नेपालको अन्तर्राष्ट्रिय पहिचान लामो समयदेखि हिमाल, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदासँग जोडिँदै आएको छ । सगरमाथाको देश, बुद्धको जन्मभूमि र पर्यटकीय गन्तव्यका रूपमा नेपाल विश्वसामु परिचित छ । तर बदलिँदो विश्व अर्थतन्त्रमा कुनै देशको पहिचान उसको प्राकृतिक स्रोत र भौगोलिक अवस्थाले मात्र निर्धारण गर्दैन । ज्ञान, प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्तिको उपयोग गर्ने क्षमताले पनि देशको आर्थिक हैसियत र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्छ ।
यही सन्दर्भमा नेपालका लागि सूचना प्रविधि क्षेत्र नयाँ सम्भावनाको ढोका बनेर आएको छ । विगत केही वर्षयता नेपाली इन्जिनियर, प्राविधिक जनशक्ति, नवप्रवर्तक र प्रविधि उद्यमीहरूले नेपालमै बसेर विश्व बजारका लागि सफ्टवेयर, कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली, वित्तीय प्रविधि, साइबर सुरक्षा, क्लाउड सेवा र डिजिटल प्लेटफर्म निर्माण गरिरहेका छन् । अमेरिका, युरोप, अस्ट्रेलिया तथा एसियाका विभिन्न मुलुकका कम्पनीहरूलाई नेपाली प्रविधि कम्पनीले सेवा उपलब्ध गराइरहेका छन् । कतिपय नेपाली कम्पनीले अन्तर्राष्ट्रियस्तरका ठूला व्यावसायिक संस्थासँग समेत काम गरिरहेका छन् ।
यसले नेपालको आर्थिक विकासको परम्परागत अवधारणामा परिवर्तन ल्याउने सम्भावना देखाएको छ । प्राकृतिक स्रोतको दोहन, कृषि उत्पादन र पर्यटनमा मात्र निर्भर नरही ज्ञान र सीप निर्यात गरेर पनि मुलुकले विदेशी मुद्रा आर्जन गर्न सक्छ भन्ने उदाहरण नेपाली सूचना प्रविधि क्षेत्रले प्रस्तुत गरिरहेको छ ।
सन् २०२४ मा सार्वजनिक भएको अध्ययनअनुसार नेपालको सूचना प्रविधि सेवा निर्यात वार्षिक करिब ४० करोड अमेरिकी डलर अर्थात् त्यतिबेलाको विनिमय दरअनुसार करिब ५३ अर्ब रुपैयाँ पुगेको थियो । सन् २०२१ देखि २०२३ सम्मको दुर्ई वर्षमा प्रविधि निर्यातमा ६४ प्रतिशत वृद्धि भएको तथ्यले यस क्षेत्रको विस्तारको गति देखाउँछ । यद्यपि पछिल्ला वर्षको वास्तविक निर्यात परिमाण मापन गर्न अद्यावधिक, एकीकृत र आधिकारिक तथ्यांक आवश्यक छ । यस क्षेत्रमा अनौपचारिक रूपमा विदेशबाट भुक्तानी प्राप्त गर्ने, व्यक्तिगत रूपमा सेवा निर्यात गर्ने तथा कम्पनीमार्फत् कारोबार गर्ने अभ्याससमेत रहेकाले वास्तविक आकार पहिचान गर्न थप अध्ययन जरुरी छ ।
तर एउटा कुरा स्पष्ट छ, नेपालमा प्रविधि उत्पादन र सेवा निर्यात गर्ने क्षमता विस्तार भइरहेको छ । अब चुनौती त्यो क्षमतालाई राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहसँग जोड्नु हो ।
अन्तर्राष्ट्रिय बजारमा विश्वास, स्वदेशमै अपर्याप्त पहिचान
नेपाली सूचना प्रविधि क्षेत्रको सबैभन्दा रोचक पक्ष के हो भने नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा विश्वास आर्जन गरिरहेका छन्, तर स्वदेशी बजारमा भने आफ्नो क्षमता स्थापित गर्न अझै संघर्ष गर्नुपरेको छ । विदेशका कम्पनीहरूले नेपाली इन्जिनियर र कम्पनीबाट निर्माण गरिएका सफ्टवेयर तथा डिजिटल प्रणाली प्रयोग गरिरहँदा नेपालभित्रका कतिपय सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र ठूला व्यावसायिक प्रतिष्ठानले प्रविधि खरिद गर्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने प्रवृत्ति कायम छ ।
यसको अर्थ विदेशी प्रविधि अनुपयुक्त र स्वदेशी प्रविधि सधैं उपयुक्त हुन्छ भन्ने होइन । प्रविधि छनोट गर्दा सुरक्षा, गुणस्तर, विश्वसनीयता, लागत, प्राविधिक सहयोग र दीर्घकालीन सञ्चालन क्षमतालाई आधार बनाउनुपर्छ । तर कुनै उत्पादन स्वदेशी भएकै कारण कमसल हुन्छ भन्ने पूर्वधारणा पनि उचित होइन ।
नेपालमै निर्माण भएका सफ्टवेयर तथा डिजिटल प्रणाली बैंकिङ, वित्तीय कारोबार, शैक्षिक व्यवस्थापन, व्यावसायिक सञ्चालन र अन्य संस्थागत सेवामा प्रयोग भइरहेका छन् । नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय ग्राहकको आवश्यकता र मापदण्डअनुसार सेवा दिन सक्ने क्षमता विकास गरिसकेका छन् । यस्तो अवस्थामा घरेलु बजारमा स्वदेशी उत्पादनको पहिचान र पहुँच विस्तार नहुनु आफैँमा गम्भीर प्रश्न हो ।
समस्या नेपाली कम्पनीमा क्षमता नभएर मात्र होइन, उत्पादक र खरिदकर्ताबीच पर्याप्त सम्पर्क नहुनु पनि हो । प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन र सेवा छुट्टाछुट्टै रूपमा बजारमा प्रस्तुत गरिरहेका छन् । अर्कातर्फ सरकारी निकाय, बैंक, उद्योगी तथा व्यवसायीले आफूलाई आवश्यक पर्ने प्रविधि नेपालमै उपलब्ध छ कि छैन भन्ने जानकारी सहज रूपमा पाउन सकिरहेका छैनन् ।
यसले बजारमा सूचनाको खाडल सिर्जना गरेको छ । स्वदेशी प्रविधि कम्पनीलाई सम्भावित ग्राहकसम्म पुग्न कठिन भइरहेको छ भने खरिदकर्ताले पनि उपलब्ध विकल्पबारे पर्याप्त जानकारी पाउन सकेका छैनन् । त्यसैले स्वदेशी प्रविधिको बजार विस्तारका लागि उत्पादनको गुणस्तर सुधारसँगै बजार पहिचान, सार्वजनिक खरिद प्रक्रिया, संस्थागत संवाद र विश्वसनीयताको वातावरण निर्माण गर्न आवश्यक छ ।
नेपालका बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, शैक्षिक संस्था, अस्पताल, उद्योग र ठूला व्यावसायिक प्रतिष्ठान स्वदेशी प्रविधिका महŒवपूर्ण सम्भावित बजार हुन् । यी संस्थाले खरिद प्रक्रियामा स्वदेशी कम्पनीलाई समान प्रतिस्पर्धाको अवसर दिने, प्राविधिक मूल्यांकनलाई प्राथमिकता दिने र सफल उत्पादनको प्रयोग विस्तार गर्ने हो भने देशभित्रै ठूलो बजार सिर्जना हुन सक्छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु भनेको गुणस्तरमा सम्झौता गर्नु होइन । यसको अर्थ स्वदेशी कम्पनीलाई निष्पक्ष प्रतिस्पर्धाको अवसर दिनु र उनीहरूको क्षमता विकासमा बजारमार्फत् योगदान गर्नु हो ।
सूचना प्रविधि दशकः लक्ष्य र कार्यान्वयनबीचको दूरी
सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई सूचना प्रविधि दशकका रूपमा अघि सारेको छ । यस अवधिमा ३० खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । कुल १५ लाख रोजगारीको यो लक्ष्य पूरा हुन सके नेपालको श्रम बजार, वैदेशिक रोजगारीमा निर्भरता र विदेशी मुद्रा आर्जनको संरचनामै महŒवपूर्ण परिवर्तन आउन सक्छ ।
नेपालको युवा जनशक्ति यस क्षेत्रको सबैभन्दा ठूलो सम्पत्ति हो । विश्व बजारमा आवश्यक पर्ने प्राविधिक सीप भएका युवाको संख्या बढिरहेको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्न भौतिक पूर्वाधारको आवश्यकता परे पनि परम्परागत उद्योगको तुलनामा ठूलो भूभाग, कच्चा पदार्थ वा भारी उत्पादन संरचना आवश्यक पर्दैन । उच्च गतिको इन्टरनेट, भरपर्दो विद्युत्, दक्ष जनशक्ति, लगानी र स्पष्ट नीतिगत व्यवस्था भए नेपालका विभिन्न स्थानबाट अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गर्न सकिन्छ ।
तर ३० खर्ब रुपैयाँ निर्यात र १५ लाख रोजगारीको लक्ष्य आफैंमा उपलब्धि होइन । त्यसलाई हासिल गर्न आवश्यक नीतिगत तथा संस्थागत आधार निर्माण गर्नु मुख्य कुरा हो ।
पहिलो आवश्यकता सूचना प्रविधि निर्यातको वास्तविक आकार मापन गर्ने विश्वसनीय प्रणाली हो । कति कम्पनीले सेवा निर्यात गरिरहेका छन्, कति जनशक्ति यस क्षेत्रमा संलग्न छन्, कति विदेशी मुद्रा भित्रिएको छ, कुन प्रकारका सेवाको माग बढिरहेको छ र कति कारोबार औपचारिक बैंकिङ प्रणालीबाहिर भइरहेको छ भन्ने तथ्यांक स्पष्ट हुनुपर्छ । तथ्यांकबिना लक्ष्य निर्धारण र उपलब्धि मूल्यांकन दुवै कठिन हुन्छ ।
दोस्रो, प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउनुपर्छ । विदेशमा शाखा वा कम्पनी स्थापना, विदेशी लगानी, अन्तर्राष्ट्रिय भुक्तानी, कर व्यवस्था र विदेशी मुद्रासम्बन्धी प्रक्रियामा देखिएका जटिलता घटाउन आवश्यक छ । पछिल्ला वर्षमा केही नीतिगत सुधार भए पनि प्रविधि उद्योगको तीव्र विकाससँगै नीति र कानुनलाई निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता छ ।
तेस्रो, दक्ष जनशक्ति उत्पादन र बजारको मागबीच तालमेल हुनुपर्छ । विश्वविद्यालय र प्राविधिक शिक्षालयमा पढाइने विषयवस्तु अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने सीपसँग जोडिनुपर्छ । कृत्रिम बुद्धिमत्ता, डेटा विज्ञान, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ र डिजिटल व्यवसाय व्यवस्थापनजस्ता क्षेत्रमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्छ ।
चौथो, देशभित्रै रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्छ । दक्ष जनशक्ति विदेश पलायन हुनुको एउटा कारण अवसरको अभाव पनि हो । नेपाली कम्पनीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्न सके नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको काम गर्ने अवसर विस्तार हुनेछ ।
अनौपचारिक आउट सोर्सिङबाट औपचारिक निर्याततर्फ
