नेपालमा पछिल्ला केही वर्षयता डिजिटल प्रविधिमा आधारित राइड सेयरिङ सेवा तीव्र गतिमा विस्तार हुँदै गएको छ । शहरीकरणको बढ्दो गति, सार्वजनिक यातायातको सीमित पहुँच, स्मार्टफोन तथा इन्टरनेट प्रयोगकर्ताको वृद्धिसँगै यात्रु र चालक दुवैका लागि सहज, सुरक्षित र प्रविधिमैत्री यातायात सेवाको माग बढिरहेको छ । यही परिवेशमा अन्तर्राष्ट्रिय राइड सेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै यात्रु र चालकबीच प्रत्यक्ष रूपमा भाडादर तय गर्ने फरक व्यवसायिक मोडलमार्फत सेवा प्रदान गरिरहेको छ । नेपालको राइड सेयरिङ बजारमा प्रतिस्पर्धा बढिरहेका बेला यात्रुको सुरक्षा, सेवाको गुणस्तर, चालकको आम्दानी, नियामकीय व्यवस्था, विद्युतीय सवारीसाधनको प्रयोग तथा डिजिटल अर्थतन्त्रमा यस्ता प्लेटफर्मको योगदानबारे बहस पनि सँगसँगै चलिरहेको छ । यो राइड सेयरिङ एपले यात्रुलाई त आवश्यक सेवा दिएको छ नै, हजारौं युवाका लागि रोजगारीको अवसर पनि सिर्जना गरेको छ । नेपालमा इनड्राइभको वर्तमान अवस्था, आगामी रणनीति, सेवा विस्तारका योजना, चालक–यात्रु केन्द्रित नीतिहरू, प्रविधिमार्फत यातायात क्षेत्रमा ल्याउन खोजिएका नवप्रवर्तन तथा नेपालका चुनौती र अवसरबारे न्यूज२४ दैनिककी संवाददाता धना ढकालले इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईसँग गरेको कुराकानीको सम्पादित अंशः
इनड्राइभले सुरु गरेको ‘ड्राइभ विथआउट प्रेसर’ अभियान के हो ? यस अभियानमार्फत कम्पनीले चालक समुदाय र आम सेवाग्राहीलाई के सन्देश दिन खोजेको छ ?
हाम्रो कम्पनी नेपालमा सञ्चालनमा आएको ५ वर्ष पुगेको उपलक्ष्यमा हामीले सुरु गरेको अभियान हो ‘ड्राइभ विथआउट प्रेसर’ । यो अभियानको मुख्य उद्देश्य भनेको हाम्रा इनड्राइभ चालकलाई आफ्नो दैनिक काममा कसरी स्वतन्त्रता, सम्मान तथा आफ्नो सम्पूर्ण आम्दानी आफ्नै हिसाबले नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जागरुक गराउनु रहेको छ । जुन अरू कुनै राइड सेयरिङ एपमा छैन । हाम्रा इनड्राइभ चालकहरूले यात्रुलाई सेवा दिने क्रममा उहाँहरूले ‘फ्रिडम अफ च्वाइस’ पाउनुहुन्छ । आफ्नो दैनिक तालिका कसरी बनाउने, कुन राइड लिने, कस्तो राइड लिने भन्ने सबै कुरा उहाँहरूले आफैं छनोट गर्न सक्नुहुन्छ । त्यो मात्र होइन, आफ्नो आम्दानी पनि आफैं नियन्त्रण गर्न सक्नुहुन्छ । जस्तो आज म कति कमाउँछु, त्यो कमाउनलाई कति घण्टा काम गर्नुपर्छ भन्ने कुरा पनि उहाँहरूले एपमै हेरेर निर्णय गर्न सक्नुहुन्छ । नेपाली चालक, ड्राइभर पार्टनरहरू एकदमै ‘ट्यालेन्टेड’ हुनुहुन्छ । उहाँहरूले आफैं हेरेर आफ्नो आम्दानी यसरी कन्ट्रोल गर्छु, यति राइड लिन्छु, यस्तो राइड लिन्छु भनेर छानेर काम गर्न सक्नुहुन्छ । सो, त्यो स्वतन्त्रता हामीले महसुस गराउन चाहेका हौँ ।
तपाईंको भनाइको अर्थ इनड्राइभका ड्राइभर पार्टनरहरू आफ्नो सेवा कसरी दिने भन्ने विषयमा स्वायत्त छन् र यसमा कम्पनीको कुनै हस्तक्षेप छैन भन्ने हो ?
