नेभिगेशन
अन्तर्वार्ता

शान्तिपूर्ण मतदानका लागि कुनै अवरोध छैनः नारायणप्रसाद भट्टराई, प्रवक्ता, निर्वाचन आयोग

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग जुटेको छ । यस पटकको निर्वाचन भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट सिर्जित विशेष अवस्थामा हुन लागेको हँुदा पनि यो निर्वाचनलाई विशेष रुपमा हेरिएको छ । फागुन २१ गतेको निर्वाचनको लागि विश्वका विभिन्न अन्तराष्ट्रिय पर्यवेक्षक र कुटनीतिज्ञहरुले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । यस अघि पनि विभिन्न जटिल अवस्थामा समेत शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको आयोगले यस पटकको निर्वाचनको लागि कर्मचारी व्यवस्थापन, मतदान केन्द्रहरुको सुरक्षा, निर्वाचन उल्लघनका घटना लगायतका विषयमा निर्वाचन आयोगका प्रवक्ता  निर्वाचनको अन्तिम चरणमा आयोगले गरेको तयारी, सुरक्षा र निर्वाचनका विभिन्न पक्षहरुको विषयमा न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र संवाददाता सुजाता थापाले गरेको कुराकानीको सम्पादित अंश । 

निर्वाचन आयोगको तयारी कस्तो छ ?
निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचन दोस्रो चरणको लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको छ । केन्द्रीय तहमा हुनुपर्ने तयारी हामीले सबै सम्पन्न गरिसकेका छौँ । निर्वाचन आयोग माघ दुई गतेदेखि सबै निर्वाचन क्षेत्रमा पुगेको थियो । त्यहाँ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतज्यूहरूको कार्यालय स्थापना भएपछि आयोग सबै निर्वाचन क्षेत्रमा पुगेको थियो र हिजोदेखि निर्वाचन आयोग तेइस हजार एक सय बाह्र मतदान केन्द्रसम्म पुगेको छ । आज सबै मतदान केन्द्रहरूमा राजनीतिक दलहरूसँग, स्थानीय राजनीतिक दलहरू, उम्मेदवारहरूसँग सर्वदलीय बैठक भएर मतदानको विषयमा छलफल गराएर साझा बुझाइ विकास गरिएका छन् । आज बेलुकासम्म मतदान केन्द्रको बूथ निर्माण गरिसकेपछि पर्सी बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान सम्पन्न हुनेछ ।
त्यो बाहेक हामीले निर्वाचन पर्यवेक्षणका लागि आमन्त्रण गरेका विदेशी पाहुनाहरूको आगमन, व्यवस्था, बसोबास सहजीकरण गर्ने लगायतका कामहरू गरिरहेका छौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय संस्थाहरूले पर्यवेक्षणको काम गरिरहेका छन्, त्यसका लागि सहजीकरणको काम पनि भइरहेको छ ।
कुन कुन अन्तर्राष्ट्रिय संस्थाहरू पर्यवेक्षणका लागि आएका छन् ?
नेपाल निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेमोसाको सदस्य भएकाले फेमोसाको सदस्य राष्ट्रका निर्वाचन आयुक्तहरुको पर्यवेक्षणमा सहभागिता रहनेछ । त्यो बाहेक नेपालको आमन्त्रणलाई स्वीकार गरेर नेपालको निर्वाचन आयोगको तर्फबाट अन्य देशका प्रतिनिधि पनि सहभागी हुनुहुन्छ । जहाँ विगतमा नेपालको तर्फबाट पर्यवेक्षण भएको थियो, ती देशबाट यहाँ पनि पर्यवेक्षण हुनेछ । त्यसबाहेक नेपालमा दूतावास भएका कुटनीतिक नियोगहरू र नेपाल हेर्ने गरी छिमेकी मुलुकमा कुटनीतिक नियोग भएका दूतावासहरूको पनि सहभागिता रहनेछ । त्यसबाहेक चार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई हामीले यो पर्यवेक्षणको अनुमति प्रदान गरेका थियौँ । त्यसमध्ये एउटा संस्था आफ्नै आन्तरिक कारणले आउन नसक्ने भन्ने खबर आएको भने तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरू र उनन्चालिसवटा राष्ट्रिय संस्थाहरू पर्यवेक्षणमा सहभागी हुने तय भएको छ । 
सुरक्षा व्यवस्थाको कस्तो तयारी छ ?
शान्ति सुरक्षाको लागि भरपर्दो प्रबन्ध मिलाइएको छ । मतदाताहरूले निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रसम्म जाने र कसैको दबाव र प्रभावमा नपरिकन आफूलाई मनपरेको मनपराएको उम्मेदवार र राजनीतिक दललाई वातावरण मतदान गर्ने वातावरणको लागि सुरक्षाको कुनै चुनौती छैन । सबैतिर शान्ति सुरक्षाको अवस्था राम्रो छ । मतदाताहरू अब मतदान गर्न जानलाई कुनै खालको अवरोध छैन ।
