नेभिगेशन
अन्तर्वार्ता

'विद्युत् आपूर्तिमा कुनै कमजोरी हुन दिदैनौँ’

जेन–जी समूहको प्रदर्शनले सवै सरकारी सेवा ठप्प हुँदा नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीमा समस्या आउन नदिइ विद्युत आपूर्ति सहज र नियमित बनाउन काम गरिरहेको देखिन्छ । प्रदर्शन चर्किएर तोडफोड र आगजनीका घटनाले देशका सार्वजनिक सम्पत्तिमा क्षति पुग्दा सामान्य बाहेक प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या आउन दिएन । प्रदर्शनकारी तोडफोड गर्न आए पनि देशभरका वितरण केन्द्र प्रमुखहरूले छिटफुटबाहेक तोडफोड र आगजनी गर्न दिएनन् । देशभरको विद्युत् माग र आपूर्ति व्यवस्थापन कसरी व्यवस्थापन भइरहेको छ, भन्ने सम्बन्धमा प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग गरिएको संवादको सम्पादित अन्तरवार्ता ।

अहिलेको परिस्थितिमा देशभरको विद्युत् आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ?

नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सञ्चालनमा सामान्य बाहेक अहिले कुनै समस्या छैन । काठमाडौं उपत्यकासहित देशभर नै सामान्य ढंगले विद्युत् आपूर्ति गर्ने कार्य भइरहेको छ । हाम्रा कर्मचारीहरू यस्तो विषम परिस्थितिमा पनि अहोरात्र खटिएर सेवा दिइरहनुभएको छ ।

काठमाडौं भित्रको वितरण प्रणालीको संरचनामा क्षति पुगेको छ ?

काठमाडौं उपत्यकामा भएको दुई दिनको प्रदर्शन र तोडफोडबाट विद्युतीय संरचनामा खासै ठूलो क्षति पुगेको छैन । आगजनी भएका स्थानहरूमा सूचनाका आधारमा लाइन काटेर थप क्षति हुन नदिने गरी प्राधिकरणले काम गरेकोले ठूलो क्षति हुन पाएन । अवस्था सामान्य भएपछि फेरि ती स्थानहरूमा विद्युत् आपूर्ति नियमित गरिएको छ ।

उपत्यका बाहिर वितरण प्रणालीको अवस्था कस्तो छ ?

बाँकेको कोहलपुर र झापाको दमक वितरण केन्द्रको कार्यालयमा अवरोध गर्न खोजेको भन्ने खबर आएको थियो । तर, विद्युत् नागरिकको अत्यावश्यक सेवाभित्र पर्ने भन्ने कुरा बुझाएपछि अवस्था सामान्य भएको छ । अन्य सरकारी कार्यालयहरूमा भएको आक्रमणको तुलनामा प्राधिकरणका वितरण केन्द्रहरू अहिलेसम्म सुरक्षित नै छन् । ग्राहकलाई नियमितरूपमा सेवा दिइरहेका छन् । प्राधिकरणका कुनै वितरण केन्द्रहरूमा ठूलो क्षति हुनेगरी आक्रमण भएको अहिलेसम्म थाहा भएको छैन । सबै प्रादेशिक कार्यालयका प्रमुखहरूले स्थितीलाई नियन्त्रणमा नै राखेर काम गरिरहनु भएको छ । सात वटै प्रादेशिक कार्यालयका प्रमुखहरूले आ–आफ्नो स्थानबाट पहल गरेर स्थितीलाई काबुमा राखेर काम गरिरहनु भएको छ ।

उपत्यकामा विद्युत आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ?

सोमबार र मंगलबारको दिन हिंसा भड्किएकाले विद्युत् आपूर्तिको समस्याग्रस्त स्थानमा पुगेर काम गर्न हाम्रा कर्मचाहरूलाई निकै समस्या भएको थियो । गाडी निकालेर सडकसम्म लैजान सक्ने अवस्था थिएन । त्यस्तो विषम परिस्थितिमा हाम्रा कर्मचारीहरू पैदलै हिँडेर तथा मोटरसाइकलको प्रयोग गरी काममा खटिएका थिए । आगलागी भएका स्थानमा केही समय लाइन काटेर अवस्था सामान्य भएपछि आपूर्ति सुचारु गर्ने काम ग¥यौं । मैले मुख्य सहरका कार्यालय प्रमुखहरूसँग खबर लिँदा बुधबार आपूर्तिमा कुनै समस्या नरहेको भन्ने खबर पाएको छु । मंगलबार रातिदेखि नेपाली सेनाले सुरक्षा व्यवस्था लिएपछि बुधबारबाट भने हामीले केही सहज ढंगले विद्युत् आपूर्ति व्यवस्थापनको काम गर्न पाएका छौं । बुधबारदेखि सुरक्षा निकायसँगको समन्वयमा विद्युत् आपूर्तिमा आउने समस्या समाधान गरेर आपूर्ति सुचारु गराउन जाने काममा गाडीबाट आवागमन गर्न सुरु गरेका छौं । सुरक्षा निकायले पनि हामीलाई ठूलो सहयोग गरिरहेको छ । उपत्यका बाहिरका जिल्लामा पनि विद्युत् प्राधिकरणका सवारी साधनलाई निर्वाधरूपमा आवतजावतमा सहयोग गर्न सबैमा आह्वान गरेका छौं । जनतालाई दिने सेवामा कुनै कसर बाँकी नराखौं भन्ने हिसाबले प्राधिकरणले आपूर्ति व्यवस्थापन सहज बनाउन काम गरिरहेको छ । विद्युत् प्राधिकरणको अहिलेको मुख्य प्राथमिकता नै विद्युत् आपूर्ति सहज बनाउने कार्यलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।

विद्युत् लाइन सर्ट भएर कुनै घटना भएका छन् कि ?

कहींकहीं सामान्य समस्या दैनिकरूपमा नै आउँछन् । विद्युत् प्राधिकरणका कर्मचारीले नागरिककै सूचनाका आधारमा समस्या समाधान गरी आपूर्ति सूचारु गराउँदै आएको छ । यो काम अहिले पनि निरन्तर चलिरहेको छ । सामान्य बाहेक देशभरमा कुनै प्रकारका ठूला विद्युतीय दुर्घटना भएको छैन ।

अहिले विद्युतको माग कस्तो छ ?

अहिले विद्युतको उच्च माग अन्य दिनको तुलनामा केही घटेको छ । सामान्य दिनमा २३ सय मेगावाट रहेको उच्च माग सोमबार र मंगलबार करिब १९ सय मेगावाट हाराहारीमा आएको थियो । उपत्यकासहित मुख्य सहरको व्यापार व्यवसाय र सेवा क्षेत्र ठप्प हुँदा विद्युतको खपत घटेको हो । तर, अब अवस्था सामान्य हुँदै गएपछि विस्तारै खपत बढ्दै गएको छ । औद्योगिक ग्राहकको खपतमा त्यति फरक परेको छैन । देशभरका जलविद्युतगृह सबै सामान्य अवस्थामा
चलिरहेकाले माग र आपूर्ति व्यवस्थापनमा कुनै समस्या छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्