हो, वास्तविकता यही हो । र हाम्रा ड्राइभर पार्टनरहरूले स्वतन्त्र भएर नै स्वायत्त ढंगले काम गरिरहनुभएको छ ।
इनड्राइभले अघि सारेको ‘नो पेनाल्टी’ अवधारणा के हो र यसले चालकहरूको दैनिक काम गर्ने अनुभवमा कस्तो परिवर्तन ल्याइरहेको छ ?
हामीले हाम्रा पार्टनर ड्राइभरहरू कुनै पनि फोर्स वा कडा नियम–रेगुलेसनमा बाँधिएर राइड लिन बाध्य हुनु पर्ने नियम बनाएका छैनौं । ‘नो पेनाल्टी’ अवधारण लागु गरेर हामीले ड्राइभरहरू इनड्राइभसँग जोडिएर काम गर्ने क्रममा अनावश्क शुल्क असुल हुने झन्झटबाट मुक्त गरेका छौं । उहाँहरू सेवा दिने क्रममा आफ्नो अनुकुलता हेरेर राइड लिन स्वतन्त्र हुनुहुन्छ । यो स्वतन्त्रता हामीले उहाँहरूलाई दिएका छौं । कुन डेस्टिनेसन जाने, कस्तो राइड लिने, कस्तो यात्रुको रिक्वेष्ट लिने भन्ने सबै कुरा उहाँहरूले आफैं छनोट गर्न सक्नुहुन्छ । यदि कुनै राइडको अप्सन आउँछ र उहाँहरूले लिन चाहनुहुन्न भने स्किप गर्ने सुविधा पनि त्यहाँ दिइएको छ । त्यसरी स्किप गर्दा कुनै पनि जरिवाना (पेनाल्टी) लाग्दैन । न त रेटिङ घट्छ, न त कुनै फाइन हुन्छ । कुनै प्रकारको आर्थिक वा वित्तीय जरिवानाको सजाय ड्राइभरहरूलाई हुँदैन । अन्य एपहरूमा राइड नलिएमा ड्राइभरको अकाउन्ट सस्पेन्ड हुने, रेटिङ घट्ने वा केही समयका लागि सेवा रोक्ने जस्ता प्रावधान राखेको हामीले बजारमा धेरै ठाउँमा सुनेका छौं । तर, हाम्रो प्लेटफर्ममा त्यस्तो नियमन छैन । किनभने, यदि कुनै चालकलाई कुनै स्थानमा जान मन छैन भने उहाँले स्वतन्त्र रूपमा स्किप गरेर अर्को राइड लिन सक्नुहुन्छ । यसले चालकलाई मानसिक दबाबबिना आफ्नो काम व्यवस्थापन गर्न सहयोग गर्छ र दैनिक आम्दानीलाई पनि सहज बनाउँछ ।
कहिलेकाहीँ ड्राइभरहरूले नै यात्रुले गरेको बुकिङ राइड क्यान्सिल गर्ने गरेका घटना पनि छन् । यस्तो अवस्थामा के हुन्छ ?
यात्रुले गरेको राइड बुकिङ ड्राइभरले गरेको क्यान्सलेसनको सम्बन्धमा भन्नुपर्दा किन र के कारणले क्यान्सल गरिएको हो भन्ने पूर्ण जानकारी एपमा नै हुन्छ । ड्राइभर आफैंले राइड क्यान्सल गर्नुपरेको वास्तविक कारण जानकारी भएको अवस्थामा त्यहाँ पेनाल्टी हुँदैन । राइड क्यान्सल हुनुमा कहिलेकाहीँ प्यासेन्जरको पनि कारण हुन सक्छ । कहिले काहीं यात्रुले नै ‘म यो ठाउँमा अब जान्न, तपाईं क्यान्सिल गरिदिनुस्’ भनेर ड्राइभरलाई भन्ने गरेका पनि हुन्छन् । यस्तो अवस्थामा पनि दुवै पक्षको परिस्थितिलाई हेरेर व्यवहार हामी निर्णय लिन्छौं । तर, यदि कुनै कारणबिना, जानाजानी युजरलाई सास्ती दिने उद्देश्यले क्यान्सिल गरिएको हो भने र त्यसको अनुसन्धानमा त्यो पुष्टि भयो भने चाहिँ कारबाही हुन्छ । तर, सामान्य अवस्थामा, चित्त बुझ्दो कारण हुँदा कुनै पेनाल्टी वा फाइन लाग्दैन । त्यसैगरी, यदि ड्राइभरले राइड एक्सेप्ट नगरेको अवस्थामा पनि कुनै कारबाही हुँदैन, पेनाल्टी लाग्दैन । यो नै हाम्रो प्रणालीको मुख्य विशेषता हो । अन्य प्लेटफर्महरूमा राइड आएको खण्डमा स्किप गर्ने विकल्प नै हुँदैन, वा स्किप गरेमा रेटिङ घट्ने, प्रायोरिटी कम हुने जस्ता व्यवस्था हुन्छन् । तर, हाम्रोमा त्यस्तो छैन । ड्राइभरले स्वतन्त्र रूपमा निर्णय लिन पाउनुहुन्छ ।
चालकहरूलाई सक्रिय राख्न दबाबमा राखेर काम गराउँदा कम्पनीका लागि प्रभावकारी हुन्छ भन्ने पनि हो । यस्तो अवस्थामा चालकको स्वतन्त्रता र रोजाइलाई कसरी प्राथमिकतामा राख्ने गरिएको छ ?
इनड्राइभको सन्दर्भमा प्रोमोशनल क्याम्पेनहरू हुने गरेका छन् । इनड्राइभका हाम्रा पर्टनर ड्राइभरहरूको स्वायत्तता र स्वतन्त्रालाई पनि ध्यानमा राखेर नै प्रोमोशनल क्याम्पेनहरूको डिजाइन गरिएको हुन्छ । प्रोमोसनल क्याम्पेनहरू ड्राइभर पार्टनरहरूको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, उहाँहरूको दैनिक रुटिन सबैलाई ध्यानमा राखेर बनाइएको छ कि छैन भन्ने कुरा हामीले एकदमै ख्याल गर्छौं । हाम्रोमा पनि विभिन्न बोनस र प्रोमोशनल क्याम्पेनहरू हुन्छन्, तर ती एकदमै फ्लेक्सिबल हुन्छन् । ड्राइभरको दैनिकी, उहाँहरूको काम गर्ने समय, र उहाँहरूको आम्दानीको लक्ष्यलाई ध्यानमा राखेर मात्र ती तय गरिन्छन् । हामीले कुनै कठोर टार्गेट राख्नेभन्दा पनि बोनस कोइनजस्ता प्रोत्साहन दिने गर्छौं, जुन पनि ड्राइभरको रोजाइ र सहजताअनुसार हुन्छ । उहाँहरूले आफ्नो ‘फ्रिडम अफ च्वाइस’ प्रयोग गर्दै क्याम्पेनमा सहभागी हुन सक्नुहुन्छ । हाम्रो मुख्य उद्देश्य ड्राइभरलाई कुनै दबाब नदिई काम गर्न सहज वातावरण दिनु हो । उहाँहरूलाई कठिन नहुने गरी सरल नियमसहित क्याम्पेनमा सहभागी गराउने हाम्रो प्रयास हुन्छ । यस्तो प्रणालीले ड्राइभरलाई प्रोत्साहन पनि गर्छ, सेवा निरन्तरता पनि दिन्छ र काममा संलग्न रहँदा एक प्रकारको मोटिभेसन र रिफ्रेसमेन्ट पनि प्रदान गर्छ भन्ने हाम्रो बुझाइ हो ।
इनड्राइभको नीति डाइभर पार्टनरहरूलाई काम गर्न सहज हुने ढंगले प्रोत्साहन गर्ने र दबाबभन्दा प्रोत्साहनमा आधारित भएर काम गराउने उद्देश्य हो भन्न खोज्नुभएको हो ?
