नेभिगेशन
अन्तर्वार्ता

रास्वपाप्रति देशभर अपार उत्साह छः विदुषी राणा, समानुपातिक उम्मेदवार, रास्वपा

तपाईंको उम्मेदवारी के का लागि ?
मैले भोलि पुस्ताको जिम्मेवारीबोध भएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिएको हुँ । समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो । म भोलिको पुस्ताको आवाज लिएर यहाँ आएकी हुँ । मैले कहिल्यै व्यक्तिगत राजनीतिक महत्वकांक्षा बोकेर अघि बढेको व्यक्ति होइन । मेरो परिचय राजनीति नभई उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ ।
म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को आग्रहमा समानुपातिकतर्फ उम्मेदवारी दिन सहमत भएको हुँ । प्रतिनिधिसभा सदस्य बन्न सफल भएमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्मा उठाउनेछु ।

प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुभयो भने तपाईंले कस्ता मुद्दाहरु संसद्मा लिएर जानुहुन्छ ?
संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएँ भने उद्योग, आर्थिक सशक्तीकरण र आन्तरिक रोजगारी सिर्जना मेरा मूल एजेन्डा हुनेछन् । मेरो पहिलो प्राथमिकता उद्योग क्षेत्रको विकासका लागि संसदमा पैरवी गर्नु नै हुनेछ । उद्योग क्षेत्रका विकास र विस्तारमा वाधक बनेका ऐन कानुनको खारेजी र आवश्यक कानुन निर्माणमा सक्रिय भएर लाग्नेछु ।
ऐन कानुन बाधक नहुने हो भने मात्र नेपाल लगानीका लागि अनुकूल बन्न सक्छ । आन्तरिक लगानीकर्ताको सन्तुष्टि विदेशी लगानीको आधार हुने भएकाले बाह्य लगानी आकर्षित गर्न पनि ऐन कानुनहरु सहज हुनुपर्छ । उद्योगधन्धा स्थापनाको क्रम बढ्दै जाँदा आन्तरिक खपतमा आन्तरिक उत्पादनको उपयोग बढ्छ, जसले वैदेशिक व्यापार घाटा कम गर्न सहयोग पुग्छ । साथै, निर्यात व्यापार पनि बढ्छ ।
उद्योगधन्धाको स्थापनाकै कारण स्वदेशी कच्चा पदार्थको उपयोगले प्राथमिकता पाउँछ । यसले रोजगारीसँगै स्वरोजगारी बढाउँछ । कृषि कच्चा पदार्थमा आधारित उद्योग स्थापना हुँदा किसानको आयस्रोत बढ्न सहयोग पुग्छ । कृषि क्षेत्र आम्दानीको बलियो स्रोत बन्न थालेपछि युवा कृषिमा आकर्षित हुन थाल्नेछन् । यसले हाम्रो रोजगारीमा परनिर्भरता कम गर्नेछ ।
यसबाहेक अर्थतन्त्रका अरु मुद्दामा अहिलेसम्मका मेरा अनुभवअनुसार संसदमा आफ्नो भूमिका स्पष्ट गर्नेछु ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?
चुनावी अभियानका क्रममा म देशका धेरै जिल्ला पुगेको छु । आज (आइतबार) पनि म पाल्पामा छु । ¥याली सकेर फर्किंदैछु । देशभर रास्वपाको पक्षमा यति राम्रो माहोल छ कि म आफैं छक्क परिरहेको छु । नागरिकमा धेरै आशा छ, अपेक्षा छ । विकास र समृद्धिका अपेक्षा अब रास्वपाले पूरा गर्छ भन्नेमा उहाँहरु विश्वस्त हुनुहुन्छ । घरदैलोका क्रममा नागरिकको उत्साह त्यस्तै राम्रो छ । सबै घण्टीमा भोट हाल्न आतुर हुनुहुन्छ । आमाबुवा, दाजुभाइ, दिदीबहिनी सबै सबैमा अपार उत्साह छ । यसको अर्थ, नेपाली जनताले परिवर्तन खोज्नुभएको छ र अहिलेको अवस्थामा परिवर्तनको संवाहक भनेकै रास्वपा हो भन्नेमा उहाँहरु स्पष्ट भएको मैले पाएको छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्