नेभिगेशन
अर्थतन्त्र

गैरकानूनी ढंगले रोकिएको २२ अर्बको संस्थापक शेयर नेप्सेमा सूचीकृत गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० साल माघदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्कासनसम्बन्धी निर्देशिकाअनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण शेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भए पनि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साधारण शेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक शेयरलाई गैरकानूनीरूपमा १४ महिनादेखि रोकिएकाले त्यसलाई यथाशीघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ ।
इप्पानले बुधबार सीडीएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक शेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो । सीडीएससीले संस्थापक शेयर र साधारण शेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने गैरकानूनी अडान लिएपछि ३ वटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरूको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन सकेको छैन ।
सीडीएससीको गैरकानूनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेका छन् । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरूले बताएका छन् । लगानीकर्ताहरूलाई थप आयोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि उनीहरूको गुनासो छ ।
ऊर्जा उत्पादक कम्पनीहरूले मौजुदा कानूनअनुसार ३ वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक शेयर बिक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सीडीएससीले गैरकानूनीरूपमा दोहोरो आइजिनको कुरा निकालेर शेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरूको भनाइ छ । दोहोरो आइजिन कायम गरेर मात्रै संस्थापक शेयर सूचीकृत गर्ने सीडीएससीको अडानपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो ।
जबरजस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो । दोहोरो आइजिनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सीडीएससीको ध्यानाकर्षण गराएको थियो । 
इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१÷८२ मा ८ वटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ । त्यसैगरी आव २०८२÷८३ मा १४ कम्पनीको  १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्