हो, यसमा हामीले उहाँहरूको दैनिक अवस्था हेरेर त्यसैको आधारमा बोनसहरू दिने, विभिन्न क्याम्पेनमा सहभागी गराउने जस्ता व्यवस्था गरेका हुन्छौं । आन्तरिक रूपमा पनि बोनस क्याम्पेन, फ्युल डिस्ट्रिब्युसनजस्ता प्रोत्साहन कार्यक्रमहरू भइरहेका हुन्छन् । यी सबै कार्यक्रमहरू पर्फमेन्सको आधारमा हुन्छन्, तर त्यसमा पनि ड्राइभरलाई अत्यधिक दबाब नपर्ने गरी डिजाइन गरिएको हुन्छ । हामीले कहिल्यै पनि ‘तपाईंले यो गरेपछि मात्र यो जित्नुहुन्छ’ भनेर कठोर टार्गेट राख्दैनौँ । जस्तो उदाहरणका लागि, ‘दिनमा ४० वटा राइड लिनुपर्छ’ भन्ने जस्ता अव्यावहारिक लक्ष्य हामी राख्दैनौं, किनभने काठमाडौँजस्तो सहरको ट्राफिक र भीडभाडको अवस्थालाई हेर्दा त्यो सम्भव हुँदैन । त्यसैले, ड्राइभरलाई सजिलो हुने, उहाँहरूको वास्तविक दैनिकीसँग मेल खाने र सहज रूपमा पूरा गर्न सकिने आधारमा मात्रै क्याम्पेन र बोनस प्रणाली तयार पारिन्छ ।
इनड्राइभका ड्राइभर पार्टनरहरूले भोग्ने गरेका समस्या तथा गुनासोहरू के–के छन् ?
इनड्राइभका ड्राइभर पार्टनरहरूबाट धेरै गुनासोहरू आउँछन् । सामान्य रूपमा भन्दा, ड्राइभरबाट धेरै आउने गुनासोमध्ये एउटा चाहिँ ‘पिकअप’ वा ‘ड्रप’ लोकेसनभन्दा बाहिर एक्स्ट्रा १–२ किलोमिटर लगिदिनुपर्ने अवस्था हुन्छ । अनि त्यस्तो एक्स्ट्रा सेवा दिएपछि पनि कहिलेकाहीँ यात्रुबाट राम्रो रेटिङ नपाउने, वा कम्प्लेन हुने जस्ता कुरा पनि आउँछन् । यदि राइड सेयरिङ प्रक्रियालाई विश्वव्यापी रूपमा हेर्ने हो भने, आधारभूत रूपमा पिकअप लोकेसनदेखि ड्रप लोकेसनसम्म मात्र सेवा दिने हो । ड्राइभर र यात्रु दुवैको मुख्य उद्देश्य पनि त्यही नै हुन्छ । तर, नेपालको सन्दर्भमा भने अलि फरक छ । यहाँको सामाजिक परिवेशमा आत्मीयता धेरै हुन्छ । यात्रुले गर्ने ‘अलिकति अगाडि लगिदिनुस् न’ भन्ने अनुरोधलाई ड्राइभरहरूले प्रायः अस्वीकार गर्नुहुन्न । तर, कहिलेकाहीँ त्यस्तो एक्स्ट्रा सहयोग गर्दा पनि यात्रुबाट रेटिङ राम्रो नआउने वा उल्टै गुनासो आउने अवस्था हुन्छ, जुन ड्राइभरका लागि चुनौतीपूर्ण हुन्छ । सुरुमा त कुनै पनि ड्राइभरले तोकिएको भन्दा अतिरिक्त दुरी सहजै स्वीकार गर्नुहुन्न, तर केही समयपछि सामाजिक दबाब वा परिस्थितिका कारण सहयोग गर्नुहुन्छ । यही कारणले कहिलेकाहीँ असन्तुष्टि पनि देखिन्छ ।
कहिलेकाहीं यात्रु जानुपर्ने गन्तव्यको वास्तविक लोकेसन राइड बुकिङ गर्दा नभेटिने भएकाले पनि नजिकैको लोकसन राख्नुपर्ने बाध्यता रहन्छ । यस्तो अवस्थामा त तपाईंहरूले पनि सुधार गर्नुपर्ने हुन्छ होला नि ?
