नेभिगेशन
विश्व

धुवाँले सुकाइएका शव ‘विश्वकै सबैभन्दा पुराना ममी’

बैंकक, एएफपी - चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजहरूले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ । यसरी गरिएको संरक्षण प्रक्रिया इजिप्टका ममीहरू भन्दा हजारौं वर्षअघिदेखि प्रभावकारीरूपमा प्रयोग भएको पत्ता लागेको हो ।

प्राचीन इजिप्टका पट्टीले बेरेका शवहरू करिब चार हजार पाँच सय वर्ष पुराना भए पनि ममीकरणको अघिल्लो प्राचीन उदाहरणहरू चिलीका अटाकामा तटवर्ती समाजबाट आएका थिए । त्यहाँ सुक्खा हावाले शवहरू स्वाभाविकरूपमा सुकाउने गर्थ्यो ।

तर चीन, भियतनाम, फिलिपिन्स, लाओस, थाइल्याण्ड, मलेसिया र इण्डोनेसियाजस्ता आद्र्र क्षेत्रका चिहानमा भेटिएका शवहरूमा अनुसन्धानकर्ताले असामान्य विकृति देखे । अवशेषहरूमा जलेका निसान भेटिए पनि दाहसंस्कारसँग मेल खाँदैनथे । शवहरूमा नरम तन्तु हराइसकेको देखिनु, वास्तवमा धुवाँले सुकाइएका ममीहरूको परिणाम हुन सक्ने निष्कर्षमा उनीहरू पुगे ।

वैज्ञानिकहरूले जापानका प्राचीन स्थलहरूका नमूनासँग तुलना गर्दा, हड्डीमा कम तापक्रमको असर भेटियो, जसले शव दाहसंस्कार नभई संरक्षण गर्ने उद्देश्य प्रष्ट गर्‍यो । केही नमूना १० हजार वर्षभन्दा पुराना थिए, जसले ममीकरण अभ्यास पहिले सोचिएभन्दा हजारौं वर्ष अघिदेखि प्रचलनमा रहेको देखायो । 

‘यो ठूलो आश्चर्य थियो,’ अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता सियाओ–चुन हङले भने, ‘यति पुराना हड्डीमा यस्तो परम्पराको प्रमाण भेटिनु उल्लेखनीय छ । यसले प्राचीन मानिसहरूको अभ्यासलाई आजसम्म जीवित केही संस्कृतिसँग जोड्छ ।’

अनुसन्धानकर्ताले धुवाँ उष्णकटिबन्धीय जलवायुमै शव संरक्षणको सबैभन्दा प्रभावकारी विधि भएको मात्र नभई, सांस्कृतिक महत्त्वसमेत भएको निष्कर्ष निकाले । इण्डोनेसिया र अस्ट्रेलियाका समाजहरूमा अझै पनि शवलाई बाँधेर निरन्तर जलिरहेको आगोमाथि महिनौंसम्म राख्ने चलन छ ।

यसले आफन्तलाई मृतकसँग निरन्तर सम्पर्कमा राख्ने मात्र नभइ, आत्मा दिनमा स्वतन्त्ररूपमा घुम्ने र रातमा शरीरमा फर्कने विश्वास पनि दिलाउँथ्यो । ‘मलाई लाग्छ, यसले गहिरो मानवीय भाव व्यक्त गर्छ - हाम्रा प्रियजनहरू सधैं हाम्रो साथमै रहने कालातीत इच्छा,’ हङले एएफपीसँग भने ।

अनुसन्धानकर्ताले यो अभ्यास प्राचीन एसियाली सभ्यतामा व्यापक हुन सक्ने अनुमान गरेका छन् । प्रोसिडिंस अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा सोमबार प्रकाशित अध्ययनमा उनीहरूले लेखेका छन्, ‘यो परम्परा विशाल क्षेत्रका सिकार–संकलक समाजहरूमा धेरै सहस्राब्दीदेखि परिचित हुन सक्ने संकेत गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्