नेपाली सूचना प्रविधि क्षेत्रको अर्को महŒवपूर्ण चुनौती अनौपचारिक कारोबारलाई औपचारिक अर्थतन्त्रसँग जोड्नु हो । धेरै नेपाली प्राविधिक जनशक्ति व्यक्तिगत रूपमा विदेशका ग्राहकसँग काम गरिरहेका छन् । कतिपयले स्वतन्त्र सेवा प्रदायकका रूपमा अन्तर्राष्ट्रिय बजारमा सेवा दिइरहेका छन् । यो अभ्यासले व्यक्तिको आम्दानी बढाए पनि त्यसको पूर्ण आर्थिक योगदान राष्ट्रिय तथ्यांकमा समेटिन नसक्ने अवस्था छ ।
नेपालले सूचना प्रविधि सेवा निर्यातलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्ने हो भने यस्तो कारोबारलाई औपचारिक बैंकिङ प्रणाली, कर व्यवस्था र व्यावसायिक संस्थागत संरचनासँग जोड्नुपर्छ । त्यसका लागि सहज भुक्तानी प्रणाली, स्पष्ट कर नीति, व्यवसाय दर्ता प्रक्रिया र अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सहजीकरण आवश्यक छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले यस विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । संस्थाले नेपाली सूचना प्रविधि कम्पनीको क्षमता अभिवृद्धि, नीतिगत सुधार, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
यस क्रममा सरकारका विभिन्न निकायसँग नीतिगत संवाद, अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन, विदेशी कूटनीतिक नियोगसँग सहकार्य तथा अमेरिका, अस्ट्रेलिया, स्विट्जरल्यान्ड र बेलायतलगायतका मुलुकमा बजार विस्तारसम्बन्धी पहल भइरहेका छन् ।
अब प्रविधि क्षेत्रको विकासलाई केवल व्यक्तिगत कम्पनीको व्यावसायिक सफलतासँग मात्र जोडेर हेर्नु हुँदैन । यो नेपालको निर्यात रणनीति, रोजगारी नीति र आर्थिक कूटनीतिको पनि महŒवपूर्ण हिस्सा बन्नुपर्छ ।
प्रविधि कूटनीतिः नेपालको नयाँ आर्थिक पहिचान
परम्परागत कूटनीतिमा नेपालले पर्यटन प्रवद्र्धन, वैदेशिक सहायता, व्यापार र लगानीलाई प्राथमिकता दिँदै आएको छ । अब त्यसमा प्रविधि निर्यात र डिजिटल सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि जोड्न आवश्यक छ ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपाली दूतावास र नेपालस्थित विदेशी कूटनीतिक नियोगले नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता र व्यावसायिक साझेदारसँग जोड्न महŒवपूर्ण भूमिका खेल्न सक्छन् । यसलाई प्रविधि कूटनीति अर्थात् टेक डिप्लोमेसीका रूपमा अघि बढाउन सकिन्छ ।
नेपालमा दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत र अन्तर्राष्ट्रिय बजारमा सेवा दिन सक्ने कम्पनीहरू उपलब्ध छन् । तर विदेशी बजारमा प्रवेश गर्न व्यावसायिक सञ्जाल, कानुनी जानकारी, बजार अनुसन्धान र विश्वासको आवश्यकता पर्छ । कूटनीतिक नियोगको सहकार्यले यस्ता अवरोध घटाउन सहयोग गर्न सक्छ ।
नेपाललाई प्रविधि सेवा निर्यात गर्ने मुलुकका रूपमा चिनाउन सरकारले अन्तर्राष्ट्रिय प्रदर्शनी, लगानी सम्मेलन, व्यापारिक प्रतिनिधिमण्डल र व्यावसायिक भेटघाटलाई प्राथमिकता दिनुपर्छ । नेपाली कम्पनीको क्षमता र उत्पादनलाई विदेशमा व्यवस्थित रूपमा प्रस्तुत गर्न सके सेवा निर्यातको दायरा विस्तार हुन सक्छ ।
