नेभिगेशन
उपत्यका

‘साइबर एण्ड एआई’ कार्यक्रम सम्पन्न, प्रविधि र नवप्रवर्तनमा सहकार्य बढाउने प्रतिबद्धता

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले मंगलबार काठमाडौंमा ‘साइबर एण्ड एआई’ विषयक विशेष कार्यक्रम आयोजना गरेको छ ।
साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिहरूमा इजरायलको विशेषज्ञता र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सरकारी निकाय, सूचना प्रविधि (आईटी), एआई, बैंकिङ तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 
कार्यक्रमका प्रमुख अतिथि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा इजरायल विश्वकै अग्रणी राष्ट्र भएको उल्लेख गरे । विगत १५ वर्षदेखि आफूले इजरायलको विकास र प्रगतिका बारेमा चर्चा गर्दै आएको बताउँदै मन्त्री पुनले भने, “इजरायल विकसित र बलियो हुनुको मुख्य कारण अनुसन्धान र नवप्रवर्तनमा उसको ठूलो लगानी हो । इजरायलले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतभन्दा बढी हिस्सा अनुसन्धान तथा विकासमा लगानी गर्छ, जुन विश्वकै उच्च स्तरमध्ये एक हो।” 
मन्त्री पुनले मित्रराष्ट्रहरूसँग सरकार–सरकार (जीटूजी) स्तरमा मात्र नभई निजी अनुसन्धान केन्द्र र उद्योगहरूबीच पनि बलियो साझेदारी स्थापना गर्न सके नेपालको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर र एआईमा इजरायलको अनुभव नवप्रवर्तन, सिर्जनशीलता र प्रविधिको व्यावहारिक प्रयोगबाट निर्देशित रहेको बताए । हरेक चुनौतीलाई अवसरका रूपमा लिने इजरायली संस्कार र अनुभव नेपालसँग साझेदारी गर्दा सहकार्यका नयाँ ढोकाहरू खुल्ने उनको भनाइ थियो ।
सो अवसरमा राजदूत वासले गत नोभेम्बर ९ देखि १२ सम्म नेपाली एआई तथा साइबर प्रतिनिधिमण्डलले गरेको इजरायल भ्रमणको समेत स्मरण गरे । 
कार्यक्रममा प्रविधि क्षेत्रका चार जना विशिष्ट इजरायली विज्ञहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए । प्रस्तुति दिने विज्ञहरूमा प्रिसिजन सिस्टम्सका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) इटे ड्यानेनबर्ग, भ्यालु कन्सल्टिङ ग्रुपका संस्थापक तथा सीईओ एरेज आर्ये, इजरायलको अर्थ तथा उद्योग मन्त्रालयअन्तर्गत नेसनल ग्रोथ डाइरेक्टोरेटकी हाई–टेक क्लस्टर प्रमुख इन्बाल मिन्कम्यान र ममराम अलुम्नाई एसोसिएसनका अध्यक्ष तथा फास्ट लेन इजरायलका सीईओ योसी मेलामेड  थिए ।
कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा इजरायली विज्ञहरूसँगै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनिज (नास–आईटी) का उपाध्यक्ष विभूषण बिष्ट र कार्यसमिति सदस्य नारायण कोइरालाको सहभागिता रहेको थियो ।
छलफलमा जटिल समस्या समाधान गर्न उन्नत प्रविधिको विकास र प्रयोगमा इजरायलको अनुभव तथा साइबर सुरक्षा र एआईको क्षेत्रमा नेपाल–इजरायल सहकार्यका सम्भावित क्षेत्रहरूबारे अन्तर्क्रिया गरिएको थियो । 
सो अवसरमा इजरायल राज्यको स्थापनाकालदेखि हालसम्मको उत्पादन तथा प्राविधिक क्षमता झल्काउने एआई–निर्मित भिडियोहरू समेत प्रदर्शन गरिएको थियो। ज्ञानको आदानप्रदान, संस्थागत साझेदारी र प्रविधि तथा नवप्रवर्तनको माध्यमबाट नेपाल–इजरायल सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको इजरायली दूतावासले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका