नेभिगेशन
अर्थतन्त्र

‘मेरो उम्मेदवारी केवल पद प्राप्तिका लागि होइन’

म प्रमोद लामिछाने, हाल नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य छु । आगामी निर्वाचनमा म नीतिगत उपमहासचिव पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु । मेरो उम्मेदवारी केवल पद प्राप्तिका लागि होइन, निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार र संस्थागत सुदृढीकरणका लागि निरन्तर गर्दै आएको कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले हो । 
केन्द्रीय सदस्यका रूपमा रहँदा मैले नेपाल सरकारका विभिन्न ऐन–कानुनसँग सम्बन्धित विषयहरूमा अन्तरक्रिया र छलफलहरूमा सक्रिय भूमिका निर्वाह गरेको छु । विशेषगरी सार्वजनिक खरिद ऐनका विषयमा मैले अध्ययन तथा विश्लेषण गर्दै आएको छु । साथै, महासंघभित्र सीप विकाससम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा मैले पाठ्यक्रम निर्माणमा संयोजकको भूमिका निर्वाह गरेको छु ।
मेरो संयोजकत्वमा इलेक्ट्रिकल, स्यानिटरी र मेसन विषयका तीनवटा पाठ्यक्रम तयार गरिएका छन्, जसका आधारमा हाल तालिम सञ्चालन भइरहेको छ। प्रत्येक विधामा करिब १०० जनाका दरले प्रशिक्षार्थीहरू तालिम लिइरहेका छन् । यी पाठ्यक्रमहरू विशेषगरी नेपाली निर्माण क्षेत्रको आवश्यकता अनुसार तयार पारिएका छन्, जसले तालिमपछि सहभागीहरूलाई प्रत्यक्ष रूपमा निर्माण क्षेत्रमा काम गर्न सक्षम बनाउने लक्ष्य राखेका छन् ।
त्यसैगरी, सीटीईभीटी अन्तर्गत सञ्चालित सब–ओभरसियर तहको पाठ्यक्रम परिमार्जन प्रक्रियामा पनि म विषय विज्ञका रूपमा संलग्न छु । मनमोहन प्राविधिक विश्वविद्यालयले सुरु गर्न लागेको बी.टेक कार्यक्रमको पाठ्यक्रम निर्माणमा समेत मैले विषय विज्ञका रूपमा योगदान दिइरहेको छु । यी सबै प्रयासहरू निर्माण क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसँग जोडिएका छन् ।
आगामी योजनाका रूपमा, लुम्बिनी प्रदेशमा निर्माण सामग्री परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने काम अगाडि बढाइएको छ, जसको संयोजकको जिम्मेवारी पनि मैले सम्हालेको छु । गुणस्तर विभागबाट अधिकार प्रत्यायोजन गरेर काठमाडौँ बाहिर पहिलोपटक यस्तो ल्याब स्थापना हुन लागेको हो । यो सञ्चालनमा आएपछि दार्चुलादेखि चितवनसम्मका निर्माण व्यवसायीहरूले सामग्री परीक्षणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ र समय तथा लागत दुवैमा ठूलो सहजता आउनेछ ।
समग्रमा, अरूले गर्ने प्रतिबद्धताका रूपमा एजेन्डा प्रस्तुत गरिरहँदा मैले भने विगतदेखि नै यिनै क्षेत्रमा काम गर्दै आएको छु र अझै गर्न बाँकी रहेका कामहरूलाई निरन्तरता दिन चाहन्छु । त्यसैले नीतिगत उपमहासचिव पदमा मेरो उम्मेदवारी प्रस्तुत गरेको हुँ । तपाईंहरूको साथ, समर्थन र मत प्राप्त हुनेमा मैले पूर्ण विश्वास लिएको छु । 
वर्तमान समयमा नेपालको निर्माण क्षेत्र निकै चुनौतीपूर्ण अवस्थामा छ। धेरै वर्षदेखिको व्यवस्थापन अभाव, अस्वस्थ प्रतिस्पर्धा र निर्माणमैत्री नीतिको कमीका कारण यो क्षेत्र थिलथिलो भएको छ। यस क्षेत्रलाई पुनः व्यवस्थित, दिगो र गुणस्तरीय बनाउने पहिलो र सबैभन्दा महत्वपूर्ण उपाय भनेको ठोस, स्पष्ट र निर्माणमैत्री ऐन–कानुन निर्माण गर्नु हो ।
ऐन–कानुन नै निर्माण व्यवसायको आधार हुन् र यी ऐन–कानुन कमजोर, अस्पष्ट वा व्यवसाय विरोधी छन् भने, गुणस्तरीय काम र दिगो पूर्वाधार सुनिश्चित गर्नु कठिन हुन्छ । हालको सरकारले यस विषयलाई सकारात्मक दृष्टिकोणले अघि बढाएको छ। यसको उदाहरण स्वरूप, सरकारको घोषणापत्रमा चौथो बुँदामा सार्वजनिक खरिद ऐन परिमार्जन गर्ने स्पष्ट प्रतिबद्धता राखिएको छ र कार्यान्वयनका लागि आवश्यक पहलहरू पनि सुरु भइसकेका छन् । हामी यस कदमप्रति उत्साहित छौँ, किनभने ऐन–कानुन निर्माणमैत्री भए मात्र साना, मझौला र ठूला व्यवसायीहरू समान अवसरका साथ काम गर्न सक्छन् र देशभर गुणस्तरीय पूर्वाधार निर्माण सम्भव हुन्छ ।
मेरो चुनावी एजेन्डाको केन्द्रबिन्दु यही हो– नेपाल निर्माण व्यवसायी महासंघ मार्फत ऐन–कानुनलाई यथार्थमा निर्माणमैत्री, पारदर्शी, स्पष्ट र कार्यान्वयनयोग्य बनाउने । यससँगै, गुणस्तरीय निर्माण, दिगो भौतिक पूर्वाधार विकास र राष्ट्रको समग्र विकासमा योगदान सुनिश्चित गर्ने लक्ष्य जोडिएको छ । यस एजेन्डालाई अझ प्रभावकारी बनाउन मैले आफ्नै चुनावी स्लोगन पनि तय गरेको छु । उचित ऐन–कानुन, गुणस्तरीय निर्माण, दिगो पूर्वाधार, राष्ट्रलाई योगदान ।
यी सबै उद्देश्य र प्रतिबद्धताका आधारमा म नेपाल निर्माण व्यवसायी महासंघको आगामी निर्वाचनमा उपमहासचिव (नीतिगत) पदका लागि उम्मेदवार भएको हुँ । यस पदका लागि मैले आवश्यक अनुभव, दक्षता र दृष्टिकोण राखेको विश्वास छ । यहाँहरूले आफ्नो विवेकसम्मत मतदान गरेर मलाई सहयोग गर्नुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु र यहाँहरू सबैलाई मेरो हार्दिक अनुरोध छ– भोटमार्फत मलाई विजयी बनाइदिनुहोस् ताकि निर्माण क्षेत्रमा आवश्यक सुधार र सुधारात्मक नीतिहरूलाई कार्यान्वयन गर्ने अवसर पाउन सकियोस् ।
(कुराकानीमा आधारित)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्