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरेको छु ।
तीन दशकसम्म सञ्चारमाध्यमबाट राज्यका अंगहरूलाई प्रश्न गर्दै आएको म अब ‘प्रश्न मात्र होइन, उत्तर खोज्ने र कार्यान्वयन गर्ने’ संकल्पका साथ प्रतिनिधिसभाको सांसद बन्ने यात्रामा होमिएको छु । मेरो राजनीतिक दर्शन सुधारवादी सोचमा आधारित छ । नेपालको वर्तमान आर्थिक संकट सामान्य, टालटुले सुधारले समाधान हुँदैन भन्ने मलाई लाग्छ । अब मुलुकलाई नयाँ युग सुहाउँदो आर्थिक सुधार आवश्यक छ । नेपालको आर्थिक इतिहास हेर्दा पहिलो चरणको सुधार २०४२ सालमा डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा सुरु भएको उदारीकरणबाट भएको हो । जसले निजी क्षेत्रको सहभागिता र आधुनिक बैंकिङ प्रणालीको जग बसाल्यो । त्यसपछि सन् १९९० को दशकपछिका केही संरचनात्मक परिवर्तन भए तर ती अपूर्ण र अपर्याप्त रहे । अबको आवश्यकता भनेको तेस्रो पुस्ताको गहिरो संरचनात्मक सुधार हो । यो ‘आर्थिक सुधार ३.०’ हो । यो मार्गचित्र राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘संवर्धनवाद’ र ‘पृथ्वीपथ’को जगमा आधारित छ ।
मेरो लक्ष्य दलाल पुँजीवादको जालो तोड्नु, स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्नु, डिजिटल अर्थतन्त्र विस्तार गर्नु, ऊर्जा निर्यातलाई प्राथमिकता दिनु र वैदेशिक लगानीलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्नु हो । हामीले परनिर्भर अर्थतन्त्रबाट प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्रतर्फ यात्रा गर्नैपर्छ । यही नै मेरो ‘भिजन ३.०’ को मूल सार हो ।

सांसद बन्नुभयो भने प्रतिनिधिसभामा कस्ता एजेण्डा लिएर जानुहुन्छ ?
संसदमा पुगेर मेरो पहिलो प्राथमिकता समन्यायिक आर्थिक विकास हुनेछ । राज्यका स्रोत र बजेट पहुँचवालाको घेराभित्र सीमित नहोस्, बरु विपन्न वर्ग, तल्लो मध्यम वर्ग, भूमिहीन किसान र साना तथा मझौला उद्यमी केन्द्रित होस् भन्ने मेरो प्रतिबद्धता छ । अपांगता भएका व्यक्ति र अल्पसंख्यक समुदायको सम्मान र पहुँच सुनिश्चित गर्नु मेरो अर्को प्रमुख एजेन्डा हो ।  नेपाललाई भौतिक र नीतिगत रूपमा ‘पहुँचयुक्त’ राष्ट्र बनाउने र अवसरबाट वञ्चित समुदायका लागि विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउन म पहल गर्नेछु ।
पत्रकारिता क्षेत्रको शुद्धीकरण र सुरक्षाका लागि ‘स्वस्थ मिडिया उद्यम’ को अवधारणा अघि सार्नेछु । मिडियालाई उद्योगको मान्यता दिँदै श्रमजीवी पत्रकारहरूको हकहित र व्यावसायिक स्वतन्त्रताको ग्यारेन्टी आवश्यक छ भन्ने मेरो विश्वास छ । नेपालको व्यापार घाटा कम गर्न ऊर्जा र जलस्रोत क्षेत्रमा क्रान्तिकारी छलाङ आवश्यक छ । आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने ‘ऊर्जा विकास मार्गचित्र’को लक्ष्य पूरा गर्न संसदमा प्रभावकारी भूमिका खेल्नेछु । मेरो राजनीतिक यात्रा स्पष्ट दार्शनिक आधारमा उभिएको छ । म फ्रान्सेली दार्शनिक ब्यारन डी मन्टेस्क्युले प्रतिपादन गरेको शक्ति पृथकीकरणको सिद्धान्तमा दृढ छु । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच सन्तुलन र पारस्परिक उत्तरदायित्व कायम हुनु लोकतन्त्रको आधार हो भन्ने मेरो मान्यता छ ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?
प्रतिनिधिसभा भनेको कानुन बनाउने थलो हो । त्यो थलोमा क्षमतावान र अनुभवी मान्छे पुग्नुपर्छ भन्नेमा म स्पष्ट छु । कानुन कमजोर बन्दा देश आर्थिक हिसाबले पनि थलिएको छ । त्यसकारण क्षमतावान र अनुभवी मानिसलाई प्रतिनिधिसभामा पु¥याउन म सम्पूर्ण मतादातालाई अपिल गर्न चाहन्छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्