नेभिगेशन
अन्तर्वार्ता

नयाँ सरकारसँग नागरिकका अपेक्षा धेरै छन् : ज्योत्सना सैंजू, उपाध्यक्ष, होटल एशोसिएसन अफ नेपाल, काभ्रे

नेपालको होटल तथा पर्यटन क्षेत्रमा ठूलो लगानी छ । रोजगारी सिर्जनामा पनि यो क्षेत्रको योगदान उच्च छ । पर्यटकीय क्षेत्रका हिसाबले पनि नेपाल संसारमै धेरै अगाडि छ । तर, राजनीतिक अस्थिरता र असुरक्षाका कारण पर्यटक आगमन दर भने निकै कमजोर छ । विश्वका धेरै देशले कृत्रिम पर्यटन पूर्वाधार खडा गरेर लाखौं लाख पर्यटक भिœयाइरहँदा नेपालले भने वर्षभरमा १२ लाख कटाउन सकेको छैन । २०७२ सालको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारी, जेनजी आन्दोलनलगायतका कारण होटल व्यवसायमा ठूलो असर परिरहेको छ । कतिपय व्यवसायी पलायन भएका छन् त कतिपय सुस्त गतिमा चलिरहेका छन् । ज्योत्सना सैंजू पनि लामो समयदेखि होटल व्यवसायमा संलग्न छिन् । काभ्रेको धुलिखेलमा उनले माउन्ट प्रिन्सेस होटल चलाएकी छन् । होटल एशोसिएसन अफ नेपाल काभ्रेको उपाध्यक्ष, महिला उद्यमी संघ काभ्रेको अध्यक्ष र रोटरी क्लब धुलिखेलको अध्यक्ष उनी युवा उद्यमी मञ्चकी पनि अध्यक्ष हुन् । होटल व्यवसायी सैंजूसँग काभ्रेको होटल र पर्यटन, पर्यटन पूर्वाधार र अबको राजनीतिक परिदृष्यलगायत विषयमा केन्द्रित रहेर न्यूज२४ दैनिकका काभ्रे प्रतिनिधि ज्ञानमणि नेपाल कालोटोपीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले होटल व्यवसाय कहिलेदेखि सुरु गर्नुभयो ?
म कम्प्युटर इञ्जिनियर हुँ । मैले पहिला सफ्टवेयर कम्पनीमा काम गरें । पछि आफैंले कम्पनी खोलेर पनि काम गरें । टेक्निकल फिल्ड रोजेर अघि बढेको मान्छे हुँ म । आफ्नो सफ्टवेयर कम्पनीबाट सोचेजस्तो फाइदा नभएपछि मेरो बुबाले पहिलेदेखि नै गरिरहनुभएको होटल व्यवसायतिर लाग्ने सोच बनाएँ । २०७० सालमा बुबाको निधन भयो, त्यसपछि सबैको सहयोग लिएर आफ्नै लगानीको होटल व्यवसाय सुरु गरियो । सुरुमा बनेपा र धुलिखेलमा गरी दुई ठाउँमा होटल थियो । बुबाको उपचारका लागि खर्च धेरै भयो, साथै होटल निर्माण गर्दा लागेको खर्चलगायतको ऋण तिर्नका लागि बनेपाको होटल बेच्यौं । अहिले धुलिखेलमा मात्र सञ्चालन गरिरहेका छौं । 

होटल व्यवसायमा लामो समय बिताइसक्नुभएको छ, यो क्षेत्रले कस्ता चुनौती भोगिरहेको छ ?
समस्या धेरै छन् । मैले २०७० सालमा आफूले समय दिएर होटल थालेको थिएँ । लगत्तै २०७२ सालमा विनासकारी भूकम्पले तहसनहस बनायो । भवनहरू भत्किए, तत्काल पर्यटक आउन सक्ने अवस्था भएन । विस्तारै लय लिँदै गर्दा फेरि भारतीय नाकाबन्दी सुरु भयो । लामो समय नाकाबन्दीले ठुलो क्षति पु¥यायो । ग्यासलगायत खाद्यान्नको अभाव चर्कियो, महँगी चुलियो । मैले एक सिलिण्डर ग्याँसका लागि १० हजारसम्म तिरेको थिएँ । तैपनि होटल बन्द गरिनँ । यसको घाउ विस्तारै निको हुँदै गर्दा २०७६ सालमा कोरोना महामारी सुरु भयो । त्यसले झन् धेरै असर पु¥यायो । कस्तो बेलामा होटल व्यवसाय सुरु गरेछु जस्तो पनि लाग्यो । बन्द गरेर हिँड्नुपर्ने अवस्था आयो । तैपनि, सधैं यस्तो त हुँदैन होला नि भनेर धैर्यपूर्वक अघि बढ्दै गएँ । फेरि भदौ २३ र २४ को घटनाले देशको राजनीति नै अर्को बनाइदियो । हामी सधैं समस्यामै रह्यौं । नेपालको सन्दर्भमा उद्योगी बन्ने कुरा चानचुने होइन रहेछ । राज्यले शत्रु जस्तै व्यवहार गर्दोरहेछ । हरेक समस्या उद्योगीले नै समाधान गर्नुपर्ने भन्ने सोच्दोरहेछ । हामीले त राज्यलाई नियमअनुसार कर तिरिरहेका छौं नि ! कर तिरेपछि पूर्वाधार त सरकारले बनाइदिनुपर्ने हो नि ! तर, सरकारबाट कुनै खालको सहयोग छैन ।

तपाईंले राजनीतिक कुरा पनि जोड्नुभयो, देशको राजनीतिले चाहिँ यो व्यवसायलाई कस्तो असर पु-यायो ? 
मेरा सबै साथीहरू बाहिर छन् । उनीहरू बिदेसिनुको मुख्य कारण राजनीति हो । देशमा लामो समयसम्म स्थिर सरकार बनेन, अस्थिर सरकारहरूले सोचेजसरी काम गर्न सकेनन् । नीति नियमहरू समयअनुसार बदल्न सकिएको छैन । एउटा काम गर्छु भन्ने कसैलाई लाग्यो भने त्यसले कति धेरै हण्डर खानुपर्छ । एउटा व्यवसाय सुरु गर्दा ८–१० ठाउँमा धाउनुपर्छ । तैपनि समयमा काम हुँदैन । कामकै लागि कर्मचारीलाई पैसा खुवाउनुपर्छ । लगानी गरेर काम थाल्यो, त्यसको जोखिम उस्तै । कतिबेला कुन सरकार फेरिन्छ थाहै नहुने । एउटा सरकारले केही काम गर्ने वातावरण नबनाउँदै अर्को सरकार आएपछि अघिल्ला सरकारले थालेका कामहरू सबै हटाइन्छ । नयाँ नियमहरू कार्यान्वयन गर्न थप समय लाग्छ । अझ बेलाबेलामा हुने आन्दोलन, नेपाल बन्द, तोडफोडलगायतका राजनीतिक घटनाले त विदेशी पर्यटक नेपाल आउने वातावरण नै हुँदैन । उनीहरू आइहाले पनि धेरै दिन बस्दैनन् । एकपटक आएको पर्यटक दोहो-याएर आउँदैन । अर्को कुरा, काभ्रे जिल्लालाई पटके हटाइदिनुप¥यो भनेर मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाउन जाँदा हाम्रो कुरा नै सुनिएन । ठमेलबाट कुनै पर्यटकले ट्याक्सी लिएर धुलिखेल आउँदा त्यो ट्याक्सीले पटके तिर्नुपर्छ । यसबाट भाडा बढ्छ, अनि पर्यटक आउन मान्दैनन् । यो सानो समस्या हो नि तर यस्ता कुराले पनि होटल र पर्यटनमा ठूलो असर पुगिरहेको छ ।

काभ्रेमा पर्यटकहरू आउने आधार के–के हुन् ?
खासमा काभ्रेमा पर्यटक ल्याउने धेरै कुरा छन् । धुलिखेल पर्यटकीय दृष्टिले निकै मनमोहक ठाउँ छ । यहाँबाट हिमालयको सुन्दर दृष्य हेर्न सकिन्छ । पनौती र बनेपा धार्मिक दृष्टिले महŒवपूर्ण छन् । मौलिक कला र संस्कृतिको धनी छ काभ्रे । नमोबुद्ध र पलाञ्चोक आफैंमा चर्चित ठाउँहरू हुन् । यी सबै पर्यटकीय क्षेत्रका कारण काभ्रे एकदमै उपयुक्त पर्यटकीय गन्तव्य हो । तर, दुःखको कुरा यहाँ पर्यटकहरू एक रातभन्दा बढी टिक्नै चाहँदैनन् । किनकि, उनीहरूका लागि पूर्वाधारको अभाव छ । हामी उद्योगीहरूले नै विभिन्न प्याकेजका कार्यक्रम बनाएर उनीहरूलाई जिल्लाका विभिन्न ठाउँहरू घुमाउन लैजाने गरेका छौं । पर्यटकलाई काभ्रेमा धेरै दिनसम्म टिकाउने वातावरण बनाउन जरुरी छ ।

तपाईं पर्यटन व्यवसायी तर एकाएक राजनीतितिर लाग्नुभयो, किन ?
मैले अघि भनें नि, मेरा समकक्षी धेरैजसो बिदेशमा छन् । २० वर्षअघि नेपालको अवस्था जे थियो, हाल पनि अवस्था उस्तै छ । उनीहरू मलाई बेलाबेलामा सोध्छन्, के गरिस् त नेपालमा ? भनेर । मसँग कुनै जवाफ छैन ।  यसलाई सुधार गर्न पुराना नेताहरूले सक्ने अवस्था थिएन, छैन पनि । किनभने, उनीहरू पटक–पटक राजनीतिमा आए तर देश परिवर्तन भएन, भ्रष्टाचार र कुशासन मौलाइरह्यो । नागरिकमा पुराना दल र नेताहरूप्रति निराशा पैदा हुँदै गयो । यस्तो अवस्थामा मैले अब राजनीतिमा पनि पाइला चाल्नुपर्छ र बिग्रिएको अवस्थालाई सुधार गर्न नीतिहरू पनि परिवर्तन गर्नुपर्छ भन्ने सोच आयो । त्यसैले राजनीतितिर पाइला अघि बढाएँ । गएको निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट काभ्रे क्षेत्र नम्बर २ को प्रत्यक्षमा उम्मेदवारी दिएँ । यसपटक जनतामा मैले मेरा एजेन्डा पु¥याउन सकिन होला, अर्को पटक प्रयास गर्छु ।

काभ्रेमा होटल र पर्यटनको अवस्था के छ ? कति छन् होटलहरू ?
काभ्रेमा धेरै लगानी भएको क्षेत्र भनेको कृषिपछि होटल नै होला । यहाँ धुलिखेलमा मात्र ५० को हाराहारी, नगरकोटमा डेढ सय, पनौती र बनेपामा १ सय हाराहारी होटल छन् । ठूलो लगानी छ । हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । यहाँ सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेका छन् ।

सरकारले के–के ग-यो भने होटल र पर्यटन क्षेत्र माथि उठ्न सक्छ जस्तो लाग्छ ?
पहिलो कुरा हरेक देशबाट नेपालमा आउने हवाई रुट सिधा हुनुपर्छ । अहिले भइरहेको ट्रान्जिटबाट आउँदा धेरै महँगो भाडा पर्छ । केही दिनको समय र सानो खर्चले नेपाल घुम्न आउँछु भन्ने पर्यटकले यहाँ ठूलो लगानी गर्नुपरेपछि कहाँ आउँछन् त ! अन्यत्रै जान्छन् नि ! पर्यटन क्षेत्रमा निकै राजनीति हाबी छ । भ्रष्टाचार बढ्दो छ । युरोपियन युनियनले नेपालको आकाश सुरक्षित छैन भन्ने गरेको छ । अन्तर्राष्ट्रिय निकायले यस्तो भन्दाभन्दै कुन विदेशी पर्यटक असुरक्षित ठाउँमा आउँछ र ? यहाँ आउनुभन्दा विश्वका सुरक्षित र सुविधायुक्त देशमा जानेहरूको संख्या धेरै छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।

देशमा बेरोजगारी बढेको छ, रोजगारीका लागि युवा विदेशिने क्रम बढेको छ । देशमा बस्ने वातावरण छैन भन्नेहरूको संख्या धेरै छ । यस्तो अवस्थामा होटल व्यवसायको भविष्य के होला ?
तपाईं देशमा बेरोजगारी बढेको छ भन्नुहुन्छ, हो पनि । तर, यहाँ हामीले दक्ष कामदार पाइरहेका छैनौं । यसलाई कसरी बुझ्ने ? यहाँ आउँछन्, पढ्दै गरेकाहरू सिक्छन् । ६ महिना वा एक वर्ष सिकेर उनीहरू बाहिर गइहाल्छन् । नेपालमा त्यही काम गरेर २० हजार कमाउन गाह्रो छ तर विदेशमा एक लाखभन्दा बढी कमाउँछन् । अनि उनीहरू नेपालमा बस्नै रुचाउँदैनन् । हामीले राम्रो काम गर्न सक्ने मान्छे बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । सरकारले उचित नीति नियम बनाएर बेरोजगार युवालाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ । अन्यथा होटलमात्र होइन, हरेक क्षेत्रमा अब दक्ष कामदार पाउन गाह्रो छ ।

देशमा अहिले बलियो सरकार बनेको छ । के छन् सरकारसँग अपेक्षा ?
अब सबै कुरालाई निराशाको दृष्टिले मात्र हेर्नुहुँदैन । जनताले यति ठूलो विश्वास गरेर बहुमत दिएका छन् । अब सरकारले चाहेमा जुनसुकै काम गर्न सक्ने अवस्था छ । यसअघि हाम्रो बहुमत थिएन, काम गर्न पाइएन, अर्को दलले काम गर्नै दिएन भन्ने अवस्था अब छैन । सरकारले पुराना बिग्रिएका बेथितिलाई सुधार गरेर अघि बढ्नुपर्छ । नागरिकका समस्यामा केन्द्रित भएर काम गर्नुपर्छ । जनताले फोस्रो आश्वासन होइन, छिट्टै नतिजा आउने कामको अपेक्षा गरेका छन् । हामी उद्योगीले पनि अब केही हुन्छ भन्ने आशा गर्ने ठाउँ छ । अबको ५ वर्ष स्थायी सरकार रहिरहने हो भने धेरै क्षेत्रमा परिवर्तन होला भन्ने लाग्छ । किनकि, काम गर्ने ठाउँमा अहिले धेरैजसो युवा पुगेका छन् । यो सकारात्मक संकेत पक्कै हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्