यो समस्या छ । यसमा हामीले सकेसम्म म्यापलाई अझ सहज बनाउन निरन्तर काम गरिरहेका छौं । ड्राइभर मात्र नभई यात्रुलाई पनि सहज होस् भनेर म्याप प्रणालीलाई समय–समयमा अपडेट गर्ने, नेपालअनुसार प्रयोग गर्न सजिलो बनाउने काम भइरहेको छ । जस्तै, अहिले इनड्राइभमा एयरपोर्ट सर्च गर्दा डोमेस्टिक हो कि इन्टरनेसनल जाने भन्ने विकल्प नै आउने व्यवस्था गरिएको छ । त्यस्तै, अन्य महŒवपूर्ण लोकेसनहरूलाई पनि अझ स्पष्ट रूपमा छुट्याउन सकिने बनाउन हामी काम गरिरहेका छौं । यस्ता विषयहरूमा हामीलाई ड्राइभर तथा यात्रुबाट आउने प्रतिक्रिया नै सबैभन्दा महŒवपूर्ण हुन्छ । त्यही प्रतिक्रियाका आधारमा नै हामीले निरन्तर सुधार र परिवर्तनहरू ल्याउँदै आएका छौं ।
इनड्राइभका चालक र यात्रुबीच पर्सन–टु–पर्सन मूल्य भाडादर निर्धारण प्रणाली छ । तर, कतिपयले यो व्यवस्थाले भाडामा अनिश्चितता ल्याउन सक्छ भन्ने तर्क गर्छन् । कम्पनीले यस्तो चासो र बुझाइलाई कसरी सम्बोधन गरिरहेको छ ?
यहाँ भाडा बढाउने–घटाउने भन्ने मात्र कुरा होइन । हाम्रो मूल उद्देश्य भनेको ड्राइभर र यात्रु दुवैलाई फ्रिडम दिनु हो । कहिलेकाहीँ यात्रुलाई तत्काल यात्रा आवश्यक हुन्छ, वा अप्ठेरो अवस्था हुन्छ । त्यस्तो बेलामा सानो रकम, जस्तो २०–३० रुपैयाँ बढी प्रस्ताव गर्दा ड्राइभरहरूले त्यसलाई ‘यो इमर्जेन्सी हो’ भनेर बुझेर स्वीकार गर्ने अवस्था पनि हुन्छ । हामीले ड्राइभरहरूसँग कुरा गर्दा पनि उहाँहरूले ‘नर्मल फेयर’भन्दा अलिकति बढी आयो भने हामीले त्यसलाई इमर्जेन्सी सिग्नलका रूपमा बुझेर लिन्छौं,’ भन्नुभएको छ । त्यसैगरी, फिल्डमा जाँदा हामीले भेटेका धेरै ड्राइभरहरूले आफ्नो अनुभव पनि साझा गर्नुभएको छ । कतिपय अवस्थामा उहाँहरूले अस्पताल जाने राइडलाई प्राथमिकता दिएर, भाडा जस्तोसुकै भए पनि यात्रु पु¥याउने गर्नुहुन्छ । यो मानवताको दृष्टिले गरिएको व्यवहार हो । यस्ता सकारात्मक उदाहरणहरू पनि धेरै छन्, जुन धेरैजसो बाहिर सुनिँदैन । तर, हाम्रो ड्राइभर समुदायमा यस्तो संवेदनशीलता र सहयोगी भावना पनि छ भन्ने हामीले अनुभव गरेका छौं । इनड्राइभको पर्सन–टु–पर्सन मोडलले यस्ता निर्णयहरूलाई अझ सहज बनाएको छ । ड्राइभरले आफूलाई उपयुक्त लागे अनुसार राइड छनोट गर्न सक्छन् । कहिले इमर्जेन्सी हेरेर, कहिले दूरी र अवस्थाअनुसार निर्णय लिन सक्नुहुन्छ । अर्कोतर्फ, हाम्रो सिस्टममा सरकारले तोकेको सीमा भन्दा बाहिर गएर भाडा बढाउन वा घटाउन मिल्दैन । त्यसैले, यो पूर्ण रूपमा नियमनभित्र रहेर सञ्चालन हुने प्रणाली हो । समग्रमा हेर्दा, यो मोडलले ड्राइभर र यात्रु दुवैलाई लचिलोपन, पारदर्शिता र आपसी समझदारीको वातावरण दिन खोजेको हो भन्ने हामीलाई लाग्छ ।
इनड्राइभमा ट्याक्सी सेवा पनि छ, मोटरसाइकल सेवा पनि छ । ट्याक्सी बढी प्रभावकारी छ कि मोटरसाइकलको सेवा बढी प्रभावकारी छ ?
ट्याक्सी र मोटरसाइकलको सेवा लिने सन्दर्भमा यो यात्रुको आवश्यकतामा निर्भर हुन्छ । ट्याक्सी चढ्ने यात्रुहरू प्रायः ट्याक्सी नै प्रयोग गर्नुहुन्छ । मोटसाइकल चढ्ने यात्रु मोटरसाइकल नै प्रयोग गर्नुहुन्छ । यात्रुहरूले मोटरसाइकलको सेवा प्रायः हतारमा हुने, छिटो पुग्नुपर्ने अवस्थाका प्रयोग गर्नुहुन्छ । तर, त्यही यात्रुले परिवारसँग वा समूहमा यात्रा गर्दा ट्याक्सी रोज्नुहुन्छ । त्यसैले, यसको प्रयोग पूर्ण रूपमा आवश्यकतामा आधारित हुन्छ । त्यस हिसाबले हेर्दा दुवै सेवाको माग बजारमा लगभग बराबरी जस्तै देखिन्छ । तर, कुन सेवा प्रयोग गर्ने भन्ने कुरा यात्रुको आवश्यकतामा निर्भर हुन्छ । अर्को कुरा, यात्रुको बजेटको हिसाबले पनि इनड्राइभमा लचिलोपन छ । कम बजेट भएका यात्रुले पनि आफ्नो क्षमताअनुसार फेयर राखेर राइड रिक्वेस्ट गर्न सक्नुहुन्छ । ड्राइभरहरूसँग कुरा गर्दा पनि उहाँहरूले भन्नुभएको कुरा के हो भने, यदि यात्रुले आफ्नो बजेटअनुसार राइड रिक्वेस्ट राख्नुभएको छ भने त्यसलाई कहिलेकाहीँ इमर्जेन्सी वा परिस्थितिको रूपमा बुझेर एक्सेप्ट गर्नुहुन्छ । जस्तै साँझको समयमा, वा अप्ठेरो अवस्थामा, यात्रुलाई सहयोग चाहिएको होला भनेर पनि ड्राइभरहरूले विचार गर्ने गर्नुहुन्छ । यसरी हेर्दा यो प्रणालीले दुवै पक्षलाई आपसी समझदारी र लचकताको आधारमा जोड्ने काम गरिरहेको छ ।
इनड्राइभ सञ्चालनमा आएको ५ वर्ष पूरा भएको छ । यो ५ वर्षको यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
इनड्राइभले तय गरेको यो ५ वर्षको यात्रा एकदमै फ्रुटफुल, उपलब्धिमूलक र यात्रुले रुचाएको एपको रूपमा लिएका छौं । मार्केटमा पनि हाम्रो उपस्थिति राम्रो छ, यात्रुको संख्या पनि बढिरहेको छ । त्यसैगरी, हामीले केवल व्यवसायिक रूपमा मात्र नभएर सामाजिक रूपमा पनि योगदान दिन पाएकोमा खुसी छौं । स्पोट्र्स इभेन्ट होस्, विभिन्न आपतकालीन अवस्था होस्, वा विपद्को समयमा सहयोग गर्न पाउने अवसरहरूमा हामी सहभागी हुन पाएका छौं । यी सबै क्षेत्रमा योगदान दिन पाउनु र यात्रुको विश्वास जित्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो भन्ने हामीले मानेका छौं ।
आगामी दिनमा नेपालको बजारप्रति इनड्राइभको थप प्राथमिकता के–के हुनेछन् ? देशका अन्य ठूला सहरहरूमा विस्तार गर्ने योजना के छ ?
अहिले इनड्राइभ विश्वका ४८ देशका १ हजार १०० भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ । त्यसैअनुसार आउँदो दिनमा पनि विश्वव्यापीरूपमा थप सेवा विस्तार गर्ने हाम्रो योजना छ । नेपालको सन्दर्भमा कुरा गर्दा हामी पहिले नै पोखरा र भरतपुरमा पनि सञ्चालनमा छौं । भरतपुरमा त अटो रिक्सामा पनि इनड्राइभको सेवा उपलब्ध छ । आगामी दिनहरूमा नेपालका अन्य प्रमुख सहरहरूमा विस्तार गर्ने हाम्रो योजना छ ।
नयाँ–नयाँ राइड सेयरिङ एपहरू थपिँदै जाँदा बजारमा अहिले प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको छ । एपहरूले यात्रुको ध्यान खिच्न तथा ड्राइभरहरूलाई प्रोत्साहन गर्न आकर्षक बोनस तथा अल्पकालीन योजनाहरू पनि ल्याइरहेको देखिन्छ । यस्तो प्रतिस्पर्धात्मक बजार रणनीतिलाई इनड्राइभले कसरी हेरेको छ ?
बजारमा प्रतिस्पर्धा बढिरहेको कुरा हामीले स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धा हुनु एकदमै राम्रो कुरा हो । बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा हामी सस्टेनेबिलिटी (दिगोपना)मा विश्वास गर्छौं । छोटो समयका लागि धेरै दिने र भोलि बन्द गर्ने जस्ता रणनीतिले दीर्घकालीन रूपमा बजारमा टिक्न सकिँदैन । हामीले कुनै कार्यक्रम ल्याउँदा त्यसलाई दीर्घकालीन रूपमा ड्राइभर र यात्रु दुवैका लागि कसरी उपयोगी बनाउन सकिन्छ भन्नेमा ध्यान पु¥याउने गरेका छौं । त्यसैअनुसार हामीले काम पनि गर्दै आएका छौं । हाम्रो फरक पक्ष भनेको हामी धेरै कुरा बजारमा प्रचार नगरी पनि वास्तविक रूपमा ड्राइभरलाई फाइदा पुग्ने कार्यक्रमहरू सञ्चालन गर्छौं । दीर्घकालीन स्थायित्वलाई ध्यानमा राखेर हामी बजारमा अगाडि बढिरहेका छौं र अहिले यात्रु तथा ड्राइभर दुवैबीच लोकप्रिय पनि छौं । हामी चालकको आवश्यकता र बजारको मागलाई आधार बनाएर उहाँहरूलाई कसरी सहज र राहत दिन सकिन्छ भन्ने कुरामा केन्द्रित हुन्छौं । हामीले केही समय अगाडि मात्रै चालकहरूलाई बिना कुनै सर्त करिब २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग प्रदान गरेका थियौं । त्यसैगरी, सबै चालकसँग इलेक्ट्रिक भेहिकल खरिद गर्ने क्षमता नहुन सक्छ भन्ने कुरा ध्यानमा राखेर हामीले हालै ८७० जना ड्राइभरलाई ५ हजार रुपैयाँभन्दा बढी बराबरको इन्धन वितरण गर्ने कार्यक्रम पनि अघि बढाएका छौं । यस्ता क्याम्पेनहरू बजारको आवश्यकता, चुनौती र वास्तविक अवस्थालाई हेरेर ल्याइन्छ । प्रतिस्पर्धा आफैंमा नराम्रो होइन, यसले व्यवसायलाई अघि बढ्न, नयाँ सोच र समाधान ल्याउन सहयोग गर्छ । त्यसैले, हामी सस्टेनेबिलिटीमै केन्द्रित छौं र दीर्घकालीन रूपमा मूल्य दिने प्रणाली निर्माण गर्न चाहन्छौं ।
इनड्राइभमा अहिले धेरै ड्राइभरहरूले पार्टनरका रूपमा काम गरिरहनुभएको छ । इनड्राइभसँग जोडिएर काम गर्द उहाँहरूको आर्थिक अवस्था कत्तिको फेरिएको छ ?