नेपाल आइटी एक्स्पोः बजार र क्षमताबीचको पुल
नास–आइटीले मंसिर ५ र ६ गते अर्थात् नोभेम्बर २१ र २२ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्दैछ ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीका उत्पादन र सेवा सार्वजनिक गर्नु मात्र होइन, स्वदेशी प्रविधिको बजार विस्तार, लगानीको अवसर सिर्जना र अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्नु पनि हो ।
गत वर्ष आयोजित पहिलो संस्करणमा ३० भन्दा बढी कम्पनी र दुर्ई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको थियो । त्यसबाट प्राप्त अनुभव र उद्योग क्षेत्रको प्रतिक्रियाका आधारमा यस वर्षको दोस्रो संस्करणलाई थप विस्तारित बनाइएको छ । आयोजकले तीन हजारभन्दा बढी अवलोकनकर्ता, उद्यमी, लगानीकर्ता र प्रविधि सरोकारवालाको सहभागिता अपेक्षा गरेको छ ।
स्वदेशी प्रविधिको प्रयोगः आर्थिक आत्मनिर्भरताको आधार
नेपालको आर्थिक विकासमा लामो समयदेखि आयात र उपभोगमा आधारित संरचनाको प्रभाव देखिँदै आएको छ । वस्तु तथा सेवाको आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ । अर्कोतर्फ स्वदेशमै उत्पादन गर्न सकिने वस्तु तथा सेवाको आयातलाई प्रतिस्थापन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा मूल्य अभिवृद्धि हुन्छ ।
सूचना प्रविधि क्षेत्रमा यो सम्भावना अझ व्यापक छ । नेपाली सरकारी निकाय, बैंक, उद्योग, शैक्षिक संस्था र व्यावसायिक प्रतिष्ठानले स्वदेशमै उपलब्ध गुणस्तरीय प्रविधि प्रयोग गर्न सके विदेशी सेवा खरिदमा हुने खर्चको केही हिस्सा देशभित्रै रहन सक्छ । यसले नेपाली कम्पनीको आम्दानी, रोजगारी र कर योगदान बढाउन मद्दत गर्छ ।
तर स्वदेशी उत्पादनको पक्षमा आवाज उठाउँदा प्रतिस्पर्धा र गुणस्तरलाई बेवास्ता गर्नु हुँदैन । सार्वजनिक खरिदमा स्वदेशी कम्पनीलाई अवसर दिनुका साथै पारदर्शी मूल्यांकन, सुरक्षा परीक्षण, प्राविधिक मापदण्ड र सेवा निरन्तरताको सुनिश्चितता हुनुपर्छ । सरकार आफैं स्वदेशी प्रविधिको प्रयोग र विकासको प्रवद्र्धक बन्न सके निजी क्षेत्रका लागि पनि सकारात्मक सन्देश जान्छ ।
नेपालका बैंक तथा वित्तीय संस्था र ठूला व्यावसायिक प्रतिष्ठानले स्वदेशी प्रविधि कम्पनीसँग अनुसन्धान, परीक्षण र उत्पादन विकासमा सहकार्य गर्न सक्छन् । यसबाट नेपाली कम्पनीले घरेलु बजारमै आफ्ना उत्पादन सुधार्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक अनुभव हासिल गर्ने अवसर पाउनेछन् ।
नेपालको आर्थिक समृद्धिको आगामी यात्रा केवल प्राकृतिक स्रोतको उपयोगमा निर्भर रहनु हुँदैन । हाम्रो ज्ञान, सीप, सिर्जनशीलता र प्रविधि पनि राष्ट्रिय सम्पत्ति हुन् । तिनलाई उत्पादन, रोजगारी र निर्यातसँग जोड्न सके नेपालले हिमालको देशको पहिचानसँगै विश्व प्रविधि बजारमा आफ्नो छुट्टै स्थान बनाउन सक्छ ।
(लेखिका श्रेष्ठ नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी) की महासचिव हुन् ।)