नेभिगेशन
अर्थतन्त्र

कार्यसम्पादन नतिजामुखी बनाउन ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादन नतिजामुखी बनाउन ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादन कार्य थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउन भन्दै सुशासन एकाइ गठन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ तथा सम्बन्धित नियमावलीमा भएको व्यवस्था बमोजिम एकाइ स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार यो एकाइले मन्त्रालयभित्र तथा मातहतका निकायहरूमा कार्यरत सबै कर्मचारीहरूको कार्यसम्पादन अवस्थाको नियमित अनुगमन तथा मूल्यांकन गर्नेछ । एकाइको संयोजकमा प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यसैगरी, ऊर्जा मन्त्रालयका कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी पाउनेछन् ।
यो एकाइले विशेषगरी नतिजामा आधारित शासन प्रणाली अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो छ भन्ने विषयमा निगरानी गर्ने जनाइएको छ ।
साथै, अतिरिक्त कर्मचारीहरूको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना, तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्यांकन गर्नेछ । मन्त्रालयले यो एकाइमार्फत् कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने र सुशासन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्