सर्वप्रथम त, काम गर्दा स्वतन्त्रता के हो भन्ने ड्राइभर पार्टनरहरूलाई अनुभव गराउने एपमध्ये हामी पनि एक हौं जस्तो लाग्छ । आफ्नो रुटिन, आफ्नो टाइम, र आफ्नो काम आफैं छान्न पाइन्छ भन्ने मेसेज हामीले दिन खोजेका छौं । ड्राइभर पार्टनरहरूको आर्थिक पक्षमा भएको सुधारको कुरा गर्नुपर्दा हामीले गत वर्ष सात जना चालकहरूलाई ट्याक्सी उपहार पनि दिएका थियौं । उहाँहरूमध्ये धेरैजसो पहिले अरूको गाडी चलाएर राइड गरिरहनुभएको थियो । तर, ट्याक्सी जितेपछि उहाँहरूको जीवनमा ठूलो परिवर्तन आएको छ । त्यसले उहाँको मात्र होइन, पूरा परिवारकै जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ । मासिक आम्दानीको कुरा गर्दा ट्याक्सी सेवामा सक्रिय चालकहरूले मासिकरूपमा करिब २ देखि ३ लाख रुपैयाँसम्म पनि आम्दानी गर्नुहुन्छ भने टु–ह्विलर (मोटरसाइकल÷स्कुटर) सेवामा पनि १ लाख रुपैयाँभन्दा माथि कमाउने धेरै हुनुहुन्छ । तर, हामी यी कुराहरूलाई धेरै प्रचार गर्नेभन्दा पनि चालकहरूको आफ्नै अनुभव र स्वतन्त्र रूपमा बाहिर आएको कुरा भनेर बुझ्छौं ।
इनड्राइभमा आबद्ध ड्राइभर पार्टनरहरूलाई अझै प्रोत्साहन गर्न के सन्देश दिन चाहनुहुन्छ ?
हाम्रा ड्राइभर पार्टनरहरूलाई आफ्नो नियमित कामलाई निरन्तरता दिनुहोस् र स्वतन्त्र रूपमा राइड लिने अभ्यासलाई अघि बढाउनुहोस् । काठमाडौंमा उपलब्ध भएका इन्स्योरेन्स, सपोर्ट र बोनस लगायतको सेवा सुविधा अहिले पोखरा, भरतपुरलगायत अन्य सहरका चालकहरूले पनि पाइरहनुभएको छ । इन्स्योरेन्स सुविधा त इनड्राइभका सबै चालकका लागि समान रूपमा उपलब्ध छ । हामीले सबै ड्राइभर पार्टनरहरूलाई समान ढंगले स्वतन्त्र ढंगले सेवा दिन सधैं प्रोत्साहन गर्छौं ।
विश्वमा भइरहेका विविध घटनाक्रमले इन्धनको मूल्यमा भइरहेको अधिक वृद्धिले ड्राइभरहरूको आयको दिगोपन सुनिश्चित गर्न चुनौती देखिएको छ । यस्तो परिस्थितिमा इनड्राइभरहरूले के–कस्ता पहलहरू गर्दै आउनुभएको छ ?
हामीले एपभित्रै कम सेवा शुल्क भएका राइडहरू कसरी छनोट गर्ने भन्ने सुविधा पनि उपलब्ध गराएका छौं । किनभने मूल्यवृद्धिले ड्राइभर र यात्रु दुवैलाई असर गरेको छ । त्यसैले, केवल भाडा बढाएर मात्र समस्या समाधान हुँदैन । त्यसैले, हामीले इन्धन सहयोग कार्यक्रम, कम सेवा शुल्क भएका अफरहरू र साप्ताहिक बोनस योजनाजस्ता विभिन्न उपायहरूमार्फत ड्राइभरलाई सपोर्ट गर्दै आएका छौं । यसले ड्राइभरको आम्दानीमा सन्तुलन कायम राख्न मद्दत गरेको छ । साथै, यात्रुलाई पनि अतिरिक्त भार नपर्ने वातावरण बनेको छ ।