नेभिगेशन
अन्तर्वार्ता

जनताको साथ र समर्थन उत्साहजनक छः अनिल रुङ्गाटा, प्रत्यक्ष उम्मेदवार, नेपाली कांग्रेस, पर्सा–१

तपाईंको उम्मेदवारी केका लागि ?
व्यावसायिक रूपमा म सानो–तिनो व्यापारमा संलग्न छु । विशेषगरी, मेरो आफ्नै होटल व्यवसाय छ । व्यवसायको अनुभवले स्थानीय आर्थिक गतिविधि, लगानी वातावरण र उद्यमशीलताका चुनौतीहरू नजिकबाट बुझ्ने अवसर दिएको छ । यिनै कुराहरूलाइ मध्यनजर गर्दै म पर्सा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा छु । मेरो राजनीतिक यात्रा विद्यार्थी कालमा नै २०४२ सालदेखि सुरु भएको हो । विद्यालय जीवनदेखि नै नेपाली कांग्रेसको संगठनमा आबद्ध हुँदै आएको छु । लामो समयको सक्रियतापछि पार्टीले मलाई विश्वास गरेर यस पटकको निर्वाचनमा टिकट प्रदान गरेको छ । र, यही विश्वासलाई जिम्मेवारीका रूपमा लिएर मैले उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारीको मुख्य उद्देश्य पर्सा जिल्ला, विशेषगरी वीरगन्ज र क्षेत्र नम्बर १ को समग्र विकास हो । यहाँको आर्थिक क्षेत्र सुधार गर्न, स्थानीय उद्यम–व्यवसायलाई प्रोत्साहन गर्न र रोजगारीका अवसर सिर्जना गर्न म प्रतिबद्ध छु । साथै, पछिल्लो समय राजनीति केही अस्वस्थ र अव्यवस्थित ढंगले अगाडि बढिरहेको अनुभूति भएको छ । त्यसलाई सही दिशामा ल्याई स्वच्छ, पारदर्शी र सकारात्मक राजनीतिक वातावरण निर्माण गर्नु पनि मेरो प्राथमिकता हो ।

चुनाव आउन तीन दिन बाँकी हुँदा आफ्नो पक्षमा माहोल कस्तो पाउनुभएको छ ?
चुनावी प्रतिस्पर्धामा जनताको साथ र समर्थन उत्साहजनक छ । परिणाम औपचारिक रूपमा आउन बाँकी भए पनि मैले सकारात्मक संकेतहरू पाएको छु ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?
मतदातासमक्ष मेरो विनम्र आग्रह छ कि म माथि विश्वास र माया दिनुहोस् । जनताको साथ र सहयोगले नै मेरा प्रतिबद्धताहरू सफल कार्यान्वयनमा पुग्नेछन् । यो निर्वाचनमा जनताबाट निर्वाचित भएर संसद प्रवेश गर्न सकेको खण्डमा म विशेषगरी आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु । मधेसका जनसरोकारका मुद्दा, मधेसका विशेष एजेन्डाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने मेरो दृढ संकल्प छ । शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था मधेसमा, विशेषतः पर्सामा त्यति सन्तोषजनक छैन । यी क्षेत्रमा शिक्षामा गुणस्तरीय सुधार ल्याई जनतालाई प्रत्यक्ष लाभ पुग्ने वातावरण सिर्जना गर्नु मेरो प्रमुख लक्ष्य हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्