नेभिगेशन
अर्थतन्त्र

पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धानका लागि भन्दै प्रहरीले सोमबार साँझ उनलाई पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको भन्दै पक्राउ पुर्जी प्राप्त भएपछि उनलाई खोजी गरिएको थियो । पौडेल एमालेको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला पक्राउ परेका हुन् ।
सुर्खेत प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पठाएको विवरणअनुसार पौडेललाई साँझ करिब सवा ५ बजे वीरेन्द्रनगर–३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत लगिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी विभागमा बुझाउनका लागि प्रहरी टोलीको जिम्मा लगाएर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पौडेल पक्राउ पर्दा एमालेको कार्यक्रम होटलमै चलिरहेको थियो । कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा बादल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलसहितका नेताहरू सहभागी थिए । कार्यक्रममा सहभागी नेताहरूका अनुसार पौडेललाई प्रहरी टोली भेट्न आएपछि पनि तत्काल पक्राउ हुन लागेको जानकारी धेरैलाई थिएन ।
प्रहरी टोलीसँग केहीबेर छलफल गरेपछि पौडेल कार्यक्रमस्थलमा फर्किएका थिए । उनले महासचिव शंकर पोखरेलसँग केही समय गोप्य छलफल गरेका थिए । त्यसपछि होटलको कोठामा गएर सामान लिएर बाहिरिएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीको गाडीमा राखेर लगिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउको विरोध गरेका छन् । उनले सोमबार साँझ वक्तव्य जारी गर्दै पौडेललाई ‘गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार’ गरिएको आरोप लगाएका छन् । ओलीले सरकार विपक्षी दलप्रति राजनीतिक प्रतिशोधको भावनाबाट अघि बढेको दाबी गर्दै पक्राउको निन्दा गरेका छन् ।
एमालेले आफूहरू कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध गर्न नहुने बताएको छ । पार्टीले पौडेलमाथिको कारबाहीलाई राजनीतिक षड्यन्त्रको निरन्तरताका रूपमा व्याख्या गरेको छ ।
यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार पौडेलमाथि राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक समूह र व्यक्तिलाई लाभ पुग्ने गरी काम गरेको तथा त्यसपछि विभिन्न माध्यमबाट आर्थिक लाभ लिएको विषयमा अनुसन्धान भइरहेको छ । पुर्पक्षका लागि हाल थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग पनि उनको सम्बन्ध देखिएकाले अनुसन्धान भइरहेको स्रोतको दाबी छ ।
विभागले केही व्यक्ति तथा व्यवसायीमाथि गरेको अनुसन्धानका क्रममा पौडेलसँग जोडिएका विषयहरू फेला परेको जनाएको छ । ती विषयमा थप प्रमाण संकलन र अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतको भनाइ छ । 

पौडेलले गरेको सेयर कारोबार, सम्पत्तिको स्रोत तथा विभिन्न व्यावसायिक सम्बन्धबारे विभागले अनुसन्धान गरिरहेको बताइएको छ । यसअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको थियो । छापाका क्रममा केही कागजातसमेत नियन्त्रणमा लिइएको विभाग स्रोतले जनाएको छ ।
अनुसन्धानका क्रममा पौडेलको प्रत्यक्ष स्वामित्वमा नभए पनि नियन्त्रण वा लाभसँग जोडिएका सम्पत्तिको विषयसमेत हेरिएको स्रोतको भनाइ छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा कुनै व्यक्तिले प्रत्यक्ष रूपमा आफ्नो नाममा नभई अरूको नाममा राखेको सम्पत्तिबाट लाभ लिएको अवस्थालाई समेत अनुसन्धानको दायरामा राखिन्छ ।
पौडेल नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । उनी आठ पटक मन्त्री बनेका थिए भने पाँच पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले युवा तथा खेलकुद, जलस्रोत, रक्षा मन्त्रालयलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।
२०५३ सालमा पहिलो पटक मन्त्री बनेका पौडेल त्यसपछि विभिन्न सरकारमा सहभागी हुँदै आएका हुन् । २०७२ सालमा पहिलो पटक अर्थमन्त्री बनेका उनी त्यसपछि पटक–पटक अर्थ मन्त्रालयको नेतृत्वमा पुगे । पछिल्लो पटक २०८१ मा उनी उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका थिए ।
लामो समयदेखि एमालेको शीर्ष नेतृत्वमा रहेका उनी २०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महासचिव बनेका थिए, उनी अहिले एमालेको उपाध्यक्ष छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्