नेभिगेशन
सूचना प्रविधि

अस्ट्रेलिया एआईप्रति सशंकित !

एआईको प्रयोग विश्वभर तीव्र गतिमा विस्तार भइरहेका बेला अस्ट्रेलियाली नागरिक भने यसप्रति उत्साहितभन्दा बढी सशंकित देखिएका छन् । प्रविधिले काम छिटो र सहज बनाउने अपेक्षा गरिए पनि रोजगारी गुम्ने, आर्थिक असमानता बढ्ने र समाजमा नकारात्मक असर पर्ने चिन्ताले उनीहरूलाई सतर्क बनाएको सर्वेक्षणले देखाएको छ ।
अस्ट्रेलियाको स्वतन्त्र अनुसन्धान संस्था लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणमा ६५ प्रतिशत नागरिकले एआईका सम्भावित जोखिम यसबाट प्राप्त हुने लाभभन्दा बढी रहेको बताएका छन् । अक्टोबरमा गरिएको सर्वेक्षणको यो नतिजा मार्चको तुलनामा करिब उस्तै हो । सन् २०२४ मा भने यस्तो धारणा राख्ने नागरिक ५२ प्रतिशत मात्रै थिए । यसबीच एआईप्रति नकारात्मक धारणा १३ प्रतिशत विन्दुले बढेको छ । लाभ जोखिमभन्दा बढी रहेको ठान्ने नागरिकको हिस्सा ३३ प्रतिशतमा झरेको छ ।
एआईले रोजगारी खोस्ने डर अस्ट्रेलियाली नागरिकको चिन्ताको प्रमुख कारण देखिएको छ । लोवी इन्स्टिच्युटका अनुसार ७६ प्रतिशत नागरिकले आगामी २० वर्षमा एआईका कारण अस्ट्रेलियामा रोजगारीका अवसर घट्ने अनुमान गरेका छन् । यो सर्वेक्षणमा सहभागी ३७ देशमध्ये सबैभन्दा उच्च हिस्सामध्ये एक हो । त्यस्तै, ५२ प्रतिशतले एआईले धनी र गरिबबीचको आर्थिक खाडल अझ फराकिलो बनाउने बताएका छन् ।
अमेरिकास्थित प्यु रिसर्च सेन्टरले सन् २०२६ मा ३६ देशका ४२ हजारभन्दा बढी व्यक्तिमाझ गरेको अर्को सर्वेक्षणले पनि अस्ट्रेलियाली नागरिक एआईको बढ्दो प्रयोगप्रति बढी चिन्तित रहेको देखाएको छ । उनीहरू एआईबाट उत्साहितभन्दा चिन्तित हुने सम्भावना बढी भएका नागरिकमध्ये पर्छन् ।
लोवी इन्स्टिच्युटका अनुसन्धानकर्ता चाल्र्स लायन्स–जोन्सका अनुसार एआईप्रतिको यो आशंका देशको कमजोर आर्थिक मनोविज्ञानसँग पनि जोडिएको छ । पछिल्लो समय महँगी नियन्त्रणमा नआउनु, ब्याजदर वृद्धि हुनु र आगामी आर्थिक अवस्थाप्रति निराशा बढ्नुले नयाँ प्रविधिप्रतिको विश्वास कमजोर बनाएको उनको विश्लेषण छ । उनका अनुसार एआईमा भइरहेको ठूलो लगानीले उत्पादन लागत र आर्थिक दबाबसमेत बढाउन सक्छ ।
यसको असर अस्ट्रेलियामा एआई पूर्वाधार विस्तारका योजनामा पनि देखिन थालेको छ । एआई सञ्चालनका लागि आवश्यक ठूला तथ्यांक केन्द्र निर्माण गर्ने केही योजनाविरुद्ध स्थानीय समुदायले विरोध जनाएपछि ती योजना रोकिएका छन् । ठूला बैंकहरूमा कर्मचारी कटौतीका लागि पनि एआईको प्रयोगलाई एउटा कारणका रूपमा प्रस्तुत गरिएको छ ।
प्रविधि विकाससँगै व्यक्तिगत सूचना दुरुपयोग, गलत सूचना र साइबर सुरक्षाको जोखिम पनि बढ्ने आशंका छ । यसले एआईको प्रयोगमा नियमन र जवाफदेहिताको माग बढाएको छ ।
अस्ट्रेलियाली सरकार भने एआई क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न र प्रविधिको विकासलाई प्रोत्साहन गर्न चाहन्छ । तर नागरिकको बढ्दो अविश्वास सरकारका लागि चुनौती बनेको छ । लोवी इन्स्टिच्युटको निष्कर्षमा प्रविधिबाट प्राप्त हुने सम्भावित लाभ अझै भविष्यमा सीमित छन्, तर यसका जोखिम नागरिकले अहिले नै महसुस गर्न थालेका छन् । यही अन्तरले अस्ट्रेलियालीलाई एआईप्रति उत्साहितभन्दा सतर्क बनाएको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि