नेभिगेशन
सूचना प्रविधि

युट्युब मोडल आमिरको रोजाइ

आमिर खानको फिल्म ‘सितारे जमिन पर’ अझै चर्चामा छ । यो फिल्मका लागि आमिरले ओटीटीभन्दा युट्युब मोडल रोजेपछि फेरि चर्चामा आएको हो । गत जुन २० मा सिनेमाघरमा रिलिज भएपछि यसलाई युट्युबमा पे–पर–भ्यू मोडेलमार्फत उपलब्ध गराइएको छ । 

यसरी युट्युबमार्फत कमाइ गर्ने रणनीतिले आमिरलाई ठूलो फाइदा भएको खबर बाहिर आएको छ । उनले आफैं बताएका छन् कि ओटीटी प्लेटफर्मले १२५ करोडको प्रस्ताव गरे पनि अस्वीकार गरेर युट्युब रोज्दा अपेक्षाभन्दा धेरै आम्दानी भएको छ । 

केही रिपोर्टअनुसार, सिनेमाघरको सामान्य व्यवसायभन्दा २० गुणा बढी आम्दानी युट्युबबाट भएको दाबी गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

यसअघि २००७ मा आएको ‘सितारे जमिन पर’ले बालबालिकाको मानसिक स्वास्थ्य र सिकाइमा आउने समस्या उजागर गरेको थियो । १२ करोड बजेटको उक्त फिल्मले बक्स अफिसमा ९८.४८ करोड कमाएको थियो । १२२ करोड बजेटको ‘सितारे जमिन पर’ ले बक्स अफिसमा २६६.४९ करोड कमाइसकेको छ ।

पछिल्लो फिल्ममा आमिरले नयाँ दृष्टिकोणबाट कथा उठान गरेका छन् । दर्शकलाई निकै भावुक बनाएको पहिलो फिल्मको तुलनामा पछिल्लो कथाको प्रस्तुति थोरै फरक छ । हल्का, हास्य र प्रेरणादायी शैलीमा कथा सुनाइएको छ ।

फिल्ममा आमिरले गुलशन अरोरा नामका बास्केटबल प्रशिक्षकको भूमिका खेलेका छन् । उनी कडा स्वभावका भए पनि विशेष क्षमता भएका युवाहरूसँगको सम्बन्धले उनलाई बदल्छ । कथामा डाउन सिन्ड्रोम, अटिजम र अन्य भिन्न क्षमता भएका कलाकारलाई नै अभिनय गर्ने मौका दिइएको छ, जसले गर्दा फिल्म अझै जीवन्त र समावेशी बनेको छ । जेनेलिया देशमुख गुलशनकी पत्नी सुनिताको भूमिकामा छिन् । आमिरकी आमा र बहिनीले पनि फिल्ममा अभिनय गरेका छन् । 

फिल्म सार्वजनिक भएपछि समीक्षकहरूले कथाको छनोट, प्रस्तुति र संवाद शैलीको निकै प्रशंसा गरेका छन् । कथा सरल छ, तर जीवन बदल्ने खालको सन्देश बोकेको छ । 

प्रशिक्षक र विद्यार्थीबीचको सम्बन्ध देखाउँदा दर्शकले हाँसो, आँसु र प्रेरणा एकैपटक पाउने अनुभव गर्छन् । तर फिल्ममाथि केही आलोचना पनि भएको छ । स्पेनी फिल्म ‘क्याम्पियन्स’बाट रूपान्तरण गरिएको कथा भन्दै मौलिकता नटुटेको दाबी गरिए पनि कतिपयले नक्कल भनेर आलोचना गरेका छन् । आमिरले भने यो आधिकारिक रूपान्तरण भएको र भारतीय सन्दर्भमा ढालिएको स्पष्ट पारेका छन् । 

व्यापारिक हिसाबले पनि फिल्मले नयाँ प्रयोग गर्दा पछिल्लोपटक पुनः चर्चामा आएको हो । फिल्मको लोकप्रियता केवल कमाइमै सीमित छैन । यसले समाजलाई दिने सन्देश र विशेष क्षमता भएका व्यक्तिहरूको जीवनलाई पर्दामा ल्याउने साहसकै कारण पनि चर्चा कमाएको छ । 

‘सितारे जमिन पर’ जसरी बालबालिकाको मनोविज्ञानलाई सम्बोधन गरेको थियो, त्यस्तै ‘सितारे जमिन पर’ले फरक शैलीमा हाँसो र सहानुभूतिका साथ समावेशी समाजको पक्षमा आवाज उठाएको छ । दर्शकले यसलाई मनोरञ्जनसँगै अर्थपूर्ण सन्देश दिने सफल प्रयासका रूपमा लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि