नेभिगेशन
शिक्षा

‘अरूको चियो गर्नु राम्रो’

क्लेरिसा ब्रिन्कट, सान फ्रान्सिस्को, १ असोज - अरूहरूका बारेमा चासो लिनु वा चियो गर्ने मान्छेको त बानी नै हो । रियालिटी टीभी शोको लोकप्रियता होस् या फलानोले के गरेछ भनेर अर्काको पेजमा घुसेर स्क्रल गरिने इन्स्टाग्राम स्टोरी हुन्, ती सबैमा चियो गर्नुको पछाडि हाम्रो लाखौं वर्षअघिको सामाजिक अस्तित्व अघि बढाउने साधन हुनसक्ने वैज्ञानिकहरूको अध्ययन निष्कर्ष छ ।

क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बरकी तुलनात्मक र विकासवादी मनोवैज्ञानिक लोरा लुइस र उनका सहयोगीहरूले सान फ्रान्सिस्कोका खाडी क्षेत्रमा रहेका चारदेखि छ वर्षका बालबालिका र वयस्क चिम्पान्जीहरूमाझ ’चियो’ सम्बन्धी अध्ययन गरेका थिए । सो अध्ययनले अर्काको चियो गर्ने यो बानी लाखौँ वर्षअघिदेखि अस्तित्वमा रहेको र मान्छेको प्राचीन पुस्ताहरूले पनि यसलाई प्रयोग गर्ने गरेको निष्कर्ष निकालेका छन् ।

यसका लागि अध्येताहरूले मान्छेका बालबालिकालाई भिडियो देखाए । त्यो भिडियो दुई प्रकारको थियो । पहिलो प्रकारको भिडियोमा एक्लो बच्चो आफ्ना विविध किसिमका गतिविधिहरू गर्थ्यो । यो भिडियो हेर्न बालबालिकाले उति चासो दिएनन् तर जब बालबालिकाहरूको समूहका भिडियो देखाइयो, उनीहरूले त्यसमा रूचिपूर्वक हेर्न थाले ।

ठीक यस्तै भिडियो मकाक बाँदरका सन्तानलाई हेर्न दिइयो र उनीहरूले कस्तो प्रतिक्रिया दिँदा रहेछन् भनी नियालेर हेरियो । मान्छेका बच्चाजस्तै मकाक बाँदरका सन्तानले पनि एकल भिडियोभन्दा सामूहिक भिडियोमा रूचि राखेर हेर्न थाले । यस अध्ययनपछि वैज्ञानिकहरूले प्रोसिडिङ्स अफ रोयल सोसाइटी बीमा प्रकाशित गरे । 

सो अध्ययन निष्कर्षअनुसार, ती दुवै समूहले एक्ला व्यक्तिका विभिन्न गतिविधिहरूलाई भन्दा सामाजिक अन्तरक्रियाका भिडियोमा चासो देखाए । कतिसम्म भने, एक्ला व्यक्तिका गतिविधि हेर्न पुरस्कार दिँदा पनि उनीहरूले पुरस्कारलाई त्यागेर भए पनि सामूहिक र सामाजिक अन्तरक्रियामा चासो दिए ।

‘यी नतिजाहरूले के देखाउँ छ भने, सामाजिक जानकारी महत्त्वपूर्ण र मूल्यवान् हुन्छन् । हुर्किएकाहरूका लागि मात्र होइन, ससाना बालबालिकाका लागि पनि ती जरूरी हुन पुग्छ,’ लोरा लुइस भन्छिन्, ‘यसले सामाजिक जानकारी करिब २५ लाख वर्षअघिका हाम्रा साझा प्राइमेट पूर्वजहरूका लागि पनि महत्त्वपूर्ण थियो र लाखौं वर्षदेखि प्राइमेटहरूका लागि आफ्नो वरिपरिकाहरूको सामाजिक जानकारी प्राप्त गर्नु अनुकूलनका लागि जरूरी रहिआएको देखिन्छ ।’ 

मान्छेका बालबालिकाहरूमा (चिम्पान्जीहरूका होइनन्) अनुसन्धानकर्ताहरूले अर्को  ढाँचा देखे । उनीहरू ठूला हुँदै जाँदा, केटाहरू सामाजिक द्वन्द्वको दृश्यहरू हेर्नमा रुचि लिन थाले । जस्तै खेलौनाहरूमा टग–अफ–वार वा एउटा चिच्याउन थाल्दा अर्को रोइरहेको दृश्य हेर्दा मजा मान्थे । उता केटीहरूले खेल खेल्ने वा कपाल सिंगार्नेजस्ता सकारात्मक अन्तरक्रियाहरूमा बलियो रुचि देखाउँथे ।

अनुसन्धानकर्ताहरूको अनुमान छ, यो नतिजाले विशेष गरी मानिसहरूमा भिन्न सामाजीकीकरण ढाँचाहरू र विकासवादी दबावहरूलाई देखाउँछ । एनिमल कग्निशनमा प्रकाशित हालैको अर्को अध्ययनले लाम्पुच्छ्रे मकाक बाँदरहरूमा अरूलाई हेर्ने व्यवहारको अन्वेषण गर्यो । भाले र पोथी दुवै मकाक बाँदरहरूले शान्तिपूर्ण हुर्काइभन्दा आक्रामक अन्तरक्रियामा बढी रुचि देखाए । दुवैले परिचित मकाकहरूको भिडियोलाई रूचिपूर्वक हेरे । 

अध्ययनका प्रमुख लेखक, नेदरल्याण्ड्सको यूट्रेक्ट विश्वविद्यालयका प्राइमेटोलोजिस्ट लिबेक स्टर्क भन्छिन्, ‘मकाकको आक्रामक व्यवहारमा संलग्न बाल मकाकलाई चिन्ने अन्य बाल मकाकहरूले रूचिपूर्वक हेरेका थिए । आफूले नचिन्ने बाल मकाकहरूको गतिविधिमा भने उनीहरूले चासो दिएनन् ।’

आफूले चिन्ने व्यक्तिहरूको सामाजिक जीवनमा रूचि देखाइनुलाई वैज्ञानिकहरूले खास मानेका छन् । चाहे त्यो परिवार, साथीहरू वा चलचित्रका कलाकारहरू नै किन नहुन् । आक्रामक अन्तरक्रियामा रुचि हुनुको अर्थ प्रभुत्व वा यौन सम्भावित खतरामा परिवर्तनहरू देखाउन सक्छ, मानिसहरू मिडियामा द्वन्द्व हेर्नमा विशेष चासो राख्नुका पछाडि पनि यिनै कुराले आकर्षित गरेको निष्कर्ष अनुसन्धाताहरूको छ । ‘तपाईंको आफ्नै समूहमा प्राइमेटहरूसँगै मानिसहरूले पनि शक्ति सन्तुलनको ट्र्याक राख्नु ज्यादै जरूरी हुन्छ,’ स्टर्क भन्छिन् ।

यो अनुसन्धानमा संलग्न नभएकी इङ्ल्याण्डको ससेक्स विश्वविद्यालयमा तुलनात्मक कग्निशनको अध्ययन गर्ने गिलियन फोरेस्टर भन्छिन्, ‘सामाजिक गतिविधिमा ध्यान दिएर हेर्नु, चियो गर्नु भनेको आफ्नो प्रतिष्ठा कायम राख्न महत्त्वपूर्ण हुन्छ । प्राचीन मानिस र अन्य प्राइमेटहरूमा, प्रतिष्ठाको क्षति भयो भने उनीहरूले खाना र मित्रता गुमाउन सक्छन् । यही कारण शारीरिक टकराव र चरम अवस्थामा उनीहरूले सम्भावित घातक बहिष्कार बेहोर्नु पर्ने हुनसक्छ ।

यस्तो धेरै कुरा दाउमा रहँदा, प्राइमेट समूहका गतिविधिहरूलाई नियाल्नु पर्ने बाध्यता हुन्छ र तिनमा चासो राख्नुपर्ने हुन्छ । यही बानी कालान्तरमा ‘चियो’ विकसित भयो । हामीलाई रियालिटी टीभी शो ज्यादै किन मनपर्छ ? हामी सामाजिक सञ्जालमा अरूका पेजमा छिरिछिरीकन को के गर्दैछ भनेर किन हेर्छौं ? किनभने, हामी अरूभन्दा पछि नपरियोस् भन्नेमा सचेत छौँ । 

यो सामाजिक अन्तरक्रियाको एउटा पाटो हो, आफ्नो अस्तित्व कायम राख्ने संघर्षकै एउटा अंश हो । र, यो आजदेखि विकसित भएको होइन, हाम्रा प्राइमेट पूर्वजहरूदेखिकै अस्तित्ववान् रहन गरिने संघर्षको अंश हो ।’ फोरेस्टर भन्छिन्, ‘त्यसैले मानिस जस्तोसुकै अवस्थामा पनि अरूको चियो गर्नुलाई प्राथमिकतामा राख्ने गर्छन् ।’

(साइन्टिफिक अमेरिकनबाट साभार)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्