नेभिगेशन
अर्थतन्त्र

नौ महिनामा २ खर्बको निर्यात व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ तेस्रो त्रैमासिक अवधिमा निर्यात व्यापार २ खर्ब नाघेको छ । गत वर्ष सोही अवधिको तुलनामा निर्यात व्यापार १८.४६ प्रतिशतले बढेको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव चैतसम्ममा वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर थियो ।
नौ महिनामा वस्तु आयात भने १४ खर्ब ९० अर्बबराबर भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले धेरै हो । गत आव ९ महिनाको आयात १३ अर्ब ९ अर्ब बराबर थियो ।
यस अवधिमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ बराबर भएको छ । जुन गत आव सोही अवधिको तुलनामा १३.०४ प्रतिशत बराबर हो । सोही आव चैतसम्म ११ खर्ब २१ अर्ब बराबर व्यापार घाटा थियो । ९ महिनामा कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.९९ प्रतिशत छ । जुन गत आवको तुलनामा ०.५१ प्रतिशत कम हो । निर्यात हिस्सा १३.०१ प्रतिशत छ । यो गत आवको तुलनामा ३.५५ प्रतिशत बराबर छ ।
वनस्पति तथा जनावरको घिउतेल निर्यात उच्च हुँदा समग्र निर्यात व्यापार बढेको हो । यस्ता वस्तु नेपालले समेत तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात हुने गरेको छ । ९ महिनामा १ खर्ब ५ अर्बभन्दा बढीको घिउतेल निर्यात भएको छ । त्यस्तै मसला, कफी, चियाको निर्यात १४ अर्ब ९८ करोडभन्दा बढी छ ।
समीक्षा अवधिमा पेट्रोलियम पदार्थ आयात सबैभन्दा बढी छ । ९ महिनामा २ खर्ब ५० अर्ब बराबरको इन्धन आयात भइसकेको छ । यसबाहेक वनस्पति घिउतेल आयात १ खर्ब २९ अर्ब रुपैयाँ बराबर भएको छ । त्यस्तै मेसिनरी र मेकानिकल उपकरण तथा त्यसका पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब बिदेसिएको छ । फलाम र स्टिल आयातमा १ खर्ब ५ अर्ब रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ । यस अवधिमा इलेक्ट्रिकल मेसिनरी र त्यसका उपकरण आयातमा ९९ अर्ब ७३ करोड खर्च भएको छ ।
नौ महिनामा नेपालले ८३ अर्ब ७ करोड बराबरका सवारीसाधन आयात गरेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १४.४० प्रतिशत धेरै हो । गत आव ९ महिनामा १४ खर्ब ९७ अर्ब बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालको वैदेशिक व्यापारका मुख्य साझेदार भारत र चीन हुन् । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब बराबर वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ १ खर्ब ८३ अर्ब ९४ करोड बराबर निर्यात भएको छ ।
चीनबाट नेपालमा ३ खर्बको वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ १ अर्ब १९ करोडको निर्यात भएको देखिएको छ । तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक अर्जेन्टिनाबाट ९ महिनामा ८७ अर्ब ४८ करोडको वस्तु नेपाल आएको छ । अर्जेन्टिनातर्फको निर्यात भने नगन्य छ । चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) छ । यूएईबाट नेपालमा ४६ अर्ब ८० करोडको वस्तु भित्रिएको छ । नेपालबाट यूएईमा १ अर्ब ४१ करोडको निर्यात भएको छ ।
त्यस्तै पाँचांै स्थानमा अमेरिका छ । अमेरिकाबाट नेपालमा २३ अर्ब १९ करोडको वस्तु आयात र नेपालबाट अमेरिकातर्फ १४ अर्ब ५२ करोडको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्