मतदाता शिक्षाको लागि हामीले यो डिजिटल भोटर एजुकेसन पनि पहिलेदेखि सञ्चालन गरेका थियौँ । र तीन गतेदेखि सत्र गतेसम्म घर, टोल, छिमेकहरूमा पुगेर सबै मतदाता शिक्षा स्वयंसेवकहरूले मतदाता शिक्षा प्रदान गरियो । त्यसबाहेक राजनीतिक दलहरूले प्रदान गरेको मतदाता शिक्षा र आम सञ्चार माध्यमले प्रभाव गरेका सूचनाले पनि मतदातालाई धेरै मत सूचना पुगेको छ भन्ने हाम्रो विश्वास छ । समग्रमा भन्दाखेरि मतदाताले आफू त्यहाँ पुगिसकेपछि मतदान केन्द्रमा जाँदाखेरि उहाँहरूले आफूसित छ भने मतदाता परिचयपत्र, छैन भने हराएको छ, नासिएको छ, नष्ट भाको छ भने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स अथवा लालपुर्जाको सक्कल प्रतिका आधारमा पनि मतदान गर्न सक्नुहुनेछ । तर मतदाता नामावली भने नाम हुनुपर्यो । 
निर्वाचनका दिनका लागि मौसमको पूर्वानुमान के छ ?
अहिले मनसुन वा वर्षाका कारणले मतदान प्रभावित हुने अवस्था देखिएको छैन । जल तथा मौसम विज्ञान विभागले २१ गते मतदानको दिन मौसम सफा रहने जानकारी गराएको छ । आजभोलि मौसममा थोरै बदली वा मधुरो घाम लागे पनि पानी पर्ने वा ठुलो हावाहुरी आउने सम्भावना छैन । त्यसैले मौसमका कारण निर्वाचनमा कुनै प्रतिकूल प्रभाव नपर्नेमा हामी विश्वस्त छौँ ।
मौन अवधिमा सामाजिक सञ्जाल र अन्य माध्यमबाट भ्रमपूर्ण सूचना फैलाइएको गुनासो आइरहेको छ । यस विषयमा आयोगले कसरी हेरिरहेको छ ?
यसमा निर्वाचन आयोगले दुईवटा रणनीति अपनाएको छ । पहिलो, हामीले सार्वजनिक रूपमा अनुरोध गर्दै सामाजिक सञ्जालको दुरुपयोग नगर्न आह्वान गरेका छौँ । कुनै पनि सामग्री (कन्टेन्ट) लाइक, सेयर वा कमेन्ट गर्नुअघि त्यो आधिकारिक र सत्य हो कि होइन भन्ने यकिन गर्न सबैलाई आग्रह गरिएको छ । यसका लागि हामीले थुप्रै विज्ञप्ति र सार्वजनिक सञ्चारमाध्यममार्फत सचेतना फैलाइरहेका छौँ ।
दोस्रो, कसैले जानीजानी गालीगलौज गर्ने, अपमान गर्ने वा मिथ्या सूचना फैलाउने गतिविधि गरेमा आयोगको ‘सूचना सञ्चार प्रवद्र्धन एकाइ’ ले सूक्ष्म निगरानी गरिरहेको छ । कानुनविपरीत कार्य गर्नेहरूलाई सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । हामीले सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक कम्पनीहरू, नेपाल प्रहरी, प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणसँग नियमित समन्वय गरिरहेका छौँ । यी निकायका विज्ञहरू आयोगमै बसेर सेवा दिइरहनुभएको छ ।
कतिपय पक्षले छिटपुट घटना घटाएर निर्वाचन विथोल्न खोजेको आशंका छ, यसलाई कसरी लिनुभएको छ ?
त्यस्ता कुराहरू कताकति सुनिए पनि ती सबै कानुनको दायरामा आइसकेका छन् । त्यसैले मतदाताहरू भयभीत वा त्रसित हुनुपर्ने अवस्था छैन ।
सुरक्षा प्रबन्ध र सेना तथा प्रहरी परिचालनको अवस्था कस्तो छ ?
सबै सुरक्षा निकायहरूलाई समन्वयात्मक रूपमा परिचालन गरिएको छ । विगतको अभ्यासअनुसार मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको छ । कतिपय सामाजिक सञ्जालमा सुरक्षालाई लिएर भ्रम सिर्जना गर्न खोजिएको छ, जसमा कुनै सत्यता छैन । निर्वाचन आयोगले सुरक्षाका सम्बन्धित मन्त्रालय र निकायहरूमार्फत भरपर्दो व्यवस्था मिलाएको छ । आयोग सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूतिमा विश्वस्त हुन अनुरोध गर्दछ ।
आजको अवस्थामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सबै मतदान केन्द्रमा कर्मचारी, आवश्यक सामग्री र सुरक्षाकर्मी पुगिसकेका छन् । आज स्थानीय तह र मतदान केन्द्र स्तरमा राजनीतिक दलहरूसँग समन्वय गर्ने, मतदान बुथ निर्माण गर्ने र कर्मचारीहरूको कार्यविभाजन गर्ने काम भइरहेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारीका कामहरू सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्