नेभिगेशन
सूचना प्रविधि

बलिउडमा ‘फेक फलोअर्स’

अभिनेत्री अमीशा पटेलले सामाजिक सञ्जालबारे हालै दिएको अभिव्यक्तिले बलिउडका सिनेकर्मीमाझ समर्थन र विरोधका भनाइ बाहिर आएका छन् । उनले स्पष्ट शब्दमा भनेकी छन्, ‘आजकल धेरै सेलिब्रिटीले वास्तविक लोकप्रियताभन्दा पनि कृत्रिम चमक देखाउन बनावटी फलोअर्स किन्ने गरेका छन् ।’

उनका अनुसार यो प्रवृत्तिले सामाजिक सञ्जाललाई वास्तविक प्रशंसक र दर्शकस“गको सम्पर्क कायम राख्ने माध्यमभन्दा पनि मात्र प्रतिस्पर्धा गर्ने साधनमा रूपान्तरण गरिदिएको छ । उनका भनाइमा, ‘कसैले लाखौं फलोअर्स देखाए पनि त्यो वास्तविकता होइन भने त्यसको के अर्थ रह्यो ? सा“चो स्टारडम त दर्शकको माया र विश्वासमा हुन्छ, संख्यामा होइन ।’

सोसल मिडियाले फिल्म उद्योगमा ठूलो प्रभाव पारेको सबैलाई थाहा छ । फिल्म रिलिज हुनु अघि नै कलाकारको लोकप्रियता, फलोअर्सको संख्या र ट्रेन्डिङ पोस्ट हेरेर नै कतिपय निर्माता र विज्ञापनदाताले निर्णय लिने गरेका छन् । तर, अमीशा यसलाई खतरनाक प्रवृत्ति ठान्छिन् । ‘जसले वास्तविक मेहनत गरेर फलोअर्स कमाएका छन्, तिनको मूल्य घट्छ । बरु, बनावटी नम्बर देखाएर केही समयको चमक पाउने प्रवृत्ति मौलाउ“दै गएको छ,’ उनले टिप्पणी गरिन् ।

यसै सन्दर्भमा केही समयअघि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ‘फेक फलोअर्स’ र ‘बोट अकाउन्ट’ को कारोबार ठूलो समस्या बनेको चर्चा भएको थियो । ट्विटर (हाल एक्स) देखि लिएर इन्स्टाग्रामसम्म विभिन्न कम्पनीहरूले पटक–पटक ‘क्लिन अप’ अभियान चलाएका छन् । तर, बलिउडमा यसको प्रभाव अझै गहिरो छ ।

अमीशाले भने आफू कहिल्यै यस्तो प्रवृत्तिमा नलागेको दाबी गरेकी छन् । उनले भनिन्, ‘मलाई थाहा छ, मेरा फलोअर्स सयौं वा हजारौंले मात्र बढ्छन् । तर म सन्तुष्ट छु किनकि उनीहरू वास्तविक छन् । उनीहरू मेरा फिल्म, गीत र कामलाई मन पराएर पछ्याउ“छन्, न कि पैसा तिरेर भाडामा ल्याइएका अनुयायी हुन् ।’

उनको यो भनाइलाई दर्शक र केही सहकर्मी कलाकारले समर्थन गरेका छन् । सामाजिक सञ्जालमै धेरैले लेखेका छन्, ‘अमीशा पटेलले सत्य बोलेकी हुन् । यो प्रवृत्ति बन्द हुनुपर्छ ।’ तर, कतिपयले भने यो भनाइलाई भारतीय फिल्म उद्योगमै चलिरहेको सामान्य अभ्यासको ‘ओभर रियाक्सन’ भनेका छन् ।

बलिउडमा बनावटी फलोअर्सको प्रयोगबारे यसअघि पनि प्रसंग उठ्दै आएका थिए, तर प्रायः कलाकारहरू यसबारे मुख खोल्दैनन् । अमीशाको यो स्पष्ट टिप्पणीले फेरि एकपटक प्रश्न उठाएको छ – कस्तो मापदण्डमा कलाकारको लोकप्रियता र प्रभाव नापिनुपर्ने ?

फिल्म ’गदर २’ को सफलतापछि फेरि सक्रिय देखिएकी अमीशाले यसरी सामाजिक सञ्जालको सत्य उजागर गर्दा दर्शकको ध्यान तानेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि