नेभिगेशन
सूचना प्रविधि

चोरीका कलाकृति खोज्न एआईको सहारा

लुकेका चित्रसमेत पत्ता लगाउँदै प्रहरी

विकसित मुलुकमा कलाकृति चोरी ठूलो समस्या बनेको छ । चोरी भएका वस्तु पत्ता लगाउन प्रहरीलाई कठिनाइ भइरहेका बेला यन्त्रमेधा अर्थात् कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले अनुसन्धानलाई नयाँ गति दिएको छ । अब वर्षौंअघि चोरी भएका र स्वरूप परिवर्तन गरेर लुकाइएका कलाकृतिसमेत यन्त्रमेधा (एआई)को सहायताले पत्ता लगाउन थालिएको छ ।
सन् २०२४ अक्टोबरमा इटालीको पार्मामा आयोजित पुराताŒिवक वस्तुको मेलामा प्रहरी अधिकारीहरू नियमित निरीक्षणका लागि पुगेका थिए । उनीहरूले मेलाका स्टलमा राखिएका काँसका मूर्ति, पुराना धातुका भाँडा, तथा तेलरङका चित्रका तस्बिर खिच्दै प्रहरीको तथ्यांक प्रणालीमा पठाए ।
केही घण्टामै प्रणालीले एउटा तस्बिरमा शंकास्पद समानता देखायो । चित्रमा समुद्री नीलो र रातो लुगा लगाएकी एक युवतीले आधा खोलिएको चर्मपत्र समातेकी थिइन् । भोलिपल्ट प्रहरीले उक्त चित्र जफत गरेर विशेषज्ञबाट परीक्षण गरायो ।
इटालीको सांस्कृतिक सम्पदा संरक्षण प्रहरी एकाइका लेफ्टिनेन्ट कर्णेल साल्भातोरे रापिकोभालीका अनुसार चित्रमा केही अस्वाभाविकता थियो । थप अनुसन्धान गर्दा उक्त चित्र २० वर्षअघि चोरी भएको कलाकृतिसँग मिलेको पुष्टि भयो ।
रापिकोभालीको टोलीले सन् २०२३ नोभेम्बरदेखि यन्त्रमेधा प्रणाली प्रयोग गर्दै आएको छ । यस अवधिमा टोलीले चोरी भएका ३०० भन्दा बढी ठूला चित्र र मूर्ति तथा १ लाख ६५ हजारभन्दा बढी सिक्का, पदक, पत्र, पाण्डुलिपि, धार्मिक वस्तु, हुलाक टिकट र कार्ड फिर्ता ल्याएको छ । ती वस्तुको कुल मूल्य २० करोड ३० लाख युरोभन्दा बढी छ ।

लाखौं कलाकृतिबीच खोजी
इटाली प्रहरीले सन् १९६९ देखि चोरी भएका सांस्कृतिक सम्पदाको तथ्यांक राख्दै आएको छ । यसमा चर्चबाट चोरी भएका चित्रदेखि गैरकानुनी उत्खनन गरिएका प्राचीन रोमन तथा एट्रस्कन सभ्यताका वस्तुसम्म समेटिएका छन् । विश्वकै ठूलो मानिएको उक्त अभिलेखमा १० लाखभन्दा बढी वस्तु छन् ।
पहिले चोरी भएका कलाकृति खोज्न प्रहरी अधिकारीहरू कला मेला, पुराना वस्तुका पसल र लिलामी केन्द्र पुग्थे । त्यहाँ देखिएका वस्तुलाई कार्यालयमा रहेका लाखौं विवरणसँग तुलना गर्नुपथ्र्यो । अनलाइन अभिलेखमा शब्दका आधारमा खोजी गर्दा पनि धेरै समय लाग्थ्यो । पुराना कलाकृतिका तस्बिरसमेत स्पष्ट हुँदैनथे । दशकौंअघि खिचिएका कालो–सेतो तस्बिर, प्रकाश र छायाँका कारण बिग्रिएका चित्र तथा टाढाबाट खिचिएका तस्बिरले अनुसन्धानलाई झन् कठिन बनाउँथे ।
यसको समाधान खोज्दै रापिकोभालीको टोलीले सन् २०२० मा ‘स्टोलन वक्र्स अफ आर्ट डिटेक्सन सिस्टम’ (स्वाड्स) नामक यन्त्रमेधा (एआई) प्रणाली विकास गर्ने अवधारणा अघि बढायो ।
यसले कलाकृतिको रङ, आकार, आकृति र दृश्यात्मक बनावटको सूक्ष्म समानता पहिचान गर्छ । चित्रको केही भाग काटेर छुट्टाछुट्टै बिक्री गरिएको अवस्थामा पनि त्यसको सम्बन्ध पत्ता लगाउन सक्छ । चोरीपछि चित्रको स्वरूप परिवर्तन गरिएको भए पनि पुरानो चित्रसँगको समानता पहिचान गर्न सक्छ । रापिकोभाली भन्छन्, ‘मेसिन कहिल्यै दिक्क मान्दैन ।’
यस प्रणालीको महŒव पार्मामा फेला परेको चित्रले देखाएको छ । वास्तवमा त्यो सन् १७औं शताब्दीमा बनाइएको सेन्ट एग्नेसको एक मिटर अग्लो चित्र थियो । सन् २००४ अगस्ट ११ को राति नेपल्स नजिकैको सुल्मोनास्थित एउटा चर्चबाट चोरी भएको थियो ।
चोरीपछि चित्रलाई नचिनिने बनाउन परिवर्तन गरिएको रहेछ । त्यसमा रहेको सेतो पाठोको ठाउँमा चर्मपत्र राखिएको थियो । टाउको माथिको प्रभामण्डल र खजुरको हाँगासमेत मेटाइएको थियो । यसरी सन्तको चित्रलाई सामान्य युवतीको स्वरूप दिइएको थियो । तर यन्त्रमेधाले रङ, ढाँचा र संरचनाको समानता पहिचान गरेर त्यसलाई फेला पा¥यो ।
अहिले स्वाड्सले अनलाइन बजार, सामाजिक सञ्जाल र डार्क वेबमा अपलोड हुने कलाकृतिका तस्बिरसमेत निरन्तर निगरानी गर्छ । लाखौं तस्बिरलाई चोरी भएका कलाकृतिको अभिलेखसँग तुलना गर्छ ।
सन् २०२६ मा यही प्रणालीले इटालीको टुरिनमा सन् १९७२ मा चोरी भएको फिलिप्पो पालिज्जीको ‘गोठाल्नीको विश्राम’ नामक चित्र फेला पार्न सहयोग ग¥यो । दशकौंदेखि हराइरहेको उक्त चित्र एउटा लिलामी संस्थाको वेबसाइटमा बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको थियो ।

यन्त्रमेधाका सीमितता र नयाँ चुनौती
यद्यपि यन्त्रमेधा (एआई) कलाकृति चोरी नियन्त्रणको पूर्ण समाधान होइन । कला प्रमाणीकरणसम्बन्धी संस्था आर्ट रिकग्निसनकी सहसंस्थापक कारिना पोपोभिचका अनुसार एआईले अभिलेखमा रहेको चोरीको वस्तुसँग कुनै चित्र मिल्छ कि मिल्दैन भन्ने पहिचान गर्न सक्छ । तर यसले चोर पक्राउ गर्न वा अभिलेखमा नराखिएको चोरीको वस्तु पत्ता लगाउन सक्दैन ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को कला अपराध टोलीका पूर्वप्रमुख टिमोथी कार्पेन्टर पनि एआईले मानिसको विश्लेषणात्मक क्षमतालाई प्रतिस्थापन गर्न नसक्ने बताउँछन् । प्रविधिमा अझै केही समस्या छन् । त्रीआयमिक वस्तु पहिचान गर्न कठिन हुन्छ । उदाहरणका लागि, चोरीको विवरणमा फूलदानको अगाडिको तस्बिर छ भने बिक्रीका लागि राखिएको पछाडिबाट खिचिएको तस्बिर पत्ता लगाउन सक्दैन ।
त्यस्तै, यन्त्रमेधाले सक्कली र नक्कली कलाकृति सधैं छुट्याउन सक्दैन । एउटै चित्रका धेरै प्रतिलिपि हुन सक्छन् । इन्टरपोलको अभिलेखमा स्पेनी चित्रकार मुरिलोको ‘द मेलोन इटर्स’ चोरी भएको उल्लेख छ । तर त्यसको सक्कल प्रति जर्मनीको आल्टे पिनाकोथेक संग्रहालयमा सुरक्षित छ । चोरी भएका उक्त चित्रका प्रतिलिपि हुन् ।
यन्त्रमेधाले पहिचान गरेका संकेतको थप अनुसन्धान गर्न ठूलो जनशक्ति पनि चाहिन्छ । कार्पेन्टरका अनुसार इटालीमा कला अपराध अनुसन्धानका लागि करिब ३०० प्रहरी कर्मचारी खटिएका छन् । एफबीआईको यस्तो टोलीमा सबैभन्दा ठूलो अवस्थामा पनि २४ जना मात्र थिए ।
अर्कातर्फ अपराधीले पनि एआई प्रयोग गर्न सक्छन् । उनीहरूले चित्रको स्वरूप परिवर्तन गर्न, क्षतिग्रस्त भाग डिजिटल माध्यमबाट मर्मत गर्न, नक्कली स्वामित्व विवरण तयार पार्न र अस्तित्वमै नभएका कलाकृतिको वास्तविकजस्तो देखिने तस्बिर बनाउन सक्छन् ।

अन्तर्राष्ट्रिय सञ्जाल विस्तार हुँदै
कलाकृति चोरी नियन्त्रणका लागि विभिन्न देशले यन्त्रमेधा (एआई) प्रणाली विकास गरिरहेका छन् । टर्कीले बेलायतबाट चोरी भएका १५औं शताब्दीका प्रसिद्ध टायलका कलाकृति फिर्ता ल्याउन आफ्नै यन्त्रमेधा प्रणाली प्रयोग गरेको छ । फ्रान्सले ‘आर्टे–फ्याक्ट’ र जर्मनीले ‘किकु’ नामक प्रणाली सञ्चालनमा ल्याएका छन् ।
अमेरिकाका अनुसन्धानकर्ताहरूले कम्बोडियाबाट चोरी भएका मूर्ति पहिचान गर्न तथा नाजीहरूले लुटेका कलाकृतिको अभिलेख खोज्न यन्त्रमेधा प्रयोग गरिरहेका छन् ।
इन्टरपोलले पनि विश्वभरका अभिलेख जोड्ने ‘आईडी–आर्ट’ नामक प्रणाली सञ्चालनमा ल्याएको छ । यसको सहयोगमा स्पेनको प्रहरीले चोरी भएको ४० वर्षभन्दा बढी समयपछि पुनर्जागरणकालका दुई टेबुल फेला पारेको थियो । सन् १९७९ मा राखिएका धमिला कालो–सेतो तस्बिरसँग तुलना गरेर ती टेबुल पहिचान गरिएको थियो । त्यस्तै, दुई लाख युरोसम्म मूल्य पर्ने तीनवटा सुनका सिक्कासमेत फिर्ता ल्याइएको थियो ।
इटालीको प्रहरी टोलीले सन् २०२७ सम्ममा अन्तर्राष्ट्रिय रूपमा एकअर्कासँग जोडिएको कलाकृति पहिचान सञ्जाल बनाउने लक्ष्य राखेको छ । युद्धका क्रममा लुटिन सक्ने युक्रेनका दुर्लभ पाण्डुलिपि र धार्मिक चित्रलाई विशेष निगरानीमा राख्ने तयारी पनि भइरहेको छ । तर हालसालै चोरी भएका वा अत्यधिक चर्चामा रहेका कलाकृति फेला पार्न भने एआईलाई अझै कठिन छ । यस्ता वस्तु चोरहरूले परम्परागत बजारमा बिक्री गर्दैनन् । धेरैजसो चोरी कुनै संकलकको आदेशमा हुने र कलाकृति निजी भल्ट वा सुरक्षित भण्डारण केन्द्रमा लुकाइने भएकाले तिनलाई सार्वजनिक बजारमा खोज्न सम्भव हुँदैन ।
यसले यन्त्रमेधा (एआई)ले चोरी भएका कलाकृति खोज्ने कामलाई तीव्र र प्रभावकारी बनाए पनि अनुसन्धानकर्ता, प्रहरी संयन्त्र र अन्तर्राष्ट्रिय कानुनी सहकार्यको आवश्यकता भने अझै उत्तिकै महŒवपूर्ण रहेको देखाउने यसमा संलग्न विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि