काठमाडौं । अहिले उपत्यकाका ग्यास उद्योगमा बुलेट आउन नसक्ने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आएको भीषण पहिरो र त्रिशूली नदीको कटानका कारण काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट आउन रोकिएका हुन् । यसले उपत्यकामा खाना पकाउने ग्यासको संकट आउन नदिन नेपाल आयल निगम र निजी ग्यास उद्योगहरूले आपूर्तिको वैकल्पिक जुक्ति लगाएका छन् ।
मुख्य राजमार्ग बन्द भए पनि तराईका विभिन्न जिल्लामा रहेका ग्यास बोटलिङ प्लान्टलाई चौबीसै घण्टा सञ्चालन गरेर त्यहीँबाट सिलिण्डर भर्दै काठमाडौं भिœयाउने उपाय लगाइएको हो । पछिल्ला तीन दिनमा मात्रै यसरी ८७ हजार ८ सय ७७ थान एलपी ग्यास सिलिन्डर काठमाडौं भिœयाइएको छ ।
गत आइतबार त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर र ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भिœयाउन थालेको हो ।
निगमका अनुसार बिहीबार करिब २४ हजार ५००, शुक्रबार करिब ३४ हजार १३४ सिलिन्डर र शनिबार २९ हजार २ सय ४९ सिलिन्डर उपत्यका भिœयाइएको छ । आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी नियमित राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ ।
उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यसका साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।
निगमको समन्वयमा बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीलगायत जिल्लामा रहेका प्लान्टबाट काठमाडौंका लागि ग्यास भर्न र ढुवानी गर्न थालिएको छ । नियमित आपूर्ति प्रणालीभन्दा फरक ढाँचामा सञ्चालन गरिएको यो व्यवस्थाले संकटका बीच पनि राजधानीको दैनिक माग धान्ने प्रयास भइरहेको दाबी गरिएको छ ।
तर उपत्यकामा सिलिण्डरको वितरण सहज छैन । खाजेका बेला उपभोक्ताले सजिलै कतैबाट सिलिण्डर पाउँदैन । ग्यास बिक्रेताहरुले सूची बनाएर राखे पनि ग्यास मागका तुलनामा निकै कम आएको बताउने गरेका छन् ।
तीन दिनमा झन्डै ८८ हजार सिलिन्डर
वैकल्पिक मार्गबाट गरिएको आपूर्तिको परिणाम तीन दिनकै तथ्यांकले देखाएको छ । भदौ १८ गतेदेखि २० गतेसम्म त्रिभुवन राजपथ अर्थात् बाइरोड हुँदै काठमाडौंमा ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास आइपुगेको निगमले जनाएको छ ।
औसतमा दैनिक करिब २९ हजार ३ सय सिलिन्डर राजधानी ल्याइएको छ । एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार तराईका प्लान्टबाट दैनिक ३० देखि ३५ हजार सिलिन्डर काठमाडौं पठाउने प्रयास भइरहेको छ । सामान्य अवस्थामा काठमाडौंको माग धान्न यो परिमाण पर्याप्त हुने उनको दाबी छ ।
तराईका प्लान्टमा रिफिल गरिएका सिलिन्डर काठमाडौंमा सेवा दिँदै आएका विभिन्न ब्रान्डका हुन् । यस प्रक्रियामा श्री ग्यास, सूर्य ग्यास, ओम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल ग्यास, एचपी ग्यास, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्तेलगायत ब्रान्डका सिलिन्डर परिचालन गरिएको सामग्रीमा उल्लेख छ ।
संकट टार्न उद्योगमा तीन सिफ्ट
काठमाडौंमा आपूर्ति कायम राख्न तराईका ग्यास उद्योगहरू सामान्य समयभन्दा बढी क्षमतामा सञ्चालन भइरहेका छन् । सामान्य अवस्थामा दैनिक एक सिफ्ट सञ्चालन हुने उद्योगलाई अहिले चौबिसै घण्टा अर्थात् तीन सिफ्टमा सञ्चालन गरिएको छ ।
उद्योगमा नियमित जनशक्तिभन्दा धेरै कामदार परिचालन गरिएको छ । एसजी ग्रुपका अध्यक्ष तथा नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे आफैं प्लान्टमा पुगेर कामको अनुगमन गरिरहेका छन् । उनका अनुसार सामान्य अवस्थामा करिब ५० जना कामदारले धान्ने उद्योगमा अहिले करिब १५० जना कामदार परिचालन गरिएको छ ।
चितवन र वीरगञ्जबाट पनि आपूर्ति
चितवनको पर्सास्थित साईबाबा ग्यास उद्योग पनि अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । धादिङमा बोटलिङ प्लान्ट रहेको श्रीकृष्ण ग्यासका सिलिन्डर चितवन लगेर रिफिल गरिँदै छन् । श्रीकृष्ण ग्यासका कामदारलाई समेत चितवन लगेर होटलमा बस्ने र खाने व्यवस्था मिलाइएको जनाइएको छ ।
वीरगञ्जस्थित मनोज ग्यास उद्योगले पनि आफ्नै ब्रान्डसँगै अन्य कम्पनीका सिलिन्डर रिफिल गरिरहेको छ । साल्ट ट्रेडिङको एसटीसी तथा काभ्रेको उग्रचण्डी ग्यासका सिलिन्डरसमेत त्यहाँ भर्ने गरिएको छ । सामान्य अवस्थामा आठ घण्टा सञ्चालन हुने उद्योगलाई अहिले कामदारलाई ओभरटाइम दिएर दैनिक १६ घण्टा अर्थात् दुई सिफ्ट चलाइएको छ ।
काठमाडौं उपत्यकामा ठूलो बजार हिस्सा रहेको नेपाल ग्यासले पनि चितवनस्थित शाखामार्फत सिलिन्डर रिफिल गरेर राजधानी पठाइरहेको छ । काठमाडौंको बालाजुस्थित प्लान्टका कामदारलाई चितवन लगेर तीन सिफ्टमा परिचालन गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
७४ ग्यास बुलेट अझै होल्डमा
वैकल्पिक मार्गबाट सिलिन्डर काठमाडौं ल्याउन थालिए पनि आपूर्ति प्रणाली पूर्ण रूपमा सहज भइसकेको छैन । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धादिङ र काभ्रेका विभिन्न बोटलिङ प्लान्टमा ७४ वटा ग्यास बुलेट रोकिएका छन् ।
उद्योगीका अनुसार सगरमाथा ग्यासका १४, नेपाल ग्यासका १२, एभरेस्ट र सुगम ग्यासका नौ–नौ तथा धादिङका अन्य उद्योगका बुलेटसमेत बाटोमै रोकिएका छन् ।
यसले नियमित आपूर्ति प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ । काठमाडौंमै बुलेटहरू रोकिएपछि खाली सिलिन्डरलाई तराई पु¥याएर रिफिल गर्ने वैकल्पिक प्रणाली अपनाउनुपरेको बताइएको छ ।
बाइरोडमा ठूला बुलेट चलाउनु चुनौतीपूर्ण
काठमाडौंको आपूर्ति जोगाउन वैकल्पिक बाटोका रूपमा प्रयोग गरिएको त्रिभुवन राजपथ साँघुरो, घुमाउरो र कतिपय स्थानमा जोखिमपूर्ण सडक भएकाले ठूला ग्यास बुलेट सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।
तर मुख्य राजमार्ग बन्द रहेको अवस्थामा यही बाटो राजधानीको आपूर्ति कायम राख्ने प्रमुख माध्यम बनेको छ । सडकको क्षमताभन्दा बढी दबाब नपरोस् र जोखिम कम होस् भन्ने चुनौतीबीच उद्योगीहरूले ढुवानी व्यवस्थापन गरिरहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले स्पष्ट पारे ।
विस्थापितका लागि पनि ग्यास
बाढीका कारण घरबारविहीन भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य नागरिकका लागि समेत एलपी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस तथा अनुरोधमा रसुवा र नुवाकोटका प्रभावित क्षेत्रका लागि ग्यास सिलिन्डर पठाइएको छ । सामग्रीअनुसार दुवै जिल्लाका लागि ५००–५०० थान सिलिन्डर तथा अन्य अस्थायी सेल्टरसमेत समेटेर कुल १ हजार २५० थानसम्म सिलिन्डर राहतका रूपमा पठाउने व्यवस्था गरिएको छ ।
‘ग्यास छैन’ भन्ने डरले बढायो दबाब
तराईबाट दैनिक ठूलो परिमाणमा सिलिन्डर काठमाडौं आइरहे पनि बजारमा ग्यास अभावको हल्लाले उपभोक्तामा त्रास बढेको व्यवसायीहरूको भनाइ छ । कतिपय उपभोक्ताले घरमा ग्यास बाँकी हुँदाहुँदै अर्को सिलिन्डर किन्न लाइन लाग्दा बजारमा अनावश्यक भीड र दबाब बढेको उनीहरूको दाबी छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले घरमा एउटा सिलिन्डर मौज्दात रहेको वा केही दिन पुग्ने ग्यास बाँकी रहेको अवस्थामा तत्काल आत्तिएर लाइन बस्न आवश्यक नभएको बताए । अनावश्यक सञ्चयले वास्तविक मागभन्दा कृत्रिम माग बढाउने र आपूर्ति व्यवस्थापन झन् कठिन बनाउने उनको भनाइ छ ।
पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगरे बजारमा कृत्रिम अभाव नहुने बताए ।
एक सातामा सडक खुल्ने अपेक्षा
प्राविधिक टोलीको प्रारम्भिक आकलनअनुसार कृष्णभीर खण्डमा मर्मतको काम अघि बढे करिब एक साताभित्र दुईतर्फी यातायात सञ्चालनमा आउन सक्ने अपेक्षा गरिएको छ । सडक सञ्चालनमा आएपछि अहिले तराईमा लगेर रिफिल गरिरहेका सिलिन्डर पुनः सम्बन्धित उद्योगमा भर्न सकिनेछन् । ग्यास बुलेटहरू पनि सिधै काठमाडौं आउन सक्ने भएकाले आपूर्ति प्रणाली क्रमशः सामान्य बन्ने अपेक्षा छ ।
३ महिनालाई पुग्ने भण्डारण आवश्यक
काठमाडौं उपत्यकामा कम्तीमा तीन महिनाको माग धान्न सक्ने ग्यास तथा पेट्रोलियम पदार्थको रणनीतिक भण्डारण गृह निर्माण गर्नु दीर्घकालीन समाधान हुन सक्ने व्यवसायीहरुको भनाइ छ । यस्तो भण्डारण भए प्रमुख राजमार्ग केही दिन वा केही सातासम्म अवरुद्ध हुँदा पनि तत्काल उपभोक्तामाथि दबाब नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ ।
हालका लागि भने नेपाल आयल निगम, निजी ग्यास उद्योग, ढुवानी व्यवसायी र उद्योगका कामदारहरूको समन्वयले राजधानीको संकट टार्ने प्रयास गरिरहेको छ ।
तर विपद्को हरेक घटनापछि संकट टार्नेभन्दा संकट आउनुअघि नै तयारी गर्ने प्रणाली विकास गर्नु आवश्यक रहेको उनीहरु बताउँछन् ।