जेनजी आन्दोलनपछि आर्थिक चुनौतीका माझ निर्वाचनको अजेण्डा पाएको अन्तरिम सरकारले के–कसरी काम गर्ला भन्ने चिन्ताका माझ रुचिर शर्माको विश्लेषण हाम्रो सन्दर्भमा सान्दर्भिक देखिन्छ ।
विश्व अर्थतन्त्रको समीक्षा गर्दै देशका कमीकमजोरी र सबलता केलाउनमा माहिर अर्थशास्त्री रुचिर शर्माको सन् २०१७ मा प्रकाशित ‘द राइज एण्ड द फल अफ नेसन्स’ले कुन देश सबल छ; कुन देश सफलता उन्मुख छ र कुन देश असफतलातर्फ उन्मुख छ भन्ने विश्लेषण गरेका छन् ।
शर्माले आफ्नो पुस्तकमा विश्वव्यापी उदाहरणमार्फत देशले कस्ता–कस्ता संकट भोगेका हुन्छन् र तिनले कस्तो प्रभाव पारेको हुन्छ भन्ने विश्लेषण गरेका छन् । उनले भारतमा सन् २०१० मा देखिएको ‘प्याज संकट’देखि चीनले आफ्नै लगानीमा सञ्चालन गरेको चुरोट कम्पनीमार्फत देशले कमाएको आम्दानीको समीक्षा गरेका छन् । यस क्रममा उनले ऐतिहासिक आधारलाई सान्दर्भिक बनाएका छन् ।
पुस्तकमा उनले भेटेजतिको पुरानो तथ्यांकको उपयोग गरेका छन्, जसमा २५ वर्षदेखि १०० वर्षसम्मको आर्थिक सूचकांकको प्रयोग छ । त्यसैले पुस्तकमा इतिहासको झलक प्रशस्तै पाइन्छ ।
उनको पहुँच विभिन्न देशका अर्थमन्त्री र ठूला कम्पनीका सिईओ र विश्वविद्यालयका प्राध्यापकहरूसँग भएको हुँदा विषयवस्तुको अन्तरकथा र गहिराइपूर्ण विश्लेषण पुस्तकमा छन् । ती विश्लेषणले कुन राष्ट्र सफलता उन्मुख छ र कुन राष्ट्र असफलतातर्फ उन्मुख हुँदैछ भन्ने सपाट वर्णन गरेको छ ।
उनको तर्क छ, देशको लागि ऋण खतराको कुरा हो । जब ऋणको किस्ता र ब्याज बढेर त्यो कुल ऋणभन्दा अधिक हुन पुग्छ भने त्यो अवस्थालाई कुनै पनि देशले धान्न सक्दैन र देश आर्थिक दलदलमा फस्छ । त्यसैले वैदेशिक ऋण सधैं हितअनुकूल हुन्छ भन्ने हुँदैन । उनको तर्क छ, कुनै पनि मुलुकले विदेशी सहायता, अनुदान वा ऋणका आधारमा प्रगति गर्न सक्दैन ।
देशको आर्थिक वृद्धि र अवनतिबारे धेरैको अनुमान गलत हुने गरेको उनी तर्क गर्छन्, किनभने उनीहरूले पछिल्लो समयको सानो अवधिलाई लिएर धारणा बनाउने गर्छन् र उनीहरूको तर्क हुन्छ कि हालको वृद्धिले निरन्तारता पाउनेछ ।
तर के देखिन्छ भने जति लामो समयसम्म देशको आर्थिक वृद्धि रहको हुन्छ, त्यो निरन्तरता जारी भइरहने सम्भावना कम हुन्छ । कुनै पनि सरकार वा सत्ता किन पतन हुन्छ भन्नेतर्फ उनको विश्लेषण छ जब सुधारमुखी भनिएको सरकार आफैं सत्तामा लिसो टाँसिएझै टाँसिइरहन खोज्छ, तब त्यो सरकार पतनोन्मुख हुन्छ ।
यसतर्फ उनले तथ्यांकसहित दिएको उदाहरण छ, रसिया र टर्की । रसियालाई संकटका बेला पुटिनले हातमा लिएका थिए, उनको दुई कार्यकाल साँच्चै सुधारमुखी पनि थियो तर त्यसपछिका दुई कार्यकाल भने निरंकुशता उन्मुख देखियो । सोही कुरा टर्कीको हकमा पनि लागू हुन्छ । ती देशमा सुधार त भयो तर सुधार दीर्घकालीन हुन भने सकेन ।
कुनै पनि देश सुधार हुनको लागि आवश्यक पक्ष भनेको देशमा जनसंख्याको उपलब्धता हो । देशमा आर्थिक वृद्धि गराउनका लागि काम गर्न सक्ने शक्तिको उपलब्धता हुनुपर्छ, त्यो भएन भने पनि सबै कुरा मिले पनि देशले प्रगति गर्न सक्दैन ।
यो सँगै जोडिने कुरा हो उत्पादकत्व, देशले आफ्नो देशमा भएको कच्चा पदार्थ नै निर्यात गर्ने होइन, तिनलाई उच्च मूल्यको वस्तुमा रूपान्तरण गरेर निर्यात गर्नुपर्छ, जसले आर्थिक वृद्धिलाई प्रत्यक्ष टेवा दिनुका साथै रोजगारीमा वृद्धि गराउँछ । रोजगारीमा वृद्धि गराउनु भनेको समाजिक अमनचयन कायम गराउने शक्तिशाली आधार हो ।
उनले अर्जेन्टिना, पेरु र पोल्यान्डले आर्थिक रुपमा राम्रो गर्दै लगेको बताएका छन् भने रुस, टर्की, अस्ट्रेलिया, दक्षिण अफ्रिका र चीन पनि संकटतर्फ धकेलिँदै गएको चेतावनी दिएका छन् ।
पुस्तकमा आत्मविश्वासी नेताका प्रशस्त उदाहरण आएका छन् र तिनले दोहोर्याएका सामान्य गल्तीहरूलाई उल्लेख गरेका छन् । ‘थिंक ग्लोबल एण्ड एक्ट लोकल’ अर्थात् विश्वव्यापी सोच राखेर स्थानीय अवस्थाअनुसार चल्नुपर्ने उत्तरआधुनिक समयमा हामीले जति विश्वका बारेमा बुझ्छौं त्यति नै स्थानीय अवस्थाअनुसार चल्न सहज हुने सन्दर्भमा रुचिरको पुस्तक सान्दर्भिक छ ।
यसले हामीलाई सरकारलाई कसरी जवाफदेही बनाउने भन्ने अन्तर्दृष्टि बनाउन पनि मद्दत गर्छ । जेनजी आन्दोलनअघि हाम्रो देशका बैंकमा पैसा थ्रुप्रिएर लगानीको क्षेत्र भने नभेटिएको अवस्था थियो भने आन्दोलनपछि सरकारलाई निर्ममरूपमा मितव्ययी हुँदै महँगो निर्वाचन गराउनुपर्ने दायित्व आइलागेका सन्दर्भमा रुचिरको यो पुस्तक हामीलाई सन्दर्भ पुस्तकसरह भएको छ ।